यस देशमा यस्ता पाेचा र बेवकुफहरू कति हाेलान् नि ? -व्यंग्यनारान पाँडे
पाँडे यस्तै समाजमा बस्छ र बाक्लै भेट भइरहने ओल्ला-पल्ला टाेलका मान्छेहरू यी यस्तै छन् त के गर्नु ! आफ्लाई राम्ररी चिन्ने, समय र परिस्थिति बुझेका टाठा-बाठाहरू पनि छन् नि चिनजानमा । तर, सायद सँधै पाँडेकहाँ आइरहने यिनै काेदे, झुट्मुटे, लाेक्ते, मल्लिँडे, हल्लुँडे, गाेफ्ले, डेउढेहरूसँग पाँडेकाे संगत देख्ता हुन् र 'याे पनि उस्तै हल्लुँडे त हाे नि' भनेर परपरै तर्किन थालेका छन् । र , पाँडेले यस्तैहरूसँग कुराकानी गरेर आफ्नाे सामाजिक धर्मकाे तिर्खा मेट्टाउनु परिरहेकाे छ हिजाेआज ! के गर्ने जमानै यस्तै वहाल छ !....
यस्तै कुरा सम्झिँदै आफैभित्र झर्काे मानिरहेका बेला ठ्याक्क पल्लाे टाेलका गाैथलीकाे बाऊ आँगनमा देखियाे र सरासर पाँडेकाे बार्दलीमा उक्लिँदै भन्दै आयाे -"हन हओ पाँडे भइया, याे पाेइसाे क्या गाँठ ! हाे तेस्काे दुवाली चइँ आफ्नातिर कसरी फर्काउने भन्ने चइँ ट्यान्सिनले, मेराे टाउकाका भुत्लै पाे झरिसकाे त हँ ? साला पाेइसा चइँ नहुँदा ता...कस्सैले पनि क्यारलेसै पाे नगर्दाे र'छ गाँठे याे समाझमा, याे गन्तन्त्र लटरम्मै झ्यामिइसक्ता पनि ! अरू कतिपए हाेइन धेरैपएले गन्तन्त्र लागिसकेपछि आर्काका घर-गाेठाँ गाेभर साेर्ने इस्थरबड बढेर काटमाडुँमा एआर कन्डिसिन भ'काे घर ठाेक्ने मात्तै के, झन्नै-झन्नै एक कडाेरकाे घडी भिर्ने र पइँचालीस्- छयालीस लाखकाे चेस्मा लाउने हइसेत बनाइसके । एआर कन्डिसिन मट्टर कारमा सेकुरिठी गाठका हन्जाका भच्याके गाडीमा आगे-पिछे ला'र चइनेकेरे स्वास्नी-छाेर्छाेरीलाई बज्जार-बज्जार हिनाउने भइसके हउ !... हन याे गन्तन्त्र पनि लटरी जैसै हाे र आफ्आफू टिकस काटेर सट्याक-सुटुक पाेइसाे, धन्-दउलत आफ्आफै जुँगा हेर्दै भाग लाउने जिनिस हाे कि क्या हाे हँ ? कि ग्र-दशाे ठीक भ'काका लागि मात्तै आउने जिनिस हाे कि, खान्दान र खलक हेरेर मात्तै लेप्सिन आउने हाे कि ? म साेयाम् देशमा गन्तन्त्र लेराउन गँडेसमानजी, किसुन्जी, मन्माेन्जी, गिर्जाऊहेरूसँघ कुममा कुम मिला'र खट्ने व्याक्ति, मलाई नै याे गन्तन्त्रले हेलाँ गर्नु निआँ हाे त ? कि याे गन्तन्त्र र तेसकाे दाजू कि भाइ क्या त -पर्जातन्त्र र लाे'तन्त्र नामक जिनिसहरू 'माथि सिम्हदर्बारका न्याम-न्याम भुआदार कुर्सीमा थच्चिन पुगेका ठूलाठालादेखुन् कर्मस भाग लाग्दै आउँदै मेरा छेउमा आइपुग्दा फिनिस्टेट भाकाे हाे कि ? कि याे गन्तन्त्र र लाे'तन्त्रकाे भाग तलबड बाँड्ने न्याम, अइन-कानन् पनि एतिका दसकहेरूका बर्खहेरू भइसक्ता बल्ल आउने इस्टम्याट बन्दैछ कि, साला !... केइ बुजिएन तेस्का बाजेकाे हाँडीघाेप्टे खप्पर !"...
यति फत्फताएपछि मात्र उसले टाेपी झिक्याे र बरबर चाया झार्दै खुइलेिएकाे कपाल माड्दै पसिना पुछ्याे ।
पाँडेले हलुकै भन्याे - "मबाट यस्ता प्याङफाटे कुराकाे कुनै जवाफ बन्दैन । फेदटुप्पै बुझ्न सकेकाे छैन मैले त झन !"
