बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।
बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरू”—छब्बिस अनुच्छेदमा
✍️ मनु योङहाङ
नेपाल खुला विश्वविद्यालय
क: पृष्ठभूमि
१: पाँचथरे कवि हाङओजा थेगिमको कविता सङ्ग्रह “रातसँगै पलाएका सपनाहरू” विमोचनको क्रममा झापाको दुधेबजारमा दमकका लेखक कमलराज भट्टराईसँग भलाकुसारीको चाँजोपाँजो उपन्यासकार वीरेन्द्र थोक्लिहाङ सरले मिलाउनु भयो । मैले समीक्षा गरेको थेगिम सरको कृतिपछि उहाँले आफ्नो कृति “सम्झनाको गोरेटोमा छब्बिस पाइलाहरू” दिएर भन्नुभयो—तपाईंसँग हाम्रो भेट त बिर्तामोडको साहित्य चौतारीको कार्यक्रममा भएको हो ।
२: एउटै जिल्ला र क्षेत्र याङरुपकै तथा शिक्षण पेसा समेत मिल्ने भएकोले मैले सहर्ष पुस्तक ग्रहण गरें । म धर्मेन्द्र नेम्बाङको बहुलरङ्गवादी दर्शनको समर्थक भएकोले बहुलरङ्गको कसीमा समीक्षात्मक रूपमा मलाई मन परेका कृतिहरूलाई जाँच्ने गर्छु । प्राप्त कैयौँ कृतिहरूमध्ये दर्जनौँ कृतिहरुको बहुलरङ्गवादी समीक्षा गरिसकेको छु । यसै क्रममा “सम्झनाको गोरेटोमा छब्बिस पाइलाहरू” बहुलरङ्गवादबाट हेर्दा देखेका रङहरूलाई यसप्रकारले चर्चा गरेको छु ।
ख: नियात्राकारको पृष्ठभूमि
३: सुरुवातमा संस्कृत अध्ययन गरेर पछि व्यवस्थापनमा बी.कम. र मानविकीमा बी.ए. पूरा गरी हिमालय विद्या मन्दिर दमकमा ३२ वर्ष शिक्षण गरेका नियात्राकार नेपाली साहित्यका चर्चित नाम प्रा. डा. गोविन्दराज भट्टराईका साख्खै माइला दाइ हुनुहुन्छ । साधारणतया आर्टस् अर्थात् कला अध्ययन गरेकोले साहित्यलाई बुझेको हुन्छ र साहित्य समाजको लागि उपयोगी हुने तर्कलाई नियात्राकारले ठ्याक्कै प्रमाणित गरेका छन् ।
४: २०१४ सालदेखि २०७८ सालसम्मका ६४ वर्षका सम्झनाका बाछिटाहरू छब्बिसवटा निबन्ध, नियात्रा वा संस्मरणमार्फत छताछुल्ल भएर पस्किएको यो सङ्ग्रह पठनीय छ । बाल्यकालको भुटानदेखि संस्कृत पढ्न बनारस अनि नेपालकै दमक तथा भारतका दार्जिलिङ र आसामका विभिन्न परिवेश र कार्यक्रममा उनी गए । ती ठाउँहरूमा गएको बखत बस्दा तथा यताउता घुम्दा, टहलिँदा बटुलिएका अनुभवहरूको सङ्कलन हो सम्झनाको गोरेटोमा छब्बिस पाइलाहरू शीर्षकका संस्मरणहरू ।
५: यी छब्बिसवटा नियात्राहरूले विकासात्मक तर अन्तरदेशीय अन्तरसांस्कृतिक सम्बन्धको बोध गराउँछन् । यातायात र सञ्चारको विकासको कारण भूमण्डलीकरण भएर अन्तरवैयक्तिक र अन्तर्सामाजिक र अन्तर्सांस्कृतिक सम्बन्धको उतारचढावको छनक नियात्राकार दिन सफल छन् ।
ग: भावनात्मक संयोजन—उत्तरआधुनिक बहुलरङ्ग
६: यो नियात्राले भुटान र आसाम तथा दार्जिलिङका नेपालीहरूको इतिहास र समसामयिक परिवेशलाई सटीक र चोटिलो रूपमा सम्बोधन गर्छ । क्षमतावान् शिक्षक तथा कुशल नियात्राकारले यात्राको क्रममा उपयोग गरेको प्रयोगशीलता, सिर्जना र विभिन्न भावनात्मक संयोजनले उहाँको सिर्जनामा विशिष्ट पहिचान स्पष्टिन्छ । नयाँनयाँ ठाउँहरूमा भेटिने नयाँ शब्दहरू र परिवेशको प्रयोगले उहाँमा रहेको प्रयोगशीलताको सामर्थ्यलाई स्पष्ट्याउँछ । प्रयोगशीलताको मतलब अग्रगमन बनाउनु हो । यसको अर्थ नियात्रा सङ्ग्रह छब्बिस पाइलाहरूले सिधै उत्तरआधुनिकताभित्रको बहुलरङ्गवादलाई सङ्केत गर्छ ।
