वासु शशी स्मृति परिषद्बाट तीन स्रष्टा पुरस्कृत हुने
झापा, फागुन ७ । वासु शशी स्मृति परिषद्ले तीन जना साहित्यकारलाई सम्मानित तथा पुरस्कृत गर्ने भएको छ । साहित्यकार वसन्त चाैधरीलाई नगद राशि रु.२५०००/-सहितको "वासु शशी साहित्य पुरस्कार २०८२", साहित्यकार जयदेव भट्टराईलाई नगद राशि २१०००/- सहितको "वासु शशी स्रष्टा पुरस्कार-२०८२" र साहित्यकार हरि मञ्जुश्रीलाई नगद राशि रु.२५०००/-सहितको "कृष्ण-सरस्वती साहित्य पुरस्कार-२०८२" प्रदान गर्ने निर्णय गरेको छ ।
परिषद्का अध्यक्ष कालीप्रसाद रिजालकाे अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो।
उक्त पुरस्कार वरिष्ठ कवि एवं नाटककार वासु शशीको ९० औं जन्मजयन्तीको अवसरमा आगामी चैत १३ गते समर्पण गरिने परिषद्का सदस्य-सचिव प्रद्युम्न जोशीले बताए।
विगत चार दशकदेखि सक्रिय साहित्यकार चाैधरीकाे कविता, उपन्यास र निबन्धसहित डेढ दर्जन बढी साहित्यिक पुस्तकहरू प्रकाशित छन्। चौधरीको राष्ट्रियता नदुखोस् र संवाद (निबन्धसङ्ग्रह), मेरा डायरीका पानाहरू, मेघा र मेरा कविताहरू र तिमीविनाको म (कविता सङ्ग्रह), जीवन–मन्त्र (जीवन अनुभूति–भाग १), वसन्त (नौ भाषामा कविता सङ्ग्रह), आँसुओं की सियाही से, अनेक पल और मैं, वक्त रुकता नही र चाहतों के साये में (हिन्दी कविता सङ्ग्रह), आहना (नेपाली/अंग्रेजी बालकविता सङ्ग्रह), जीवन –मन्त्र–२ (जीवन अनुभूति भाग २), म्यानेजमेन्ट ३६० डिग्री (अंग्रेजी निबन्ध सङ्ग्रह) र मेरा गीत (नेपाली/हिन्दी गीत सङ्ग्रह), बसन्त चौधरी का काव्य जीवन का बहुरंगी कोलाज र देवयानी (उपन्यास)लगायतका कृतिहरू प्रकाशित रहेका छन्।
विगत चार दशकदेखि नेपाली भाषा साहित्यमा क्रियाशील साहित्यकार भट्टराईकाे जीवनी, अनुसन्धान, सम्पादन गरी डेढ दर्जन साहित्यिक पुस्तक प्रकाशित छन्। भट्टराईका व्यक्तित्व र शब्दचित्र, साहित्यकार परिचय र अभिव्यक्ति, सन्दर्भ र खोजी, छाडेर जानेहरू, सय वर्षको कविता, गोपको इतिहास, 'नमन' र स्मृतिमा छाडेर जानेहरू व्यक्तिपरक निबन्ध सङ्ग्रहलगायतका कृतिहरू प्रकाशित रहेका छन् भने भट्टराईले मधुपर्क र आरब्धको सम्पादनसमेत गर्नु भएको छ।
यसैगरी विगत चार दशकदेखि सक्रिय साहित्यकार मञ्जुश्रीको कथा, कविता, उपन्यास, निबन्ध, जीवनी, अनुसन्धान, सम्पादनसहित तीन दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन्। मञ्जुश्रीका अनाहक उदगारहरु (मुक्तकृति), रहरहरुको लहर (कविताकृति), फेरिएको पर्खाल, हरिमञ्जुश्रीका कथा, नानीबाबु र हामी केही बोल्न सकेनौँ (कथाकृति), चालीसौं शताब्दी र माधुरी आचार्य (उपन्यास), आजको नेपाल कता लागिरहेछ ?, मेरा अनुभूतिहरूमा चौबाटोको चारैतिर, अमर्त्य भोजपुरे : हिरण्य भोजपुरे, शशि भण्डारी -आयाम र आलोक (निबन्धकृति)लगायतका कृतिहरू प्रकाशित रहेका छन् भने एकसय बढी कृतिहरू सम्पादनसमेत गर्नु भएको छ।