देशको सान
मन्दाक्रान्ता छन्द
नौलो आभा अलिकति कतै छर्न पाए धरामा
फुल्थे होलान् तब मखमली दूरका कन्दरामा
यस्तो हेर्दा चिरबिर गरी गौथली गीत गाओस्
मेरो आत्मा मुलुकसितको प्रेममा मुस्कुराओस्
डाँडापाखा वन नदनदी देशको सान बोल्छन्
लोभैलाग्दा धवल गिरिका माथले व्योम चुम्छन्
छर्दै आफ्नो अप्रतिम छ्टा कीर्तिले जग्मगाओस्
मेरो आत्मा मुलुकसितको प्रेममा मुस्कुराओस्
आफ्नै माटो मन दिल छुने आँगनी वा गरामा
जादूजस्तै अनुपम कला हाँस्तछन् स्वच्छतामा
छातीको यो अतल तहमा देश यो झिल्मिलाओस्
मेरो आत्मा मुलुकसितको प्रेममा मुस्कुराओस्
राम्रा राम्रा मनमधुरका धारका हारमाथि
अग्लो मेरो हिमशिखरमा उक्लनै पर्छ साथी।
आफैँ सङ्लो टलपल सदा पोखरी टल्किराखोस्
मेरो आत्मा मुलुकसितको प्रेममा मुस्कुराओस् ।
आफ्नै भाषा भयरहितका पाइने पुञ्ज पुञ्ज
विश्वात्मा नै यस परिधिका खेल्दछन् कुञ्ज कुञ्ज
हिँड्दा आफैँ सबल म हिँडू सौम्यको भाव छाओस्
मेरो आत्मा मुलुकसितको प्रेममा मुस्कुराओस्
मेचीकाली हरलहरमा सभ्यता गुन्जिएको
भाषाभाषी विविध तर छन् एकता मौलिएको
ठाडो पारी शिर सहजले स्वाभिमानी रमाओस्
मेरो आत्मा मुलुकसितको प्रेममा मुस्कुराओस् ।
कल्पना काफ्ले