७: रोलाँ बार्थले टेक्स्टलाई दुई प्रकारले अर्थ्याएका छन्—पाठकीय टेक्स्ट र लेखकीय टेक्स्ट । पाठकीय टेक्स्ट सुबोध हुन्छन्, सजिलै बुझिने हृद्गम्य हुन्छन् । उता लेखकीय टेक्स्ट भने पाठकलाई चुनौती दिने खालका हुन्छन्, जटिल हुन्छन्, जसलाई क्षमतासम्पन्न, सक्रिय र चिन्तक पाठकले स्वीकार्छन् । रोलाँ बार्थको शब्दलाई सापटी लिने हो भने यो नियात्राले पाठकमा यस्तो सपाट भावना जन्माउँछ कि जसको पठनका कारण ती पाठकहरू नियात्राकारसँगै भ्रमण गर्छन् । अर्थात् छब्बिस पाइलाहरूले पहिलो पाठकीय टेक्स्टलाई अपनाएको पाइन्छ ।
घ: बहुलरङ्ग स्थानीयता—उत्तरउपनिवेशवाद
८: नियात्रा सङ्ग्रहमा सङ्कलित नियात्राहरूलाई उत्तरउपनिवेशवादको रङ्गमा हेर्नु वाञ्छनीय हुन्छ । नेपाल र भुटानजस्ता विकासोन्मुख देशहरू भारतको अघोषित उत्तरउपनिवेशवादको मियोमा फनफनी घुमिरहेको अनुभूति लेखकले बनारस यात्रा भाग–१ र २ एवम् भुटानको बाल्यकालीन सम्झना र भुटानको जनगणनामा हामीजस्ता स्मरणमा छताछुल्ल छन् ।
९: हुन त नेपाल कहिल्यै पनि उपनिवेशमा नपरेकोले उत्तरउपनिवेशको रङ अनुचितजस्तो लागे तापनि विश्लेषणमा सामीप्य हुन सक्छ । अझ सम्झनुपर्ने कुरा के हो भने नेपालीहरू स्वतन्त्र भएर पनि स्वदेशमै एकतन्त्रविरुद्ध लडेका अनगिन्ती तथ्यहरू नियात्रामा बग्रेल्ती देखाइएका छन् । यसको सबैभन्दा जिउँदोजाग्दो तथ्य १८ सालको भयमा लेखकले देवीप्रसाद पाठकको निर्मम हत्याको बयान गरेका छन् । त्यो क्रान्तिमा मेरै हजुरबुबाहरू स्व. जरबारे (धनबहादुर) र स्व. औतारे आसाम निर्वासित भएर उतै सहादत प्राप्त गर्नुभएकोले मेरो परिवार पनि आगन्तुक औपनिवेशवादको सिकार हो ।
१०: नेपालीहरूले स्वदेशी एकतन्त्रवादको विरुद्धमा मात्र लडेनन्, भारतीय स्वतन्त्रताको लागि पनि लडे । यो लडाइँमा भारत मात्र स्वतन्त्र भएन, नेपाल पनि एकतन्त्रबाट मुक्त भयो तर भारतीयहरूमा पाश्चात्य औपनिवेशिक प्रवृत्ति कायम रहेर अहिलेसम्म पनि त्यही प्रवृत्तिबाट निर्देशित भएर नेपाललाई हेर्ने गर्छन् ।
ङ: बहुलरङ्गहरू—स्थानीयता, लैङ्गिकता र प्रकृतिवाद
११: साहित्यिक कृतिहरूको पठनले पाठकमा विभिन्न अवधारणा, विचार र मान्यताहरू जन्माउँछ । स्थानीयता, लैङ्गिकता र प्रयोगजस्ता बहुलताका रङहरू छताछुल्ल छरिनुको साथै बहुलरङ्गवादका सुन्दर रङहरू स्थानीयता, लैङ्गिकता र प्रयोगशीलता प्रचुर मात्रामा यो कृतिमा भएको देखिन्छ । नियात्राकारले लेखनमा आधुनिकता र उत्तरआधुनिकता दुवैको समर्थन गरेको पाइन्छ । स्थानीयता, लैङ्गिकता, समावेशिता र सीमान्तकृतहरूको आह्वानमा आधुनिकताभन्दा उत्तरआधुनिकता बढी देखिन्छ । पिछडिएकाहरू, पछि पारिएकाहरू र सीमान्तकृतहरूप्रतिको सहानुभूति नियात्रा मेरो धरान घुम्ने रहरमा तुलसीराम पौडेलमार्फत स्मरण गर्दै बहुलरङ्गवादका सुन्दर रङहरू स्थानीयता, लैङ्गिकता र प्रयोगशीलता प्रयोग गरेर प्रकृतिवादलाई बढावा दिनुभएको छ ।
