अमेरिकाको नेपाली भाषिक चिन्ता: भाषा संरक्षणका लागि विश्वविद्यालयस्तरीय दूरशिक्षा कार्यक्रमको प्रस्ताव-डा.खगेन शर्मा

डा.खगेन शर्मा · कार्तिक २७, २०८३ १२:२४ PM
Cover Image for News

अमेरिकाबासी नेपाली समुदायको भाषिक भविष्य, पुस्तान्तरण र नेपाली भाषा तथा संस्कृतिको संस्थागत संरक्षणसम्बन्धी अवधारणात्मक लेख-

१. समस्याको चिनारी र नयाँ समाधानको आवश्यकता

अमेरिका, बेलायत, नर्वे, क्यानाडा, न्युजिल्यान्डलगायत विभिन्न देशमा पुनर्वास भएका पूर्वभुटानी शरणार्थी नेपाली समुदायमा अहिले एउटा गम्भीर भाषिक समस्या देखा पर्न थालेको छ। त्यो हो—हजुरबा–हजुरआमा र नाति–नातिनाबीच बढ्दै गएको भाषिक दूरी (Language Gap)। पहिलो पुस्ताका सदस्यहरू नेपाली भाषामा आफ्ना भावना, अनुभव, स्नेह, वात्सल्य र जीवनका स्मृतिहरू व्यक्त गर्छन् भने नयाँ पुस्ता अङ्ग्रेजी वा आफू बसेको देशको भाषामा बढी सहज हुँदै गएको छ। फलस्वरूप, दुवै पुस्ताबीच सामान्य संवाददेखि भावनात्मक आदानप्रदानसम्म कठिनाइ उत्पन्न हुन थालेको छ।

भाषा केवल सञ्चारको माध्यम होइन; यो पारिवारिक आत्मीयता, सांस्कृतिक स्मृति, परम्परा, सामाजिक चिनारी र पुस्तौँदेखि सञ्चित ज्ञान हस्तान्तरण गर्ने आधार पनि हो। जब हजुरबा–हजुरआमाले बोलेको भाषा नाति–नातिनाले बुझ्न सक्दैनन् र नाति–नातिनाको भाषा हजुरबा–हजुरआमाले बुझ्न कठिन हुन्छ, तब उनीहरूबीचको भावनात्मक सम्बन्धको अभिव्यक्तिसमेत अपूर्ण हुन सक्छ।

यस अवस्थालाई एउटा काल्पनिक पारिवारिक संवादले स्पष्ट पार्न सक्छ।

संवाद १: भाषा हराउँदा सम्बन्धमा पर्ने प्रभाव-

हजुरबा: “नाति, आज म तिमीलाई हाम्रो पुरानो गाउँको एउटा कथा सुनाउँछु। हाम्रो गाउँमा पहिले यस्तो चलन थियो...”

नाति: “Grandpa, can you tell me in English? I don't understand all the Nepali words.”

हजुरबा: “बाबु, यो कथा तिमीलाई सुनाउन मात्रै होइन, तिमीले आफ्नो परिवार र पुर्खाको इतिहास बुझोस् भनेर हो।”

नाति: “I want to know about our family, Grandpa. But I need to learn Nepali first.”

यो काल्पनिक संवादले पारिवारिक इतिहास बुझ्ने चाहना हुँदाहुँदै भाषिक क्षमताका कारण उत्पन्न हुन सक्ने दूरीलाई प्रस्तुत गर्छ।

“भाषा हराउनु भनेको शब्द हराउनु मात्र होइन, पुस्तौँदेखि जोडिएको सम्बन्ध र स्मृति हराउनु पनि हो।”

आगामी बीसदेखि पचास वर्षको अवधिमा अहिले नेपाली भाषालाई आफ्नो दैनिक जीवनको स्वाभाविक माध्यम बनाएका पहिलो पुस्ताका धेरै सदस्यहरू क्रमशः संसारबाट बिदा हुँदै जानेछन्। त्यसपछि नयाँ पुस्ताको बोलीमा नेपाली भाषाका कति शब्द, अभिव्यक्ति, उखान–टुक्का, साहित्यिक सन्दर्भ र सांस्कृतिक मूल्य बाँकी रहनेछन् भन्ने प्रश्न गम्भीर छ।

विभिन्न सामाजिक तथा भाषिक सङ्घसंस्थाहरूले बालबालिकालाई नेपाली भाषा सिकाउन, सप्ताहान्तमा भाषा कक्षा सञ्चालन गर्न र स्थानीय क्षेत्रमा नेपाली पठनपाठनको व्यवस्था गर्न प्रयास गर्दै आएका छन्। तर ती प्रयासले अपेक्षित व्यापकता र दिगोपन हासिल गर्न सकेका छैनन्।

यसको एउटा सम्भावित कारण के हो भने बालबालिकालाई आफ्नो नियमित विद्यालयीय शिक्षाबाहेक छुट्टै समयमा, प्रायः सप्ताहान्तमा, नेपाली पढ्न लगाउने परम्परागत विधिले उनीहरूको वास्तविक रुचि र आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न सकेको देखिँदैन। नेपाली भाषा उनीहरूको शैक्षिक यात्राको एउटा व्यवस्थित, प्रमाणपत्र प्राप्त गर्न सकिने र व्यक्तिगत विकासमा उपयोगी हुने अवसरका रूपमा स्थापित हुन सकेको छैन। यो अभिभावकको इच्छा हो नानीहरूको इच्छा होइन होला, किनकि उनीहरूको सो महत्त्व बुझ्न सक्ने भइसकेका हुँदैनन्। 

त्यसैले अब भाषा संरक्षणलाई केवल पारिवारिक आग्रह, सामाजिक अभियान वा सप्ताहान्तको अतिरिक्त कक्षामा सीमित राख्नु हुँदैन। यसलाई औपचारिक शिक्षा प्रणालीसँग जोडेर दीर्घकालीन, व्यवस्थित र संस्थागत स्वरूप दिनु आवश्यक छ। यसै उद्देश्यले अमेरिकामा कुनै एक उपयुक्त विश्वविद्यालयसँग सहकार्य गरी एकवर्षे Diploma in Nepali Language and Culture सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गरिएको छ।

