बाबुको आँखामा बाँकी रहेको आशा

✍️ डा. चिन्तामणि शर्मा, पोष्ट-दिलिप घिमिरे · मंसिर ८, २०८३ १०:०९ PM
Cover Image for News

कथा

बाबुको आँखामा बाँकी रहेको आशा

                ✍️ डा. चिन्तामणि शर्मा
                      अध्यक्ष , विश्वनाथ महाविद्यालय
 

"हाम्रो वरिपरि दिनहुँ देखिने मान्छेहरूले हामीलाई साँच्चै कति चिन्छन् होला?" हामी उनीहरूसँग बोल्छौँ, हाँस्छौँ, उनीहरूले भनेको काम गरिदिन्छौँ। तर हाम्रो कामको मोल बुझ्न कहिल्यै खोज्छन् र ? हाम्रो मनमा के चलिरहेको छ भनेर एकपल्ट सोध्छन् र?" उसका मनभित्र अनेकौँ प्रश्नहरू उब्जन्थे र ऊ तिनै प्रश्नहरूको उत्तर खोज्दै मनमनै घोत्लिरहन्थ्यो। 

ऊ कलेजको स्थायी नभएको चौथो श्रेणीको कर्मचारी थियो। तलब यति थोरै, महिना नै पुग्दैनथ्यो। त्यही चिन्ताले उसलाई रातदिन पिरोलिरहन्थ्यो।
 उसले फेरि सोच्यो, "सबै आफ्नै धन्दामा यसरी डुबेका छन् कि अरूको अनुहार पढ्ने फुर्सद कसलाई छ र? हाम्रो ओठमा मुस्कान देख्यो भने सुखी ठान्छन्। चुपचाप काम गरेको देख्यो भने दुःख छैन भन्ठान्छन्। तर त्यो मुस्कानपछाडि कति पीडा लुकेको छ, त्यो मौनताभित्र कति चीत्कार थिचिएको छ, कहिल्यै सोच्दैनन्। हाम्रो मनको ढोका एकपल्ट ढकढक्याउनुपर्छ भन्ने उनीहरूलाई किन लाग्दैन?"

उसैसँगै काम सुरु गरेका कतिपय साथी अहिले नियमित भइसकेका थिए। उनीहरूको तलब उसको भन्दा धेरै गुणा बढी थियो, तर ऊप्रति उनीहरूको कुनै सरोकार थिएन। विश्वविद्यालय अनुदान आयोगको तलबमान पाउने प्राध्यापकहरूमध्ये केहीले त उसलाई निर्दयी व्यवहार नै गरेका थिए। मन लाग्थ्यो, ती मानिसहरूसामु मनको बह पोखिदिऊँ। तर के गर्नु, समाजमा ओहदा ठूलो नभएपछि मनको प्रतिवाद पनि मनभित्रै थुनेर राख्नुपर्ने बाध्यता हुँदो रहेछ। यसरी नै ऊ आफ्ना अदृश्य पीडा बोकेर हिँडिरहेको थियो।

उसको मासिक पारिश्रमिक जम्मा सात-आठ हजार रुपैयाँ थियो। श्रीमती पनि त्यही महाविद्यालयको छात्रावासमा भान्से थिई। दुवैको कमाइ जोड्दा महिनामा चौध-पन्ध्र हजार जुट्थ्यो। महाविद्यालय प्रशासनले परिसरकै एउटा कुनामा बस्ने ठाउँ दिएको हुनाले घरभाडा तिर्नुपर्दैनथ्यो।
 उनीहरूका सपना ठूला थिएनन्। दिनभरि काम गर्ने, साँझ घर फर्कने, दुई छाक खान पाउने, अनि छोराको भविष्य राम्रो होस् भन्ने आशा राख्ने। उनीहरूको खुसी त्यत्तिमै अटेको थियो। त्यही थोरै कमाइ र सादा जीवनले परिवार चलिरहेको थियो। तर कुन बेला, कहाँबाट आउने आँधीले घर उजाड्छ, कसले भन्न सक्छ र?

