सीमा आभासको `महायुग´उपन्यास पढेपछि .......
सीमा आभासको `महायुग´उपन्यास पढेपछि ......
- रीता पोखरेल
निकै अघि पढेर उपन्यास `महायुग´ । करिब ७ दिन लगाएँ पढी सक्नलाई । तर पढी सकेर पनि पाठक प्रतिक्रियासम्म लेख्न सकिनँ, भनौँ आँट आएन । निकै दिन चुपचाप बसेपछि फेरि लाग्यो,निलाञ्जनाको कथा लगभग कन्ठस्तै छ । यक्षिणीको कथा फेरि पढौँ । (उपन्यासभित्र मुख्य गरी दुई भाग छ, निलाञ्जना र यक्षिणीको जीवन यात्रा । जो एकै व्यक्ति भए पनि जीवनकथा नितान फरक छ ) त्यसपछि यक्षिणीसँग फेरि यात्रा गरेँ । योभन्दा अघि मैले यति सरल तर यति गह्रौं, यस्तो शान्त तर यति ओजिलो उपन्यास पढेको रहेनछ सायद । पढ्दापढ्दै यति डुबेँछुकी .... आनन्द दिएका कतिपय कुराहरूको तत्काल व्याख्या विवेचना गर्न सकिँदैन । त्यसको अनुभूति मात्रै गरिरहनुमा नै थप आनन्द हुन्छ । केही समय त्यस्तै भयो मलाई पनि ।
उपन्यास `महायुग´ समकालीन नेपाली साहित्यमा देखिँदै आएको नारीवादी लेखनभन्दा भिन्न उचाइमा उभिएको नारीवादी कृति हो। यो उपन्यासले नारीलाई सामाजिक संरचनाभित्रको पीडित पात्रका रूपमा मात्र प्रस्तुत गर्दैन; बरु चेतना, शक्ति र साधनाको केन्द्रका रूपमा पुनःस्थापित गर्छ। कृति पल्टाउनु अघि कभरमा नै आँखा रोकिन्छन्, त्यहाँ अङ्कित योनिमुद्रा केवल दृश्यात्मक बिम्ब होइन, उपन्यासको वैचारिक प्रवेशद्वार हो भन्ने लाग्छ। जो ब्राह्मणको सृष्टि, ऊर्जा र रूपान्तरणको प्रतिकका रूपमा उपस्थित छ ।
महायुगमा नारी अनुभव केवल सामाजिक अन्यायको बयानमा सीमित छैन। यहाँ नारी चेतनाको यात्रा मौनता, सहनशीलता, प्रश्न र आत्मबोध हुँदै अघि बढ्छ। उपन्यासले देखाउने नारीवाद न त चर्को प्रतिवादमा अडिएको छ, न सतही नारामा। यो नारीवाद साधना, अन्तर्बोध र चेतनाको उज्यालो यात्रातर्फ अगाडि बढेको छ, जसले पाठकलाई कथा पढ्दै गर्दा आफ्नै अस्तित्व, सामाजिक परम्परा, संस्कृति र व्यवहारमाथि पुनर्विचार गर्न बाध्य बनाउँछ।
केहीकोही मान्छेसँग भेट्दा एउटा तरङ्ग आउँछ आफूमा । सिमा दिदीलाई देख्दा, भेट्दा र बोल्दा पनि आम मान्छेसँग भेटेभन्दा केही फरक अनुभूत हुन्थ्यो /हुन्छ । वहाँभित्र निकै गहिरो ज्ञानको भण्डार होला । आम मान्छेले सोचेको भन्दा फरक, केही त नयाँ सोच्दै हुनुहुन्छ होला जस्तो लाग्ने । नभन्दै यो उपन्यास पढ्दै गर्दा दिदीको सोचाइको गाम्भिर्यता महसुस हुन्छ । हुन त वहाँले उपन्यास मै भन्नू भएको छ कि "यो उपन्यास म भित्र निर्मित एक पराजगत् हो ।" उपन्यासमा ओहो! कहाँबाट आयो होला यो सोच? जस्तो लाग्ने, फेरि फर्किएर अघिल्लो पानातिर आउनु पर्ने, थुप्रै ठाउँ छन् । उपन्यासका प्लटहरू यसरी निर्माण भएका छन् र यति शक्तिशाली छन् कि 3D सिनेमा जस्तो लाग्छ । पढ्दै गर्दा उपान्यासभित्रको यात्री वास्तविकतामा म आफैँ हूँ लाग्छ ।
