गर–गहना कहिले देखि

पुण्यप्रसाद खरेल पोष्ट- खगिन्द्रा खुसी · असोज २३, २०८१ ११:२० PM
Cover Image for News

हामीले थाहा पाउँदादेखि नै मान्छेहरू आफूलाई स्वभाविक र प्राकृतिक भन्दा छुट्टै, आफ्नो इच्छा वमोजिम अलिक राम्रो–सुन्दर जस्तो, बहादुर जस्तो, शीलवान जस्तो वा केही विशेष देखिनका लागि आफ्ना अङ्गमा अतिरिक्त केही थप वस्तुहरू घस्ने, लगाउने, केशराशी काँटछाँट गर्ने, मिलाउने आदि गर्छन् । यसरी प्राकृतिक देखावट भन्दा भिन्न र इच्छाएको रूपमा देखिनका लागि उपयोग गरिने वस्तुलाई मैले यहाँ ‘गहना’ शब्द प्रयोग गरेको छु । 
नेपाली बृहत् शब्दकोशले ‘गहना’ शब्दको परिभाषा यसरी दिएको छ– १. “सुन–चाँदी आदिबाट बनाइने सिंगार पटारका साधन, शरीर वा व्यक्तित्वको वाह्य शोभा बढाउनका लागि शरीरका नाक, कान, घाँटी आदि बिभिन्न भागमा लगाइने वा पहिरिने तिनै वस्तु, अलङ्कार, २. शोभा दिने र वाह्य इज्जत बढाउने बिभिन्न किसिमका कुरा वा गुण”
मान्छेहरू टीका लगाउँछन्, चन्दन घस्छन्, चुरा र कल्लीहरू लगाउँछन्, घाँटीमा भिर्छन्, अरु कान, नाक, ओठ आदि छेडेर विभिन्न वस्तुहरू लगाउँछन् ती वस्तुलाई नै गहना भन्ने गरिन्छ । 
प्रश्न उठ्छ– यी गहना लगाउने चलन कसरी सुरु भयो ? कहिले बाट सुरु भयो ? कसले सुरु गरे ? यस लेखको उद्देश्य यिनै विषय कोट्याउने, अलिअलि पर्गेल्ने, केलाउने रहेको छ । 
गहनाको प्रचलन मानव सभ्यताको आदिमकाल अर्थात् शिकारी युगबाट नै भएको बुझिन्छ । सुरुमा यो सौन्दर्यता बढाउने प्रयोजनमा थिएन । त्यसबेला शिकारी आफ्नो आहाराका लागि बिभिन्न जीव, जन्तु, चराचुरुङ्गी मारेर ल्याउँथे । सबै परिवार बसेर काँचै या आगोको विकास भैसकेको अवस्थामा भए पोलेर खान्थे । त्यसबेलाका मानिसको मूल आवश्यकता भनेको भोकमार्नु मात्र थियो । मारेर ल्याएका जनावरहरूको मासु त खान्थे तर तिनका सिङ, खुर, हड्डी, नङ्ग्रा, छाला, प्वाँख, दाँत आदि खाइँदैनथे । ती नखाइने चीज लगभग तिनका लागि बेकारका जस्तै हुन्थे । तैपनि उनीहरू ती जनावरका छाला ओड्न, सिङ टाउकामा लगाउन, नङ्ग्रा वा दाँत गलामा झुन्ड्याउन, प्वाँखहरू ओठमा, नाकमा, कानमा सिउरिने गर्थे । हुँदाहुँदै छाला नै छेडेर पनि प्वाँख सिउरिएर उड्ने जस्ता देखिने तथा आफूलाई कष्ट सहने क्षमता धेरै देखाएर बहादुरी प्रदर्शन गर्ने पनि गर्थे । सेता दाँत हार मिलाएर धागो वा डोरामा बाँधेर गलामा झुन्ड्याउँदा झुन्ड्याउँदै उनीहरूमा त्यो एउटा त्यसै राम्रो देखिने हुन थाल्यो र सबैले त्यसरी नै लाउन थाले । कसैकसैले जनावरका नङ्ग्राकै माला लगाउने पनि गरे । 