१२: पाठकीय विचारबाट हेर्दा लेखकले भावपूर्ण शब्दमार्फत पाठकहरूलाई सङ्घर्ष र चेतनाको रसले बुनेर राख्ने सामर्थ्य राख्न सफल छन् । स्पष्ट शब्द र परिवेशीय रङमा रङ्गाउँदै नियात्राकार आफ्नै लेखनशैली अपनाउँछन् । शब्द र अर्थको जुधाजुधलाई यसरी रङ्गाउँछन् कि सङ्ग्रह पढ्दा जीवनको रङ स्पष्ट देख्न सकिन्छ—च्याङथापुको बसाइ र च्याङथापुको जनजीवन ।
च: बहुलरङ्ग, आदिवासी पूर्वीय चेत, परम्परा र मौलिकता—अस्तित्ववाद र यथार्थवाद
१३: नियात्रालाई उत्कृष्ट बनाउन लेखकले शब्द सङ्गठनमा कुशलता, प्रतीक र बिम्बहरूको लगानीमा उत्कृष्टता एवम् बेमिल्दा उपादानहरूलाई मिलाएर नवीनता बिउँझाउँदै आफ्नोपना जाहेर गरेका छन् । लेखकले सुन्दर शब्दगत र अर्थगत उभयस्तरमा उपस्थित भई बोधको उर्वर लाक्षणिकतालाई विस्तारित गरेका छन् । स्थानीयता, परम्परागत तथा मौलिकतामा मुछिएको वर्णनको पुरानो शैलीलाई टपक्क टिपिएको छ । मैले कर्मकाण्ड सिकेँ निबन्धमा यो तथ्यलाई सर्लक्कै उठाएका छन् ।
१४: लेखककै जिकिरमा ‘भुटानको इतिहासलाई लामो समय लगाएर अध्ययन गर्दा कर्तव्यपथमा होमिएका नेपालीहरूले भनेका कुरा र लिखित इतिहासमा समानता पाउन नसकेको देखिन्छ ।’ मन छुने तथ्य पुर्ख्यौली थलो नेपाल र पशुपतिको भ्रमणपछि महामारीको कारण परिवारै सखाप भएको र पछि आफन्तले अस्थिपञ्जर खोजेर अन्त्येष्टि गरेबाट मुग्लानमा भोग्नुपरेको यथार्थता देखाइएको छ ।
१५: सुमधुर भविष्यको खोजीमा एउटा परिवार, अझ घरमूलीले केकस्ता सास्ती र पीडा भोग्नुपर्छ भन्ने इतिहासको सबैभन्दा मार्मिक पक्षलाई यसरी यो हाम्रो मधेस यात्रा र गौहत्याको दोषमा स्पष्ट पार्न सफल भएर अस्तित्ववाद र यथार्थवादको गम्भीर वकालत गर्न सफल भएको छ ।
छ: बहुलरङ्ग, समता र समावेशिता—रोमान्टिक सौन्दर्यवाद
१६: बहुलरङ्गवादको अर्को रङ समता र समावेशितालाई दिलाउनमा नियात्रासङ्ग्रह सफल छ । नेपालका शासकहरूले भुटानमा नेपालीहरू पठाए । कतिपय नेपालीहरू काम र दामको खोजीमा आफैँ भुटान पुगे । पछि विविध कारणले स्वदेश फर्किए । यस्तै एक परिवार लेखकको रहेको र उहाँले भुटानमा स्थानीय नेपालीपन, गुरुकुल तथा अन्य अपनाएको वर्णन नियात्रामा भेटिन्छ । भुटान सरकारको यातनाबाट धेरै गोर्खालीहरू मर्दा पनि कुनै साहित्यकार या पत्रकारले गम्भीर रूपले लेखिदिन नसकेको तथ्यलाई महसुस गराउन सफल यो कृतिले भुटानी गोर्खाहरूको इतिहासलाई समेटेको छ ।
१७: रोमान्टिक सौन्दर्यवादको रूपमा राष्ट्रिय स्वाभिमानका साथ पानीजहाज, रेल र प्लेनजस्ता आधुनिकताको संसारमा सयर गराउन पुगेका छन् । बनारस यात्रामा वर्णित आधुनिक जीवनशैली तथा आसाम बिताएको वैभवशाली जीवनले रोमान्टिक सौन्दर्यबोध गराउँछ । जीवनको अर्को पाटो उजागर गर्न मेरो पहिलो सिनेमा अनुभवमा यसरी लेखिएको छ—“दाजु, दिउँसै रात पर्यो कि क्या हो ?”
