‘नझरेका फूलहरू’मा कविता, सङ्गीत र स्रष्टाको सम्मान
झापा, १३ मङ्सिर । एउटै स्रष्टालाई आठ साहित्यिक तथा सांस्कृतिक संस्थाले संयुक्त रूपमा सम्मान गर्नु ‘नझरेका फूलहरू’को दोस्रो शृङ्खलाको विशेष आकर्षण बन्यो।
सुन्दरहरैँचा, बेलबारी र केराबारीका संस्थाहरूले कवि तथा प्राज्ञ रोशन परियारलाई बधाईपत्र प्रदान गर्दै उनको साहित्यिक योगदानको कदर गरेका हुन्।
धनकुटाका परियारले कार्यक्रममा आफ्ना आधा दर्जन चर्चित कविता सुनाए। आठ संस्थाका अध्यक्षले हस्ताक्षर गरेको बधाईपत्र कार्यक्रमका कम उमेरका श्रोता सजल श्रेष्ठले उनलाई हस्तान्तरण गरेका थिए। सहभागी सर्जकहरूले विभिन्न संस्थाको संयुक्त सहभागितामा गरिएको यस्तो सम्मानलाई नेपालमै पहिलो अभ्यास भएको बताएका थिए।
स्थानीय साहित्यिक संस्थाहरूको यो सामूहिक उपस्थितिले कार्यक्रमलाई कविता वाचन र गीत प्रस्तुतिमा मात्र सीमित नराखी स्रष्टाको सम्मान तथा संस्थागत सहकार्यको अवसरसमेत बनाएको देखिन्छ। यस्ता गतिविधिलाई निरन्तरता दिँदै आएका ‘नझरेका फूलहरू’का परिकल्पनाकार तथा संस्थापक केपी घिमिरे २०७१ सालदेखि एकल प्रयासमा साहित्यिक तथा सांगीतिक गतिविधिमा सक्रिय छन्। उनले ‘नझरेका फूलहरू’ र पलेँटी शृङ्खलामार्फत थुप्रै कवि, गीतकार, गायक तथा सर्जकलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने मञ्च उपलब्ध गराउँदै आएका छन्।
घिमिरे आफैँ पनि गीतकार हुन्। उनका गीत नेपालका चर्चित गायक–गायिकाले गाएका छन्। आफ्ना सिर्जना सार्वजनिक गर्नुका साथै अरू स्रष्टालाई पनि अवसर जुटाउँदै आएका उनी भाषा, साहित्य, कला र सङ्गीतको प्रवर्द्धनमा सांस्कृतिक अभियन्ताका रूपमा सक्रिय छन्।
स्वरसम्राट् नारायणगोपालको स्मृति दिवस मङ्सिर १९ गते भए पनि उनको सांगीतिक योगदानको स्मरणमा यस वर्ष महिनाभर कार्यक्रम आयोजना गरिएको घिमिरेले बताए। दोस्रो शृङ्खलामा गायक सञ्जीव धिमालले ‘तिमीलाई म के भनूँ’ र ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ तथा युवा गायक हिमाल दर्नालले ‘कसरी म भुलेँ केमा म भुलेँ’ र ‘लौ सुन म भन्छु मेरो रामकहानी’ प्रस्तुत गरे। कवयित्री रेखा दासले पनि आफ्ना तीन कविता सुनाइन्।