यसरी चराचुरुङ्गीका प्वाँखहरू ओठ, नाक, कान छेड्दै नियमित सिउरिंदा सिउरिंदै त्यसैमा अभ्यस्त र त्यसैमा सुन्दरता देख्न पनि थालियो । अझ आदिमानिसहरू खानासाना खाएर मनोरञ्जन गर्दा नृत्य गर्दा बिभिन्न जनावरको रूपमा रुपित हुँदै नाच्थे पनि । त्यसो गर्दा बिभिन्न जनावरका छाला ओड्ने, नङ्ग्रा र सिङहरू लगाउने र जनावरकै रूप लिने पनि गर्थे । पश्चिमी अमेरिकामा रेड इन्डियन कविलाका मान्छेहरू आफ्नो ठाउँमा पाइने त्यो खैरो भालू, त्यो सबभन्दा डरलाग्दो जनावरका नङ्ग्राबाट बनिएका गहना लगाउन सबैभन्दा इच्छुक हुन्थे । जसले ती भालुका नङ्ग्राहरूको गहना लगायो उसमा त्यही भालूकै जस्तो बल, साहस प्राप्त हुन्छ भन्ने ती रेड इन्डियनहरूलाई विश्वास थियो । त्यसैले ती भालूका नङ्ग्रा त्यसरी लगाउने मान्छेका लागि आंशिक रूपमा गहना हुन्थे भने आंशिक रूपमा त तिनलाई त्यो बुटी जस्तो पनि हुन्थ्यो । 
यसरी सुरुसुरुमा नाक, कान, ओठ, घाँटी, पाखुरा, खुट्टामा पहिरिने अतिरिक्त चीजको चलन सौन्दर्यप्रति जागरुक भएर नभई उपयोगितामा आधारित भएर हुँदै गयो । 
एक जना ब्राजिली विद्वान फान डेन स्टाइनेन भन्नुहुन्छ– “मेरा विचारमा त्यतिबेलाका मानिसको लागि खेलको आधार शरीर स्फूर्ति र बलियो हुनु भए जस्तै, सिंगार पेटारको मूल आधार भनेको मनोरञ्जन हो, तर जुनजुन चीजहरू आभुषण या गहनाको रूपमा देखिएका छन् ती सुरुमा उपयोगिताकै रूपमा मानिसले जानेका हुन् । हाम्रा (ब्राजिली) रेड इन्डियनहरूमा उपयोगी चीजहरू नै गहनाको रूपमा प्रयोग भएका छन् र त्यसैले हामीलाई उपयोगी हुनु नै गहना हुनुको पूर्ववर्ती हो भन्ने कुरामा पूरापूर विश्वास छ ।”
हातमा चुरा या बाइँको चलन कसरी आएको हो त ? भन्ने वारेमा विद्वानहरूको भनाइ दुई प्रकारको पाइएको छ । एउटा भनाइ छ– कविला युगका योद्धाहरूका हात–गोडा अझ खास गरेर हात ढाक्ने गरी फलामका पाताले या विशेष जनावरको छालाले बाँधेर लडार्इंमा जाँदा बैरीको खुकुरी–तरवारको प्रहारबाट बचाउन सहयोगी हुने भएकाले हात पाखुरा ढाकेर लगाउने चलन सुरु भयो । अर्को भनाइ छ– धारिला पात या काँडादार जङ्गलमा कन्दमूल तथा फलफूल खोज्न जङ्गल प्रवेश गर्दा हात या खुट्टाको सुरक्षाको लागि यस्ता फलामका पाता वा विशेष छाला उपयोग गर्ने चलन सुरुभयो । 
यसरी पाखुराको सुरक्षाका लागि उपयोग गरिएका धातुका पाता वा छालाका वस्तुको नियमित उपयोगले पछिपछि त्यो लगाएको हात राम्रो लाग्ने र नलगाएको हात बुच्चो जस्तो लाग्ने भएर त्यो त गहनाको रूपमा परिणत भयो । हातमा लगाउने चुरा, खुट्टामा लगाउने कल्लीको चलन यसरी नै सुरुभएको हुनु पर्छ भन्ने मानव सभ्यता सम्बन्धी कलाको उत्पत्ति र विकास सम्बन्धी खोजी गर्ने विद्वानहरूको राय छ । 
यहाँ म गियोर्गी प्लेखानोभ लिखित पुस्तकको एक अनुच्छेद राख्न अनुमति माग्दछु– “हाथों और पैरों मे छल्ले पहनने का रिवाज धातु के आभुषणों के इस्तेमाल का पूर्ववर्ती है । हान्टेन्टाट जन हाथीदाँत के बने छल्ले पहनते थे । अन्य आदिमजन दरियाई घोडे की खाल के छल्ले पहनते थे । हो सकता है, सुरु में इन छल्लों का इस्तेमाल काँटेदार पौधों से खुली वाहों को बचाने के व्यवहारिक उद्देश्य से भी किया जाता हो ।”
कला के सामाजिक उद्गम: पेज – १२२