२. प्रस्तावित कार्यक्रम: नेपाली भाषा तथा संस्कृतिमा एकवर्षे डिप्लोमा

यस प्रस्तावको मूल उद्देश्य विदेशमा हुर्किरहेका नेपाली भाषी सन्तानलाई नेपाली भाषा सिकाउनु मात्र होइन, उनीहरूलाई आफ्नो भाषा, साहित्य, संस्कृति, संस्कार र परम्परासँग व्यवस्थित रूपमा परिचित गराउनु हो। यसका लागि अमेरिकामा दूरशिक्षा कार्यक्रम सञ्चालन गर्ने कुनै एक उपयुक्त विश्वविद्यालयसँग सम्पर्क गरी नेपाली भाषा तथा संस्कृतिमा एकवर्षे डिप्लोमा कोर्स प्रारम्भ गर्न आग्रह गर्नुपर्छ।

प्रस्तावित पाठ्यक्रमको नाम Diploma in Nepali Language and Culture राख्न सकिन्छ। यो कार्यक्रम विश्वविद्यालयको शैक्षिक नियमअनुसार कक्षा १० वा कक्षा १२ उत्तीर्ण विद्यार्थीले अध्ययन गर्न सक्ने गरी तयार गर्न सकिन्छ। प्रवेशयोग्यताको अन्तिम निर्धारण भने सम्बन्धित विश्वविद्यालयको नियम र स्वीकृतिमा निर्भर हुनेछ।

यस कार्यक्रमको विशेषता के हुनेछ भने विद्यार्थीले आफ्नो नियमित शैक्षिक कार्यक्रमसँगै यसलाई अतिरिक्त घरबाटै योग्यताका रूपमा अध्ययन गर्न सक्नेछन्। उदाहरणका लागि, कुनै विद्यार्थी इन्जिनियरिङ, चिकित्सा, व्यवस्थापन, विज्ञान वा अन्य विषय अध्ययन गरिरहेको छ भने उसले आफ्नो मूल अध्ययनलाई निरन्तरता दिँदै नेपाली भाषा तथा संस्कृतिको डिप्लोमा पनि हासिल गर्न सक्नेछ। त्यसमा कुनै प्राविधिक अडचन नपर्ला। 

यसले नेपाली भाषा सिकाइलाई नियमित शिक्षाको विकल्प नभई अतिरिक्त शैक्षिक अवसरका रूपमा स्थापित गर्न मद्दत गर्नेछ। विद्यार्थीले निर्धारित पाठ्यक्रम, अध्ययन अवधि, व्यवस्थित सामग्री र विश्वविद्यालयको स्वीकृतिअनुसार औपचारिक प्रमाणपत्र प्राप्त गर्ने अवसर पाउन सक्नेछन्।

यस सन्दर्भमा एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ—नयाँ पुस्तालाई नेपाली भाषा सिक्न कसरी प्रेरित गर्ने?

संवाद २: नेपाली भाषा सिक्नुको उपयोगिता

विद्यार्थी: “आमा, म नेपाली भाषा किन पढूँ? म त विद्यालय र कलेजमा अङ्ग्रेजीमै पढ्छु।”

आमा: “अङ्ग्रेजी पढ्नु आवश्यक छ, बाबु। किनकि नेपाली पनि तिम्रो परिवारको भाषा हो। तिमीले नेपाली सिक्यौ भने हजुरबा–हजुरआमाका कुरा बुझ्न सक्छौ, आफ्ना पुर्खाको कथा पढ्न सक्छौ र आफ्नो संस्कृतिबारे जान्न सक्छौ।”

विद्यार्थी: “यदि नेपाली पढेर विश्वविद्यालयको डिप्लोमा पनि पाउन सकिन्छ भने म यसलाई एउटा उपयोगी अतिरिक्त योग्यताका रूपमा लिन सक्छु।”

आमा: “हामीले चाहेको पनि त्यही हो—नेपाली तिम्रो लागि बोझ होइन, सिक्न लायक उपलब्धि बनोस्।”

यो काल्पनिक संवादले भाषा सिकाइलाई बाध्यताभन्दा व्यक्तिगत रुचि र शैक्षिक उपलब्धिसँग जोड्ने प्रस्तावको भावना व्यक्त गर्छ।

“नेपाली भाषा नयाँ पुस्ताका लागि बोझ होइन, आफ्नो जरा चिन्ने र भविष्यसँग जोडिने अवसर बनोस्।”

३. प्राथमिक तहबाट सुरु हुने पाठ्यक्रम र अध्ययन सामग्री

प्रस्तावित डिप्लोमा कोर्सको पाठ्यक्रम तयार गर्दा विश्वविद्यालयस्तरीय अध्ययनको नाममा अनावश्यक रूपमा जटिल विषयवस्तु समावेश हुनु हुँदैन, हुँदैन पनि। यसको मुख्य लक्ष्य नेपाली भाषाको व्यावहारिक ज्ञान नभएका वा सीमित ज्ञान भएका विद्यार्थीलाई पनि भाषासँग क्रमशः परिचित गराउनु हो।

विश्वविद्यालयमा पढिने वा पढाइने भए तापनि  पाठ्यक्रमको प्रारम्भ नेपाली वर्णमाला, स्वरवर्ण, व्यञ्जनवर्ण, संयुक्ताक्षर, वर्णविन्यास, सामान्य शब्दभण्डार र दैनिक जीवनमा प्रयोग हुने सरल वाक्यहरूबाट हुन सक्छ। त्यसपछि शब्द निर्माण, वाक्य निर्माण, सामान्य संवाद, पढाइ, लेखाइ, श्रवण र मौखिक अभिव्यक्तिजस्ता विषयलाई क्रमशः समावेश गर्न सकिन्छ।

विद्यार्थीले आफ्नो परिवार, घर, विद्यालय, साथीभाइ र सामाजिक जीवनसँग सम्बन्धित विषयवस्तुका माध्यमबाट भाषा सिक्न सक्ने व्यवस्था हुन्छ। उदाहरणका लागि, परिवारका सदस्यको परिचय दिनु, आफ्नो दिनचर्या वर्णन गर्नु, साथीलाई पत्र लेख्नु, हजुरबा–हजुरआमासँग कुराकानी गर्नु र आफ्नो सांस्कृतिक अनुभव व्यक्त गर्नुजस्ता गतिविधि उपयोगी हुन सक्छन्।

