ढुङ्गामा कुँदिएको वंश परम्परा
ढुङ्गामा कुँदिएको वंश परम्परा
(रन्धोज नेम्बाङ "रङसाङ" देखि हिम्मत नेम्वाङ सम्मको कला यात्रा)
✍️ मुक्तिप्रसाद तिम्सिना
(अनुष्टुप छन्द)
सपुत एक जन्मेछन् गर्न नेपालको हित ।
महशुस गरेँ मैले जन्मिदै प्राप्त हिम्मत ।। १ ।।
पुर्खाबाट सरेको हो कलाको क्षेत्रमा लत ।
वंशाणुगत नै होला कुलको थाम्न इज्जत ।। २ ।।
हुँदै विकास विस्तार पुर्खाको मार्ग चालियो ।
माटोमा पाउने गन्ध ढुङ्गामा लिन थालियो ।। ३ ।।
रनमाया थिइन् माता पहिलो मार्गदर्शक ।
पिता मोहन लिम्बू नै कला पथप्रदर्शक ।। ४ ।।
माटो , पिठो भए मूर्ति बनाएर रमाउँथे ।
आकृति देखिने उस्तै रेखाचित्र बनाउँथे ।। ५ ।।
रन्धोज नामका बाजे किरात लिपि सर्जक ।
ज्योतिष शास्त्रका ज्ञाता शिक्षासेवी र धार्मिक।। ६।।
बहुज्ञ प्रतिभाशाली थिए प्राचीन ज्ञापक ।
शब्दकोष बनाएका लिम्बू प्रथम लेखक ।। ७ ।।
कला ललित जिज्ञासु अड्डा अमाल गर्दथे ।
भाषा साहित्यका प्रेमी "रङसाङ" उनै थिए ।। ८ ।।
लेखिएन कहीँ भन्ने गुनासो नाति गर्दथे ।
इतिहास कतै छैन तिनी के गर्नु भन्दथे ।। ९ ।।
कारण एक होला यो व्यस्त भएर लेख्दछन् ।
ढुङ्गा कुँदेर पो मूर्ति बोल्छ जस्तो बनाउँछन्।।१०।।
कला गला सबै क्षेत्र चित्रमा पनि पोख्त छन् ।
सुनाम फैलियो किर्ति सम्मान धेर बोक्तछन् ।।११ ।।
पुर्खाको पसिना सम्झी आँशु तरक्क झार्दछन् ।
एकान्तमा शिला भेटे मौन भै बात मार्दछन् ।।१२ ।।
पत्थर भित्र आत्मा छ म देख्छु हेर्छु भन्दछन् ।
चट्टान भित्रको देव बाहिर जो निकाल्दछन्।।१३ ।।
भेटे प्रस्तर आफैँले खुशी भएर राख्दछन् ।
आशीर्वाद दिने उल्टै हिर्काएर बनाउँछन् ।। १४ ।।
लिम्बुको घरमा जन्मे कला पण्डित काबिल ।
कृत्रिम रचना गर्दा भर्न सक्ने उनी दिल ।। १५ ।।
शिल्पमा ढुक्ढुकी हुन्छ शिल्पीले मूर्ति चिन्दछ ।
कलाको पारखी जो हो आफैँ त्यो सीप जान्दछ।।१६।।
चढ्नु पर्नेछ सोपान खुड्किला पार गर्नुछ ।
कला सीप लिने ज्ञान सिँडी अनेक पर्दछ ।। १७ ।।
सुन्ने देख्ने तथा हेर्ने आफ्नो बुद्धि भिडाउने ।
जान्ने माध्यम धेरै छन् सिक्नेले अपनाउने ।। १८ ।।
शिक्षा कला दुबै क्षेत्र ज्ञाता थे अविभावक ।
घरमा गुरु पाएर बने नेम्वाङ लायक।। १९ ।।
ढुङ्गा भित्र रहेको त्यो आँखा बाहिर आउँछ ।
हात हिम्मतले राखे पाषाण रत्न बन्दछ ।। २० ।।
©
बिर्तामोड,झापा
नेपाली साहित्य . कम तथा दिलिप घिमिरेजीप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु 💐