नयाँ उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’बारे छोटो टिप्पणी

पुण्य खरेल · मंसिर ४, २०८२ ७:२६ AM
Cover Image for News

अँ, मैले हिजो र आजका थप समयमा झापाली चेली क्रान्ति पराजुलीको उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’ पढेर सिध्याएँ । 
 धेरै समयपछि एउटा उपन्यासजस्तो उपन्यास पढें । यो उपन्यास नेपालको निकट विगत र वर्तमानको समय परिवेश, काठमाडौं, काभ्रे–सिन्धुपाल्चोक, इलामको देउमाईलाई मुख्य रूपमा स्थानीय परिवेश बनाई लेखिएको यथार्थवादी रूप दिन खोजिएको राम्रो उपन्यास रहेछ । 

नायिका प्रधान उपन्यास ठानें मैले । हुन त त्यतिकै लोकप्रिय र गतिलो चरित्रको नायक पनि उपन्यासले उँभ्याउन चुकेको छैन । ‘डिपोषा’ नामकी नायिका देउमाईका किनारको मन्दिरमा माताजीको जस्तो रूपमा भेटेर समाख्याता उपन्यासकारले कथानक सुरु गर्छिन् । कथानक माइतीघर फिल्मको झैं पूर्वदीप्ति शैलीमा लेखिएको छ । भाषा परिमार्जित र बढी आलङ्कारिक भाषाको प्रयोग गरिएको, पठित र शिक्षितका लागि वडो मोहक तर भाषाको सिकारु तथा सामान्य नेपाली जनताका लागि भने अलिक क्लिष्ट होला जस्तो लाग्ने छ । 

यथार्थमा उपन्यासकारको उमेरका पाठक र लेखकहरू ‘साहित्य भन्नाले यस्तै बोलचालको भाषाभन्दा भिन्न हुन्छ’ भन्ने ठान्दछन्, यो त्यस्तै पनि छ । 
 उपन्यासले मुलुकमा अन्याय छ, कुशासन छ, भ्रष्टाचार व्याप्त छ, घुसखोरी छ, यो विकृति राज्यको शासनमा तलदेखि माथिसम्म छ, यो कर्मचारीमा, प्रहरी प्रशासनमा, सरकारको कार्यपालिका र न्यायपालिका समेतमा साँठगाँठ गरेर व्याप्त छ भन्ने देखाउँछ । ‘लुट्न सके लुट् कान्छा ! यही देशमा छ छुट् !’ भन्ने गीतमा समेत प्रतिबन्ध लगाउन खोज्ने सरकारले यो उपन्यास पढ्न पायो भने प्रतिबन्ध लगाउला जस्तो छ ।

 उपन्यासमा यस्ता शासकीय कुप्रवृत्तिका विरुद्ध लाग्ने नायक ‘पोषित’लाई प्रहरीले आफैं अर्को प्रहरीको हत्या गरेर त्यो हत्याको आरोप लगाएर जेलमा सडाउन प्रयत्न गरिन्छ । जन्ड वकिल ‘डिपोषा’ (नायिका)ले निर्भिक र कठिन प्रयत्नका साथ ठूलो खतरा झेलेर पोषितको निर्दोषिताका प्रमाणहरू सङ्कलन गरी पोषितलाई छुटाउन सफल हुन्छिन् । 

डिपोषाका बाबु पनि न्यायप्रेमी, क्रान्तिकारी भएवापत् राज्यद्वारा मारिएका हुन्छन् । डिपोषा ल–क्याम्पसमा पढ्दैदेखि आफ्ना सहिदबाबुको उत्तराधिकारीझैं क्रान्तिको मशाल बोकेर विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने पोषितको भाषणबाट डिपोषा प्रभावित भएर उसप्रति आकर्षित हुन थालेकी हुन्छिन् । त्यही आकर्षणले बन्दी बनाइएका पोषितलाई छुटाउन हात धोएर लागेकी हुन्छिन् । र छुटाउन सफल पनि हुन्छिन् । 