वास्तवमा यो पाठ्यक्रम केवल वर्णमाला र व्याकरणमा सीमित हुँदैन। नेपाली भाषा तथा संस्कृतिको डिप्लोमा भएकाले यसमा नेपाली समाजका संस्कार, चाडपर्व, परम्परा, पारिवारिक सम्बन्ध, लोकजीवन, सामाजिक मूल्य, कला, साहित्य र सांस्कृतिक अभ्यासहरूलाई पनि व्यवस्थित रूपमा समावेश गर्नुपर्छ। कथा, कविता, लोककथा, उखान–टुक्का, बालसाहित्य र जीवनोपयोगी लेखन सामग्रीले पाठ्यक्रमलाई अझ आकर्षक बनाउन सक्छन्।

यसरी विद्यार्थीले नेपाली भाषा सिक्नुका साथै आफ्नो सांस्कृतिक संसारलाई पनि बुझ्ने अवसर प्राप्त गर्नेछन्। उनीहरूले नेपाली भाषा किन सिक्ने, यसको प्रयोग कहाँ गर्ने र आफ्नो पारिवारिक तथा सामाजिक जीवनमा यसको महत्त्व के छ भन्ने कुरा अध्ययनकै क्रममा बुझ्न सक्नेछन्।

४. दूरशिक्षाको सबैभन्दा ठुलो लाभ: स्वाध्ययन सामग्रीको उपलब्धता

दूरशिक्षा प्रणालीको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको विद्यार्थीलाई स्वाध्ययन सामग्री (Self-Learning Materials—SLM) उपलब्ध गराउनु हो। विद्यार्थीले शिक्षकको प्रत्यक्ष उपस्थितिमा मात्र निर्भर नभई निर्धारित सामग्रीका आधारमा आफ्नै सुविधाअनुसार अध्ययन गर्न सक्छन्।

प्रस्तावित नेपाली भाषा तथा संस्कृतिको डिप्लोमा कोर्समा पनि यही प्रणाली अपनाउन सकिन्छ। विश्वविद्यालयले पाठ्यक्रमको संरचना, शैक्षिक स्तर, अध्ययन अवधि, मूल्याङ्कन विधि र शैक्षिक गुणस्तर निर्धारण गर्नेछ। त्यसअनुसार विशेषज्ञहरूको सहयोगमा सम्पूर्ण स्वाध्ययन सामग्री तयार गरिनेछ।

विद्यार्थीले विद्युतीय पुस्तक, डिजिटल पाठ्यसामग्री, श्रव्य सामग्री, भिडियो पाठ र अन्य डिजिटल स्रोतहरू प्रयोग गर्न सक्नेछन्। सम्भव भएसम्म मुद्रित पुस्तक वा भौतिक प्रतिलिपि पनि उपलब्ध गराउन विश्वविद्यालयसँग आग्रह गर्नुपर्छ।

यसको कारण निकै व्यावहारिक छ। कुनै विद्यार्थीले डिप्लोमा कोर्समा भर्ना लिएर घरमा अध्ययन सामग्री प्राप्त गर्‍यो भने त्यसको लाभ उसले मात्र होइन, परिवारका अन्य सदस्यले पनि लिन सक्छन्। हजुरबा–हजुरआमा, आमाबुबा, दाजुभाइ, दिदीबहिनी र अन्य सदस्यले पनि ती सामग्री पढ्न, छलफल गर्न र नेपाली भाषा अभ्यास गर्न सक्छन्।

यस अर्थमा एउटा विद्यार्थीका नाममा घरमा पुगेको अध्ययन सामग्री एउटा व्यक्तिको निजी शैक्षिक साधनमा मात्र सीमित रहँदैन; त्यो परिवारकै साझा भाषिक तथा सांस्कृतिक सम्पत्ति बन्न सक्छ।

“एउटा पुस्तक विद्यार्थीको हातमा पुग्दा ज्ञान बढ्छ; त्यही पुस्तक परिवारमा पुग्दा भाषा र संस्कृतिको पुस्तान्तरण हुन्छ।”

५. विश्वविद्यालयसँग सहकार्य गर्ने व्यावहारिक मोडेल

यो प्रस्ताव सफल बनाउन विश्वविद्यालयलाई केवल नेपाली भाषा पढाउन आग्रह गरेर पुग्दैन। विश्वविद्यालयको दृष्टिकोणबाट कार्यक्रम सञ्चालन गर्न सकिने, शैक्षिक रूपमा उपयुक्त र आर्थिक रूपमा दिगो हुने आधारसमेत प्रस्तुत गर्नुपर्छ।

यसका लागि नेपाली भाषासँग सम्बन्धित विभिन्न सङ्घसंस्था, सामाजिक सङ्गठन, भाषिक अभियानकर्मी, अभिभावक र विषयविज्ञहरूले साझा पहल गर्नुपर्छ।

विश्वविद्यालयले स्वाभाविक रूपमा सोधिहाल्छ—यो कोर्स कसले पढ्छ? कति विद्यार्थी भर्ना हुन्छन्? यसको माग कति छ? यस प्रश्नको उत्तर दिन सम्बन्धित सङ्घसंस्थाहरूले अमेरिकामा रहेका नेपाली भाषी परिवारहरूसँग सम्पर्क गरी सम्भावित विद्यार्थीहरूको प्रारम्भिक सर्वेक्षण गर्नुपर्छ।

कक्षा १० वा १२ उत्तीर्ण विद्यार्थीमध्ये कति जनाले अध्ययन गर्न इच्छुक छन् भन्ने विवरण सङ्कलन गरेको राम्रो। विद्यार्थी सङ्ख्याबारे कुनै ठुलो दाबी गर्नुअघि त्यसलाई तथ्याङ्क र अभिभावकको प्रतिबद्धताबाट पुष्टि गर्नु उपयुक्त हुन्छ।

अध्ययन सामग्री निर्माणका लागि नेपाली भाषा, साहित्य, व्याकरण र संस्कृतिका विशेषज्ञहरूलाई समेटेर सानो प्रकृतार्थको प्राज्ञिक समूह गठन गरेको हुनुपर्छ। भारत, नेपाल र अन्य देशमा रहेका योग्य नेपाली भाषाविज्ञ, शिक्षक, लेखक तथा अनुसन्धानकर्ताहरूको विशेषज्ञता प्रयोग गर्न सकिन्छ।

