'साउती'सँग साक्षात्कार

डा. तुलसी भट्टराई, काठमाण्डु · कार्तिक २९, २०८२ ६:५० PM
Cover Image for News

'साउती' समीक्षा
 • डा. तुलसी भट्टराई, काठमाण्डु

 पाठक / श्रोताहरूलाई अचम्म लाग्नसक्छ।को हो त्यो 'साउती'।'साउती'सँग कस्तो साक्षात्कार हो ! किन, कसरी 'साउती' सँग भेट भयो।हो, यस पटक
 ‘साउती' सँग साक्षात्कार गर्ने अवसर जुर्यो । करिब दुई दशक अघिबाटै सुनेको 'साउती' र 'साउती' को चमत्कारबारे आफैँले बुझ्ने,जान्ने मौका परेको छ ।
 यही २०८२ श्रावण १५ गते का दिन बेलुकीतिर मोबाइलको म्यासेन्जर घण्टी बजेपछि उठाएँ। “म मुक्ति भाइ बोले। दाइ नमस्कार। खबर खाबर के कसो छ?” सन्चो विसन्चो, केही भलाकुसारी भए।मैले “यताको सबै राम्रो छ भन्दै गर्दा मुक्तिबाट एउटा प्रस्ताव आयो । यस पटकको 'साउती' बारे दाइले लेखिदिनुपर्छ। म यसको विवरण पठाइदिन्छु।

२०८२ को असोज २५ गते बिर्तामोड़को साहित्य चौतारीमा साउती समारोह गर्ने भइएको छ।यसमा दाजु पनि सहभागी भइदिनुपर्छ। हामीले 'साउती'को प्रत्येक अङ्कमा एकजनाको विशेष आलेखसहित कविता मूल्याङ्कन राख्ने गरेका छौं। यसपल्टको जिम्मा तपाईंलाई लगाएँ।”केही बेरको वार्तापछि फोन राखेँ। 'साउती' पत्रिका, साउती समारोह- त्यो पनि हास्यव्यङ्ग्य विशेष कार्यक्रम।
 'साउती' को हास्यव्यङ्ग्यबारे के लेख्ने होला ? निकै बेर घोत्लिएँ।साउती अरूले नसुन्ने गरी कसैका काननेर मुख लगेर गरिने कुरा । कानेखुसी, गुप्त किसिमले गरिने कुराकानी, गुप्त सल्लाह । “ ती दुईजनाले साउती गरेको मैले बुझ्न पाइनँ। "
 Whisper, secret talk- साउतीबारे शब्दकोशीय दृष्टि । साउती-साउती गर्दा गर्दै षड्यन्त्रको तयारी पनि हुनसक्छ। साउती भनेको षड़यन्त्रको पूर्व अभ्यास पनि हो। प्रायः कुनै गोप्य रूपमा गर्नुपर्ने कार्यहरू साउतीकै सहयोगबाट समाधान गरिन्छ।

 काठमाडौँमा उहिले कान्तिपुर राज्य भएको बेला एउटा चलाख तर गरीब व्यक्तिले राजासमक्ष जागिर मागेछ। राजाले अहिले तिमीलाई दिने कुनै काम छैन भनेछन्। त्यस व्यक्तिले राजालाई भनेछ- “सरकार! हजुरले मलाई कुनै काम दिनुपर्दैन, पैसा पनि चाहिएन । तर यस सभामा आएका बेला यसो हजुरको कानमा साउती गर्न पाउँ।” राजाले सोचेछन्- “केही पनि दिनु नपर्ने,यसले मेरो कानमा सानो साउती गरेकै भरमा सन्तोष मान्छ भने ठिकै छ।” राजाको स्वीकृति पाएपछि भोलिपल्टदेखि त्यो व्यक्ति भारदारी सभाबाट उठेर राजाको छेउमा जान्थ्यो, साउती मारेझैँ गर्थ्यो र फर्किन्थ्यो ।
 केही दिनपछि त त्यस व्यक्तिले सबै भारदारहरूलाई नै थर्काउन थाल्यो । “म तिमीहरू सबैलाई भारदारी सभाबाट निकाल्न सक्छु । राजाबाट मलाई हुकुम भएको छ।कस कसले के के गर्छन् सबै सुनाउने गर्नु भनेर । तिमीहरू सबैको
 पोल खोलिदिन्छु ।"
 ती भारदारहरू पालैपालो त्यस व्यक्तिलाई भेटेर पोल नखोलिदिनु भन्दै पैसा दिन थाले। एक-दुई वर्ष भित्रै त्यो व्यक्ति शहरकै ठूलो धनी-मानी व्यक्ति
 बनेको थियो रे। हेरौँ त 'साउती' को चमत्कार। यस साधारण 'साउती'को कत्रो शक्ति रहेछ। अनि यति शक्तिशाली 'साउती'का बारेमा लेख्नु। साउती गर्नेहरूसँग होसियारै रहनुपर्छ। तै पनि बरालजी जस्तो विशिष्ठ स्रष्टाले भनेपछि 'साउती'का
 कुरा लेख्नै पर्छ। बरालजीसँग अब केही 'साउती' त गर्नै पर्यो यसरी साउती गर्नेहरू चियोचर्चो गर्ने पनि हुन्थे । गोप्य रूपमा सुन्न खोज्ने त्यस्तालाई कनसुत्ले भनिन्थ्यो । मुक्तिजीसँगको 'साउती' चाहिँ सबैतिर छरपस्ट हुनेभयो । 