त्यो एकदम निष्ठावान, प्रतिवद्ध, देशभक्त, राष्ट्रवादी र साँच्चैको नेपाली जनताको भाग्य बदल्न एकनिष्ठ लागेको पोषित पनि डिपोषाको रूप, उमेर, उनको निर्भिक, निडर र उसको सहयोगमा लागेकी तथा आफ्नो राजनीतिक गुरु, सहिदबाबुकी छोरी हुनुका कारण उनीप्रति उतिकै आकर्षित हुन्छन् । “तिमी माया माया भन्छ्यौ ... यो देशको छ चिन्ता ...” भन्ने पाराले यहाँ यी जोडीको पारा ‘हामी दुईको माया पनि देश र जनताप्रति समर्पित हुनुपर्छ’ भन्ने देखाउने किसिमकै छ ।

 पोषित योजनावद्ध रूपमा साँच्चै क्रान्ति पूरा गर्ने र त्यसपछि मुलुकको विकास गर्न शिक्षालाई रोजगारी मूलक, निशुल्क र गुणस्तरयुक्त शिक्षाको व्यवस्था गर्ने, कृषिक्रान्ति गर्ने, विद्युतमा पर्याप्त लगानी गरेर जलविद्युतको विकास गर्ने, पर्यटनक्षेत्रमा त्यस्तै गरी प्राकृतिक र सांस्कृतिक पर्यटनको विकास गरी नेपाली जनतालाई सुखी र समृद्ध बनाउने, रोजगारी सृजना गरी विदेशजान नपर्ने वातावरण तयार गर्ने भनेर लागेका हुन्छन् । उसको लोकप्रियता र इमान्दारीतासँग जलेका भ्रष्ट नेताहरूको जालोद्वारा निर्मित सत्ताले फेरि दोहोरो झडपको षडयन्त्रपूर्ण घटना सृजना गरेर उसको हत्या गर्छन् ।

 यसरी दुःखान्तमा उपन्यासको अन्त्य हुन्छ । 
 मार्क्सवादी दार्शनिक विचारबाट खारिएको नायक पोषित र ग्रहदशामा, देवीदेउतामा तथा पुरातन रुढीगत सपना वा लछिन्–अलछिन् जस्ता सङ्केतहरूमा, पूर्वाभासहरूमा पनि विश्वास गर्ने तर नायक र क्रान्तिप्रति एकनिष्ठ रूपमा विश्वास गर्ने सहिदबाबु, वलिदानीपूर्ण साहसप्रति हार्दिक सद्भाव राख्ने सचेत हजुरआमा र सानी–हजुरआमाको चेतनागत विरासत पाएकी नायिक बीचको अतुलनीय र उपमेय प्रेमको नमुना पनि छ यो उपन्यास । नेपालीमा त मैले त्यस्तो उपमा दिन लायकका जोडा मुना–मदन भने पनि चित्त बुझ्दैन, पौराणिक आख्यानमा राधा–कृष्ण, हिन्दीमा लैला–मजनू, पश्चिमीमा रोमियो–जुलियटको उपमाका लायक नै भन्न सकिने डिपोषा र पोषितको जोडी पढ्न पाइन्छ । 

नवयुवा युवतीहरुले कस्तो प्रेम गर्ने ? प्रेम भनेको यथार्थमा कस्तो हुनुपर्छ भन्ने नमुना–प्रेम पढ्न पाइन्छ यस पुस्तकमा । 
 २३६ पृष्ठको उपन्यास धेरै दृष्टिले राम्रो छ । माथि नै भनियो आजको नेपाली राजनीतिको करेली समातेका खलनायकहरूको आँखामा त खुर्सानीजतिकै बिझाउने छ । हो, उपन्यास उपन्यास जस्तै छ, यो साँच्चैको कथा हो भनेझैं हुने गरीको यथार्थ त छैन, अलिक रुमानी, मनोगतजस्तो पनि छ अलिअलि । 

नायक राजनीतिक नेता देखाइए पनि, अब कार्यकारी प्रधानमन्त्रीको चुनावमा ऊ उम्मेदवार हुने र ऊ विजयी हुने विश्वास उपन्यासका वाक्यहरूले बताए पनि, पाठकहरूको मनमश्तिष्कमा अब चुनावमा बहुमत जनताले उनलाई मत हाल्छन् पक्कै भन्ने घटनाहरूको विकास, चरित्रविकास, सङ्गठन र कार्यकर्ताको जालो देख्न पाइँदैन । नेपालमा देखिएका एका–दुई चरित्रहरू बालेन्द्र साह, हर्क साम्पाङ, दुर्गा प्रसाईं तथा कम्निस्ट पार्टीका हिजोका नेताहरू मदन भण्डारी, प्रचण्ड आदिको फ्युजन गरेर नायकको विकास गर्न खोजेको जस्तो लाग्छ । 

