युद्ध र प्रवासका अनुभूतिलाई कवितामा उतार्ने नरेश काङमाङको बेलायतमा एकल वाचन

दिलिप घिमिरे · मंसिर ९, २०८३ ८:३२ AM
Cover Image for News

झापा, ८  मङ्सिर / युद्धका घाउ, सैनिक जीवनका भोगाइ, पहिचानका प्रश्न र प्रवासको एकान्तलाई कविताको भाषा दिने कवि नरेश काङमाङ राईले बेलायतमा आफ्नो १२औँ एकल कविता वाचन सम्पन्न गरेका छन्। 

इकोज अफ पर्वतको आयोजनामा २२ नोभेम्बर २०२६ मा बेलायतको केन्टस्थित गोडिन्टन भिलेज हलमा आयोजित कार्यक्रममा उनले आफ्ना सिर्जना प्रस्तुत गरेका हुन्।
स्थानीय समयअनुसार दिउँसो १ बजे सुरु भएको कार्यक्रममा वीरचन्द्र (वीसी) राईले गिटारको धुनमार्फत कवितालाई सङ्गीतमय साथ दिएका थिए। यसअघि राईले नेपालका विभिन्न ११ स्थानमा एकल कविता वाचन गरिसकेका थिए। फिक्कलदेखि काठमाडौँसम्म फैलिएको उनको काव्यिक यात्राले यसपटक बेलायतको मञ्चलाई पनि जोडेको छ।

टेम्के मैयुङ गाउँपालिका–४, नागी, भोजपुरमा जन्मिएका राईको साहित्यिक व्यक्तित्व सैनिक जीवनका अनुभव र मानवीय संवेदनाको सङ्गमबाट निर्मित छ। सन् २००० मा बेलायती सेनामा भर्ती भई २०१२ मा अवकाश लिएका उनले युद्धका कठोर यथार्थ, सैनिक अनुशासन र प्रवासको एकान्तलाई सिर्जनाको ऊर्जा बनाएका छन्। २०४५ सालदेखि लेखनमा सक्रिय राईका कवितामा जीवनका भोगाइ, पीडा र पहिचानका आवाज अभिव्यक्त भएका छन्। भोगाइलाई शब्दमा रूपान्तरण गर्ने उनको यही सामर्थ्यले उनलाई युद्ध साहित्यका क्षेत्रमा अलग पहिचान दिलाएको छ।

कार्यक्रममा सहभागी
राईका कविता, कथा, उपन्यास तथा इतिहास र संस्कृतिसम्बन्धी गरी दस कृति प्रकाशित छन्। ‘आँशुको दोभान’ (२०६१), ‘अनुहारमा लुकाइएका चोटहरू’ (२०६२), ‘पप्पी फूल’ (२०७४) र ‘तेप्सायु’ (२०७८) उनका कविता सङ्ग्रह हुन्। ‘युद्ध बोकेको सिताङ’ (२०६८), ‘खुकुरीको धारमा लाहुरेको युद्ध कथा र व्यथाहरू’ (२०७१) र ‘एघार नोभेम्बर’ (२०७६) उनका आख्यानात्मक कृति हुन्।

इतिहास र संस्कृतिको अभिलेखीकरणमा पनि उनको उल्लेखनीय योगदान छ। ‘फियरलेस वरियर’ (२०१५), ‘साखुङवारा किरात राई २२ भाषीहरूको जन्मदेखि मृत्यु संस्कार’ (२०७७) र ‘पानी पतिया गोर्खा सैनिकको इतिहास’ (२०८१) उनका ऐतिहासिक तथा अनुसन्धानमूलक कृति हुन्। विशेषगरी ‘पानी पतिया’मार्फत उनले गोर्खा सैनिकको योगदान, सङ्घर्ष र ओझेलमा परेको इतिहासलाई दस्तावेजीकरण गर्ने महत्त्वपूर्ण प्रयास गरेका छन्।

साहित्यिक योगदानका लागि राईले कवि विमल गुरुङ कृति पुरस्कार (२०७८), मनमाया बान्तवा स्मृति प्रतिष्ठानको स्रष्टा सम्मान पुरस्कार (२०८१) र नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रज्ञा अन्तर्राष्ट्रिय पुरस्कार (२०८२) लगायतका सम्मान प्राप्त गरेका छन्। उर्वरा फाउन्डेसन, त्रिचन्द्र मल्टिपल क्याम्पस र अन्नपूर्ण माध्यमिक विद्यालयबाट पनि उनी सम्मानित भएका छन्।

सिर्जनासँगै साहित्यिक संस्थाको स्थापना र संस्थागत विकासमा समेत उनको सक्रियता छ। पहिचान पुरस्कारका संस्थापक (२०१५), भोजपुर प्रतिभा प्रतिष्ठानका संस्थापक सचिव (२००८) तथा युद्ध साहित्य पुरस्कारका संस्थापकमध्ये एक रहेका राई प्रतिभा प्रतिष्ठान बेलायतका संस्थापक सचिवसमेत हुन्। कृष्णबहादुर काङमाङ राई स्मृति प्रतिष्ठानको संस्थापक सचिवका रूपमा पनि उनी संलग्न छन्।

सम्पादनमा समेत सक्रिय राईले ‘सीमाहीन बिम्बहरू’, ‘ग्रीनविचका प्रतिध्वनीहरू’, ‘युद्धमा हराएको प्रेम’, ‘गोर्खा वार पोयम’, ‘युद्ध साहित्य र सिद्धान्त’, ‘गोर्खा सत्याग्रह’, ‘गुरिल्ला गर्ल’ र ‘गोर्खा गन’ लगायतका कृतिको सम्पादन गरेका छन्। उनले सन् २०१२ देखि २०१४ सम्म ‘ग्रीनविच टाइम्स’ म्यागेजिनको कार्यकारी सम्पादकका रूपमा पनि काम गरेका थिए।

युद्धलाई केवल इतिहासको घटनाका रूपमा होइन, मानवीय पीडा र स्मृतिका रूपमा अभिव्यक्त गर्ने राईको साहित्यिक यात्रा कविता वाचनमा मात्र सीमित छैन। गोर्खा सैनिकको इतिहास, समुदायको पहिचान र प्रवासी नेपालीका अनुभूतिलाई सिर्जना तथा अनुसन्धानमार्फत अभिलेखमा उतार्ने उनको निरन्तर प्रयासले नेपाली साहित्यमा छुट्टै महत्त्व राख्छ। बेलायतको एकल कविता वाचन उनको यही बहुआयामिक साहित्यिक यात्राको अर्को उल्लेखनीय अध्याय बनेको छ।

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।