दूरशिक्षा कार्यक्रमका लागि विश्वविद्यालयको नियमअनुसार अनलाइन शिक्षक, विषयविज्ञ वा अंशकालीन शिक्षक परिचालन गर्न सकिन्छ। परीक्षा, मूल्याङ्कन र प्रमाणपत्र प्रदान गर्ने प्रक्रिया भने विश्वविद्यालयको स्वीकृत नियमअनुसार सञ्चालन हुनुपर्छ।

“भाषा बचाउने सङ्कल्प परिवारबाट सुरु हुन्छ, समुदायबाट अघि बढ्छ र संस्थागत शिक्षाबाट दिगो बन्न सक्छ।”

यसरी विश्वविद्यालयसमक्ष प्रस्तुत गरिने प्रस्ताव केवल भाषिक भावनामा आधारित अनुरोध नभई स्पष्ट उद्देश्य, सम्भावित विद्यार्थी, पाठ्यक्रम, अध्ययन सामग्री, शिक्षक, मूल्याङ्कन र आर्थिक व्यवस्थापनसहितको कार्यान्वयनयोग्य योजना हुनुपर्छ।

६. आर्थिक दृष्टिले दिगो र लचिलो कार्यक्रम

प्रस्तावित कोर्सलाई सम्भव भएसम्म स्ववित्तपोषित (Self-Financing) कार्यक्रमका रूपमा सञ्चालन गर्न सकिन्छ। विद्यार्थीबाट लिइने शुल्कले विश्वविद्यालयको प्रशासनिक खर्च, अध्ययन सामग्री, अनलाइन शिक्षण, मूल्याङ्कन र अन्य आवश्यक खर्च धान्ने व्यवस्था गर्न सकिन्छ। तर शुल्क निर्धारण गर्दा विदेशमा रहेका सामान्य परिवारका लागि पनि यो कार्यक्रम पहुँचयोग्य हुनुपर्छ।

दूरशिक्षाको एउटा सम्भावित लाभ भनेको विद्यार्थी सङ्ख्यामा हुने उतारचढावअनुसार कार्यक्रमलाई लचिलो बनाउन सक्नु हो। कुनै वर्ष विद्यार्थीको सङ्ख्या कम भयो भने विश्वविद्यालयले न्यूनतम सञ्चालन लागतका आधारमा कार्यक्रम सञ्चालन गर्ने वा अर्को भर्ना चक्रमा पुनः सुरु गर्ने व्यवस्था बनाउन सक्छ। विद्यार्थीको सङ्ख्या बढ्दै गएमा त्यही पाठ्यक्रम र डिजिटल संरचनाको उपयोग गरेर थप विद्यार्थीलाई सेवा दिन सकिन्छ।

यद्यपि, कार्यक्रमको आर्थिक दिगोपन सुनिश्चित गर्न न्यूनतम भर्ना सङ्ख्या, शिक्षकको पारिश्रमिक, अध्ययन सामग्रीको उत्पादन लागत र अन्य प्रशासनिक खर्चका आधारमा स्पष्ट नियम बनाउनुपर्छ।

समुदायका संस्था, परोपकारी निकाय वा इच्छुक सहयोगीबाट छात्रवृत्ति, अध्ययन सामग्री वा प्रारम्भिक विकास खर्चका लागि सहयोग प्राप्त हुने सम्भावना पनि विचार गर्न सकिन्छ। यस्तो सहयोगको उपलब्धता भने सम्बन्धित पक्षसँगको छलफल र औपचारिक प्रतिबद्धतापछि मात्र निश्चित हुनेछ।

७. विद्यार्थीलाई मात्र होइन, सम्पूर्ण परिवारलाई लक्ष्य बनाउने

यस प्रस्तावको एउटा विशिष्ट पक्ष के हो भने यसको लाभ औपचारिक रूपमा भर्ना भएका विद्यार्थीमा मात्र सीमित रहने छैन। नेपाली भाषाका अध्ययन सामग्री घरमा पुगेपछि परिवारका अन्य सदस्यले पनि त्यसको उपयोग गर्न सक्छन्।

उदाहरणका लागि, कक्षा १२ उत्तीर्ण गरेको कुनै विद्यार्थीले डिप्लोमा कोर्समा भर्ना लियो भने उसले नेपाली भाषा र संस्कृतिसम्बन्धी व्यवस्थित अध्ययन सामग्री प्राप्त गर्नेछ। उक्त सामग्रीका माध्यमबाट उसले आफूले पर्याप्त रूपमा नसिकेका शब्द, व्याकरण, साहित्य र सांस्कृतिक परम्पराबारे ज्ञान हासिल गर्न सक्छ। त्यही सामग्री उसका भाइबहिनी, आमाबुबा र हजुरबा–हजुरआमाका लागि पनि उपयोगी हुन सक्छ।

यसलाई एउटा पारिवारिक दृश्यबाट अझ स्पष्ट रूपमा बुझ्न सकिन्छ।

संवाद ३: एउटा पुस्तक, पूरै परिवारको सिकाइ

नातिनी: “हजुरआमा, आज मैले नेपाली डिप्लोमाको पुस्तकमा एउटा कथा पढेँ। तपाईंको गाउँमा पनि यस्तै कथा सुनाउने चलन थियो?”

