शोभा अधिकारीको ‘आमाको आँखा’ पहिलो लघुकथा सङ्ग्रह लोकार्पण

दिलिप घिमिरे · वैशाख ५, २०८३ ९:५० PM
Cover Image for News

झापा ५ बैशाख /लघुकथाकार शोभा अधिकारीको ‘आमाको आँखा’ पहिलो लघुकथा सङ्ग्रह शनिबार लोकार्पण गरिएको छ । 

लघुकथा समाज नेपालद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा नाटककार अशेष मल्ल उपस्थित हुनुहुनुहुन्थ्याे । उहाँले अनुभूति अभिव्यक्त गर्ने सबै माध्यम कला भएको उल्लेख गर्दै कलाको प्रदर्शनीय र पाठ्य स्वरूप फरक–फरक हुने धारणा राख्नुभयाे । 

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै सहप्राध्यापक विमला नेपाल,अनुपमा रेग्मी र सुमन वर्षा घिमिरेले कृतिमा नारी संवेदना र आमाको जीवन भोगाइ प्रभावकारी रूपमा प्रस्तुत गरिएको बताउनुभयाे । 

सामाजिक परिवेश,नारी चेतना,राजनीतिक आग्रह लगायत विविध विषयलाई समेटिएको यस सङ्ग्रहमा ४२ वटा लघुकथा समावेश छन् । कार्यक्रममा बोल्दै लेखिका अधिकारीले आफ्ना कथा कल्पनाभन्दा अनुभवमा आधारित रहेको बताउँदै समाजका यथार्थ चित्रलाई कथामा रूपान्तरण गरेको उल्लेख गर्नुभयाे ।

समाजका अध्यक्ष तुलसीहरि कोइरालाले पछिल्लो समय लघुकथा लेखनमा सङ्ख्यात्मक वृद्धि सकारात्मक भए पनि गुणात्मक पक्षमा अझ ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयाे ।

नेपालमा वि.सं. २०६० पछि लघुकथा लेखनले उल्लेख्य गति लिएको मानिन्छ। नेपाली लघुकथा विधाको प्रारम्भिक कृतिका रूपमा पूर्णप्रसाद ब्राह्मणको ‘झिल्को’ (२००७),जयनारायण गिरीको ‘कसिङ्गर’(२००८) र शशिकला शर्माको ‘उनको सुरुवाल’ (२०१९) उल्लेखनीय मानिन्छन् ।

ट्यागहरू:
लघुकथा
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।