पद्मावती सिंहलाई ‘कविडाँडा सुवर्ण-तुलसी काव्य पुरस्कार २०८२’ अर्पण
११ कात्तिक, झापा । अग्रज स्रष्टा पद्मावती सिंहलाई ‘कविडाँडा सुवर्ण-तुलसी काव्य पुरस्कार २०८२’ अर्पण गरिएको छ । कवि तथा गीतकार सरला श्रेष्ठद्वारा आफ्ना मातापिता सुवर्णजङ्ग श्रेष्ठ र तुलसीदेवी श्रेष्ठको नाममा स्थापित उक्त पुरस्कार एक भव्य समारोहका बिच सिंहलाई प्रदान गरिएको हो ।
ललितपुरस्थित होटल साङ्ग्रिला ब्लुमा आयोजित उक्त विशेष कार्यक्रम कवि तथा कथाकार एल.बी. क्षेत्रीको अध्यक्षता एवम् मदन पुरस्कार विजेता प्रख्यात कवि गोपाल पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
प्रमुख अतिथि पराजुलीद्वारा पानसमा दीप प्रज्वलन गरी औपचारिक समुद्घाटन गरिएको समारोहमा सङ्गीतकार राजु सिंहले स्वागत मन्तव्य व्यक्त गरेका थिए, भने डा. सृजना शर्माद्वारा पुरस्कृत व्यक्तित्व पद्मावती सिंहका साहित्यिक ,साङ्गीतिक , पाटोहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै उनका साहित्यिक एवं कृतित्वमाथि प्रभावकारी रूपमा प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा सञ्चारकर्मी प्रकाश सायमी, साहित्यकार मातृका पोखरेल र भागिरथी श्रेष्ठ लगायतका विशिष्ट व्यक्तित्वहरूले शुभकामना व्यक्त गर्दै सम्मानित स्रष्टा सिंहको सक्रिय र सार्थक लेखनको कामना गरेका थिए । 
कार्यक्रमको अर्को मुख्य आकर्षणका रूपमा स्रष्टा सरला श्रेष्ठको शब्द तथा पद्मावती सिंहको स्वर, कृष्णदेव रुपाखेतीद्वारा निर्देशित,हरीश कल्पित एवं अनु श्रेष्ठको जीवन्त अभिनय रहेको र राजु सिंहद्वारा संगीतवद्ध म्युजिक भिडियो ‘म मौन रहिरहें’ समेत लोकार्पण गरिएको थियो ।
उक्त कार्यक्रमका सशक्त कविहरू विश्व विमोहन श्रेष्ठ, सरला श्रेष्ठ, उषा शेरचन र डा. गीता त्रिपाठी लगायतले आ-आफ्ना उत्कृष्ट रचना वाचन गरी कार्यक्रमलाई काव्यमय तुल्याएका थिए ।
सो समारोहमा प्रमुख अतिथि गोपाल पराजुलीले सर्जकलाई सम्मान र पूजा गर्ने यस्तो पवित्र कार्यमा साक्षी बन्न पाउँदा खुसी व्यक्त गर्दै पुरस्कृत व्यक्तित्व सिंहलाई शुभकामना व्यक्त गरे ।
सयौँको सङ्ख्यामा विशिष्ट साहित्यकारहरूको उपस्थिति रहेको उक्त भव्य समारोहको समापन सभापति एल.बी. क्षेत्रीद्वारा आफ्ना कविता वाचनसहित गरिएको थियो भने कार्यक्रमको सहजीकरण सिर्जना शर्माद्वारा कुशलतापूर्वक गरिएको थियो ।