पुण्यप्रसाद खरेलको लेख - `श्रीगणेश´
श्रद्धेय पाठकवृन्द !
केही दिनको अस्पतालको बसाइपछि घरमा आराम गर्दै थिएँ । केही इष्टमित्रहरु जसलाई म विरामी भएको थाहा थियो, उहाँहरु हालचाल सोद्धै सुस्वास्थ्यको कामना गर्नुहुन्थ्यो । मैले आफू विमारी भएको, अस्पताल बसेको कुनै जानकारी दिने कष्ट गरेको थिइनँ । अचेल त यस्सो केही हुनासाथ, अस्पताल पुग्नासाथ क्यानुला पाखुरामा उनेपछि तस्बिर हालेर “म त फलानो अस्पतालमा पो !” भन्ने चलन छ । म त्यसो गर्न हिचकिचाउँछु । अलिक लो–प्रोफाइल नै मलाई उचित लाग्छ ।
यस्तैमा चन्द्रगढी निवासी कवि खगिन्द्रा खुसीको फोन आयो– “सञ्चै हुनुहुन्छ नि ?”
मैले उत्तरा गरें– “अँ, अब लगभग सञ्चो हुन लागें ।”
उहाँलाई म विरामी भएर भर्खर चारपाँच दिन अस्पताल बसेर घरमा आएको थाहा थिएन । मैले जानकारी गराउनु पर्यो । छोटो कुशलक्षेमपछि उहाँले भन्नुभयो– “नियमित रूपमा एउटा स्तम्भ लेख्न सक्नुहुन्छ कि ?”
सकिन्छ कि सकिन्न आफ्नै मनले निर्क्योल गर्न कठिन जस्तो भयो । द्वन्द्व मच्चियो एकै छिनमा मनभित्र । मनमा पनि एकै समयमा पानी माग्ने जेठी र घाम माग्ने कान्छी बसिरहेका हुन्छन् झैं भयो । ‘मन त मेरो दोमन भयो यता जाउँ कि उता’ भइरह्यो । तर फोनको सम्वाद भएकाले धेरैबेर लम्बिन पाउँदैनथ्यो नै । पहिला ‘स्वाधिन सम्वाद’ (साप्ताहिक)मा साप्ताहिक रूपमा दुई तीन वर्ष लेखेकै हो, ‘जन संसद’ (दैनिक)मा पनि हर हप्तामा एउटा लेख दुई–तीन वर्ष लेखिएकै हो । ‘लोकतन्त्र पोष्ट’ (दैनिक)मा लेखिएथ्यो । त्यसैले जेठीझैं कस्सिएर एउटा मनले भन्यो “‘सकिन्छ !’ भनेर जवाफ गर !”
अर्को मन पनि कान्छीझैं कस्सिएर भन्ने नै भयो– “तिमीले लेख नै नलेखेको कति भयो ? दशकौं भइसक्यो । नियमित दुहिरहेको गाईको फाँचाबाट पो दुहुन बस्ता बाल्टीमा दुध आउला त । तर जब वर्षौं दुहुन छोड्यौ, अब दुहुन बस्ता तिम्रो बाल्टीमा एकै सिर्को दुध पर्दैन बुझ्यौ ! त्यसकारण भरे धोका हुनुभन्दा बरु ‘सकिँदैन भन !’ टण्टै खलास् ! फेरि तिमी त्यसबेला कोरली गाईझैं थियौ, अब त बुढियौ, थकौटो भयौ । ‘बुढो भयो सब रङ्ग गयो आँगन भयो परदेश’ भैसक्यौ । अब हिम्मतले धोका दिन्छ, आँटले पल्टा ख्वाउँछ । हात उठाऊ ! अहँ सक्तै सक्तिन भन !”
मनमा लडाईं चलिरहेको थियो । ‘द्वन्द्ववाद’ वडो रनघनसँग प्रस्फुटन भइरहेको थियो खोपडीभित्र । फ्यास्स जिब्रोले अनुशासनको करेली चुँडाएर वागमती प्रदेशको राप्रपाका संसदीय दलनेताले झैं गरी “हुन्छ, पाक्षिक रूपमा एउटा लेख लेखुँला !” भनिदियो ।
जिब्रोले यता ‘हुन्छ !’को बोली बोल्दियो । फेरि अर्को द्वन्द्व मच्चियो त्यही खोपडीभित्र– “नदुखेको टाउको केलाई दुखाउनु पर्यो हुन्छ भनेर ? कसले कति लेखेर के लछार्पाटो लगाएको छ ? फेरि अचेल हामीजस्ता ‘ऐरे, जैरे, नत्थुखैरे’का लेख पढ्छ चाहिँ कसले ? पुस्तकै पढ्छ को ? अब मान्छेको दिमाग नै काम नलाग्ने हुन लागेका बेलामा । ‘ए आई’ र ‘च्याट् जिपिटी’हरुले अराउने बित्तिकै कस्ता कस्ता लेख आँखा झिमिकमा फररर कापीभरि खन्याइदिन्छ । त्यसले दिने तथ्याङ्क कति विश्वसनीय, त्यसका उदाहरण कति मिल्दा, त्यसका चिटिक्क परेर मिलेका शब्द जस्तो लेख लेख्न सकियोस् त फेरि ? अनि ?