हजुरआमा: “थियो नि नानी! हाम्रो गाउँमा त यस्ता कथा चाडपर्वमा र राति परिवारका सबै जना बसेर सुनिन्थ्यो।”

नातिनी: “त्यसो भए तपाईंले मलाई ती कथाहरू नेपालीमै सुनाउनुहोस्। म सुनेर लेख्ने प्रयास गर्छु।”

हजुरआमा: “त्यसो भए तिमीले भाषा पनि सिक्नेछौ, हाम्रो गाउँको इतिहास पनि जान्नेछौ।”

यो काल्पनिक संवादले मुद्रित अध्ययन सामग्रीलाई पारिवारिक संवाद र सांस्कृतिक अभिलेखनसँग जोड्ने सम्भावना देखाउँछ।

त्यसैले यस कार्यक्रमलाई केवल विद्यार्थीको व्यक्तिगत योग्यतासँग जोडेर हेर्नु हुँदैन। यसलाई परिवारभित्र भाषिक वातावरण निर्माण गर्ने अवसरका रूपमा पनि बुझ्नुपर्छ। घरमा नेपाली पुस्तक उपलब्ध हुनु, परिवारका सदस्यले सँगै पढ्नु, कथाहरू सुनाउनु, पुराना सांस्कृतिक अनुभवबारे छलफल गर्नु र नयाँ पुस्ताले आफ्ना हजुरबा–हजुरआमासँग नेपालीमा संवाद गर्ने प्रयास गर्नु—यी सबै भाषा संरक्षणका व्यावहारिक आधार बन्न सक्छन्।

८. भाषा सिकाइलाई बाध्यता होइन, उपलब्धि बनाउने

विदेशमा हुर्किरहेका बालबालिकालाई नेपाली भाषा सिकाउन धेरै परिवारले सप्ताहान्तमा कक्षा सञ्चालन गर्ने गरेका छन्। तर यस्ता कक्षामा सहभागी हुने सबै बालबालिकाको रुचि समान हुँदैन। कतिपय बालबालिका अभिभावकको आग्रहमा कक्षामा सहभागी भए पनि भाषा सिक्नुको दीर्घकालीन महत्त्व बुझेका हुँदैनन्।

यसको अर्थ सप्ताहान्तका भाषा कक्षा अनुपयोगी छन् भन्ने होइन। यस्ता कक्षाले आधारभूत भाषा ज्ञान, सामाजिक सम्पर्क र सांस्कृतिक चेतना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छन्। तर तिनलाई मात्र भाषाको दीर्घकालीन संरक्षणको पर्याप्त उपाय मान्नु उचित हुँदैन। त्यो त एउटा पकेट एरियमा सीमति रहन सक्छ।

विश्वविद्यालयस्तरीय डिप्लोमा कोर्सले भाषा सिकाइलाई अर्को प्रकारको उद्देश्य प्रदान गर्न सक्छ। विद्यार्थीले निर्धारित पाठ्यक्रम पूरा गरेपछि औपचारिक शैक्षिक उपलब्धि हासिल गर्नेछ। अध्ययनको समयसीमा, स्पष्ट पाठ्यवस्तु, मूल्याङ्कन र प्रमाणपत्रको व्यवस्था हुने भएकाले उसले नेपाली भाषाको अध्ययनलाई आफ्नो व्यक्तिगत विकासको एउटा महत्त्वपूर्ण अङ्गका रूपमा लिन सक्छ।

यस सन्दर्भमा अभिभावक र समुदायका अगुवाबीच हुन सक्ने एउटा संवादले प्रस्तावको मर्मलाई प्रकट गर्छ।

संवाद ४: सप्ताहान्तको कक्षादेखि विश्वविद्यालयीय अवसरसम्म

अभिभावक: “हामीले वर्षौँदेखि बालबालिकालाई नेपाली पढाउन सप्ताहान्तमा कक्षा चलाउँदै आएका छौँ। तर कतिपय विद्यार्थी केही समयपछि आउन छोड्छन्।”

समुदायका अगुवा: “हाम्रो प्रयास महत्त्वपूर्ण छ। अब यसलाई विश्वविद्यालयीय डिप्लोमासँग जोड्न सकियो भने विद्यार्थीले नेपाली पढाइलाई अर्को शैक्षिक उपलब्धिका रूपमा पनि लिन सक्छन्।”

अभिभावक: “त्यसो भए सप्ताहान्तका कक्षा बन्द गर्ने होइन, तिनलाई विश्वविद्यालयको कार्यक्रमसँग पूरक बनाउने हो?”

समुदायका अगुवा: “ठीक त्यही हो। परिवार, सामुदायिक कक्षा र विश्वविद्यालय—तीनैको साझा प्रयासबाट भाषा सिकाइलाई अझ दिगो बनाउन सकिन्छ।”

यो काल्पनिक संवादले सामुदायिक भाषा कक्षा र औपचारिक दूरशिक्षालाई प्रतिस्पर्धी नभई परिपूरक बनाउने विचार प्रस्तुत गर्छ।

विशेषतः सोह्रदेखि अठार वर्षको उमेरमा पुगेका युवायुवतीले आफ्नो भाषा, संस्कृति र चिनारीबारे तुलनात्मक रूपमा परिपक्व ढङ्गले सोच्न सक्ने सम्भावना हुन्छ। उनीहरूलाई नेपाली भाषा सिक्ने अवसर प्रदान गर्नु भनेको उनीहरूलाई आफ्नो सांस्कृतिक सम्पदासँग सचेत रूपमा जोड्ने बाटो खोल्नु हो।

यद्यपि भाषा सिकाइका लागि यही उमेरसम्म पर्खनुपर्छ भन्ने होइन। साना बालबालिकाका लागि परिवार, विद्यालय र सप्ताहान्तका कक्षा उपयोगी रहिरहनुपर्छ। डिप्लोमा कोर्स त्यसको विकल्प होइन; यो किशोरावस्था वा वयस्क उमेरमा नेपाली भाषा व्यवस्थित रूपमा सिक्न चाहनेहरूका लागि अर्को अवसर हो।

९. इजरायलको उदाहरणबाट के सिक्न सकिन्छ?

