नयाँ उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’बारे छोटो टिप्पणी

पुण्य खरेल · मंसिर ४, २०८२ ७:२६ AM
Cover Image for News

अँ, मैले हिजो र आजका थप समयमा झापाली चेली क्रान्ति पराजुलीको उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’ पढेर सिध्याएँ । 
 धेरै समयपछि एउटा उपन्यासजस्तो उपन्यास पढें । यो उपन्यास नेपालको निकट विगत र वर्तमानको समय परिवेश, काठमाडौं, काभ्रे–सिन्धुपाल्चोक, इलामको देउमाईलाई मुख्य रूपमा स्थानीय परिवेश बनाई लेखिएको यथार्थवादी रूप दिन खोजिएको राम्रो उपन्यास रहेछ । 

नायिका प्रधान उपन्यास ठानें मैले । हुन त त्यतिकै लोकप्रिय र गतिलो चरित्रको नायक पनि उपन्यासले उँभ्याउन चुकेको छैन । ‘डिपोषा’ नामकी नायिका देउमाईका किनारको मन्दिरमा माताजीको जस्तो रूपमा भेटेर समाख्याता उपन्यासकारले कथानक सुरु गर्छिन् । कथानक माइतीघर फिल्मको झैं पूर्वदीप्ति शैलीमा लेखिएको छ । भाषा परिमार्जित र बढी आलङ्कारिक भाषाको प्रयोग गरिएको, पठित र शिक्षितका लागि वडो मोहक तर भाषाको सिकारु तथा सामान्य नेपाली जनताका लागि भने अलिक क्लिष्ट होला जस्तो लाग्ने छ । 

यथार्थमा उपन्यासकारको उमेरका पाठक र लेखकहरू ‘साहित्य भन्नाले यस्तै बोलचालको भाषाभन्दा भिन्न हुन्छ’ भन्ने ठान्दछन्, यो त्यस्तै पनि छ । 
 उपन्यासले मुलुकमा अन्याय छ, कुशासन छ, भ्रष्टाचार व्याप्त छ, घुसखोरी छ, यो विकृति राज्यको शासनमा तलदेखि माथिसम्म छ, यो कर्मचारीमा, प्रहरी प्रशासनमा, सरकारको कार्यपालिका र न्यायपालिका समेतमा साँठगाँठ गरेर व्याप्त छ भन्ने देखाउँछ । ‘लुट्न सके लुट् कान्छा ! यही देशमा छ छुट् !’ भन्ने गीतमा समेत प्रतिबन्ध लगाउन खोज्ने सरकारले यो उपन्यास पढ्न पायो भने प्रतिबन्ध लगाउला जस्तो छ ।

 उपन्यासमा यस्ता शासकीय कुप्रवृत्तिका विरुद्ध लाग्ने नायक ‘पोषित’लाई प्रहरीले आफैं अर्को प्रहरीको हत्या गरेर त्यो हत्याको आरोप लगाएर जेलमा सडाउन प्रयत्न गरिन्छ । जन्ड वकिल ‘डिपोषा’ (नायिका)ले निर्भिक र कठिन प्रयत्नका साथ ठूलो खतरा झेलेर पोषितको निर्दोषिताका प्रमाणहरू सङ्कलन गरी पोषितलाई छुटाउन सफल हुन्छिन् । 

डिपोषाका बाबु पनि न्यायप्रेमी, क्रान्तिकारी भएवापत् राज्यद्वारा मारिएका हुन्छन् । डिपोषा ल–क्याम्पसमा पढ्दैदेखि आफ्ना सहिदबाबुको उत्तराधिकारीझैं क्रान्तिको मशाल बोकेर विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने पोषितको भाषणबाट डिपोषा प्रभावित भएर उसप्रति आकर्षित हुन थालेकी हुन्छिन् । त्यही आकर्षणले बन्दी बनाइएका पोषितलाई छुटाउन हात धोएर लागेकी हुन्छिन् । र छुटाउन सफल पनि हुन्छिन् । 