"मुक्ति सर! हामी दुई केही समय साउती गरौं है त । तर पहिले म सुनाउँछु तपाईंलाई । "
 “रोज् रोज् दर्शन पाउँछु चरणको ताप् छैन मन् मा कछू रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन् मा म छू। लाङ्खुट्या उपिञा उडूस इ सङ्गी छन् उन् कै लहड् मा बसी लाङ्खुट्याहरू गाउँछन् ति उपित्रा नाच्छन् म हेर्छु बसी।”

 नेपाली साहित्यमा हास्यव्यङ्ग्यलाई सम्मानसाथ प्रवेश गराएका हुन्- हाम्रा आदिकवि भानुभक्त आचार्यले । यी पछिका प्रायः सबैजसो कविस्रष्टाहरूले आफ्ना रचना-कृतिहरूमा हास्यव्यङ्ग्यलाई राम्रो स्थान दिँदै आए। धेरैका रचनाभित्र हास्यव्यङ्ग्य झलक पाइन्छ। महाकवि देवकोटाको ‘मनोरञ्जन' नामबाट हास्यव्यङ्ग्य परक कृति छ।

 हास्यव्यङ्ग्य स्रष्टाका रूपमा- केशवराज पिँडाली, भैरव अर्याल,श्रीधर खनाल,रामकुमार पाण्डे,वासुद्व लुइँटेल, चोलेश्वर शर्मा, नरेन्द्रराज पौडेल, चट्याङ
 मास्टर, नरनाथ पौडेल आदि दर्जनौँ व्यक्तिले हास्यव्यङ्ग्यलाई मलजल गर्दै अगाड़ि बढ़ाएका हुन्।
 नेपालभित्र र बाहिरबाट दर्जनौँ हास्यव्ङ्ग्य पत्रिकाहरू प्रकाशित भएका छन्। रकेट, चड़कन, मुस्कान, फित्कौली, भुँडीपुराण, बैंसालु जस्ता पत्रिकाले ठूलै योगदान दिएका हुन् ।
 पूर्वीय जगतमा हजारौं वर्ष अघिदेखि नै हास्यरस नामबाट साहित्यमा प्रयोग हुने नौ रस मध्ये एउटा प्रमुख रसका रूपमा स्थापित र सम्मानित हुँदै आएको हो। पश्चिमी जगतले पनि आफ्ना साहित्यमा स्थान -नाम दिएको छ।
 सामाजिक, राजनीतिक र व्यक्ति प्रवृत्तिका विभिन्न विकृति र विसङ्गत पक्षबाट हास्यव्यङ्ग्यको जन्म हुन्छ। हास्यव्यङ्ग्यको शाब्दिक प्रस्तुतिसँगै चित्रात्मक कलात्मक प्रस्तुति पनि हुन थाले। 'कार्टुन' को जन्म अमेरिका स्वाधीनसँगै भएको हो। यूरोप, अमेरिकातिर औद्योगिक क्रान्तिका बेला त्यहाँका सर्वसाधारणलाई जगाउन, चेतना भर्न एकजना पाल रिवेरि भन्ने कलाकारले कार्टुन चित्र प्रवर्तन गरेका थिए। आज यसले विश्वव्यापी मान्यता पाएको छ।
 