‘होकि होकि’ गर्छ त्यही मन । केही दिनअघि उनकै अघि एउटा साथीले च्याट जिपिटीलाई अराएर एउटा गीत लेखाए । फेरि त्यस गीतलाई नै यस्ता यस्ता बाजाहरुको बाँसुरी, मादल, हार्मोनी, मुचुङ्गा जस्ता बाजाको धुन मिलाएर सङ्गीत भर्न र केटा र केटीको (मेल–फिमेल) दुबै स्वरमा गाएर सुनाउन अराए । ५ मिनेट पनि लागेन, म त ती साथीको गीत सुनेर तीन छक्क । म त ट्वाल्ल परें । एउटा गीत रेकर्ड गर्न परेको झमेला मैले सुनेको थिएँ । आज चकित परें । अब गीतकारको, बाजा बजाउनेको, सङ्गीतकारको, गायकको केही महत्व रह्यो त ?
हुन त हाम्रा लेखको पनि मूल्य होला नै । दह्रा दह्रा लेखकहरु त महँगा मूल्यमा आफ्ना लेखहरु बेच्छन् पनि र लेखनजीवी पनि बनेका छन् । तर हामी त के भनौं र ! अब हाम्रा लागि त के चाहियो र ! हामी यातायात नभएको र लदावदी फलेर फालाफाल भएका बेलाका जुम्लाका, मुस्ताङका स्याउ हौं । हामीलाई त दाम होइन, त्यस्सै कुहिनु नपरोस् ! कसैले खाइदिओस् जस्तो मात्रै लागेको छ ।
मनमा ‘हुन्छ’ भनेर जिब्राले बोलिदिहालेथ्यो । ठिकै छ भन्ने कि ? जिब्रोले अनुशासन उल्लङ्घन गरेछ, त्यसलाई कार्वाही गरिएको सुनाउँदै ‘टण्टा खलास् !’ पार भन्नेबारे उही खोपडीमा केही बेर द्वन्द्व भइरहे पनि एउटा निधो गर्यो र भन्यो मनले– “हात्तीको दाँत र मर्दको बोल व्यवहार, एकबारदेखि हुन्न कहिल्यै दुईबार” सम्झी । मर्द बन्न कोसिस गर् !” भन्यो । मान्यो ।
भोलिपल्ट त यसो हेर्छु मोवाइलको मेसेन्जरमा खगिन्द्राजीको इमेल ठेगाना पनि आइरहेको छ त ! ‘अब चाहिँ पक्कै फँसिएछ’ भन्ने भयो ।
अब केही न केही लेख्नै पर्नेमा बाँधिनुपर्यो नै । फेरि मन त उही द्वन्द्वमै । के लेख्ने होला नि ? अल्गोरिदमले मान्छेलाई दाजुको भाइ ‘भाइ’ होइन जस्तो, बाबुको छोरा ‘छोरा’ होइन जस्तो, आमाकी छोरी ‘छोरी’ नै होइन जस्तो पारिदिएको छ । शासूकी बुहारी त ‘बुहारी’ होइन जस्ती अलिअलि पहिले पनि देखिन्थ्यो नै, तर गुरुको शिष्य ‘शिष्य’ नै होइन, को हो को हो जस्तो त थिएन नि ! यसरी व्यक्ति व्यक्ति टाढिएको बेला, हाम्रो रीतिरिवाज, हाम्रो संस्कार संस्कृति नै अब जिली न गाँठी भइरहेको बेलामा के मात्रै लेख्ने होला ? यही प्रश्नले पो मेरो त बाह्र बजाउने भयो ।
लेख त लेख्नु, पढ्नेलाई सुरुको वाक्यबाट नै गुलियो चटाएर लोभ्याउन सकिएन भने ? सुरुकै वाक्यबाट तितो भयो भने ? औषधी तितो हुन्छ भन्दैमा यो औषधी नै हो कि होइन थाहा छैन, थु थु गरिहाल्छ नि मान्छे । त्यो लेखाइको जादु कताबाट पाउने ? त्यसको फन्दामा परें अब ।
त्यो लेखाइको जादुले, गुलिया वाक्यले मात्रै पनि कहाँ हुन्छ र ? ‘हो, यो चाहिँ खरेलले भनेको मनासिब हो !’ जस्तो पनि हुनुपर्यो नि, अनि पछि पछि ‘हो यो कुराचाहिँ मलाई थाहा थिएन, यसो रहेछ है !’ भन्ने पनि त पार्नु पर्ला नि ! हो म यस्तै यस्तैको द्वन्द्वको फन्दामा परें ।
आ ! खोलो तर्नु परेपछि तिघ्रा कमाएर हुँदैन । कतिपय कुरामा त मूर्ख्याइँ पनि गर्नुपर्छ । अब नामर्दले झैं कुराका कुरामा यसै अल्मलिएर मात्रै केही काम छैन । धेर चिन्ता गर्यो भने झन् ‘कुकुरै हरायो घाँडै हरायो’ हुन्छ । त्यसकारण अब एक मन चित्त लगाएर लेख्ने हो लेख्ने हो, फेरि पनि लेख्ने हो । अब श्रीगणेश गर्ने हो । हिडेपछि आफैं बाटो भेट्तै गइन्छ ।