जम्माजम्मीमा नाम पहिलो पल्ट सुन्न पाएकी क्रान्ति पराजुलीको यो उपन्यास भूवन सुब्बाज्यूसँग सापट मागेर पढें । गएको शनिवार (साउन १२ गते २०८१मा चारपानेमा पुस्तकको परिचर्चा कार्यक्रममा मलाई निम्ता थियो, जाँदा त मलाई नै पो प्रमुख अतिथि बनाइयो । अनि फर्कंदा मैले भूवन सुब्बाज्यूसँग पुस्तक सापट माग्न भ्याएँ ।) धेरै समयपछि एउटा उपन्यास जस्तो उपन्यास पढ्न पाएँ । मदन पुस्तकालयका मठाधीशका आँखामा त शासकका आँखामा झैं खुर्सानीको रागझैं पिरो भएर पसिहाल्ला यो किसिमका पुस्तक । नत्र भने नेपाली जनताका पक्षधर र आफ्नालाई मात्र पुरस्कृत गर्ने होइन, राम्रालाई पुरस्कृत गर्ने कुनै संस्था भए यस्तो कृति छनोटमा पर्नु पर्ने हो भन्ने लाग्दो रहेछ मलाईचाहिँ । 

एमए, एमएड, एलएलबी पनि पास गरिसकेकी क्रान्ति पराजुलीको यो दोस्रो उपन्यास रहेछ । अब दोस्रो खारिएकी पारिजात पाएको बोध गरेको छु । उपन्यासको कथानकमा सर्वोच्चमा पोषितका मुद्दा उल्टाउन अपिल गर्दै जाँदाका त्यहाँका रजिस्ट्रारसँगका सम्वादहरू र पछि षडयन्त्रपूर्ण हत्याको घटनाको जाँचबुझ आयोगका अध्यक्षसँगका सम्वादहरूमा बोल्ने डिपोषाका निडर र साहसी सम्वादहरूमा मैले क्रान्ति पराजुलीका तेजिला आँखा देखें । 

मैले चितवनकी कवि सरीता तिवारी र काठमाडौंकी साहित्यकार सुधा त्रिपाठीका आँखामा पनि यस्तै वाक्यहरू खेल्दै गरेको देख्थें । अचेल वहाँहरूलाई सुन्न पाएको छुइन । मलाई यो उपन्यास पढेपछि अब आफ्ना हातगोडा बसे पनि ढुक्क लाग्यो । भविष्य उज्यालो छ भन्ने विश्वास भयो । 

धेरै धेरै धन्यवाद, बधाई एवम् हार्दिक शुभकामना क्रान्ति पराजुलीज्यू !

ट्यागहरू:
सहित्य#जीवनी#
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
कवि गणेश निराैलाकाे "कनाटा कैरन" पढेपछि
कवि गणेश निराैलाकाे "कनाटा कैरन" पढेपछि
समीक्षक प्रकाश न्यौपाने पोष्ट-दिलिप घिमिरे - बिहिबार १५ जनवरी २०२६
सीमा आभासको `महायुग´उपन्यास पढेपछि .......
सीमा आभासको `महायुग´उपन्यास पढेपछि .......
समीक्षा-रीता पोखरेल,पोष्ट-दिलिप घिमिरे - शुक्रबार ९ जनवरी २०२६
एन.बी. दाहालको गीति काव्य  ‘म भित्रका गीतहरू’ – मा रसमय लयान्तरहरू   - विमला प्रधान जोशी
एन.बी. दाहालको गीति काव्य ‘म भित्रका गीतहरू’ – मा रसमय लयान्तरहरू - विमला प्रधान जोशी
समीक्षक-प्रधान जोशी,पोष्ट-दिलिप घिमिरे - शुक्रबार २८ नोभेम्बर २०२५
 'साउती'सँग साक्षात्कार
'साउती'सँग साक्षात्कार
डा. तुलसी भट्टराई, काठमाण्डु - शुक्रबार १४ नोभेम्बर २०२५