श्रीमतीलाई स्तन क्यान्सर लागेको थियो, उपचार चलिरहेकै थियो। एक रात अचानक उनको तबियत बिग्रियो, छेउकै सहरको निजी अस्पतालको आई.सी.यू.मा भर्ना गर्नुपर्‍यो। भोलिपल्ट बिहानै उनी सधैँका लागि बिदा भइन्। अस्पताल पुगेको चौबीस घण्टा पनि पुगेको थिएन। बिल छयसट्ठी / छासठ हजार भयो, र लास अस्पतालबाट निकाल्न उसको हातमा जम्मा चार हजार रुपैयाँ थियो।
 ऊ कलेज आयो र प्रिन्सिपलको अगाडि भक्कानिएर रुन थाल्यो। प्रिन्सिपलले तुरुन्तै कार्यालयका कर्मचारी र प्राध्यापकहरूसँग सल्लाह गरे, र चाहिएको रकमको जोहो गरिदिए ।

श्रीमतीको निधनपछि ऊ एक्लो भयो। जीवनको उत्तरार्धमा साथ दिने मान्छे गुमाउँदाको पीडा भोग्नेले मात्र बुझ्छ। दिनभरि काम गरेर थाकेको शरीर लिई घर फर्कँदा दुःख-सुख बाँड्ने कोही नहुनु आफैँमा ठूलो रित्तोपन थियो।
 अब उसको जीवनमा एउटै आशा बाँकी थियो, छोरो।
 तर दुर्भाग्य, त्यही आशा बिस्तारै चिन्ताको कारण बन्दै गयो। छोरो दुई वर्षदेखि एच.एस.एल.सी. (माध्यमिक शिक्षा परीक्षा) पास गर्न सकेको थिएन। आमा बितेपछि उसको व्यवहार बदलिएको थियो। बुबाप्रतिको आदर र जिम्मेवारीबोध दिनदिनै फिक्का हुँदै गएको थियो।

 छोराले स्कुटी किनिदिनुपर्छ भनेर जिद्दी गर्न थालेको थियो। कहिलेकाहीँ मदिरा खाएर घर आउँथ्यो, पैसा माग्थ्यो, र माग पूरा नभए बुबामाथि हात उठाउन पनि पछि पर्दैनथ्यो।
 छोरोलाई उसले धेरै सम्झायो। आफ्नो आर्थिक अवस्था पनि खुलस्त सुनायो। तर छोराको जिद्दी र रिसका अगाडि उसको केही लागेन। अन्ततः घरमा शान्ति रहोस्, छोराको मन नदुखोस् भनेर, किस्ता तिर्न सक्ने हैसियत नभए पनि, उसले निजी वित्तीय संस्थाबाट ऋण लिएर स्कुटी किनिदियो।
 एक साँझ ऊ कोठाको कुनामा बसिरहेको थियो। भित्तामा श्रीमतीको तस्बिर झुण्डिएको थियो, त्यही पुरानो, मुस्कुराइरहेको। ऊ धेरबेर त्यसैलाई हेरिरह्यो। मनमनै भन्यो, "तिमी हुँदी हौ त यो केटो यस्तो हुँदैनथ्यो होला। म एक्लैले उसलाई सम्हाल्न सकिनँ।"

राति धेरै अबेर स्कुटीको आवाज आयो। छोरो लरखराउँदै भित्र पस्यो। आँखा रातो थियो, सासमा मदिराको गन्ध।
 "पैसा दिनुस्। साथीहरूसँग जानुपर्छ।"
 "बाबु, आज हातमा केही छैन। किस्ता तिरेपछि..."
 वाक्य पूरा हुन पाएन। छोराले हात उठायो। ऊ आँखा चिम्लेर बस्यो, अब पर्ने चोट सहन तयार भएर।
 तर चोट परेन।

