पं. श्रीनारायण चापागाईँले २०१२ सालमा लेखेको बालन बिमोचित
झापा, फागुन ६ । स्वर्गीय श्रीनारायण उपाध्याय चापागाईँद्वारा लिखित कृति “श्रीमद्भागवतान्तरगत बालन” यही फागुन २ गते सार्वजनिक भएको छ । इलाम सोयाङ्ग (लोक्साङ्ग) चापागाईँ वंश प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रम बीच उक्त कृति सार्वजनिक भएको हो । इलाम सोयाङ्ग (लोक्साङ्ग) चापागाईँ वंश प्रतिष्ठानका अध्यक्ष श्री इन्द्रप्रसाद चापागाईँको अध्यक्षतामा आयोजित विमोचन कार्यक्रममा स्व. चापागाईँका शिष्यहरु पं. कृष्णप्रसाद चापागाईँ, पं. बालकृष्ण चापागाईँ, समाजसेवी तथा लेखककै शिष्य केन्द्रप्रसाद भण्डारी, कार्यक्रमका सभाध्यक्ष इन्द्रप्रसाद चापागाईँ र लेखकका छोराहरु क्रमशः कृष्ण चापागाईँ र चन्द्र चापागाईँबाट संयुक्त रुपमा सो कृति विमोचन गरिएको थियो ।
पं. श्रीनारायण चापागाईँले आफ्ना शिष्यहरुलाई शिक्षा दिन वि.सं. २०१२ सालमा लेख्नुभएको बालनको पाण्डुलिपी फेला परेपछि पुस्तकको रुपमा प्रकाशित गरिएको कुरा लेखकका नाति कमल चापागाईँले बताउनु भयो ।
माइजोगमाइ ५ स्थित सोयाङ्गको सिम्लेमा बिमाेचन भएकाे समारोहमा झापा, इलाम र काठमाडौ समेतबाट करिब दुई सय जनाको उपस्थिति रहेकाे थियाे । कार्यक्रममा बोल्दै लेखकका छोरा तथा श्री कालिस्थान मा.वि., अर्जुनधारा ९ का पूर्व प्रधानाध्यापक कृष्णप्रसाद चापागाईँले सोयाङ्गको सिम्लेमा वि.सं. २००० साल देखि नै आफ्नै पहलकदमीमा संस्कृत पाठशाला सुरु गरी पठनपाठन कार्यको थालनी गर्नु भएको कुरा बताउनु भयो । श्रुति परम्परामा आधारित बालन नेपाली साहित्यको मूल विधामा समेटिन नसक्दा लोपोन्मुख अवस्थामा रहेको र यसको संरक्षण तथा सम्बर्द्धन गर्नु आवश्यक भएको उल्लेख गर्दै यस प्रयोजनको लागि आफ्ना पिताको यस कृतिले नेपाली साहित्यको श्रुति परम्परामा आधारित बालन साहित्यले नेपाली साहित्यलाई सकारात्मक योगदान दिने विश्वास गर्दै यो कृति प्रकाशन गरिएको कुरा रचनाकारका कान्छा छोरा इन्जिनियर चन्द्र चापागाईँले बताउनु भयो ।