१८: बहुलरङ्गवादको अर्को रङ पर्यावरण हो, जसलाई परिचित गराउने काम नेइसले गरे । यही अवधारणाअनुसार प्रदूषणको विरुद्धमा आवाज बुलन्द गरिएको छ । मेरो फावाखोला ओसे बसाइमा सम्झना गरिएको छ—“हामी कुलो लडाइदिन्थ्यौँ । पानी भिरैभिर छाँगो भएर गएको हेर्न रमाइलो हुन्थ्यो ।” यो संस्मरणले पर्यावरणको वकालत गर्छ ।
ज: सांस्कृतिक पर्यावरणको चेतना—प्रयोजनवाद तथा संरचनावाद
१९: पूर्वी नेपालको लिम्बूवानको च्याङथापु, नाम्रेक र सेरेजाजस्ता याङरुपका सेरोफेरोमा स्थानीय परम्परा तथा सांस्कृतिक सम्पदा र पर्यावरणको चोटिलो चेत यो नियात्रामा पाइन्छ । सेरेजामा साइत हेर्न तथा गीता, चण्डी अध्ययनले सांस्कृतिक पर्यावरणीय रङ देखाउँछ । उता गोलाका भोटेहरूको दोचा र विभिन्न वनौषधिहरूको उपयोगबाट सांस्कृतिक सम्पदा र पर्यावरणीय चेतको जिकिर गर्न नियात्राकार सफल छन् ।
२०: कृतिको आयाम मौलिकता र स्थानीयतामा मात्र सीमित छैन बरु भुटानबाट सुरु भएर पूर्वी विकट पहाडी जिल्ला पाँचथर र ताप्लेजुङलाई क्षेत्रको रूपमा नियात्रा सुरु गरिएको छ । देन्छुका र लख्तीखोलाका समाज प्रारम्भिक क्षेत्र देखिएका छन् । त्यसपछि ताप्लेजुङ फर्कनको लागि इन्डियाको वर्णन गरिएको यो कृतिले नेपाल, भुटान तथा भारत आउजाउबाट नेपाली समाजले देखाएको बहादुरीको सविस्तार तर रोचक वर्णन गर्छ । यसरी यो ६४ वर्षे भोगाइबाट प्रयोजनवाद प्रस्ट्याउँछ भने एउटा नेपाली पूर्वेली समाजसँगै सिङ्गो याङरुपे समाज निर्माणका संरचनाहरू र यसका अङ्गहरूको आद्योपान्त देखाउँदै संरचनावाद र बहुलरङ्गवादलाई पूर्णता दिएको छ ।
झ: नारी, पिछडिएको तथा सीमान्त रङ—द्वन्द्ववाद र नारीवाद
२१: राजनीतिक दुरवस्था, स्वार्थपरायण नेता तथा विजेताहरूलाई कसिलो व्यङ्ग्य लेखकले २०१८ सालको भयमा ठोकेका छन्—यसरी यो नियात्रा पूरै धर्मेन्द्रविक्रम नेम्बाङको बहुलरङ्गवादको तेस्रो दर्शनको कित्तामा सर्लक्कै उभिएको छ ।
२२: पोस्टमोडर्निज्मको एक आयाम बहुलरङ्गवादको अर्को आकर्षक रङ नारीवादको नियात्रामा स्पष्ट रङ देखिन्छ । नारीवादको सन्दर्भमा आमा फुरुम्बुको हजुरआमा मात्रै होइन, भुटानमा दिदीमार्फत सम्पूर्ण पीडित नारीहरूको प्रतिनिधित्व मात्र गराएका लेखकले सीमान्तकृतलाई झल्काएका छन् ।
२३: बहुलरङ्गवादको अर्को रङ सीमान्तकृतको बुलन्द आवाज नियात्रामा जताततै छताछुल्ल छरिएको पाइन्छ । नेपालमा जति पनि आन्दोलन भए तिनले किञ्चित पनि ठूलाठालुहरूलाई छोएन बरु छोयो शोषित, पीडित र सीमान्तकृतलाई । यसको ज्वलन्त उदाहरण देवीप्रसाद पाठकको दर्दनाक हत्याले बोलेको छ । तातो आदानको माला, ओहो, कति निर्दयी सरकार ! बहुलरङ्गवादको अर्को आकर्षक रङ पिछडिएको र सीमान्तकृतको स्वरूपमा तुलसी पौडेल, रुपाखेती र सुवेदी माइला जस्ता पात्रहरूले बोलेका छन् ।
