स्रष्टा निलीमा आचार्यको मौनताका आवाज समेटेको ‘अन्धकारको आर्तनाद’ कथासङ्ग्रह विमोचित
झापा, १३ मङ्सिर /समाजका दबिएका आवाज, नारीका वेदना र सीमान्तकृत समुदायका अस्तित्वका प्रश्नलाई कथामा अभिव्यक्त गर्दै आएकी स्रष्टा निलीमा आचार्यको कथासङ्ग्रह ‘अन्धकारको आर्तनाद’ भारतको तेजपुरमा विमोचन गरिएको छ।
इन्द्रेणी प्रकाशन, असमद्वारा प्रकाशित सङ्ग्रहमा नारीचेतना, लैङ्गिक विभेद, सामाजिक रूढि र न्यायका प्रश्न समेटिएका छन्। सङ्ग्रहका कथामा महिलालाई निरीह पीडितका रूपमा मात्र नभई आफ्नो अस्तित्व र अस्मिताका लागि सङ्घर्षरत पात्रका रूपमा प्रस्तुत गरिएको छ। तेस्रो लिङ्गी समुदायको वेदना र पहिचानलाई कथामा स्थान दिनु पनि कृतिको उल्लेखनीय पक्षका रूपमा समीक्षकहरूले औँल्याएका छन्।
राधा आचार्य र भीष्म आचार्यकी छोरीका रूपमा असमको विश्वनाथ जिल्लास्थित काउडीपथारमा जन्मिएकी निलीमा एमए र डीएलएडसम्मको अध्ययन पूरा गरी अध्यापन पेसामा संलग्न छिन्। घरपरिवारको जिम्मेवारीसँगै साहित्य सिर्जनालाई निरन्तरता दिँदै आएकी उनका कविता सङ्ग्रह ‘परिवर्तन र अन्य कविता’ (२०२१), उपन्यास ‘रजत’ (२०२१) र कविता सङ्ग्रह ‘जूनको पर्खाइमा’ (२०२४) प्रकाशित छन्। उनी असम नेपाली साहित्य सभा विश्वनाथ जिल्लाकी सदस्य तथा जिल्ला महिला प्रकोष्ठकी मूल सचिव हुनुका साथै ‘वेदवती कवि चक्र, वेदेती असम’की सदस्य पनि हुन्।
आइतबार तेजपुरस्थित गोर्खा सांस्कृतिक भवनको छात्रावास परिसरमा आयोजित समारोहमा कथाकार खड्गबहादुर कौशिकले कृति विमोचन गर्दै आचार्यका कथाबारे चर्चा गरेका थिए। वरिष्ठ साहित्यकारद्वय रुद्र बराल र मोहन सुवेदी सभापतिमण्डलमा रहेको समारोहमा महिम आचार्यले व्यङ्ग्य कविता र दीपक दवाडीले गजल प्रस्तुत गरेका थिए। ज्योति हुमागाईँले सञ्चालन गरेको कार्यक्रममा सयभन्दा बढी साहित्यकार तथा साहित्यानुरागी सहभागी थिए।