झोराहाटमा ‘स्रष्टा सम्मान तथा गाउँमा कविता कार्यक्रम´ सम्पन्न हुने
१३ कात्तिक, झापा । झोराहाटमा ‘स्रष्टा सम्मान तथा गाउँमा कविता कार्यक्रम´ सम्पन्न हुने भएको छ । धनलक्ष्मी-यशोदा वाङ्मय पुरस्कारको आयोजनामा आगामी मङ्सिर १९ गते शनिबार ग्रामथान गाउँपालिका-२, झोराहाटमा कार्यक्रम सम्पन्न हुने भएको हो ।
कार्यक्रममा स्रष्टाहरू कुन्ता शर्मा, जसराज किराँती, विष्णुविभु घिमिरे र मधु पोख्रेल सम्मानित हुनेछन् भने स्रष्टाहरूले कविता वाचनसमेत गरिने कुरा आयोजक परिवार संस्थाका सदस्य गण्डकी पुत्रले जानकारी दिनुभएको छ ।
धनलक्ष्मी–यशोदा वाङ्मय पुरस्कार नेपाली भाषा, कला र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने साधक तथा स्रष्टाको योगदानको कदर गर्दै प्रत्येक वर्ष एक जनालाई प्रदान गरिने सम्मान हो ।
स्वर्गीय धनपति खतिवडा तथा उहाँका दुई धर्मपत्नी स्वर्गीय लक्ष्मीदेवी खतिवडा र यशोदा खतिवडाको स्मृतिमा यो पुरस्कार स्थापना गरिएको हो । उहाँहरूका सुपुत्रीहरू वसुन्धरा ढुङ्गाना, शोभा भट्टराई, कमला भट्टराई र गीता दाहाल तथा सुपुत्रहरू गोविन्दप्रसाद खतिवडा, केदारप्रसाद खतिवडा र गण्डकीपुत्र एवम् कुलवधूहरू गोमा खतिवडा, उर्मिला खतिवडा, निर्मला खतिवडा र सीता खतिवडाको संयुक्त पहलमा पुरस्कार कोष स्थापना गरिएको हो ।