 उसले बिस्तारै आँखा खोल्यो। छोरो हात उठाएकै अवस्थामा रोकिएको थियो। उसको नजर बुबाको अनुहारमा अडिएको थियो। त्यहाँ रिस थिएन, डर पनि थिएन। थकानले भरिएका दुई आँखा थिए, र ती आँखाको कुनामा अझै एउटा मधुरो ज्योति टिमटिमाइरहेको थियो। आमा बितेका बेला पनि छोराले बुबाको आँखामा त्यही ज्योति देखेको थियो, तर त्यसको अर्थ त्यतिबेला बुझ्न सकेको थिएन। आज भने उसलाई लागिरहेको थियो, त्यो मधुरो टिमटिमाहटले मौन भाषामा भनिरहेको थियो - “तँ मेरो छोरो होस्। म थाकेको छु, कमजोर भएको छु, तर तँमाथिको मेरो भरोसा अझै मरेको छैन।”

छोराको हात बिस्तारै तल झर्‍यो। केही नबोली ऊ आफ्नो कोठातिर लाग्यो।
एक दिन प्रिन्सिपलको कार्यकक्षमा निजी वित्तीय संस्थाका एक कर्मचारी आइपुगे।
 "सर, तपाईंको कलेजमा काम गर्ने एक जना कर्मचारीले स्कुटी किन्न हाम्रो संस्थाबाट ऋण लिएका छन्। तीन महिनादेखि उनले किस्ता बुझाएका छैनन्। अब स्कुटी जफत गर्नुपर्ने अवस्था आएको छ। त्यही भएर तपाईंलाई जानकारी दिन आएको हुँ।"

 प्रिन्सिपलले उसलाई कार्यकक्षमा बोलाए।
 ऊ टाउको निहुर्‍याउँदै कोठामा पस्यो। प्रिन्सिपलले उसको आर्थिक अवस्थाबारे सोध्न थाले। सुरुमा उसले सामान्य जवाफ दिन खोज्यो, तर केही बेरमै आफूलाई थाम्न सकेन। आँखाबाट आँसु झर्न थाले।

"सर, म के गरूँ? श्रीमती बितिन्। एउटै छोरो छ, तर उसैले मलाई बाँच्नै नसक्ने बनायो। माग पूरा गर्न नसक्दा मदिराको नशामा चुर भएर मलाई कुट्छ। उसकै डरले ऋण लिएर स्कुटी किनिदिएँ। अहिले किस्ता तिर्ने पैसा छैन। महिनाको सात-आठ हजारले कसरी सबै धान्नु? स्कुटीमा पेट्रोल हाल्न पनि मसँगै पैसा माग्छ। सहर गएर व्यायाम गर्न थप पाँच सय चाहियो भन्छ। नदिए फेरि कुटपिट गर्ला कि भन्ने डर लाग्छ, सर!"
 ऊ केही बेर चुप लाग्यो। हातले आँसु पुछ्यो, अनि फेरि बोल्यो।

"सर, फाइनान्सका मान्छेले स्कुटी लगे भने आज राति छोराले मलाई के गर्ने हो भन्ने डर छ। कृपया यो कुरा छोराले थाहा पाउने गरी केही नभनिदिनुहोला।"
 उसको त्यो अन्तिम वाक्यले प्रिन्सिपलको मन भरिएर आयो। केही बेर उनी चुप रहे। नियम र प्रक्रियाको आफ्नै महत्त्व थियो, तर यहाँ एउटा असहाय मान्छेको जीवन र सुरक्षाको प्रश्न पनि जोडिएको थियो।

