सीमा आभासको `महायुग´उपन्यास पढेपछि .......

समीक्षा-रीता पोखरेल,पोष्ट-दिलिप घिमिरे · पौष २५, २०८२ १२:४८ PM
Cover Image for News

सीमा आभासको `महायुग´उपन्यास पढेपछि ...... 
          - रीता पोखरेल 
निकै अघि पढेर  उपन्यास `महायुग´ । करिब ७ दिन लगाएँ पढी सक्नलाई । तर पढी सकेर पनि पाठक प्रतिक्रियासम्म लेख्न सकिनँ, भनौँ आँट आएन ।  निकै दिन चुपचाप बसेपछि फेरि लाग्यो,निलाञ्जनाको कथा लगभग कन्ठस्तै छ । यक्षिणीको कथा फेरि पढौँ । (उपन्यासभित्र मुख्य गरी दुई भाग छ, निलाञ्जना र यक्षिणीको जीवन यात्रा । जो एकै व्यक्ति भए पनि जीवनकथा नितान फरक छ )  त्यसपछि यक्षिणीसँग फेरि यात्रा गरेँ । योभन्दा अघि मैले यति सरल तर यति गह्रौं,  यस्तो शान्त तर यति ओजिलो उपन्यास पढेको रहेनछ सायद । पढ्दापढ्दै यति डुबेँछुकी .... आनन्द दिएका कतिपय कुराहरूको तत्काल व्याख्या विवेचना गर्न सकिँदैन । त्यसको अनुभूति मात्रै  गरिरहनुमा नै थप आनन्द हुन्छ । केही समय त्यस्तै भयो मलाई पनि । 

 उपन्यास `महायुग´ समकालीन नेपाली साहित्यमा देखिँदै आएको नारीवादी लेखनभन्दा भिन्न उचाइमा उभिएको नारीवादी कृति हो। यो उपन्यासले नारीलाई सामाजिक संरचनाभित्रको पीडित पात्रका रूपमा मात्र प्रस्तुत गर्दैन; बरु  चेतना, शक्ति र साधनाको केन्द्रका रूपमा पुनःस्थापित गर्छ। कृति पल्टाउनु अघि कभरमा नै आँखा रोकिन्छन्, त्यहाँ  अङ्कित योनिमुद्रा केवल दृश्यात्मक बिम्ब होइन, उपन्यासको वैचारिक प्रवेशद्वार हो भन्ने लाग्छ। जो ब्राह्मणको सृष्टि, ऊर्जा र रूपान्तरणको प्रतिकका रूपमा उपस्थित छ । 
 महायुगमा नारी अनुभव केवल सामाजिक अन्यायको बयानमा सीमित छैन। यहाँ नारी चेतनाको यात्रा मौनता, सहनशीलता, प्रश्न र आत्मबोध हुँदै अघि बढ्छ। उपन्यासले देखाउने नारीवाद न त चर्को प्रतिवादमा अडिएको छ, न सतही नारामा। यो नारीवाद साधना, अन्तर्बोध र चेतनाको उज्यालो यात्रातर्फ अगाडि बढेको छ, जसले पाठकलाई कथा पढ्दै गर्दा आफ्नै अस्तित्व,  सामाजिक परम्परा, संस्कृति र व्यवहारमाथि पुनर्विचार गर्न बाध्य बनाउँछ। 

केहीकोही मान्छेसँग भेट्दा एउटा तरङ्ग आउँछ आफूमा । सिमा दिदीलाई देख्दा, भेट्दा र बोल्दा पनि आम मान्छेसँग भेटेभन्दा केही फरक अनुभूत हुन्थ्यो /हुन्छ । वहाँभित्र निकै गहिरो ज्ञानको भण्डार होला । आम मान्छेले सोचेको भन्दा फरक, केही त नयाँ सोच्दै हुनुहुन्छ होला जस्तो लाग्ने । नभन्दै यो उपन्यास पढ्दै गर्दा दिदीको सोचाइको गाम्भिर्यता महसुस हुन्छ । हुन त  वहाँले उपन्यास मै भन्नू भएको छ कि "यो उपन्यास म भित्र निर्मित एक पराजगत् हो ।" उपन्यासमा ओहो! कहाँबाट आयो होला यो सोच? जस्तो लाग्ने, फेरि फर्किएर अघिल्लो पानातिर आउनु पर्ने,  थुप्रै ठाउँ छन् । उपन्यासका प्लटहरू यसरी निर्माण भएका छन् र यति शक्तिशाली छन् कि  3D सिनेमा जस्तो लाग्छ । पढ्दै गर्दा उपान्यासभित्रको यात्री वास्तविकतामा म आफैँ हूँ लाग्छ ।