उसै त आजभोलि नाक–कानमा लगाउने, हात गोडामा लगाउने गहनाका वारेमा, अझ विशेषगरी महिलाहरूले लगाएका गहनाका वारेमा त्यस्सै पुरुष जातिले हतकडी र नेलको रूपमा पहिराइ दिएको, नाकी लगाएको या कान छेडेर पशुलाई झैं चिनिन वा सदाउन जबर्जस्ती पहिराइ दिएको भनेर अत्युक्ति गर्ने पनि गरिन्छ, महिलावादी व्याख्या गरिन्छ । अर्थात् गहना त पुरुषले महिलालाई शासित गरिराख्नका लागि उनलाई जबर्जस्ती पहिराइ दिएको जस्तो गरी परिभाषित गर्न कोसिस गरिन्छ । तर गहना गुरिया वारेमा, आभुषण आदिका वारेमा इतिहास पर्गेलेर अध्ययन गर्दा त्यस्तो पाइँदैन । मानव समाजमा वर्गको सुरुवातपूर्व नै अथवा शोषण गर्ने स्थिति बन्नुपूर्व नै गहनाको सुरुवात भएको देखिन्छ । 
विद्वानहरू के पनि भन्ने गर्छन् भने, जब बिभिन्न धातुको आविष्कार भयो, जब मानिसले धातुकला सिके तब मानिसले आफूलाई अरुभन्दा धनी देखाउनका लागि आफ्ना श्रीमतीहरूलाई तथा आफ्ना दासीहरूलाई धातुका आभुषणहरूले सजाएर आफूलाई समृद्ध देखाउने इच्छाले पनि गहनाको विकासमा सहयोग पुगेको हुनुपर्छ । समृद्धि देखाउनका लागि लगाएका ती धातुका वस्तुहरू लाउँदा लाउँदै हेर्नमा सुन्दर देखिन पनि थाले र पछिबाट ती सौन्दर्य बढाउने आभुषणमा परिणत भए । 
निधारमा या शरीरको कुनै भागमा लगाइने निश्चित रङको टीका पनि एक गहना नै हो । टीका लगाउने चलन कसरी सुरुभयो भन्ने वारेमा पनि खोज हुनु जरुरी छ । के टीका लगाउने चलनको विगुत लगाउने चलनसँग सम्बन्ध नहोला ? के विगुत लगाउने चलनको शिवरात्रीमा पशुपति वरिपरि आउने नाङ्गा बाबाहरूले जीउभरि घसेको खरानीसँग सम्बन्ध नहोला ? के जीउभरि खरानी घस्ने चलन आदिम मानिसहरूले अनेक कीरा–माकुराहरूबाट बच्नका लागि शरीरभरि कुनै दुर्गन्धित तेल वा कुनै वनस्पतिको रस या कुनै विशेष माटोको पत्र जीउभरि ढाक्नुसँग सम्बन्ध नहोला ? भैंसी, हात्ती या एक प्रकारको दरियाई घोडाले किचडमा लट्पटिएर जसरी जीउभरी हिलो दलेर झिंगा–मच्छडबाट सुरक्षित रहन खोज्छन् त्यो प्रव्रिmया आदिम मानिसहरूका लागि अनिवार्य झैं थियो । यो कुरा बुझेपछि नाङ्गै जीवन निर्वाह गर्न चाहने नाङ्गा बाबाहरूले झिंगा, मच्छड, उपियाँबाट बच्न तथा सिधा घामको किरणबाट आफ्नो छाला सुरक्षित राख्न केही न केही शरीरमा घस्नु त प¥योप¥यो । झिंगा, मच्छडका लागि, अझ कीटाणुका लागि खरानी प्रिय होइन । त्यसैले त्यो शरीरको बचाउको र छालाको सुरक्षाको प्रचलनले मानिसमा खरानी घस्ने सँगसँगै बिभिन्न पाउडर र अत्तर घस्नेसम्म ल्यायो र त्यसको आयतन घट्तै घट्तै निधार भरि तेर्सो वा ठाडो बिगुत र एक टीकासम्म आइपुगेको बुझ्न त्यति कठिन पर्दैन । 
शरीरमा फलानु चन्दन घस्ता, खरानीको बिगुत लगाउँदा स्वर्ग प्राप्ति हुन्छ, यस्तोउस्तो पाप पनि नाश हुन्छ भनेर भनिने बेकारका कुराहरू भन्दा आदिम युगका मानिसहरूका लागि छालाको सुरक्षा र ती कीट पतङ्गहरूबाट रक्षा नै शरीरमा त्यस्ता चन्दन, खरानी या अन्य प्रकारप्रकारको माटो घस्न आवश्यक पर्ने कुरा प्राथमिक थियो भन्ने कुरा यथार्थ हो । 
