वेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कारबाट मायामितु पुरस्कृत
झापा, फागुन ६ । 2 सुसेली साहित्यिक परिवारको आयोजनामा काकरभिट्टामा सम्पन्न एक कार्यक्रममा स्रष्टा तथा पत्रकार मायामितु न्यौपाने सम्मानित हुनुभएको छ । अग्रज स्रष्टा चूडामणि रेग्मीकी जीवन सङ्गिनी वेदकुमारी रेग्मीको नाममा स्थापित वेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कारबाट मितु सम्मानित हुनुभएको हो । 
मेचीनगर–११, निबासी मायामितु न्यौपानेलाई विशिष्ट अतिथिहरु मुनाराज सेर्मा, शिवकुमार पौडेल, डा.दशरथ खरेल, लीला उदासी तथा प्रमुख अतिथि कृष्ण धराबासीले कार्यक्रमबारे शुभकामना व्यक्त गर्दै पुरस्कृत व्यक्तिलाई बधाइ व्यक्त गर्नुभयो । पुरस्कृत मायामितु न्यौपानेले आफूले सामना गरेका विगतका अप्ठेरा परिस्थितिहरुको स्मरण गर्दै पुरस्कृत गर्ने संस्थाप्रति आभार व्यक्त गर्ने तथा यस पुरस्कारले जिम्मेवारी थपिएको बोध भएको सुनाउनुभयो । कार्यक्रमका अध्यक्षले उपस्थित सबैलाई कार्यक्रम सफल पार्न मद्दत गर्नुभएकोमा आभार व्यक्त गर्दै धन्यवाद दिएर कार्यक्रम समापन गर्नुभयो । आजको कार्यक्रममा उपर्युक्त व्यक्तिहरुका अतिरिक्त डा.ठाकुरप्रसाद पोखरेल, मेची क्याम्पसका पूर्व सहप्राध्यापक शिरो सान्दाइ, साहित्यकार दिलबहादुर थापा, फोटो पत्रकार द्वय देवेन्द्र खरेल, नरेश खरेल, क्षेत्र नं. १ का सांसदका स्वतन्त्र उम्मेदवार गणेशकुमार खरेल, कविता नेपाल, दीपा खरेल, कवि शिरोमणि मा.वि.का प्रअ दामोदर ढुङ्गेल, कथाकार अमृता चौंलागाईं, साहित्यकारहरु मदन अधिकारी, भूवन सुब्बा, कल्पना ओली, पूर्वप्राज्ञ सभासद सुभद्रा भट्टराई, ज्ञानेन्द्र ढुङ्गाना, दमयन्ती गिरी, नमुना निरौला दाहाल, दुर्गा भेटवाल लगायत ६० भन्दाबढी स्रष्टाहरुको उपस्थिति रहेको थियो ।
