ढुङ्गामा कुँदिएको वंश परम्परा

मुक्तिप्रसाद तिम्सिना पोष्ट-दिलिप घिमिरे · भदौ २१, २०८३ ३:३१ PM
Cover Image for News

ढुङ्गामा कुँदिएको वंश परम्परा
(रन्धोज नेम्बाङ "रङसाङ" देखि हिम्मत नेम्वाङ सम्मको कला यात्रा)
                              ✍️ मुक्तिप्रसाद तिम्सिना 
(अनुष्टुप छन्द)

सपुत एक जन्मेछन् गर्न नेपालको हित ‌।
महशुस गरेँ मैले जन्मिदै प्राप्त हिम्मत ।। १ ।। 

पुर्खाबाट सरेको हो कलाको क्षेत्रमा लत ।
वंशाणुगत नै होला कुलको थाम्न इज्जत ।। २ ।‌। 

हुँदै विकास विस्तार पुर्खाको मार्ग चालियो ।
माटोमा पाउने गन्ध ढुङ्गामा लिन थालियो ।। ३ ।। 

रनमाया थिइन् माता पहिलो मार्गदर्शक ।
पिता मोहन लिम्बू नै कला पथप्रदर्शक ।। ४ ।। 

माटो , पिठो भए मूर्ति बनाएर रमाउँथे ।
आकृति देखिने उस्तै रेखाचित्र बनाउँथे ।। ५ ।। 

रन्धोज नामका बाजे किरात लिपि सर्जक ।
ज्योतिष शास्त्रका ज्ञाता शिक्षासेवी र धार्मिक।। ६।। 

बहुज्ञ प्रतिभाशाली थिए प्राचीन ज्ञापक ।
शब्दकोष बनाएका लिम्बू प्रथम लेखक ।। ७ ।। 

कला ललित जिज्ञासु अड्डा अमाल गर्दथे ।
भाषा साहित्यका प्रेमी "रङसाङ" उनै थिए ।। ८ ।। 

लेखिएन कहीँ भन्ने गुनासो नाति गर्दथे ।
इतिहास कतै छैन तिनी के गर्नु भन्दथे ।। ९ ।। 

कारण एक होला यो व्यस्त भएर लेख्दछन् ।
ढुङ्गा कुँदेर पो मूर्ति बोल्छ जस्तो बनाउँछन्।।१०।। 

कला गला सबै क्षेत्र चित्रमा पनि पोख्त छन् ।
सुनाम फैलियो किर्ति सम्मान धेर बोक्तछन् ।।११ ।। 

पुर्खाको पसिना सम्झी आँशु तरक्क झार्दछन् ।
एकान्तमा शिला भेटे मौन भै बात मार्दछन् ।।१२ ।। 

पत्थर भित्र आत्मा छ म देख्छु हेर्छु भन्दछन् ।
चट्टान भित्रको देव बाहिर जो निकाल्दछन्।।१३ ।।

 
भेटे प्रस्तर आफैँले खुशी भएर राख्दछन् ।
आशीर्वाद दिने उल्टै हिर्काएर बनाउँछन् ।। १४ ।।

लिम्बुको घरमा जन्मे कला पण्डित काबिल ।
कृत्रिम रचना गर्दा भर्न सक्ने उनी दिल ।। १५ ।।

शिल्पमा ढुक्ढुकी हुन्छ शिल्पीले मूर्ति चिन्दछ ।
कलाको पारखी जो हो आफैँ त्यो सीप जान्दछ।।१६।।

चढ्नु पर्नेछ सोपान खुड्किला पार गर्नुछ ।
कला सीप लिने ज्ञान सिँडी अनेक पर्दछ ।। १७ ।।

सुन्ने देख्ने तथा हेर्ने आफ्नो बुद्धि भिडाउने ।
जान्ने माध्यम धेरै छन् सिक्नेले अपनाउने ।। १८ ।।

शिक्षा कला दुबै क्षेत्र ज्ञाता थे अविभावक ।
घरमा गुरु पाएर बने नेम्वाङ लायक।। १९ ।।

ढुङ्गा भित्र रहेको त्यो आँखा बाहिर आउँछ ।
हात हिम्मतले राखे पाषाण रत्न बन्दछ ।। २० ।।
                               ©
                                       बिर्तामोड,झापा 

ट्यागहरू:
साहित्य# छन्द #कविता
टिप्पणीहरू
User
Mukti Prasad Timsina
८ घण्टा अगाडि

नेपाली साहित्य . कम तथा दिलिप घिमिरेजीप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु 💐

सम्बन्धित पोस्टहरू
बुद्ध, मुक्त ऊ बन्दछ
बुद्ध, मुक्त ऊ बन्दछ
हरिभक्त सिग्देल 'महेश' पोष्ट- खगिन्द्रा खुसी - मङ्गलबार ४ नोभेम्बर २०२५
देशको सान
देशको सान
कल्पना काफ्ले पोष्ट -खगिन्द्रा खुसी - बिहिबार २४ अक्टोबर २०२४
शक्ति सङ्कल्प
शक्ति सङ्कल्प
टीका आत्रेय पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २९ अगष्ट २०२४
स्रग्धरामा रमाऊँ
स्रग्धरामा रमाऊँ
खगिन्द्रा खुसी - बिहिबार १८ जुलाई २०२४