सामाजिक र राजनीतिक विकृति विसङ्गतिलाई लक्ष गरेर यस्ता कार्टुन बनाउने, छाप्ने गरिन्छ। यस्ता कार्टुनमा निकै तीखो व्यङ्ग्य हुन्छ । हास्य प्रधान कार्टुन चित्रमा आजका बाल बालिका निकै रमेका हुन्छन्।
 हास्य- अर्थात्, हाँसो, हँस्सी, हाँस्नलायक, हँसाउने खालको। व्यङ्ग्य-घुमाउरो तरिकाले भनिएको कुरो, कसैलाई पेच पर्ने गरी वा उपहास गर्न भनिने
 कुरा, ख्यालठट्टा । जसबाट ध्वन्यात्मक वा प्रतीकात्मक अर्थ लगाइन्छ । यी दुई-हास्य र व्यङ्ग्यको संयुक्त रूप हो हास्यव्यङ्ग्य । यी दुई भिन्नार्थक शब्द मिलेर बनेको ‘हास्यव्यङ्ग्य' र यस्तै अर्थबोध हुने लेखन-कविता,कथा, उपन्यास, निबन्ध आदिका कारण यतिबेला साहित्यमा छुट्टै विधा बनिएको छ हास्यव्यङ्ग्य विधा।

 हाम्रा जनजीवनभित्रका लोकभाका, लोकलय, लोकनृत्य आदिमा हास्यव्यङ्ग्यको राम्रो स्थान नाम पाइन्छ। हाम्रा कतिपय रुढ़ि परम्परा र बानीबेहोरा
 पनि हास्यव्यङ्ग्यका कथागर्भ बनेका हुन्छन्। इटलीबाट जन्मिएको 'कोरी केतुरा'अङ्ग्रेजी जगमा 'करीकेचर' आज विश्वभर फैलिएको छ। एउटा व्यक्तिका बानी बेहोरा र बोलीलाई अर्को व्यक्तिले जस्ताको तस्तै उतार्दा हास्यव्ङ्ग्यका रूपमा फैलिन्छ। यसरी बुझ्दा हास्यव्यङ्ग्यको सन्दर्भ निकै जटिल र संवेदनशील छ भन्न सकिन्छ। कुनै प्रसङ्गमा कसैबारे कुरा गर्दा सानो हास्यले पनि उपहास भयो भनेर झगड़ा पनि निम्तिन सक्छ । सजिलो छैन हास्यव्यङ्ग्यबारे कुराकानी गर्नु ।
 आजका ठूलठूला मनोवैज्ञानिकले हास्यको महत्व बुझेर भन्दै आएका छन्-
 “हास्यव्यङ्ग्य यस्तो अचुक औषधि हो जसले मर्न लागेको व्यक्तिलाई पुनर्जीवित गराउन सक्छ।” डा. एण्डयूको उक्त भनाइ कतिसम्म सत्य छ। त्यो व्यवहारसिद्ध गराउन प्रत्येक व्यक्तिले आफैँ प्रयोग गर्दा हुन्छ ।
 डा. जेम्सवाल्सले - “रक्तचापमा १० प्रतिशत औषधि हास्यप्रिय व्यक्तिमा स्वतः पूर्ति हुनेछ” भनेर ठोकुवा गरेका छन्।कतिपयले भनेका छन्-“नहाँस्ने
 मानिस क्रुर र कपटू हुन्छ।”- मिर्गी रोग पनि केही मात्रामा हँसाइबाट जाति हुने कुरा डाक्टरहरूले बताएका छन् ।
 डा. हंस सेल्यूले आफ्ना धेरै प्रयोगहरू पछि पूर्ण अनुसन्धान गरेर भनेका छन्– “हँसिलो मान्छे स्वभावतः स्वस्थ रहन्छ। किनभने मुस्कुराउँदा अनुहारका तीन मांसपेशीमा व्यायाम हुन्छ भने साधारण हँसाइमा ३७ मांसपेशीमा र पेट मिचिमिची हाँस्नुपर्ने स्थितिले ८० वटा मांसपेशीमा व्यायाम हुन्छ। तर यो हाँसो बनावटी हुनुहुँदैन। स्वाभाविक हाँसोमा मात्र यी तत्वहरू पाइन्छन्।”

