हृदयचन्द्र स्मृति सम्मान साहित्यकार रामविनयलाई

खगिन्द्रा खुसी · फागुन ६, २०८२ ९:२१ AM
Cover Image for News

झापा, फागुन ६ गते । यस वर्षको हृदयचन्द्र स्मृति सम्मान  साहित्यकार रामविनयलाई प्रदान गरिएको छ । साहित्य सदन नेपाल हृदयचन्द्रसिंह प्रधानको १११ औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको एक कार्यक्रममा उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो । संस्थाका अध्यक्ष प्राडा हेमनाथ पौडेलको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा वरिष्ठ साहित्यकार पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो । साहित्यकार विनयलाई प्रमुख अतिथिले सम्मानपत्र, प्रा.डा. दयाराम श्रेष्ठले दोसल्ला, वरिष्ठ साहित्यकार कोशराज न्यौपानेले माला लगाएर सम्मान गर्नुभयो । साढे छ दशक लामो साहित्य साधना गरी कविता, निबन्ध र कथा सिर्जना तथा साहित्य सन्ध्याजस्तो संस्थामा लामो समय अध्यक्ष रहेर नेतृत्व गर्दै साहित्यको माध्यमबाट समाज परिवर्तनमा गर्नुभएको योगदानको कदर गर्दै उहाँलाई सो सम्मान प्रदान गरिएको आयोजकको भनाइ छ । 

नगद ५० हजार राशिको सो सम्मानपछि पूर्वमन्त्री एवं साहित्यकार शान्ता मानवीले सम्मानित व्यक्तित्व विनयकी जीवनसाथी सीतादेवी श्रेष्ठलाई माला लगाएर सम्मान गर्नुभयो । 

सो अवसरमा संस्थाका उपाध्यक्ष कवि मित्रलाल पंज्ञनीले साहित्यकार हृदयचन्द्र र पुरस्कृत व्यक्तित्व रामविनयको योगदानका बारेमा मन्तव्य राख्नुभयो । सम्मानित व्यक्तित्व रामविनयले आफूलाई जनपक्षीय साहित्यकार हृदयचन्द्र सिंहका नाममा स्थापित सम्मान प्रदान गरेकोमा उत्साहित भएको बताउनुभयो । 

अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलले सदनले हालसम्म संस्थाको भौतिक पूर्वाधार निर्माणमा बढी समय खर्च गरेको र यसमा अग्रजहरूको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । 

 

ट्यागहरू:
सहित्य samachar nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।