कुनै समाजले आफ्नो सामूहिक आवश्यकतालाई संस्थागत कार्यक्रममार्फत कसरी सम्बोधन गर्न सक्छ भन्ने विषयमा इजरायलको अनिवार्य सैनिक सेवाको उदाहरण प्रस्तुत गर्न सकिन्छ। इजरायलमा निश्चित उमेर र कानुनी सर्त पूरा गर्ने नागरिकका लागि सैनिक सेवा अनिवार्य हुने व्यवस्था छ, यद्यपि त्यसमा विभिन्न छुट र अपवादहरू पनि छन्।

यहाँ सैनिक सेवा र भाषा अध्ययनको उद्देश्य वा प्रकृति समान छन् भन्न खोजिएको होइन। यस उदाहरणबाट लिन खोजिएको पाठ यति मात्र हो—समाजले कुनै विषयलाई महत्त्वपूर्ण सामूहिक दायित्वका रूपमा स्वीकार गरेपछि त्यसलाई संस्थागत संरचनामा रूपान्तरण गर्न सक्छ।

नेपाली भाषा संरक्षणका लागि पनि समुदायले यस्तै प्रकारको संस्थागत सोच विकास गर्न आवश्यक छ। तर यस प्रस्तावको लक्ष्य विदेशमा रहेका किशोरकिशोरीलाई नेपाली भाषा पढ्न कानुनी रूपमा बाध्य बनाउनु होइन। लक्ष्य भनेको उनीहरूका निम्ति अध्ययन गर्न सकिने, औपचारिक मान्यता प्राप्त गर्न सक्ने र भविष्यमा उपयोगी हुन सक्ने अवसर उपलब्ध गराउनु हो। यसलाई अभिभावकको आग्रहमा मात्र निर्भर रहने अभ्यासबाट बाहिर निकालेर विद्यार्थी स्वयंले आफ्नो रुचि र भविष्यको योजनासँग जोड्न सक्ने शैक्षिक अवसरका रूपमा विकास गर्नुपर्छ।

१०. एउटा विश्वविद्यालयबाट सुरु गरेर देशव्यापी विस्तार

यो प्रस्ताव कार्यान्वयन गर्न अमेरिकाभरि एकैपटक धेरै विश्वविद्यालयसँग सम्पर्क गर्न आवश्यक छैन। प्रारम्भमा दूरशिक्षा सञ्चालनको अनुभव भएको कुनै एक उपयुक्त विश्वविद्यालय चिनारी गरेर प्रस्ताव प्रस्तुत गर्नु व्यावहारिक हुनेछ।

विश्वविद्यालयले कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिएपछि पाठ्यक्रम निर्माण, अध्ययन सामग्री उत्पादन, शिक्षक परिचालन, भर्ना प्रक्रिया र मूल्याङ्कनको व्यवस्था गर्न सकिन्छ। त्यसपछि अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली भाषी सङ्घसंस्थाहरूले आफ्ना सदस्य, अभिभावक र सम्भावित विद्यार्थीलाई कार्यक्रममा सहभागी हुन प्रेरित गर्न सक्छन्।

एकपटक विश्वविद्यालयको शैक्षिक संरचनाभित्र कार्यक्रम स्थापित भयो भने विद्यार्थीले आफू जहाँ बसेको भए पनि अनलाइन माध्यमबाट अध्ययन गर्न सक्ने सम्भावना रहन्छ। यसले प्रत्येक राज्यमा छुट्टाछुट्टै कक्षा, शिक्षक र भौतिक पूर्वाधार स्थापना गर्नुपर्ने आवश्यकतालाई कम गर्न सक्छ। तथापि, परीक्षा, विद्यार्थी सहायता र अन्य शैक्षिक गतिविधिको व्यवस्था विश्वविद्यालयको नियमअनुसार गर्नुपर्नेछ।

कार्यक्रम सफल हुँदै गएमा अन्य देशका नेपाली भाषी समुदायका लागि पनि यस्तै मोडेल अपनाउन सकिन्छ। बेलायत, क्यानाडा, नर्वे, न्युजिल्यान्ड तथा अन्य देशमा रहेका नेपाली समुदायले आ–आफ्नो देशका विश्वविद्यालय वा मान्यताप्राप्त दूरशिक्षा संस्थासँग सहकार्य गरेर कार्यक्रम विस्तार गर्न सक्छन्।

११. औपचारिक पाठ्यक्रमबाट अनौपचारिक भाषिक अभियानसम्म

विश्वविद्यालयस्तरीय डिप्लोमा कोर्स सञ्चालन भएपछि भाषा संरक्षणका अन्य उपाय विकास गर्न पनि सहज हुन सक्छ। औपचारिक पाठ्यक्रमले विद्यार्थीलाई व्यवस्थित अध्ययनको आधार दिन्छ भने अनौपचारिक गतिविधिले भाषालाई दैनिक जीवनमा प्रयोग गर्ने अवसर प्रदान गर्छ।

उदाहरणका लागि, विश्वविद्यालयको पाठ्यक्रमसँग सम्बन्धित अनलाइन संवाद समूह, पारिवारिक कथा लेखन, हजुरबा–हजुरआमासँग अन्तर्वार्ता, लोककथा सङ्कलन, कविता वाचन, बालसाहित्य प्रतियोगिता, सांस्कृतिक अभिलेखन र नेपाली भाषामा सिर्जनात्मक लेखनजस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ।

विद्यार्थीलाई आफ्ना हजुरबा–हजुरआमासँग उनीहरूको बाल्यकाल, पुरानो गाउँ, परिवारको इतिहास, चाडपर्व, लोकगीत र जीवनका अनुभवबारे कुरा गर्न प्रोत्साहित गर्न सकिन्छ। यसरी भाषा सिकाइलाई पुस्ताबीचको संवादसँग जोड्न सकिन्छ। विद्यार्थीले भाषिक ज्ञान मात्र होइन, आफ्नो परिवार र समुदायको इतिहास पनि बुझ्ने अवसर पाउनेछन्। यसबाट अहिले देखिएको भाषिक दूरी घटाउन सहयोग पुग्न सक्छ। यद्यपि भाषिक दूरी तुरुन्तै समाप्त हुने अपेक्षा गर्नु हुँदैन। भाषा सिकाइ निरन्तर अभ्यास, पारिवारिक सहभागिता र सामाजिक प्रयोगबाट मात्र दिगो बन्न सक्छ।

१२. अबको आवश्यकता: सामूहिक पहल र ठोस कार्ययोजना

यो प्रस्ताव कार्यान्वयन गर्न नेपाली भाषी समुदायका विभिन्न सङ्घसंस्थाले आफ्नो क्षेत्रगत सीमाभन्दा माथि उठेर सहकार्य गर्न आवश्यक छ। कुनै एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र यति ठुलो शैक्षिक कार्यक्रम स्थापित गर्न कठिन हुन सक्छ। त्यसैले संयुक्त पहल, स्पष्ट जिम्मेवारी र चरणबद्ध कार्ययोजना आवश्यक छन्।

