कवि गणेश निराैलाकाे "कनाटा कैरन" पढेपछि
झापा १ माघ/जीवनमा कहिल्यै क्यानाडा भन्ने देशकाे भूमि त यी खुट्टाले नटेक्न सक्छन् तर घरदलान साहित्य, बुध्दशान्तिका अभियन्ता कवि गणेश निराैलाकाे "कनाटा कैरन" पढेपछि लेखकसँगै आँफु पनि क्यानाडा घुमेर भर्खरै आएकाे भान भइरहेछ मलाई।
बरू लेखक क्यानाडाबाट फर्किएकाे केही वर्ष बित्याे तर म क्यानाडाकाे धङधङेमै छु अझै। पाठकलाई आँफुसँगै सँगै हिडाउँन र राेमाञ्चित बनाउँन सक्नुले नियात्रा लेखनकाे सफलताकाे संकेत गर्छ हाेला। "कनाटा कैरन" छिचाेली सक्दा पाठक कतै आलस्यकाे अनुभव गर्दैन, जति पढ्याे उति पढाैं-पढाैं लाग्दा लाग्दै याे सकिन्छ। बरु अझै क्यानाडा विहारकाे धित नमरी फर्किनु परेकाेमा पाठकलाई खल्लाे लाग्न सक्छ।
याे निबन्धात्मक कृति भए पनि काव्य सरिताकाे प्रवाह छ यत्रतत्र। यसमा अनुप्रास मिलेका वाक्यका लहरहरू थुप्रै भेटिन्छन् ,गति यति मिलाएर हात हल्लाउँदै वाचन गरूँ झैं लाग्छ। केवल लेखक घुमेका देखेका स्थान, दृष्य र घटनाहरूकाे सरसर्ति वर्णन मात्र हाेइन रहेछ "कनाटा कैरन", याे त इतिहास, भूगाेल, राजनीतिक मूल्य, सामाजिक - सांस्कृतिक मूल्य मान्यता र विश्वास अनि मान्छेका आचरणहरूकाे अन्तर - घुलन पाे रहेछ।यसमा कतै साहित्य भित्र इतिहास र जता ततै इतिहास भित्र साहित्य भेटिन्छ। कतिपय पाठकलाई साेझै पढ्न रूचि नहुँने ऐतिहासिक,भाैगाेलिक र जनसाङ्ख्यिक तथ्याङ्कहरूलाई साहित्य रसमा घाेलेर घुटु -घुटु पिलाई दिन्छ कनाटा कैरनले। फेरि यसले पाठकलाई क्यानाडाकाे भूमिमा घुमेर हराइ रहन पनि कहाँ दिन्छ र, पटक- पटक आफ्नै मूल भूमि नेपाल तर्फ तानेर ल्याउँछ।
क्यानाडाकाे सुन्दर लेक अन्टारियाे हाेस् वा थाउजन्ड आइल्याण्ड, टाेवरमरी हाेस् वा नायगरा फल्स, छालसँगै मान्छेकाे मनै उछालिने समुद्रकाे किनार हाेस् वा भव्य शहरभित्र उभिएकाे "म्यारिलिन मुनराे" सपिङ मलकाे छतबाट निमेष भरमा पाठक नेपाल आइपुग्छ। झापा र ईलामका गाउँबस्ती, खाेलाखाेल्सा, हाटबजार चहार्छ , माईवेनी मेला भर्छ र फर्किएर फेरि क्यानाडा पुग्छ।
कयाैं प्रसङ्गमा यताका र उताका मान्छेका व्यवहार,संस्कार र तथ्यहरूलाई जाेडेर लेखिनुले कृति अझ राेचक, ज्ञानबर्धक र मानविय संवेदनायुक्त लाग्दछ। विश्वलाई लाेकतन्त्र, उदारवाद र मानव अधिकारकाे पाठ घाेकाइरहेका पश्चिमी राष्ट्रहरूले माैका पर्दा कमजाेरहरू माथि गरेका अन्याय, अतिक्रमण,दाेहन र शाेषणलाई समेत उदाङ्गाे पारिदिएकाे छ कनाटा कैरनले।
नेपाली नियात्रा साहित्यमा पटक- पटक पढेर पनि नअघाइने सुन्दर कृति थप गर्नु भएकाेमा श्रष्टा गणेश निराैलालाई हार्दिक बधाइ तथा शुभकामना।