म भित्र पनि यति शक्ति रहेछ त्यो मैले कहाँ प्रयोग गरेँ? कि गरिन? किन प्रयोग गरिन? मैले मलाई चिन्न सकिँन त? मैले आफ्नो उज्यालो चिन्नलाई कति लगानी गरेँ?? कि गरिन?? म को हुँ? के को लागि आएँ म धर्तीमा? कहाँसम्म हो मेरो यात्रा? यात्राको उद्देश्य के हो? म उद्देश्यमा अडिग छु ? कि म हिड्नलाई म भित्र के ले बाधा गरिरहेको छ?? मेरो यात्राको बाधक अरू कोही नभएर म आफैँ हो ?? मेरो सोच हो? कि समाज हो? भन्ने जस्ता हजारौं प्रश्नहरू पाइला पाइलामा तेर्सिन्छन् । र अन्तर्यमा आफूले आफूलाई चिन्न आफैंमा लगानी गर्नुपर्छ । मान्छेले बाँच्नुको उद्देश्य निश्चित गर्नुपर्छ । उद्देश्योन्मुख यात्रा गर्नुपर्छ । एक्लै भए पनि हिड्न छोड्नु हुँदैन ।
मानिसको ध्यान आन्तरिक सुन्दरतालाई निखार्नेतर्फ जानु पर्छ । यो समाजको ज्योति भन्नू नै मानवको अन्तर चेतना हो । मान्छेले आफूभित्रको अन्तर चेतनालाई जागृत गराउनमा लगानी गर्नु पर्छ, समय खर्चिनु पर्छ । परिवर्तनको संवाहक म आफैँ हो । आफैँबाट सुरुवात गर्नुपर्छ र आफू उभिने धरातल, आफ्नो अस्तित्व आफैँ निर्माण गर्नुपर्छ भन्ने दृढतामा पाठकलाई पुर्याएर मात्रै उपन्यास सकिन्छ ।
उपन्यासको भाषा सरल र संयमित छ, तर भाव गहिरो र ओजिलो। कतिपय अंशहरू कथाभन्दा बढी दार्शनिक अनुभूति झैँ लाग्छन्। महायुग पढिसकेपछि कथा सकिएजस्तो लाग्दैन; आफैभित्र एउटा नयाँ यात्रा सुरु भएको जस्तो लाग्छ । आफैँलाई, समाज र समयलाई हेर्ने दृष्टि नै परिवर्तन भएको अनुभूति हुन्छ। यस अर्थमा, महायुग केवल उपन्यास होइन मानवीय चेतनाको विकास, विस्तार र समतामूलक समाज निर्माणको लागि दीर्घ साधनामय दस्तावेज हो । चेतनाको पर्दा उघार्ने यो युगको महत्त्वपूर्ण ग्रन्थ हो भन्ने लागेको छ ।
आफूले आफैँलाई न्याय गर्न मात्रै पनि यस युगमा यात्रारत आम यात्रीहरूले यो उपन्यास पढ्नै पर्छ । पुस्तकको आकार मोटो देखेर मौन बसिरहनुभएको त छैन नि?? बाँकी हुनुहुन्छ भने यो जाडोमा मन न्यानो बनाउन महायुग यात्रा गर्नुस् भन्न चाहेँ । अन्त्यमा यस्तो ओजिलो ग्रन्थको सिर्जना र प्रकाशनका निम्ति हार्दिक बधाई, शुभकामना अनि खुब धन्यवाद छ सीमा दिदी।