यसवर्षको ‘विमल गुरुङ कृति पुरस्कार’ कवि भूपिन खड्काको निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’ र जुनु रानाको निबन्ध सङ्ग्रह ‘लाहुरेनी सौन्दर्य’ लाई

खगिन्द्रा खुसी · कार्तिक १३, २०८३ ७:५४ PM
Cover Image for News

झापा, कात्तिक १२ गते । यसवर्षको ‘विमल गुरुङ कृति पुरस्कार’ कवि भूपिन खड्काको निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’ र जुनु रानाको निबन्ध सङ्ग्रह ‘लाहुरेनी सौन्दर्य’ लाई प्रदान गरिने भएको छ । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालय व्यवस्थापन समितिको बुधबारको बसेको  बैठकले दुवै कृतिलाई संयुक्त रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुस्तकालयका अनुसार पुरस्कारको राशि दुई लाख रुपियाँ र ताम्रपत्र रहेको छ । पुरस्कारका लागि स्वदेश तथा विदेशका लेखक, कवि र साहित्यकारद्वारा नेपाली भाषामा लेखिएका ५२ कृति प्राप्त भएका थिए । 

पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार दुवै कृतिका सर्जकलाई यही कात्तिक १९ गते पुस्तकालयको भवनमा आयोजना हुने कवि विमल गुरुङको ५५औँ जन्मजयन्ती तथा ३५औँ राष्ट्रिय कविता महोत्सवका अवसरमा पुरस्कार र ताम्रपत्र प्रदान गरिनेछ ।

सोही अवसरमा पुस्तकालयले यसअघि छनोट गरेका उत्कृष्ट १० कवितामध्येबाट तीन विजेतालाई पनि पुरस्कृत गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २१ हजार, १८ हजार र १७ हजार रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसैगरी, पुस्तकालयले यस वर्षको युवा प्रतिभा सम्मान सुनसरीकी पत्रकार सङ्गीता राईलाई प्रदान गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

महोत्सवका अवसरमा वरिष्ठ पत्रकार तथा कवि प्रदीप मेन्याङ्बोले सम्पादन तथा संयोजन गर्नुभएको ‘विमल गुरुङका प्रतिनिधि कविताहरू’ शीर्षकको कविता सङ्ग्रह लोकार्पणसमेत गरिने छ । 

ट्यागहरू:
literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।