‘बसाइँ’को मञ्चनमा बढ्दै दर्शकको आकर्षण

दिलिप घिमिरे · मंसिर १४, २०८३ ७:३१ PM
Cover Image for News

झापा, १३ मङ्सिर / झापा नाटक घरमा मञ्चन भइरहेको नाटक ‘बसाइँ’ हेर्न विद्यार्थी, साहित्यकार, प्राध्यापक, क्याम्पस प्रमुख तथा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्व आउने क्रम बढेको छ। प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगर, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गुम्देन र मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले पनि बेल्स मोडलका विद्यार्थीसँगै नाटक अवलोकन गरेका छन्।

वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीद्वारा लिखित चर्चित उपन्यासमा आधारित नाटकको दोस्रो चरण मङ्सिर ७ देखि १६ गतेसम्म मञ्चन भइरहेको छ। यसअघि कात्तिक १४ देखि २१ गतेसम्म पहिलो चरणको मञ्चन गरिएको थियो। दर्शकको माग र विद्यालयहरूको अग्रिम बुकिङपछि दोस्रो चरण सञ्चालन गरिएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा नाटकका निर्माण परिकल्पनाकार माधव कल्पितले बताए। उनका अनुसार हालसम्म १५ वटा विद्यालयले अग्रिम बुकिङ गरेका छन्।

IMG-20261129-WA0008.jpg 252.46 KB
नाटकले नेपाली समाजको गरिबी, अभाव, शोषण, विस्थापन र बाध्यतापूर्ण बसाइँसराइको पीडालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। उपन्यासको हृदयस्पर्शी कथालाई मञ्चमा उतार्न कलाकारहरूले गरेको अभिनयको दर्शकले प्रशंसा गर्दै आएका छन्।

क्षितिज नाट्य प्रतिष्ठान नेपालका महासचिव गजेन्द्र खतिवडा ‘पृथक’को नाट्य रूपान्तरण तथा निर्देशन र सचिव राजकुमार भट्टराईको व्यवस्थापनमा तयार भएको नाटकमा पूर्णिमा विश्वकर्मा, राकेश दर्नाल, पारस तामाङ, विवेक मिश्र, प्रज्वल भट्टराई, दिलकुमार लिम्बू, आशुतोष भट्टराई, दीपा शिवाकोटी, आर्जु पौड्याल, राजकुमार भट्टराई र सीताराम भट्टराईलगायत कलाकारले अभिनय गरेका छन्।

माधव कल्पितको लामो समयदेखिको अगुवाइ र लगानीमा निर्माण भएको झापा नाटक घरलाई पूर्णता दिने तथा बहुजातीय सांस्कृतिक संग्रहालय स्थापना गर्ने अभियानसँग नाटकको मञ्चन जोडिएको छ। यसरी ‘बसाइँ’ मनोरञ्जनसँगै स्थानीय कला, साहित्य र संस्कृतिको संस्थागत विकासका लागि सहयोग जुटाउने माध्यमसमेत बनेको छ।

नाटक अवलोकनका लागि सर्वसाधारणलाई दुई सय र विद्यार्थीलाई एक सय रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। मङ्सिर १६ गतेसम्म झापा नाटक घरमा नाटक मञ्चन हुनेछ।

ट्यागहरू:
साहित्य#एकाङ्कि नाटक #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।