 मानिस र पशुका बीचको फरक भनेको मानिसमा हाँसोबारे जानकारी हुनु ।पशुमा हाँसो हुँदैन। त्यसैकारण भनिएको छ-“हाँसो नहुने नहाँस्ने मान्छे कठोर हुन्छ।उसमा सामाजिक भावना हुँदैन ।”
 यतिमात्र होइन, हाँसो-बुद्धिमत्ता र व्यक्तिको पनि प्रतीक हो। व्यवहारमा प्रयोग गरेरै पनि हामी थाहा पाउन सक्तछौं- मानिस-मानिस एक-अर्काबीच
 हँसिलो पनले मित्रता राख्न र विभिन्न व्यवहार गर्न सघाउ पुयाउँछ । हाँस्नु र हँसाउनु भनेको आफ्ना दुःख कष्ट भुलाउनु हो। सबैले तनमन दिएर हाँस्ने बानी गरौं।अरूलाई पनि हँसाऔँ।स्वच्छ र चिन्तामुक्त भएर जीवन यात्रा राम्ररी सञ्चालन गर्न हाँसोलाई साथी बनाऔँ । हाँसौं र हँसाऔँ ।

 मुक्तिप्रसाद उपाध्याय अर्थात् यस साउती हास्यव्यङ्ग्य अभिधानका सूत्रधार,कर्णधार। साउती पत्रिकाका संयोजक,सम्पादक,सङ्कलक र प्रकाशक। उपाध्यायजी 'टु इन वान' मात्र नभएर 'फोर / फाइभ इन वान' व्यक्तिका रूपमा
 साउतीसँग जोड़िनुभएको छ। उहाँले यस साउती अभियानलाई व्यापकता प्रदान गर्नका लागि छुट्टै तरिका लिनु भएको छ।'साउती अभियान' भ्राम्यमान- घुमन्ते तरिकाबाट अघि बढेको छ। यसका विगतका श्रृङ्खलाहरू- सिलगढ़ी बङ्गालबाट उठेर झापा, आसाम, सिक्किम,
 कालेबुङ, दिल्ली, काठमाडौँसम्म घुमेका छन् । एक दर्जनभन्दा बढ़ी यस्ता घुम्तीहरू पार गरेर यस पटक ११ अक्टोबर २०२५ तदनुसार २५ असोज २०८२ मा चाहिँ यो 'साउती अभियान' झापा विर्तामोड़को साहित्य चौतारीमा आइपुग्दै छ।

 साहित्य चौतारी भवन हिकोलाका देवीभक्त उर्मिलाले महत्वपूर्ण जिम्मेवारी लिएर साउती परिवरालाई ठूलो गुण लगाउँदै गरेको कुरो थाहा भएको छ।साहित्य चोतारीप्रति हामी सबै साहित्य कर्मीका तर्फबाट एकमुष्ट वन्दना छ।
 मुक्तिजी भन्नुहुन्छ- “हामीले हास्यव्यङ्ग्य कवितालाई व्यापकता प्रदान गर्न साउती अभियान थालेका हौं । नेपाली भाषा साहित्यमा हास्यव्यङ्ग्य कविता विधाको फाँटलाई अझ उर्बर, मलिलो र फराकिलो पार्ने उद्देश्यले 'साउती' विगत दुई दशकदेखि लागिपरेको छ।” मुक्तिजीको यो सोच कति सार्थक भएको छ त भनेर उहाँले पठाएका केही कविता हेर्दै छु। मुक्तिजी स्वयं वरिष्ठ स्रष्टाका रूपमा सुपरिचित हुनुहुन्छ। नाटक,आख्यान, गीत, कविता, समालोचना,यात्रा निबन्ध,अनि अनुवादका क्षेत्रमा ख्याति कमाएका व्यक्ति। बाल साहित्यमा अकादमी पुरस्कार पाइसक्नुभएको छ। उमेरले पचहत्तर हुनेबेला भए पनि युवा जोश र जाँगरले उहाँलाई छोड़ेको छैन। अनि उहाँ यसरी ‘साउती' गर्दै हिँडिरहनुभएको छ।