त्यो एकदम निष्ठावान, प्रतिवद्ध, देशभक्त, राष्ट्रवादी र साँच्चैको नेपाली जनताको भाग्य बदल्न एकनिष्ठ लागेको पोषित पनि डिपोषाको रूप, उमेर, उनको निर्भिक, निडर र उसको सहयोगमा लागेकी तथा आफ्नो राजनीतिक गुरु, सहिदबाबुकी छोरी हुनुका कारण उनीप्रति उतिकै आकर्षित हुन्छन् । “तिमी माया माया भन्छ्यौ ... यो देशको छ चिन्ता ...” भन्ने पाराले यहाँ यी जोडीको पारा ‘हामी दुईको माया पनि देश र जनताप्रति समर्पित हुनुपर्छ’ भन्ने देखाउने किसिमकै छ ।

 पोषित योजनावद्ध रूपमा साँच्चै क्रान्ति पूरा गर्ने र त्यसपछि मुलुकको विकास गर्न शिक्षालाई रोजगारी मूलक, निशुल्क र गुणस्तरयुक्त शिक्षाको व्यवस्था गर्ने, कृषिक्रान्ति गर्ने, विद्युतमा पर्याप्त लगानी गरेर जलविद्युतको विकास गर्ने, पर्यटनक्षेत्रमा त्यस्तै गरी प्राकृतिक र सांस्कृतिक पर्यटनको विकास गरी नेपाली जनतालाई सुखी र समृद्ध बनाउने, रोजगारी सृजना गरी विदेशजान नपर्ने वातावरण तयार गर्ने भनेर लागेका हुन्छन् । उसको लोकप्रियता र इमान्दारीतासँग जलेका भ्रष्ट नेताहरूको जालोद्वारा निर्मित सत्ताले फेरि दोहोरो झडपको षडयन्त्रपूर्ण घटना सृजना गरेर उसको हत्या गर्छन् ।

 यसरी दुःखान्तमा उपन्यासको अन्त्य हुन्छ । 
 मार्क्सवादी दार्शनिक विचारबाट खारिएको नायक पोषित र ग्रहदशामा, देवीदेउतामा तथा पुरातन रुढीगत सपना वा लछिन्–अलछिन् जस्ता सङ्केतहरूमा, पूर्वाभासहरूमा पनि विश्वास गर्ने तर नायक र क्रान्तिप्रति एकनिष्ठ रूपमा विश्वास गर्ने सहिदबाबु, वलिदानीपूर्ण साहसप्रति हार्दिक सद्भाव राख्ने सचेत हजुरआमा र सानी–हजुरआमाको चेतनागत विरासत पाएकी नायिक बीचको अतुलनीय र उपमेय प्रेमको नमुना पनि छ यो उपन्यास । नेपालीमा त मैले त्यस्तो उपमा दिन लायकका जोडा मुना–मदन भने पनि चित्त बुझ्दैन, पौराणिक आख्यानमा राधा–कृष्ण, हिन्दीमा लैला–मजनू, पश्चिमीमा रोमियो–जुलियटको उपमाका लायक नै भन्न सकिने डिपोषा र पोषितको जोडी पढ्न पाइन्छ । 

नवयुवा युवतीहरुले कस्तो प्रेम गर्ने ? प्रेम भनेको यथार्थमा कस्तो हुनुपर्छ भन्ने नमुना–प्रेम पढ्न पाइन्छ यस पुस्तकमा । 
 २३६ पृष्ठको उपन्यास धेरै दृष्टिले राम्रो छ । माथि नै भनियो आजको नेपाली राजनीतिको करेली समातेका खलनायकहरूको आँखामा त खुर्सानीजतिकै बिझाउने छ । हो, उपन्यास उपन्यास जस्तै छ, यो साँच्चैको कथा हो भनेझैं हुने गरीको यथार्थ त छैन, अलिक रुमानी, मनोगतजस्तो पनि छ अलिअलि । 

