डा.कपिल लामिछानेका दुई बोन्साइ - सार्थकता र सर्पका खुट्टा
सार्थकता
प्लग र ज्याकको धेरै पटक देखादेख भएको भए पनि भेट हुन सकेको थिएन । भेट्ने प्रबल चाहना दुबैमा थियो । चाहना कसैले प्रकट भने गरेको थिएन । भेट हुने चाँजोपाँजो पनि मिलेको थिएन ।
आज पनि प्लगले माथितिर हेर्यो । निकै बेर हेराहेर भयो । दुबैलाई केही त्यस्तै बिजुली चम्के झैँ भयो । प्लग कुनै पूर्वयोजना बिना नै सरासर माथि घर भित्र पस्यो । ढोका लाग्यो । झ्याल लाग्यो । धर्ती शान्त भयो । अँध्यारोमा केही बेर छामछुम सुमसुम्याए पछि प्लग ज्याक भित्र पस्यो । अनि त झ्याल र ढोकाका खापाबाट बाहिरसम्म फुत्केर छरलियो, उन्मुक्त हाँसो जस्तै ।
उनीहरूले पहिलो पटक आत्मबोध गरे- मिलनमा नै सार्थकता रहेछ।
सर्पका खुट्टा
मुलुकमा केही परिवर्तन आयो र तिनीहरू निकटको दल सत्तामा पुग्यो । प्रहरी- प्रशासनले तस्करी रोकथामका नाममा केही गर्न सकिरहेको थिएन । तिनीहरूले भने ट्रकका ट्रक रक्तचन्दन पत्रे, अवैध हातहतियार ओसार-पसार गरिरहेको अवस्थामा पक्रे, ट्रकका ट्रक भन्सार छलेर ल्याइएका विदेशी कपडा पक्रे, जाली नोटको कारोबार गर्ने गिरोहलाई पक्रे, चेलीबेटी बेचबिखन गर्ने समूहलाई पक्रे ।
गाउँघर, टोलछिमेक, चियापसल सबैतिर चर्चाको विषय बन्यो कि प्रहरी- प्रशासनको यत्रो संयन्त्र छ, तिनले समात्न नसकेको तस्करीको यत्रो सामान तिनले कसरी पक्रे ? कसरी चाल पाए ? कहाँबाट चाल पाए ? तिनमा त्यत्रो के खुबी छ ? यस्तै चर्चा चलिरहेको एक ठाउँमा एक वृद्धले प्वाक्क भने- आ ! सर्पका खुट्टा सर्पैले देख्छ नाइँ ! यो हामीले बुझ्न सक्ने कुरा होइन ।
त्यहाँदेखि म कुरा बुझ्न खोजिरहेको छु, तर अझै बुझ्न सकिरहेको छैन ।