 'साउती' ले भेला पारेर प्रकाशनका निम्ति छनोट गरेका हास्यव्यङ्ग्य कविताहरूका बारेमा पनि केही शब्द भेला पार्नु छ । पन्ध्रौँ साउती हास्यव्यङ्ग्य कवि गोष्ठीका लागि जम्मा बाह्रजना कविका
 कविता मसँग आइपुगेका छन्। तीनजना महिला र नौजना पुरुषका कविता ।
 'बुढ्यौली व्यथा' बेहोर्दै आएकी उषा शर्मा नानीका बालाई धर्मेन्द्र र आफूलाई हेमा मालिनीसँग दाँजेर ढुक्क परेकी छन् । यो कविता बुढ्यौलीको यथार्थ हो। हास्यप्रधान रूपमा रचिएको कविता राम्रो
 छ।
 'सक्दैन यो कोमल' का कोमलप्रसाद पोख्रेलले पनि बुढ्यौली स्थितिलाई नै आधार बनाएर राम्रो छन्द कविता रच्नुभएको छ।
 ‘मस्किन्थे थुक निल्दथे युवतीले चालीस लाग्दा पनि' कविको पूर्वस्मृति निकै घतलाग्दो छ। यस कवितालाई पनि हास्यप्रधान नै भन्नुपर्छ ।
 "सीमा पारि शहरका दलालहरू
 हाम्रा गोठभित्रै पसेर
 कलिला बहर छाम्दै छन् ।”
 खगेन्द्र न्यौपानेको “ल्याथ्रो साँढ़े "ले व्यङ्ग्य पनि पस्किने प्रयास गरेको छ।
 डा. गोविन्दराज भट्टराईको “बल्ल गणतन्त्र आउँदै छ।" मा केही समय अघिबाट पुरुषले दोस्रो बिहे गर्न पाउनेबारे बहस उठेको छ।त्यसैलाई लिएर निकै दरो चड़कन हानेका छन्। "झुक्किएर गर्म
 बसेमा".... गणतन्त्रमा त्यस्तो त भइरहन्छ। उठ बन्चरे, उठ ज्यामिर हो। यस कविताले पनि बहस निम्त्याउँदै छ ।
 'अम्रिका म जान्न' कविताभित्र टङ्क विकल्पले कथात्मक शैलीमा अम्रिका जानेहरूको दैनिकी र उनीहरूले भोगेका गतिविधिलाई केही हास्य र थोरै व्यङ्ग्य मिसाएर वर्णन गरेका छन् ।
 “नानी छोड़ी कुकुर बोकेर हिँड्न
 भो जान्न म जान्न अम्रिका म जान्न।"


 'लोग्ने' लिएर देखा परेका दीपक दवाडीले लोग्नेलाई धेरै तल झारेका छन्। ज्यादै हुर्मत लिएका छन्। हास्यात्मक बनाउन खोजिएको यो
 'लोग्ने' ले मञ्चको सुनाइबाट केही ताली दिन लिन सक्छ। यो मञ्चीय कविता हो।

 देवीचरण भण्डारीको "झोलेचम्चे हैन”, महिम आचार्यको “भाग्यमानीको फराकिलो निधार", ललिता जोशी छेत्रीको “मगन्ते" सामान्य कविता हुन्। व्यङ्ग्यभास भने पाइन्छ।

 'बोको र बेहुलो' कविता लिएर देखा परेकी रत्न लसमको यो कविता अनौठो लाग्छ। बेहुलोलाई बोकोसँग तुलना गरेर समाजभित्रको विकृतिलाई निकै दह्रोसँग झटारो हानेकी छन्। कुनै पनि बेहुलो
 बन्नेले यो कविता पढ्यो भने एउटा नयाँ तरङग् जन्माउन सक्छ।“त्यता नहेर्नू यता हेर्नू” लक्ष्मण गाम्नागेको यस कविताले निकै ताली पाउने छ। यसमा सामाजिक र राजनीतिक दुवै खाले व्यङ्ग्य
 छ। यस कविताभित्र नेपालको राजनीति, शासन नीति, युवा पलायन, वृद्धाश्रम बन्दै गएको देश आदि विविध पक्षलाई उधिनिएको छ।
 त्यसकारण यस्तो दहो कविताबारे केही नलेख्नु नबोल्नु राम्रो होला?

