एन.बी. दाहालको गीति काव्य ‘म भित्रका गीतहरू’ – मा रसमय लयान्तरहरू - विमला प्रधान जोशी
एन.बी. दाहालको गीति काव्य ‘म भित्रका गीतहरू’ – मा रसमय लयान्तरहरू
- विमला प्रधान जोशी
साधारनत एन.बी. दाहाल ‘नवीन’ विगत लामो समयदेखि आधुनिक गीत लेखनमा आबद्ध देखिन्छन्। उनले आफ्ना कतिपय गीतहरू संगीतबद्ध गराई श्रोताहरूसमक्ष प्रस्तुत गरी लोकप्रिय पनि भइसकेका छन्। त्यही साधनाको फलस्वरूप यो नौलो कृति ‘मभित्रका गीतहरू’ शीर्षक दिनु भनेको गीतकार श्री नवीनको जीवनका आरोह-अवरोहका बयान गर्नु हो। असार-साउनको कुरो गर्नु हो, चैत-बैशाखको कैरन गर्नु हो। यसरी उनका गीतहरूले चाँप-गुराँससँग साउती गरेर न्याहुल र मुनालको राग यमन प्रतिध्वनितसम्म गराएका छन्।
यस्ता होनहार गीतकार, कविले धुलाबारी गोलबारीमा वि.सं. २०१९साल माघ ३ गते पिता स्व. हरिप्रसाद दाहाल अनि माता स्व. पवित्रा देवी दाहालको गर्भबाट जन्म ग्रहण गरेका हुन्। उनी आफ्नो जीवनमा शिक्षक पेशामा रहेर सेवानिवृत्त भएका छन्। एन. बी. दाहाल ‘नवीन’ – का प्रकाशित कृतिहरू –
१. कोपिला (गीतिसंग्रह), संयुक्त प्रकाशन, २०६० मा
२. झापाली श्रष्टा र साहित्य श्रृङ्खला २ (परिचय र रचना), आख्यान संग्रह, संयुक्त प्रकाशन, २०६८ मा
३. चियाएर हेरे जस्तो लाग्छ, मतिरै फर्किएर (गीति भिडियो), एकल प्रकाशन, २०७९
४. मभित्रका गीतहरू (गीत संग्रह), एकल प्रकाशन, २०७९
संगीत विश्वको प्राण हो। संगीतले जीवितलाई मात्रै होइन पाषणलाई पनि प्रभावित पार्न सक्छ, भन्छन् जानकारहरू। संगीतले पाषाण हृदयलाई पगालेर पानी बनाउन सक्दछ, घायल मुटुमा मलम लगाई यसभित्र शक्ति सञ्चार गरिदिने क्षमता राख्दछ। संगीत आत्मालाई परमात्मासँग जोड़्ने एउटा सेतु हो। संगीतले चराचुरूंगीहरू विभिन्न स्वर र भाकाहरूमा जीवन र प्रकृतिको गुणगाण गाइरहेका हुन्छन्। त्यसरीनै झरना, खोला, नदीहरू आ-आफ्नै भाकामा संगीतका लय गाइरहेका हुन्छन्। गीतकार श्री एन. बी. दाहालको ‘मभित्रका गीतहरू’ – मा जम्मा २१९ (दुई सय उन्नाइस) वटा गीतहरू समावेश भएको पाइन्छ। उनका प्रकाशित कृतिहरूमध्ये ‘मभित्रका गीतहरू’ चौथो कृति हो। उनी एक सफल गीतकार हुन्, उनले आफ्ना गीतहरू रेकर्ड गरी भीडियो पनि बनाइसकेका छन्। दाहालका गीतहरूमा यथार्थको चित्रण पाइन्छ। उनले लेख्ने गीतहरू आधुनिक विधाका हुन्छन्। प्रेम रसमा चुर्लुम्म डुबेका, प्रेमका व्यथाले पोलेका यथार्थवादी पोलहरू उनका पृष्ठ पृष्ठमा फेला पर्दछन्। प्रेमरस दर्शाउने यस्ता ज्वालाका लप्काहरू झैं उनका स्वरमा मिसिएका गीतहरू यस्ता छन् –
झरिले रूझेको यो मुटुभित्र
कति माया अड़्न सक्छ र?