प्रारम्भिक चरणमा दूरशिक्षा प्रदान गर्ने उपयुक्त विश्वविद्यालयहरूको चिनारी गर्नुपर्छ। त्यसपछि प्रस्तावित कोर्सको अवधारणा, सम्भावित विद्यार्थी सङ्ख्या, अध्ययन सामग्रीको रूपरेखा, शिक्षक परिचालन, आर्थिक मोडेल र समुदायको प्रतिबद्धतासहित औपचारिक प्रस्ताव तयार गर्नुपर्छ।

त्यसैगरी, सम्भावित विद्यार्थी र अभिभावकको सर्वेक्षण गरी वास्तविक मागको मूल्याङ्कन गर्नुपर्छ। पाठ्यक्रम निर्माणका लागि नेपाली भाषा, साहित्य, संस्कृति र शिक्षाशास्त्रका विशेषज्ञहरूको समूह गठन गर्न सकिन्छ। विश्वविद्यालयले कार्यक्रम सञ्चालन गर्न सहमति जनाएपछि आवश्यक शैक्षिक स्वीकृति, पाठ्यसामग्रीको गुणस्तर, परीक्षा प्रणाली र प्रमाणपत्रको मान्यतासम्बन्धी विषय स्पष्ट पार्नुपर्छ। यस सन्दर्भमा भाषिक अभियानलाई संस्थागत पहलमा रूपान्तरण गर्ने एउटा काल्पनिक संवाद प्रस्तुत गर्न सकिन्छ।

संवाद ५: चिन्ताबाट कार्ययोजनातर्फ

भाषा अभियन्ता: “हामीले नेपाली भाषा हराउँदै गएको चिन्ता धेरै वर्षदेखि व्यक्त गर्दै आएका छौँ। तर अब चिन्ता मात्र गरेर पुग्दैन।”

शिक्षाविद्: “त्यसैले विश्वविद्यालयसँग सहकार्य गरेर व्यवस्थित डिप्लोमा कार्यक्रमको प्रस्ताव लैजानुपर्छ। पाठ्यक्रम, शिक्षक, अध्ययन सामग्री र आर्थिक योजनासहित प्रस्तुत गरौँ।”

समुदायका प्रतिनिधि: “हामी सम्भावित विद्यार्थीको विवरण सङ्कलन गर्छौँ, अभिभावकसँग छलफल गर्छौँ र आवश्यक सहयोगको प्रतिबद्धता जुटाउँछौँ।”

भाषा अभियन्ता: “त्यसो भए हाम्रो अर्को अभियान भाषिक चिन्ता व्यक्त गर्ने मात्र होइन, नेपाली भाषाको भविष्यका लागि एउटा संस्थागत शैक्षिक बाटो खोल्ने अभियान हुनेछ।”

यो काल्पनिक संवाद लेखको मुख्य प्रस्ताव—सामूहिक चिन्तालाई ठोस शैक्षिक कार्ययोजनामा रूपान्तरण गर्ने—भावनालाई व्यक्त गर्न राखिएको हो।

“भाषाको भविष्य चिन्ताले मात्र सुरक्षित हुँदैन; त्यसका लागि आजै शिक्षा, संस्था र समुदायको साझा पहल आवश्यक छ।”

यस प्रक्रियामा सङ्घसंस्थाहरूले विद्यार्थी भर्ना प्रोत्साहन, विशेषज्ञ परिचालन, अध्ययन सामग्री निर्माण र आवश्यक आर्थिक सहयोगमा भूमिका निर्वाह गर्न सक्छन्। विश्वविद्यालयले भने शैक्षिक गुणस्तर, प्रशासनिक व्यवस्थापन र औपचारिक प्रमाणपत्रसम्बन्धी जिम्मेवारी निर्वाह गर्नेछ। यसरी साझा जिम्मेवारी निर्धारण गर्न सकेमा प्रस्तावलाई व्यावहारिक कार्यक्रमका रूपमा रूपान्तरण गर्न सकिन्छ।

नेपाली भाषाको भविष्यका लागि नयाँ शैक्षिक बाटो

अमेरिकाबासी  नेपाली समुदायमा भाषा संरक्षणको प्रश्न अब केवल भावनात्मक आग्रहको विषय रहेन। यो नयाँ पुस्ताको भाषिक क्षमता, पारिवारिक सम्बन्ध, सांस्कृतिक चिनारी र समुदायको दीर्घकालीन भविष्यसँग जोडिएको विषय हो। अहिलेको पुस्ताले यसबारे चिन्ता व्यक्त गर्नु आवश्यक छ, तर चिन्तालाई कार्ययोजनामा रूपान्तरण गर्नु अझ आवश्यक छ।

अमेरिकामा कुनै एक उपयुक्त विश्वविद्यालयसँग सहकार्य गरी एकवर्षे Diploma in Nepali Language and Culture सञ्चालन गर्ने प्रस्ताव यही दिशामा अघि सारिएको एउटा सम्भावित उपाय हो। यसले नेपाली भाषा सिकाइलाई व्यवस्थित अध्ययन, स्वाध्ययन सामग्री, औपचारिक मूल्याङ्कन र प्रमाणपत्रसँग जोड्न सक्छ। साथै, अध्ययन सामग्री घरघरमा पुग्दा परिवारका अन्य सदस्यले समेत लाभ लिन सक्ने सम्भावना रहन्छ।

यस प्रस्तावको उद्देश्य सप्ताहान्तका भाषा कक्षा बन्द गर्नु वा परिवारको भूमिकालाई कम गर्नु होइन। यसको उद्देश्य परिवार, समुदाय र विश्वविद्यालयलाई एउटै साझा लक्ष्यमा जोड्नु हो। परिवारले भाषा प्रयोगको वातावरण निर्माण गर्नेछ, सामुदायिक संस्थाले विद्यार्थीलाई प्रोत्साहित गर्नेछ र विश्वविद्यालयले व्यवस्थित शैक्षिक अवसर उपलब्ध गराउने सम्भावनाको अध्ययन गर्नेछ।

नेपाली भाषा संरक्षणका लागि आवश्यक पर्ने सबैभन्दा ठुलो परिवर्तन सोचमा आउनुपर्छ। नयाँ पुस्तालाई नेपाली सिकाउन केवल “आफ्नो भाषा नबिर्स” भनेर आग्रह गर्नु पर्याप्त हुँदैन। उनीहरूलाई भाषा सिक्ने अवसर, उपयोगी सामग्री, स्पष्ट उद्देश्य र त्यसबाट हासिल गर्न सकिने उपलब्धि पनि दिनुपर्छ।

आजको प्रश्न केवल यति होइन—हाम्रा सन्तानले नेपाली बोल्छन् कि बोल्दैनन्? प्रश्न यो पनि हो—उनीहरूलाई नेपाली सिक्नका लागि हामीले कस्तो शैक्षिक संरचना निर्माण गरिरहेका छौँ?