नायक राजनीतिक नेता देखाइए पनि, अब कार्यकारी प्रधानमन्त्रीको चुनावमा ऊ उम्मेदवार हुने र ऊ विजयी हुने विश्वास उपन्यासका वाक्यहरूले बताए पनि, पाठकहरूको मनमश्तिष्कमा अब चुनावमा बहुमत जनताले उनलाई मत हाल्छन् पक्कै भन्ने घटनाहरूको विकास, चरित्रविकास, सङ्गठन र कार्यकर्ताको जालो देख्न पाइँदैन । नेपालमा देखिएका एका–दुई चरित्रहरू बालेन्द्र साह, हर्क साम्पाङ, दुर्गा प्रसाईं तथा कम्निस्ट पार्टीका हिजोका नेताहरू मदन भण्डारी, प्रचण्ड आदिको फ्युजन गरेर नायकको विकास गर्न खोजेको जस्तो लाग्छ । 

जम्माजम्मीमा नाम पहिलो पल्ट सुन्न पाएकी क्रान्ति पराजुलीको यो उपन्यास भूवन सुब्बाज्यूसँग सापट मागेर पढें । गएको शनिवार (साउन १२ गते २०८१मा चारपानेमा पुस्तकको परिचर्चा कार्यक्रममा मलाई निम्ता थियो, जाँदा त मलाई नै पो प्रमुख अतिथि बनाइयो । अनि फर्कंदा मैले भूवन सुब्बाज्यूसँग पुस्तक सापट माग्न भ्याएँ ।) धेरै समयपछि एउटा उपन्यास जस्तो उपन्यास पढ्न पाएँ । मदन पुस्तकालयका मठाधीशका आँखामा त शासकका आँखामा झैं खुर्सानीको रागझैं पिरो भएर पसिहाल्ला यो किसिमका पुस्तक । नत्र भने नेपाली जनताका पक्षधर र आफ्नालाई मात्र पुरस्कृत गर्ने होइन, राम्रालाई पुरस्कृत गर्ने कुनै संस्था भए यस्तो कृति छनोटमा पर्नु पर्ने हो भन्ने लाग्दो रहेछ मलाईचाहिँ । 

एमए, एमएड, एलएलबी पनि पास गरिसकेकी क्रान्ति पराजुलीको यो दोस्रो उपन्यास रहेछ । अब दोस्रो खारिएकी पारिजात पाएको बोध गरेको छु । उपन्यासको कथानकमा सर्वोच्चमा पोषितका मुद्दा उल्टाउन अपिल गर्दै जाँदाका त्यहाँका रजिस्ट्रारसँगका सम्वादहरू र पछि षडयन्त्रपूर्ण हत्याको घटनाको जाँचबुझ आयोगका अध्यक्षसँगका सम्वादहरूमा बोल्ने डिपोषाका निडर र साहसी सम्वादहरूमा मैले क्रान्ति पराजुलीका तेजिला आँखा देखें । 

मैले चितवनकी कवि सरीता तिवारी र काठमाडौंकी साहित्यकार सुधा त्रिपाठीका आँखामा पनि यस्तै वाक्यहरू खेल्दै गरेको देख्थें । अचेल वहाँहरूलाई सुन्न पाएको छुइन । मलाई यो उपन्यास पढेपछि अब आफ्ना हातगोडा बसे पनि ढुक्क लाग्यो । भविष्य उज्यालो छ भन्ने विश्वास भयो । 

धेरै धेरै धन्यवाद, बधाई एवम् हार्दिक शुभकामना क्रान्ति पराजुलीज्यू !

ट्यागहरू:
सहित्य#जीवनी#
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
 'साउती'सँग साक्षात्कार
'साउती'सँग साक्षात्कार
डा. तुलसी भट्टराई, काठमाण्डु - शुक्रबार १४ नोभेम्बर २०२५
चियाका मुना जस्ता कलिला सपना !
चियाका मुना जस्ता कलिला सपना !
रसुवाली कवि - सोमबार १० नोभेम्बर २०२५
नेपाली मूल: प्रीतिको फूल (सम्युक्त गीतसंग्रह) लाई नियालेर हेर्दा
नेपाली मूल: प्रीतिको फूल (सम्युक्त गीतसंग्रह) लाई नियालेर हेर्दा
पातलो अन्तरे पोष्ट - खगिन्द्रा खुसी - बिहिबार १३ मार्च २०२५