हुरिले फूकेको आँखाभित्र
कति चाहना रहन सक्छ र?
घचेटिदियो हामीलाई
समयको सानो झोक्काले नै।
बगाइदियो प्रीति सबै
आँशुको सानो थोपाले नै।
विरूप भई माया दिएँ
पत्थर जस्तो तिम्रै मुटुलाई
काँड़ा भई उम्रिदियौ
पछुतो लाग्यो म आफैलाई।। (पृष्ठ ९१)
दाहालका यी शब्द लहरहरूले आफ्नो प्रेममा विछोड़िन पर्दा अत्यन्त पीड़ाबोध व्यक्त गरेका छन्। गीतका प्रत्येक शब्द शब्दहरूले आँखामा जमेका समुन्द्रका लहरहरूका हिक्काहरू आफ्नो कम्पित स्वरहरूले रूझेका रागहरू अलापेका छन्।
अस्ताएछु जूनसँगै उनको माया संसारबाट।
हराएछु किन आफै तिम्रै हृदयको संघारबाट।।
टाड़ा भए सपनाहरू
मुटु यहाँ फाटेपछि।
खाली रहे विपनाहरू
विश्वास यहाँ भागेपछि।।
उड़्ने मन उड़िगयो
सम्हाल्न भने सकिएन।
आँखाहरू पौड़िरहे
तृष्णाहरू मेट्न सकिएन। (पृष्ठ ७९)
गीतकारले यहाँ आफ्ना गीतका पंक्तिहरूमा खुबै दर्दनाक भावहरू पेश गरेका छन्। विछोड़का डाहले यो मनलाई डामिरहेको, छुटिनुको दर्दले यो ज्यानलाई व्यथित तुल्याइरहेको, अनि उनै निर्दयीको निर्मम यादले सताइरहेको कुराहरू पोखिएका छन्। प्रेम एउटा मानवीय तृष्णा हो, एउटा स्वभावजन्य तृष्णा हो। यो एउटा यस्तो मानवीय चाह हो जसलाई प्रेमीहरू त्यो सन्तापले स्वयंको चाहलाई मृगतृष्णामा पारिरहन्छन्।
अँधेरी रातको कालो यात्रा जस्तै
मेरो जीवन पनि भयो त्यस्तै
जताततै हिँड़िदिन्छ
बाटो कुन हो चिन्दिन
म आफै यहाँ रोइदिन्छु
खुशी कुन हो जान्दिन।।
किनारातिर जान खोज्छु
समयले बगाइदिन्छ।
सपनासित प्रीत गाँस्छु
विपनाले जगाइदिन्छ।।
एन. बी. दाहालका यी गीतहरू झरनाको निर्मल जल झैं स्वच्छ र सुन्दर छन्, स्निग्ध छन्, मिठासका खानी छन्।
अत्यन्त मृदुभाषी, अत्यन्त मिलनसार व्यक्तित्वका धनी श्री एन.बी. दाहाल धुलाबारी वरपर साथै भारतका सिमाना सिलगढ़ी, दार्जीलिङ अनि अन्यत्र होइरहने साहित्यिक, सांगीतिक कार्यक्रमहरूमा आफ्ना उपस्थिति दिएर दिग्गज व्यक्तित्वहरूसित उनको साँठगाँठ रहेको पाउँदछौं। यसरी हाम्रा प्रिय गीतकारले आफ्नो हृदयको कम्पित स्वरमा, रूद्ध कण्ठले, सुनाएका गीतहरू पाठकसमक्ष ‘मभित्रका गीतहरू’ लिएर अघि ठिङ्ग उभिएका छन् जो पाठकहरूलाई उनका गीतका शब्दहरूले मोहित बनाई तानेर लैजानेछन् अवश्यै। उनका कृतिका पृष्ठहरूमा हामी पाठकहरूले प्रष्ट गरेर सुन्न सकिने जीवनका ढुकढुकीहरू जीवन्त छन्।
-नागरी फार्म, दार्जीलिङ