ञ: बहुलरङ्गीय डिकन्स्ट्रक्सन, विखण्डन, विनिर्माण
२४: गद्य संरचनालाई केही हदसम्म तोड्नाले नियात्रासङ्ग्रह आफैँमा उत्तरआधुनिकवादको एक रङ बहुलतावाद स्थापित भएको छ । यो सङ्ग्रह परिवेश र भोगाइको संयोजन हो । भुटान, आसाम र बनारसमा रहेका नेपाली जनजीवन र त्यस समयको अन्तर्राष्ट्रिय परिवेशलाई लेखकले अनुभव र घटनामार्फत प्रस्तुत गरेका छन् । ६४ वर्षे समयको उछालसँगै नियात्रासङ्ग्रहमा उमारिएको भाव र शब्दले पाठकीय परिवर्तनलाई आत्मसात् गरेको छ । खास किसिमका शब्द र भावनाहरू पाठकहरूलाई सोचेर, सम्झिएर लेखिएका छन् । यसबाट कथा र पात्रहरू स्थिर छैनन् । अपेक्षाअनुसार पाठकीय भावना परिवर्तनशील बनाउँदै एकात्मवादलाई नाघ्दै बहुलवादमा रूपान्तरित गर्न लेखक सफल छन् । लेखनमा प्रयोग गरिएका भाषा, शैली र अलङ्कारले संस्मरणको माधुर्यता एकै प्रकारको नहुने नै भयो । यसर्थ गन्तव्य अन्ततः उत्तरआधुनिकवाद उर्फ बहुलरङ्गवादतिरै ढल्किएको प्रस्टै छ ।
२५: ह्यान्स रोबर्ट याउसले प्रतिपादित पाठकीय पुस्ताको व्याख्यामा टेक्स्टको अस्तित्वलाई यो नियात्रासङ्ग्रहले अर्थ्याउँछ । उनले खास किसिमका शब्द र वाक्य छानेर जीवन्तता ल्याएका छन् अर्थात् पाठकीय पुस्तान्तरणलाई ध्यान दिएका छन् । स्टान्ली फिसको व्याख्यात्मक समुदाय भनेको विधि र नियमअनुसार पठन गर्ने समुदाय हो । भुटान र याङरुपको इतिहास, सांस्कृतिक परिवेश र नेपाली जीवनको मनोविज्ञान बुझ्न यो सङ्ग्रह महत्त्वपूर्ण पाठ हुन सक्छ । यसलाई इतिहास, संस्कृति र सामाजिक जीवनलाई जोड्ने कृतिका रूपमा व्याख्या गर्न सकिने आधारहरू छन् ।
२६: समीक्षा भनेको सबल र दुर्बल दुवै पक्षको सन्तुलित हेराइ हो । यो वर्णनात्मक कथा, सरल भाषाशैलीको प्रयोगले पठनमा रोचकता थपेको छ । यति हुँदा पनि पाठक कन्फ्युज्ड हुन सक्छ । संस्मरणमा परिवेश र स्थानलाई अनावश्यक लम्ब्याइएको जस्तो भान पर्न सक्छ । तर रोचक तथ्य, भुटानी, आसामी र याङरुपका नेपाली समुदायबारे जिज्ञासु पाठकहरूलाई यो सङ्ग्रहले धेरै जानकारी दिएको छ । मौलिक र मन छुने कलात्मकताको लेपन लागेको, आञ्चलिकताको झल्को दिने यो संस्मरण पठनीय छ । यसले नयाँ पुस्तालाई हिजोको याङरुप, भुटान र आसामबारे मात्र नभएर हिजोका पुस्ताको बहादुरीको गाथाबारे जानकारी दिन्छ । अन्तमा तेस्रो दर्शनका विचारक धर्मेन्द्रविक्रम नेम्बाङकै शब्द सापटी लिँदा बजार हल्लाउन सक्ने तागत भएको एक सशक्त पठनीय कृति भएको ठहर गर्दछु । नियात्राकारप्रति धन्यवादसहित सफलताको कामना गर्दछु । नोगेन, सेवारो ।
— हिलिहाङ–३, कुर्लुम्बा, पाँचथर । हाल अर्जुनधारा–११, झापा ।