म भित्र पनि यति शक्ति रहेछ त्यो मैले कहाँ प्रयोग गरेँ? कि गरिन? किन प्रयोग गरिन? मैले मलाई चिन्न सकिँन त? मैले आफ्नो उज्यालो चिन्नलाई कति लगानी गरेँ?? कि गरिन?? म को हुँ? के को लागि आएँ म धर्तीमा? कहाँसम्म हो मेरो यात्रा? यात्राको उद्देश्य के हो? म उद्देश्यमा अडिग छु ? कि म हिड्नलाई म भित्र के ले बाधा गरिरहेको छ?? मेरो यात्राको बाधक अरू कोही नभएर म आफैँ हो ?? मेरो सोच हो? कि समाज हो? भन्ने जस्ता हजारौं  प्रश्नहरू पाइला पाइलामा तेर्सिन्छन् । र अन्तर्यमा आफूले आफूलाई चिन्न आफैंमा लगानी गर्नुपर्छ ।  मान्छेले बाँच्नुको उद्देश्य निश्चित गर्नुपर्छ । उद्देश्योन्मुख यात्रा गर्नुपर्छ । एक्लै भए पनि हिड्न छोड्नु हुँदैन ।

मानिसको ध्यान आन्तरिक सुन्दरतालाई निखार्नेतर्फ  जानु पर्छ ।  यो समाजको ज्योति भन्नू नै मानवको अन्तर चेतना हो । मान्छेले आफूभित्रको अन्तर चेतनालाई जागृत गराउनमा लगानी गर्नु पर्छ, समय खर्चिनु पर्छ । परिवर्तनको संवाहक म आफैँ हो । आफैँबाट सुरुवात गर्नुपर्छ र आफू उभिने धरातल, आफ्नो अस्तित्व आफैँ निर्माण गर्नुपर्छ भन्ने दृढतामा पाठकलाई पुर्याएर मात्रै उपन्यास सकिन्छ ।
 उपन्यासको भाषा सरल र संयमित छ, तर भाव गहिरो र ओजिलो। कतिपय अंशहरू कथाभन्दा बढी दार्शनिक अनुभूति झैँ लाग्छन्। महायुग पढिसकेपछि कथा सकिएजस्तो लाग्दैन;  आफैभित्र एउटा नयाँ यात्रा सुरु भएको जस्तो लाग्छ  । आफैँलाई, समाज र समयलाई हेर्ने दृष्टि नै परिवर्तन भएको अनुभूति हुन्छ। यस अर्थमा, महायुग केवल उपन्यास होइन  मानवीय चेतनाको विकास, विस्तार र समतामूलक समाज निर्माणको लागि दीर्घ साधनामय दस्तावेज हो । चेतनाको पर्दा उघार्ने यो युगको महत्त्वपूर्ण ग्रन्थ हो भन्ने लागेको छ । 

आफूले आफैँलाई न्याय गर्न मात्रै पनि यस युगमा यात्रारत आम यात्रीहरूले यो उपन्यास पढ्नै पर्छ । पुस्तकको आकार मोटो देखेर मौन  बसिरहनुभएको त छैन नि?? बाँकी हुनुहुन्छ भने यो जाडोमा मन न्यानो बनाउन महायुग यात्रा गर्नुस् भन्न चाहेँ । अन्त्यमा यस्तो ओजिलो ग्रन्थको सिर्जना र प्रकाशनका निम्ति हार्दिक बधाई, शुभकामना अनि खुब धन्यवाद छ सीमा दिदी।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
इन्द्रेनी प्रकाशन असमको लाइब्रेरीमा 'चिया गफ'
इन्द्रेनी प्रकाशन असमको लाइब्रेरीमा 'चिया गफ'
दिलिप घिमिरे - मङ्गलबार २४ फेब्रुवरी २०२६
कवि गणेश निराैलाकाे "कनाटा कैरन" पढेपछि
कवि गणेश निराैलाकाे "कनाटा कैरन" पढेपछि
समीक्षक प्रकाश न्यौपाने पोष्ट-दिलिप घिमिरे - बिहिबार १५ जनवरी २०२६
एन.बी. दाहालको गीति काव्य  ‘म भित्रका गीतहरू’ – मा रसमय लयान्तरहरू   - विमला प्रधान जोशी
एन.बी. दाहालको गीति काव्य ‘म भित्रका गीतहरू’ – मा रसमय लयान्तरहरू - विमला प्रधान जोशी
समीक्षक-प्रधान जोशी,पोष्ट-दिलिप घिमिरे - शुक्रबार २८ नोभेम्बर २०२५