प्रचूर आइरन भएकाे पानी बग्ने कल-धारा छेउकाे नाला जस्ताे बेसारे लेउ लागेकाे जिब्राे निकै लामाे निकालेर टाेक्तै उसले भन्याे -"हन पाेइसाे कल्लाई नचाइया छ र ? तेइ पाेइसाे गमर्क्याउने चानस खाेसिएकाले नेताहेरू बाैलाउन लागिसक्या त तपइँले पनि आँखाका टाेड्काभरि देखिराख्या छाै त पाँडे भाइ । अनि किन ततर्किन्छाै हओ हन ?... मेराे कुराे त पाेइसाे क्या त गाँठ, हाे ताेभन्दा दाइने-देभ्रे पटक्कै हाेइन । अथबा, पाेइसाे कताड कमिन्छ भन्ने ..."
उसले याे वाक्य पूरा नगरी लगालग अर्काे प्रश्न थप्याे -"साँची सइदका फ्यामिली-म्याम्बरले पनि एकमाेस्ट छेतीपुर्ति पाइन्छ भन्'र हामेरका पँडित हर्राम बाजेले भन्थे । तपइँ त स्यान्जाेसेप इस्कुलबड एमे-बीहे पास गरेका मान्छे, तपइँलाई याक्चुअल कुराे था हाेला नि ?"
पाँडेले चिडचिडे बाेलीमा प्रतिप्रश्न गर्याे -"किन चाइयाे नि त्याे फेरि हँ ? तिमी कुन शहिदकाे 'फेमिली मेम्बर' कहिलेदेखि हुन थाल्याै नि फेरि ? र, यस्ताे पाङदुरे उकुर्जी उठाउँदै हिड्न थाल्याै हँ, बाहिरी दुनियाँकाेे गिदी गिजाेल्दै ?"
उसले अलिक ठूलाे स्वर काड्दै भन्याे -"हन मेरा साख्खै बाऊ पइँचालीस सालकाे पन्चेती भइँचालामा धर्रानकाे पन्चे अचार्जकै हुटेल-घरकाे ढुड्गे देओलले किचेर सइद भ'काे रिकट सर्खारी लिस्टीमा छैन त अनि ? धन्कुटाबड घिउ बेत्न धर्रान आका मेरा बाऊ राती साे-उक्त हुटेलमा बास बसेका र पन्चेती भूइकम्पले साे-उक्त घर भत्केर उनलाई साेर्गे गरा'र सइद बना'काे तत्थ्थे हिस्टाेरी अैलेकाे नयाँ-नुतन सर्खारले रिकट पल्टा'र हेर्न नजानेकाे भए धर्रानकाे काेनि के नामक र बिराठन'रकाे जन्बार्ता नामक पत्रिकाहरूका रिकटमा छाप्या सिल्लालेखै छैन त अनि ? ताे पढ्के पन्चेती तान्नासाइ ब्याबस्थाकाे हामेरले तेस्सै काइटाे बसाकाे हाे र ?"...यति भनेर उसले दुवै चल्नीमा दुवै हात ट्याप्प टाँसेर एकछिन् चूप लागेपछि फेरि भन्याे -"तेस घट्नामा मेरा भान्दाइ र बुआका माइली सानीमा- मेरी माइली हजुरआमा भनम् न, हाे उन्का कान्छा देओरकी छाेरीका जेठाजुलाई पनि मेरा बुआसँगै कच्याक्कै किचेर सइद बनाकाे थ्याे, कठैबरा ! तेती मात्तै ? भन्'र भन्लाऊ तपइँ ! काँ तेति मात्तै, मेरी छाेरी गउँथलीकी मितीनीका साइँला काका र उनका छाेरा पनि जाेगीमाराकाे भीरबड बसगाडी खस्ता ठामका ठाम खुत्रुक्कै सइद भ'का हुन् क्या ! भनेसि तेतिका साख्खै आफन्ता सइद भ'का हिस्टाेरी र अर्थम्याटिककाे लिस्टीमा पर्ने म सइद फ्यामिलीकाे म्याम्बर हाेइन्त अनि ? कस्ताे ठा-ठाढै नपत्या'का तपइँले ?... अरूका बाऊ मत्तै अथबा छाेराे मात्तै मरेर सइद हुँदा लाखम् लाख छेतिपूर्ति ग्याम्म हातलागी हुनु हुने, एतिका आफन्त मरेर सइद भ'काकाे साख्खै आफन्त म चइँ 'हिस्स बूढी हरिया दाँत' नै र'नु र तीमद्दे कुनै नाताेमा एट्जस् हुन नपाउनु त याे गन्तन्त्रले नियाँ गरेकाे भाे त ? थैट ! लु तपइँसित म थप कुरै गर्दिन ! म अब हिनें पनि !...यस्ता नबुज पाेचासित के कुराे गरिर'नु ! कुराे गराे कुरैकाे दुख्ख ! कसरी सम्जाउनु हओ यस्ता पाेचालाई !"...भन्दै र खुट्टा थेचार्दै बाटाे लाग्याे अनि ऊ ।
तब पाँडेले ऊ गइरहेतिर हेर्दै मनमनमा भन्याे-"उल्टै म पाे पाेचाे ?... हन 'जनता'-मा यस्ता पाेचा, निउँ-खाेजा, बेवकुफ र जब्बर झन कम्ती त छैनन् हाेला र सरकारलाई अहिले देश चलाउन झन् कति गाह्राे भइरहेकाे हाेला नि ? छक्क पर्नु !!"....