जहाँसम्म कल्लीको कुरा छ, यसको सम्बन्ध पाउजूसँग पनि छ । पाउजूको सम्बन्ध गोडामा नाच्ता प्रयोग गरिने चाँपसँग पनि छ । आदिम मानिसहरूमा श्रमको काम सँगसँगै एक प्रकारको नृत्यको कार्य वा एक निश्चित ताल र लयमा लयवद्ध संगीतमा झुम्ने आदतसँग पनि छ । श्रम कार्यको निरन्तरताले उनीहरूलाई त्यसैमा रम्नु आवश्यक थियो । त्यसैले शरीरमा झुन्डिएका कुनै वस्तुको या लगाएका कुनै वस्तुको तालसँग ती श्रम कार्य गर्दै मनोरञ्जन प्राप्त गर्नुपर्ने जनले श्रम गर्दागर्दै पनि त्यस्ता आवाज निकाल्ने वस्तु लगाउनु आवश्यक थियो । त्यसैको परिवर्तित रूपमा पाउजू या कल्लीहरू अहिले हाम्रा बीच रहेका छन् । श्रमसँग सँगै संगीतको उपयोग गर्ने वा नाच्ने कुराका अवशेष नै अहिलेका धाननाच तथा डेउडा नाचहरू हुन् । 
अचेल सबभन्दा उखपातसँग विकसित भएको गहना के हो भन्दा औंठी भएको छ । धातुकलाको विकासपछि र मूल्यवान धातु, सुनको आविष्कार पछि अनि मूल्यवान चट्टान हिरा, पन्ना, मुगा, मोती, माणिक आदि विकास भएपछि औंठीले भने चमत्कारिक रूप लिएर यो फस्टाएको छ । यो पुरुषका औंलामा छ, स्त्रीका औंलामा छ, धनीका औंलामा छ, गरिबका औंलामा छ, डाक्टरका औंलामा छ, इञ्जिनियरका औंलामा छ, ठेकेदारका औंलामा, मन्त्रीका औंलामा, नेताका औंलामा, प्राध्यापकका, वकीलका सबका हातका औंलामा यो सजिएर बस्न थालेको छ । औंठी त अचेल एउटा महामारीको रूपमा बढेको छ । अब एउटा सुनको औंठी एउटा निश्चित औंलामा निश्चित पत्थरसँग जडेर लगाएर सम्पत्ति नहुनेले सम्पत्ति पाउने, सन्तान नहुनेले सन्तान पाउने, घर नभएकाले घर पाउने, पद र प्रतिष्ठा नभएकाले ती पद र प्रतिष्ठा पाउने, नेताले ठुलो नेता हुन पाउने, प्रधानमन्त्री हुन पाउने, प्रधानमन्त्री भए पछि त्यो प्रधानमन्त्रीको कुर्सी छाड्नु नपर्ने आदि हुँदैछ । वास्तवमा आज धेरै पढेलेखेका मान्छेहरू औंठीको प्रचार प्रसार गरेर अन्धविश्वासलाई बडो राम्ररी प्रचार प्रसार गर्दैछन् । कोही कोही त दस वटा औंलामा दसै वटा औंठी र खुट्टाका औंलामा पनि औंठी लगाएर महान बन्दैछन् । 
अचेल त अन्धविश्वास नाप्ने हो भने पनि औंठीबाट नापे हुन्छ । सामन्तवादी सोचको दृष्टिबाट हेरे पनि औंठीबाट हेरे हुन्छ । राम्रै गणतन्त्रवादी हौं भन्नेहरू, सामन्तवादका जानी दुश्मन हुँ भन्नेहरू, तथाकथित महात्मालाई या ज्योतिषीलाई ग्रह देखाएर अनि औंठी लगाएर बडो सामन्तवाद विरोधीको प्रमाणपत्र लुट्तै छन् । यही हेरेर पनि गहना गुरियाको विकामे ज्ञान सिके हुन्छ । गहना गुरियाको वास्तविक उद्भव, विकास र सांस्कृतिक रूपको प्राप्ति कसरी भयो बुझ्न आ–आफ्ना देशका आ–आफ्नै विशेषताहरू पनि छन् । अध्ययन गरौं, पढौं छलफल गरौं । 
मिति- २०७१/४/९ मा

पुण्यप्रसाद खरेल

ट्यागहरू:
सहित्य literature sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
असमको नेपाली साहित्यमा  छन्द कविहरू
असमको नेपाली साहित्यमा छन्द कविहरू
कल्पनादेवी आत्रेय पोष्ट-दिलिप घिमिरे - शनिबार १९ अक्टोबर २०२४