छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
२०८३ मङ्सिर १२ गते, शनिबार झापा । छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष दुई जना छन्दसाधक कविहरू निर्मोही व्यास (जीवनसँगिनी वीणा पोखरेलसहित) र सिर्जना अर्याललाई प्रदान गरेको छ । कविद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष विशिष्ट छन्दसाधना पुरस्कार प्रदान गर्दै आएकोमा २०७९ सालदेखि छन्दसाधना युवा प्रतिभा पुरस्कारसमेत थप गरी एक जना वरिष्ठ कवि र एक जना युवाकविलाई पुरस्कृत गर्ने गरेको छ । काठमाडौँमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि वरिष्ठ समालोचक तथा काव्यशास्त्रविद् प्रा.डा. महादेव अवस्थी, अक्षयकोष संस्थापकमध्येका प्रतिनिधिहरू नेत्रकला ज्ञवाली र प्रा.डा. हेमनाथ पौडेलले दुई पुस्ताका कविहरू व्यास र अर्याललाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि डा. अवस्थीले छन्दसाधक द्वय व्यास र अर्यालले नेपाली छन्दकविताको उन्नयनमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरी पुरस्कार प्रदान गरिएकामा खुसी व्यक्त गर्दै अभियानका संयोजक द्वय ज्ञवाली र नेपालले सिर्जना, समालोचना, प्रशिक्षण र उत्प्रेरणामूलक कार्यक्रमहरूका माध्यमबाट छन्दमा युवापुस्ता र बालपुस्तासमेत निर्माण गरेकामा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा कवि सविता बरालले यस वर्ष छन्दसाधना युवा प्रतिभा पुरस्कार प्राप्त गर्नुहुने धादिङकी प्रखर युवाकवि सिर्जना अर्यालको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै उहाँलाई प्रदान गर्ने सम्मानपत्र वाचन गर्नुभएको थियो । सोही सन्दर्भमा ‘विशिष्ट छन्दसाधना पुरस्कार’बाट पुरस्कृत वरिष्ठ कवि निर्मोही व्यासले यस पुरस्कारले आफ्नो छन्दसाधनालाई सम्मान गरेर थप जिम्मेवारी प्रदान गरेको विचार व्यक्त गर्नुभयो भने उहाँद्वारा रचित दुइटा कविता दिनेश पाण्डेय र देवु लुइटेलले वाचन गर्नुभएको थियो । यसरी नै ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’बाट पुरस्कृत युवाकवि सिर्जना अर्यालले आफू निरन्तर छन्दसाधनामा लागिरहने प्रतिबद्धता व्यक्त गरी दुइटा सशक्त छन्दकविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा सभाध्यक्षको मन्तव्य राख्दै डा. रामप्रसाद ज्ञवालीले छन्द–तरङ्ग केवल छन्दकविताको स्तरीकरण र मानकीकरणका लागि थालिएको अभियान मात्र नभएर स्रष्टा र सिर्जनामा हुनुपर्ने अनुशासन, संस्कार, सङ्कल्प, समर्पण, साधना र युगीन दायित्वबोधका लागि सुरु गरिएको सार्थक अभियान रहेको विचार व्यक्त गर्नुभएको थियो । छन्द–तरङ्ग पुरस्कार अक्षयकोषकी संस्थापकमध्येकी एक सीता भट्टराईको स्वागत मन्तव्य, कवि दिनेश पाण्डेयको छन्द–तरङ्ग गायन र युवास्रष्टा सरोज घिमिरेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा दुई सयभन्दा बढी विशिष्ट साहित्यकार, पत्रकार, कलाकर्मी तर साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो ।
स्मरणीय छ, २०७६ सालबाट प्रदान गर्न थालिएको ‘विशिष्ट छन्दसाधना पुरस्कार’बाट यसभन्दा अगाडि वरिष्ठ कविहरू रमेश खकुरेल (२०७६), चन्द्रप्रसाद न्यौपाने (२०७७), प्रा. घनश्याम कँडेल (२०७८), रामचन्द्र भट्टराई (२०७९), भुवनहरि सिग्देल (२०८०), गोविन्दराज विनोदी (२०८१) र डा. नवराज लम्साल पुरस्कृत भइसक्नुभएको छ भने २०७९ सालबाट प्रदान गर्न थालिएको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’बाट युवाकविहरू सुदेश सत्याल (२०७९), कविराज पौडेल (२०८०), रूपक अलङ्कार (२०८१) र पुरुषोत्तम आचार्य पुरस्कृत भइसक्नुभएको छ ।