 उनले वित्तीय संस्थाका कर्मचारीलाई मानवीय आधारमा एक महिनाको समय दिन अनुरोध गरे। धेरै आग्रहपछि ती कर्मचारीले एक महिनाको म्याद दिएर फर्किए।
 त्यो दिनभरि प्रिन्सिपलको मनभरि प्रश्नहरू उब्जिरहे – “आखिर एउटा बाबुको जीवनमा यस्तो दिन किन आयो? उसको दुःखको अन्त्य कसरी होला?”
 एक महिना पूरा हुन नपाउँदै, एक दिन ऊ फेरि प्रिन्सिपलको कार्यालय कक्षमा आयो।
 यसपटक उसको अनुहारमा केही राहत देखापरेको थियो ।
 "सर, मेरो समस्या समाधान भयो," उसले भन्यो।
 प्रिन्सिपलले उत्सुक भएर सोधे - "कसरी समाधान भयो? छोराले व्यवहार बदल्यो कि?"
 ऊ केही क्षण मौन रह्यो, अनि बिस्तारै भन्यो, "होइन सर, छोराको व्यवहार त उस्तै छ। हाम्रो पुर्ख्यौली सम्पत्तिको एउटा सानो टुक्रा जग्गा थियो। त्यही आफ्नै दाजुकहाँ एक लाख रुपैयाँमा बन्धक राखेर पैसा लिएँ। त्यही पैसाले फाइनान्सको किस्ता तिरेँ।"

 प्रिन्सिपल केही बोल्न सकेनन्।
 आफ्नो नाममा बाँकी रहेको एउटै पुर्ख्यौली जग्गा, जसमा उसका बाबुआमाको पसिना मिसिएको थियो, त्यही छोराको जिद्दी र स्कुटीको किस्ताका लागि बन्धकमा राखिएको थियो। उसका लागि त्यो जग्गा सम्झना मात्र थिएन, बुढेसकालको अन्तिम आसरा पनि थियो। छोराको खुसीका लागि आज त्यही अन्तिम आसरासमेत धितो राखेर आएको थियो।

उनले बाबुको अनुहारतिर हेरे। त्यहाँ गुनासो थिएन। आफूले गरेको त्यागप्रति गर्वको छायासम्म थिएन। त्यहाँ त केवल एउटा चुपचाप स्वीकार थियो, जे गरेँ छोराकै लागि गरेँ भन्ने। आफ्नो सबथोक गुमाएर पनि सन्तानलाई दोष दिन नसक्ने बाबुको अनुहार थियो त्यो।

 प्रिन्सिपलका आँखा रसाए। गलामा केही अड्किएजस्तो भयो।
 "छोराले यो थाहा पाएको छ?" भन्ने प्रश्न उनको जिब्रोको टुप्पोसम्म आयो, तर सोधेनन्। उत्तर उनलाई थाहा थियो। छोराले कहिल्यै सोधेकै थिएन, पैसा कहाँबाट आयो भनेर। उसले स्कुटीको चाबी हातमा पाएको थियो, उसका लागि त्यति नै पर्याप्त थियो।

तैपनि प्रिन्सिपलले बाबुका ती थकित आँखाका कुनामा आशाको एउटा मधुरो ज्योति टिमटिमाइरहेको देखे। आगो निभिसकेपछि खरानीको पत्रमुनि पनि ननिभी बाँकी रहेको न्यानो अङ्गारजस्तै। छोरो एक दिन फर्किएला, बुझ्ला, आफ्नो बाबुले के-कति गुमाएर उसलाई जोगाएको रहेछ भनेर चिन्ला भन्ने आशा।
 प्रिन्सिपलले मनमनै ईश्वरसँग एउटै प्रार्थना गरे, त्यो दिन ढिलो नहोस्। र त्यो आशा निभ्नुअघि नै त्यो दिन आइपुगोस्।
                ©

ट्यागहरू:
कथा साहित्य ##
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
दसैँ फेरि आयो
दसैँ फेरि आयो
✍️ डा. कमला तामाङ, पोष्ट-दिलिप घिमिरे - आइतबार २५ अक्टोबर २०२६
आमाको खोजी
आमाको खोजी
डा. कमला तामाङ, पोष्ट-दिलिप घिमिरे - आइतबार २७ सेप्टेम्बर २०२६
गाता च्यातिएको पुस्तक
गाता च्यातिएको पुस्तक
दिलिप घिमिरे - मङ्गलबार ५ नोभेम्बर २०२४
पार्वतीको व्रतकथा–शंकरको व्यथा
पार्वतीको व्रतकथा–शंकरको व्यथा
कृष्ण सुवेदी 'निराकार' पोष्ट - खगिन्द्रा खुसी - बुधबार ४ सेप्टेम्बर २०२४