शिक्षकका अनुभव र सिर्जना समेटिएको ‘हाम्रो आवाज’ लोकार्पित
झापा, १३ मङ्सिर /शिक्षकका अनुभव,अनुभूति, सिर्जना र सामाजिक आवाज समेटिएको पुस्तक ‘हाम्रो आवाज : शिक्षकका कलममा अनुभव र सिर्जना’ मोरङमा लोकार्पण गरिएको छ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति मोरङको महिला विभागले प्रकाशन गरेको पुस्तक लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर शनिबार सुन्दरहरैँचा–१० स्थित सुकुना माध्यमिक विद्यालयमा आयोजित समारोहमा सार्वजनिक गरिएको हो।
‘सम्पूर्ण शिक्षकहरू एक हौँ’ भन्ने मूल भावनासहित प्रकाशित पुस्तकमा शिक्षकका व्यक्तिगत अनुभव, सिर्जना, विचार र सामाजिक विषयवस्तु समेटिएका छन्। यसले शिक्षकका सिर्जनात्मक अभिव्यक्तिलाई स्थान दिनुका साथै सङ्गठनको साङ्गठनिक इतिहास र सामाजिक सरोकारलाई अभिलेखका रूपमा प्रस्तुत गरेको छ।
पुस्तकमाथि समीक्षकद्वय विजयन्ती मिश्र र दिनेश श्रेष्ठले समीक्षा गरेका थिए। कार्यक्रममा नवनियुक्त प्रधानाध्यापक कविता खनाललाई सम्मानसमेत गरिएको थियो।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समिति सचिव वेणु काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम महिला विभाग मोरङकी प्रमुख तथा पुस्तककी प्रधान सम्पादक धर्मकुमारी कालाखेती भण्डारीको अध्यक्षतामा भएको थियो। कार्यक्रममा सङ्गठनका विभिन्न तहका प्रतिनिधि, शिक्षक, साहित्यकार, कलाकार, पत्रकार तथा साहित्यिक संस्थाका प्रतिनिधिहरू सहभागी थिए।
महिला विभागकी सहकोषाध्यक्ष पवित्रा सापकोटाले स्वागत मन्तव्य राखेकी थिइन् भने सहसचिव कञ्चनमाला देवकोटाले कार्यक्रम सञ्चालन गरेकी थिइन्।