स्रष्टा प्रतिभा पौडेलको महाकाव्य `तितिक्षा´काे अवलोकन

होम सुवेदी · कार्तिक १२, २०८३ ८:०४ PM
Cover Image for News

जहाँ जीवनको पूर्ण सर्वाङ्‌ग हुन्छ चित्रण
महान् त्यो काव्य  मानिन्छ युगकै मूल दर्पण ।।
पदलालित्य सौन्दर्य अलङ्कार समाहित
भएमा उच्च मानिन्छ महान् काव्य स्वभावतः ।।

भाव सौन्दर्यले शून्य कविता गतिलो भनी
कोरा वर्णनले हुन्न महान् काव्य कुनै पनि
योग्य भावककाे भित्र त्यसले छुनुपर्दछ
भाव आख्यानको मेल सर्वत्र हुनुपर्दछ ।।

काव्य उत्तम त्यो हुन्छ भावपुष्प खिलेपछि
रस छन्द अलङ्कार जस्ता तत्व मिलेपछि ।।
काव्यआधारको चर्चातर्फसम्म यहाँ थिएँ
यिनै आधार बाेकेर `तितिक्षा´तर्फ फर्किएँ ।। 

महाकाव्य यहाँ लेख्ने नारीको स्थान उच्च छ 
नारीका सृजना भित्र महिमा गान उच्च छ ।।
"नारी हुन्नन् महाकाव्य लेख्ने" यो अफबाह छ
तथापि प्रतिभाभित्र लेख्ने भिन्न प्रवाह छ।।

जसमा बोध यो हुन्छ भावको छ सराेवर
पौडेल प्रतिभा हाम्रो काव्यकै हुन् धराेहर।।
उनका रचना पढ्दा बोध हुन्छ घरीघरी
मलकाे बिरुवा मानौँ हो हलक्क बढेसरि।।

प्रतिभामा महाकाव्य लेख्ने उत्कृष्ट आँट छ
उपजिव्य कथावस्तु महाभारतबाट छ ।।
पढ्ने पाठकले पढ्दा पढौँ झैँ भोक जाग्दछ 
जो पढ्छ त्यसका लागि विशिष्ट काव्य लाग्दछ ।।
`तितिक्षा´ काव्यको पूर्ण आयाम सत्र सर्ग छ 
तथापि कविता काव्य पढ्नेकाे न्यून वर्ग छ ।।
यद्यपि स्राेत जेजस्तो सृजनामा रहे पनि 
कविता कविता नै हो ठुलाेसानै भए पनि ।।

अत्यन्तै उच्च छन् भाव सर्वत्र कविता पनि
महाभारत नै स्राेत देखिन्छ यसमा पनि ।।
`तितिक्षा´को कथावस्तु काव्यकै लागि मात्र हो
काव्यका पात्रमा हेर्दा कर्ण नै मूल पात्र हो ।।

व्यासको प्रतिभालाई प्रतिभा सक्तछिन् छुन
उहाँकै पात्र हुन् कर्ण उनै कृष्ण र अर्जुन ।।
सत्य आस्था प्रतिज्ञाले कर्णजीवन तप्त छ
द्वन्द्वकाे भुमरी भित्र स्वयं नै अभिशप्त छ ।।

कर्णका जिन्दगीभित्र  वाचा बन्धन छन् घना
उसकाे जिन्दगी मानौँ लाग्छ यौटा विडम्बना ।।
कसैको पुत्र हो फेरि कसैबाट छ पोषित
बोध गर्छ जसै सत्य स्वयं बन्दछ दुःखित।


महाभारतकै वस्तु यसमा गरियो तय
केन्द्रबिन्दु यसैलाई पारिएको छ निश्चय ।।
काव्यको रूप सौन्दर्य यसभित्र अपार छ
"द्वन्द्वको जिन्दगी कस्तो हुन्छ?" यो मूल सार छ ।।
काव्य सम्वादमै बढ्छ सम्वादैमा रमाउँछ
दुःख आपत्ति संक्षोभ `तितिक्षा´भित्र आउँछ ।।
कर्णमा द्विविधा एकअर्को गर्दै पलाउँछन्
दुविधा द्वन्द्व संन्ताप उसैमा लहराउँछन् ।।

एकातर्फ छ यो दानी अर्कातर्फ पराक्रमी
कर्णको जिन्दगी पढ्दा देखिँदैन कतै कमी  ।।
सारै विवश यो बन्छ पापीका जालमा परी
तथापि उसमा पर्छ पश्चात्ताप घरी घरी ।।

सत्यको मार्ग त्याग्नाले दुर्भाग्य लहराउँछ 
पापीका पक्षमा लागी आफ्नो सौर्य गुमाउँछ।।
`तितिक्षा´ शब्दको सार कर्णमै बन्छ सार्थक
काव्य उत्तम हो भन्न राखिएन कुनै धक ।।

प्रत्येक पद्यमा जस्तो सूक्तिकाे खातखात छ
काव्य माझी सफा गर्न स्रष्टाको दिव्य हात छ ।।
पढ्दा सर्वत्र देखिन्छ महाकाव्य मनाेहर
शब्द अर्थ अलङ्कार परेर अझ झर्झर ।।

पढ्न पाठकले चाहे यहीँ पाइन्छ उत्तर
अनुष्टुप् छन्दमा सारा बनेको छ कलेबर ।।
महान् काव्य बन्यो उच्च यसमा जितियो रण
प्रतिभा बहिनीलाई बधाई गर्छु अर्पण ।।

छुटेका तथ्य जेजे छन् ती सबै पर सार्दछु
`तितिक्षा´ काव्यमा मेरा कुराको बिट मार्दछु ।।
                          ।।इति ।।

ट्यागहरू:
literature samachar puraskar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू