हाजिरीजवाफले उजागर गर्‍यो विद्यार्थीको बौद्धिक क्षमता, बुद्ध आदर्श मावि प्रथम

दिलिप घिमिरे · मंसिर ९, २०८३ ९:३० AM
Cover Image for News

झापा, ८ मङ्सिर /विद्यार्थीमा अध्ययनशीलता, तार्किक क्षमता र आत्मविश्वास अभिवृद्धि गर्दै उनीहरूभित्र रहेको प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजित पालिकास्तरीय अन्तरमाध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा बुद्ध आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ।

बुधबारे जेसीज वर्ष २०२६ को जेसीज सप्ताहअन्तर्गत आयोजित प्रतियोगितामा त्रिभुवन माध्यमिक विद्यालय द्वितीय र एराएभर इङ्लिस बोर्डिङ स्कुल तृतीय भएका छन्। प्रतियोगितामा बुद्धशान्ति गाउँपालिकाका १३ विद्यालय सहभागी थिए। प्रारम्भिक चरणबाट छनोट भएका आठ विद्यालयबीच अन्तिम प्रतिस्पर्धा भएको थियो।

डिजिटल माध्यमबाट सञ्चालन गरिएको प्रतियोगिताले विद्यार्थीको ज्ञान, जिज्ञासा, स्मरणशक्ति र तार्किक सोच प्रस्तुत गर्ने अवसर दिएको थियो। यस्ता शैक्षिक गतिविधिले पाठ्यपुस्तकभन्दा बाहिरको ज्ञान आर्जन गर्न प्रेरित गर्नुका साथै विद्यार्थीको क्षमता र प्रतिभा उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्। सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

बुधबारे जेसीजको आयोजना तथा बुद्धशान्ति गाउँपालिका वडा नं. १ को प्रायोजनमा सम्पन्न कार्यक्रम जेसीजका अध्यक्ष कुशल अधिकारीको सभाध्यक्षता र वडा नं. १ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौला विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको संयोजन जेसी नवीन कोइरालाले गरेका थिए।

ट्यागहरू:
शिक्षा #साहित्य #अतिरिक्त क्रियाकलाप #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।