 विनोद खनालका पाँच मुक्तकले समसामयिक व्यक्ति समाज र राजनीतिबारे निकै गहिरोसँग घोचेको छ। 'रक्सी म त खाँदै खान्न ह्विस्की मात्रै खान्छु, घरकी बुढ़ी जे जे भन्छे सबै कुरा मान्छु ।'
 'नेपालमा जताततै कुद्र थाले रेल।' कविताका बारेमा धेरै व्याख्या गर्नुभन्दा श्रोता र पाठककै प्रतिक्रियाप्रति ध्यान दिनु उपयुक्त हुने ठानेको छु। बुझाइ प्रत्येक व्यक्तिको फरक फरक हुन्छ। यी कविताबाट श्रोता र पाठकले मनोरञ्जन सँगै केही यथार्थता पनि बोध गर्न सकुन्।
 'साउती' को उद्देश्य 'हास्यव्यङ्ग्य' बारेमा राम्ररी प्रस्तुति दिन सकियोस भन्ने हो। यसपटक कवितामा हास्यव्यङ्ग्य दुवैलाई प्रतिनिधित्व गर्नसक्ने व्यञ्जना शक्ति र हास्यशक्ति दरोखरो सँग प्रस्तुत हुन सकेको छैन । प्रायः सबैमा व्यङ्ग्य
 प्रधानता छ। थोरैमा मात्र हास्यभाव पाइन्छ। पेट मिच्नु पर्ने हास्य अर्थात् अवहँसित-काँध र शिर हल्लाएर हास्न पाउने स्थिति छैन।हँसित र विहँसित -
 तरङ्ग उत्पन्न हुन सक्ला। अतिहँसित जन्माएर - स्वास्थ्य लाभ गर्नसक्ने खालका कविताको खाँचो छ- आजको पीड़ाग्रस्त समयमा ।
 साउतीद्वारा आयोजित हुने कार्यक्रमले बौद्धिक साहित्यिक वर्गमा हास्यव्यङ्ग्य सम्बन्धी विषयले राम्रो प्रभाव पार्न सकोस्। यदि थोरै अंशमा पनि साहित्यिक तथा सर्व साधारण श्रोता र पाठक वर्गले साउतीको उद्देश्य अनुरूप केही नौलोपन ग्रहण सके भने साउतीको सफलता नै त्यही हो ।

 आगामी 'साउती'ले बेलैदेखि आह्वान गरेर उद्देश्य अनुरुपमा कविताहरू बटुलेर छानी छानी राख्न सकोस् । 'हास्य र व्यङ्ग्य - हास्यव्यङ्ग्य' भित्रको मर्म जगाउन सक्ने सामग्री लिएर आउने उपस्थित हुने साउतीको 'साउती सोहौँ' श्रृङ्खला हामीहरू पुनः उपस्थित हुने छौं भन्ने कुरामा कुरामा विश्वस्त छु। प्रिय स्रष्टा मुक्तिजी ! एबम साउतीका संयोजक मुक्ति प्रसाद उपाध्यायसँग राम्ररी, गम्भीरता साथ ‘साउती' मार्ने विचार थियो । तर यसपटक चाहिँ कनसुत्लेको डर लागेर आज यतिमै टुङ्ग्याएको छु। पछि फेरि पनि हामी 'साउती' को जोग
 मिलाउँदै जाने छौं। आज यति नै ।
 जय 'साउती', जय 'साउती' अभियान।

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
चियाका मुना जस्ता कलिला सपना !
चियाका मुना जस्ता कलिला सपना !
रसुवाली कवि - सोमबार १० नोभेम्बर २०२५
नेपाली मूल: प्रीतिको फूल (सम्युक्त गीतसंग्रह) लाई नियालेर हेर्दा
नेपाली मूल: प्रीतिको फूल (सम्युक्त गीतसंग्रह) लाई नियालेर हेर्दा
पातलो अन्तरे पोष्ट - खगिन्द्रा खुसी - बिहिबार १३ मार्च २०२५