विमल गुरुङ कृति पुरस्कारका लागि उत्कृष्ट १० कृति छनोट
झापा २९ असोज /कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको छनोट गरिएको छ।
राष्ट्रिय कविता महोत्सवका लागि १० उत्कृष्ट कविता छनोट गरेको छ ।पुस्तकालयले बिहीबार छनोट भएका कृति र कविताको सूची सार्वजनिक गरेको हो ।
छनोट भएका १० कृतिमध्ये सर्वोत्कृष्ट एउटा कृतिलाई आगामी कात्तिक १९ गते धरानमा हुने ५५औँ विमल गुरुङ जन्मजयन्ती तथा ३५औँ राष्ट्रिय कविता महोत्सवका अवसरमा ‘विमल गुरुङ कृति पुरस्कार’ प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिएका छन् ।
पुस्तकालय व्यवस्थापन समितिका अनुसार उत्कृष्ट १० कृतिमा तेजबहादुर गुरुङ (च्हाक्लीतमु) को मुक्तकसङ्ग्रह ‘विन्तीपत्र’, जुनु दिव्या रानाको निबन्धसङ्ग्रह ‘लाहुरेनी सौन्दर्य’, दीपेन्द्र आचार्यको कवितासङ्ग्रह ‘पृथ्वीको व्यापार’, कृष्ण उदासीको कवितासङ्ग्रह ‘पानीको पर्खाल’, मनु योङहाङको उपन्यास ‘सेक्मुरी फुङ’, भूपिनको निबन्धसङ्ग्रह ‘मध्यको उज्यालो’, सुरेश यक्सोको कथासङ्ग्रह ‘पेनिवा’, मेघनाथ दाहालको उपन्यास ‘साँघु’, दावा योन्जनको कवितासङ्ग्रह ‘जङ्गली फूल’ र कुबेरचन्द्र दाहालको उपन्यास ‘टिस्टा–रङ्गीत’ रहेका छन् ।
‘विमल गुरुङ कृति पुरस्कार’को राशि दुई लाख रुपैयाँसहित ताम्रपत्र र दोसल्ला रहेको छ । यस वर्ष पुरस्कारका लागि ५२ वटा पुस्तक प्राप्त भएको समितिले जनाएको छ ।
यसैगरी, समितिले राष्ट्रिय कविता महोत्सवका लागि १० उत्कृष्ट कविता पनि छनोट गरेको छ । छनोटमा परेका कवितामा ताप्लेजुङका लेकाली कान्छा ‘मुक्कुम’को ‘घामको जन्म’, सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘चेतावनीको अन्तिम हरफ’, भोजपुरका जीवन समिपको ‘बाटाहरू’ र सुनसरीकी जमुना क्षेत्रीको ‘नयाँ सपना नयाँ क्षितिज’ रहेका छन् ।
त्यस्तै, भोजपुरकी रोजिना विश्वकर्माको ‘रित्तो थालीको राष्ट्रगान’, सिन्धुलीका निरुपम श्रेष्ठको ‘एउटा इच्छापत्र’, मोरङकी पवित्रा खनालको ‘सिंहदरबार र सडकको दूरी’, तनहुँका नरोत्तम श्रेष्ठको ‘अर्धाक्षर’, सुनसरीकी सविता फागोको ‘भुइँमान्छेका सपना’ र झापाका विवेक दुलाल क्षेत्रीको ‘मलाई कविताको मृत्यु अस्वीकार्य छ’ पनि महोत्सवका लागि छनोट भएका छन् । कविता महोत्सवका लागि ९२ वटा कविता प्राप्त भएको पुस्तकालयले जनाएको छ ।
महोत्सवमा प्रथम हुने कविलाई २१ हजार रुपैयाँ, द्वितीयलाई १८ हजार रुपैयाँ र तृतीयलाई १७ हजार रुपैयाँसहित प्रमाणपत्र र पदक प्रदान गरिनेछ । यस अवसरमा पुस्तकालयले एक जना युवालाई ‘विमल गुरुङ स्मृति युवा प्रतिभा सम्मान’ पनि प्रदान गर्ने जनाएको छ ।