पुण्यप्रसाद खरेलको लेख - `श्रीगणेश´

पुण्यप्रसाद खरेल · भदौ ९, २०८३ १:१४ PM
Cover Image for News

श्रद्धेय पाठकवृन्द !
केही दिनको अस्पतालको बसाइपछि घरमा आराम गर्दै थिएँ । केही इष्टमित्रहरु जसलाई म विरामी भएको थाहा थियो, उहाँहरु हालचाल सोद्धै सुस्वास्थ्यको कामना गर्नुहुन्थ्यो । मैले आफू विमारी भएको, अस्पताल बसेको कुनै जानकारी दिने कष्ट गरेको थिइनँ । अचेल त यस्सो केही हुनासाथ, अस्पताल पुग्नासाथ क्यानुला पाखुरामा उनेपछि तस्बिर हालेर “म त फलानो अस्पतालमा पो !” भन्ने चलन छ । म त्यसो गर्न हिचकिचाउँछु । अलिक लो–प्रोफाइल नै मलाई उचित लाग्छ ।
यस्तैमा चन्द्रगढी निवासी कवि खगिन्द्रा खुसीको फोन आयो– “सञ्चै हुनुहुन्छ नि ?”

मैले उत्तरा गरें– “अँ, अब लगभग सञ्चो हुन लागें ।”

उहाँलाई म विरामी भएर भर्खर चारपाँच दिन अस्पताल बसेर घरमा आएको थाहा थिएन । मैले जानकारी गराउनु पर्‍यो । छोटो कुशलक्षेमपछि उहाँले भन्नुभयो– “नियमित रूपमा एउटा स्तम्भ लेख्न सक्नुहुन्छ कि ?”

सकिन्छ कि सकिन्न आफ्‌नै मनले निर्क्योल गर्न कठिन जस्तो भयो । द्वन्द्व मच्चियो एकै छिनमा मनभित्र । मनमा पनि एकै समयमा पानी माग्ने जेठी र घाम माग्ने कान्छी बसिरहेका हुन्छन् झैं भयो । ‘मन त मेरो दोमन भयो यता जाउँ कि उता’ भइरह्यो । तर फोनको सम्वाद भएकाले धेरैबेर लम्बिन पाउँदैनथ्यो नै । पहिला ‘स्वाधिन सम्वाद’ (साप्ताहिक)मा साप्ताहिक रूपमा दुई तीन वर्ष लेखेकै हो, ‘जन संसद’ (दैनिक)मा पनि हर हप्तामा एउटा लेख दुई–तीन वर्ष लेखिएकै हो । ‘लोकतन्त्र पोष्ट’ (दैनिक)मा लेखिएथ्यो । त्यसैले जेठीझैं कस्सिएर एउटा मनले भन्यो “‘सकिन्छ !’ भनेर जवाफ गर !”

अर्को मन पनि कान्छीझैं कस्सिएर भन्ने नै भयो– “तिमीले लेख नै नलेखेको कति भयो ? दशकौं भइसक्यो । नियमित दुहिरहेको गाईको फाँचाबाट पो दुहुन बस्ता बाल्टीमा दुध आउला त । तर जब वर्षौं दुहुन छोड्यौ, अब दुहुन बस्ता तिम्रो बाल्टीमा एकै सिर्को दुध पर्दैन बुझ्यौ ! त्यसकारण भरे धोका हुनुभन्दा बरु ‘सकिँदैन भन !’ टण्टै खलास् ! फेरि तिमी त्यसबेला कोरली गाईझैं थियौ, अब त बुढियौ, थकौटो भयौ । ‘बुढो भयो सब रङ्ग गयो आँगन भयो परदेश’ भैसक्यौ । अब हिम्मतले धोका दिन्छ, आँटले पल्टा ख्वाउँछ । हात उठाऊ ! अहँ सक्तै सक्तिन भन !”
मनमा लडाईं चलिरहेको थियो । ‘द्वन्द्ववाद’ वडो रनघनसँग प्रस्फुटन भइरहेको थियो खोपडीभित्र । फ्यास्स जिब्रोले अनुशासनको करेली चुँडाएर वागमती प्रदेशको राप्रपाका संसदीय दलनेताले झैं गरी “हुन्छ, पाक्षिक रूपमा एउटा लेख लेखुँला !” भनिदियो ।

 जिब्रोले यता ‘हुन्छ !’को बोली बोल्दियो । फेरि अर्को द्वन्द्व मच्चियो त्यही खोपडीभित्र– “नदुखेको टाउको केलाई दुखाउनु पर्‍यो हुन्छ भनेर ? कसले कति लेखेर के लछार्पाटो लगाएको छ ? फेरि अचेल हामीजस्ता ‘ऐरे, जैरे, नत्थुखैरे’का लेख पढ्छ चाहिँ कसले ? पुस्तकै पढ्छ को ? अब मान्छेको दिमाग नै काम नलाग्ने हुन लागेका बेलामा । ‘ए आई’ र ‘च्याट् जिपिटी’हरुले अराउने बित्तिकै कस्ता कस्ता लेख आँखा झिमिकमा फररर कापीभरि खन्याइदिन्छ । त्यसले दिने तथ्याङ्क कति विश्वसनीय, त्यसका उदाहरण कति मिल्दा, त्यसका चिटिक्क परेर मिलेका शब्द जस्तो लेख लेख्न सकियोस् त फेरि ? अनि ?

‘होकि होकि’ गर्छ त्यही मन । केही दिनअघि उनकै अघि एउटा साथीले च्याट जिपिटीलाई अराएर एउटा गीत लेखाए । फेरि त्यस गीतलाई नै यस्ता यस्ता बाजाहरुको बाँसुरी, मादल, हार्मोनी, मुचुङ्गा जस्ता बाजाको धुन मिलाएर सङ्गीत भर्न र केटा र केटीको (मेल–फिमेल) दुबै स्वरमा गाएर सुनाउन अराए । ५ मिनेट पनि लागेन, म त ती साथीको गीत सुनेर तीन छक्क । म त ट्वाल्ल परें । एउटा गीत रेकर्ड गर्न परेको झमेला मैले सुनेको थिएँ । आज चकित परें । अब गीतकारको, बाजा बजाउनेको, सङ्गीतकारको, गायकको केही महत्व रह्यो त ?

 हुन त हाम्रा लेखको पनि मूल्य होला नै । दह्रा दह्रा लेखकहरु त महँगा मूल्यमा आफ्ना लेखहरु बेच्छन् पनि र लेखनजीवी पनि बनेका छन् । तर हामी त के भनौं र ! अब हाम्रा लागि त के चाहियो र ! हामी  यातायात नभएको र लदावदी फलेर फालाफाल भएका बेलाका जुम्लाका, मुस्ताङका स्याउ हौं । हामीलाई त दाम होइन, त्यस्सै कुहिनु नपरोस् ! कसैले खाइदिओस् जस्तो मात्रै लागेको छ ।

 मनमा ‘हुन्छ’ भनेर जिब्राले बोलिदिहालेथ्यो । ठिकै छ भन्ने कि ? जिब्रोले अनुशासन उल्लङ्घन गरेछ, त्यसलाई कार्वाही गरिएको सुनाउँदै ‘टण्टा खलास् !’ पार भन्नेबारे उही खोपडीमा केही बेर द्वन्द्व भइरहे पनि एउटा निधो गर्‍यो र भन्यो मनले– “हात्तीको दाँत र मर्दको बोल व्यवहार, एकबारदेखि हुन्न कहिल्यै दुईबार” सम्झी । मर्द बन्न कोसिस गर् !” भन्यो । मान्यो ।

 भोलिपल्ट त यसो हेर्छु मोवाइलको मेसेन्जरमा खगिन्द्राजीको इमेल ठेगाना पनि आइरहेको छ त ! ‘अब चाहिँ पक्कै फँसिएछ’ भन्ने भयो ।

 अब केही न केही लेख्नै पर्नेमा बाँधिनुपर्‍यो नै । फेरि मन त उही द्वन्द्वमै । के लेख्ने होला नि ? अल्गोरिदमले मान्छेलाई दाजुको भाइ ‘भाइ’ होइन जस्तो, बाबुको छोरा ‘छोरा’ होइन जस्तो, आमाकी छोरी ‘छोरी’ नै होइन जस्तो पारिदिएको छ । शासूकी बुहारी त ‘बुहारी’ होइन जस्ती अलिअलि पहिले पनि देखिन्थ्यो नै, तर गुरुको शिष्य ‘शिष्य’ नै होइन, को हो को हो जस्तो त थिएन नि ! यसरी व्यक्ति व्यक्ति टाढिएको बेला, हाम्रो रीतिरिवाज, हाम्रो संस्कार संस्कृति नै अब जिली न गाँठी भइरहेको बेलामा के मात्रै लेख्ने होला ? यही प्रश्नले पो मेरो त बाह्र बजाउने भयो ।
लेख त लेख्नु, पढ्नेलाई सुरुको वाक्यबाट नै गुलियो चटाएर लोभ्याउन सकिएन भने ? सुरुकै वाक्यबाट तितो भयो भने ? औषधी तितो हुन्छ भन्दैमा यो औषधी नै हो कि होइन थाहा छैन, थु थु गरिहाल्छ नि मान्छे । त्यो लेखाइको जादु कताबाट पाउने ? त्यसको फन्दामा परें अब ।

 त्यो लेखाइको जादुले, गुलिया वाक्यले मात्रै पनि कहाँ हुन्छ र ? ‘हो, यो चाहिँ खरेलले भनेको मनासिब हो !’ जस्तो पनि हुनुपर्‍यो नि, अनि पछि पछि ‘हो यो कुराचाहिँ मलाई थाहा थिएन, यसो रहेछ है !’ भन्ने पनि त पार्नु पर्ला नि ! हो म यस्तै यस्तैको द्वन्द्वको फन्दामा परें ।

 आ ! खोलो तर्नु परेपछि तिघ्रा कमाएर हुँदैन । कतिपय कुरामा त मूर्ख्याइँ पनि गर्नुपर्छ । अब नामर्दले झैं कुराका कुरामा यसै अल्मलिएर मात्रै केही काम छैन । धेर चिन्ता गर्‍यो भने झन् ‘कुकुरै हरायो घाँडै हरायो’ हुन्छ । त्यसकारण अब एक मन चित्त लगाएर लेख्ने हो लेख्ने हो, फेरि पनि लेख्ने हो । अब श्रीगणेश गर्ने हो । हिडेपछि आफैं बाटो भेट्तै गइन्छ ।


ट्यागहरू:
literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
भावपूर्ण श्रद्धाञ्जली  प्रगतिवादी सर्जक सरोज ओलीसर
भावपूर्ण श्रद्धाञ्जली प्रगतिवादी सर्जक सरोज ओलीसर
लीला अधिकारी पोष्ट- खगिन्द्रा खुसी - सोमबार ११ नोभेम्बर २०२४
असमको नेपाली साहित्यमा  छन्द कविहरू
असमको नेपाली साहित्यमा छन्द कविहरू
कल्पनादेवी आत्रेय पोष्ट-दिलिप घिमिरे - शनिबार १९ अक्टोबर २०२४
गर–गहना कहिले देखि
गर–गहना कहिले देखि
पुण्यप्रसाद खरेल पोष्ट- खगिन्द्रा खुसी - बुधबार ९ अक्टोबर २०२४