यदि आज हामीले नेपाली भाषा तथा संस्कृतिलाई विश्वविद्यालयीय अध्ययनको अवसरसँग जोड्न सक्यौँ भने भोलिका पुस्ताले आफ्नो पारिवारिक भाषा र सांस्कृतिक सम्पदासँग सचेत रूपमा सम्बन्ध कायम गर्ने थप अवसर प्राप्त गर्न सक्छन्। एउटा विश्वविद्यालयबाट सुरु भएको पहल भविष्यमा अन्य देशका नेपाली भाषी समुदायका लागि पनि उपयोगी नमुना बन्न सक्छ।

“भाषा पुस्ताले जन्मँदै प्राप्त गर्ने सम्पत्ति मात्र होइन; सिकेर, प्रयोग गरेर र अर्को पुस्तालाई हस्तान्तरण गरेर जीवित राखिने सांस्कृतिक धरोहर पनि हो।”

त्यसैले अब नेपाली भाषाको भविष्यबारे चिन्ता व्यक्त गर्ने समयसँगै त्यसको संरक्षणका लागि संस्थागत शैक्षिक बाटो निर्माण गर्ने समय पनि आएको छ।

हामीले अहिले सोचिरहेको यो प्रस्ताव भविष्यमा अझ व्यापक र दूरगामी महत्त्वको शैक्षिक अभियानका रूपमा विकसित हुन सक्छ। आज नेपाली भाषा तथा संस्कृतिमा एकवर्षे डिप्लोमा कोर्स सञ्चालन गर्ने सोचबाट सुरु भएको यो पहलले भोलि हजारौँ विद्यार्थीलाई नेपाली भाषा, साहित्य, कला, संस्कृति र आफ्नो जातीय चिनारीसम्बन्धी उच्च अध्ययन तथा अनुसन्धान गर्न प्रेरित गर्न सक्छ। कतिपय विद्यार्थीले भविष्यमा यिनै विषयमा स्नातकोत्तर, विद्यावारिधि (PhD) वा अन्य अनुसन्धान गर्न चाहने सम्भावना रहन्छ, र त्यसको प्रारम्भिक प्रेरणा यही पाठ्यक्रमबाट प्राप्त हुन सक्छ। यस डिप्लोमाको अर्को व्यावहारिक पक्ष रोजगारी र व्यावसायिक दक्षतासँग सम्बन्धित छ। नेपाली भाषासम्बन्धी रेडियो तथा टेलिभिजन कार्यक्रम, सञ्चारमाध्यम, सांस्कृतिक संस्थान र भाषा शिक्षणका क्षेत्रमा काम गर्न चाहने व्यक्तिका लागि व्यवस्थित अध्ययनबाट प्राप्त प्रमाणपत्र उपयोगी अतिरिक्त योग्यता बन्न सक्छ। त्यस्तै, भविष्यमा शिक्षण क्षेत्रमा प्रवेश गर्न चाहने व्यक्तिका लागि पनि यसले आधार तयार गर्न सक्छ। उदाहरणका लागि, कुनै व्यक्तिले भाषासम्बन्धी विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको छ र नेपाली भाषा तथा संस्कृतिको डिप्लोमा प्रमाणपत्र पनि प्राप्त गरेको छ भने, सम्बन्धित संस्थाको नियुक्ति मापदण्ड र आवश्यक शैक्षिक योग्यताका अधीनमा, उसले प्रारम्भिक स्तरको भाषा शिक्षण वा अन्य शैक्षिक जिम्मेवारीका अवसर प्राप्त गर्न सक्ने सम्भावना रहन्छ। यसरी यो डिप्लोमा केवल भाषा सिक्ने प्रमाणपत्रमा सीमित नभई सञ्चार, शिक्षण, सांस्कृतिक गतिविधि र अनुसन्धानका क्षेत्रमा उपयोगी हुन सक्ने अतिरिक्त दक्षताको आधार बन्न सक्छ। यसका साथै, पाठ्यक्रमलाई भविष्यको आवश्यकताअनुसार विस्तार गर्दै कर्मकाण्ड तथा पुरोहितीय अध्ययन (Ritual Studies and Priesthood) जस्तो विषयसमेत समावेश गर्न सकिन्छ, जसले सम्बन्धित समुदायका परम्परा, संस्कार र धार्मिक अनुष्ठान सञ्चालन गर्न आवश्यक ज्ञान तथा सीप भएका जनशक्ति आफ्नै देशमा उत्पादन गर्ने आधार निर्माण गर्न सक्छ। भविष्यमा बदलिँदो अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र नीति वा अन्य परिस्थितिका कारण नेपाल वा बनारसबाट पुरोहित तथा पण्डित ल्याउन कठिन हुने अवस्था उत्पन्न हुन सक्ने सम्भावनालाई समेत ध्यानमा राख्दा स्थानीय स्तरमै दक्ष जनशक्ति तयार गर्नु दूरदर्शी कदम हुनेछ। यसका लागि अमेरिकाका विश्वविद्यालयसँग शैक्षिक संवाद र प्राविधिक छलफल गर्न कठिनाइ महसुस भएमा नेपाल र भारतका नेपाली भाषा, साहित्य, संस्कृति तथा शिक्षासम्बन्धी विशेषज्ञहरूलाई समेटेर एउटा सक्षम टोली गठन गर्न सकिन्छ। टोलीका अगुवाले विश्वविद्यालयका प्राध्यापकहरूसँग प्रस्तावका शैक्षिक, प्राविधिक र संस्थागत पक्ष स्पष्ट रूपमा प्रस्तुत गर्न सकेमा कार्यक्रमको उद्देश्य बुझाउन र उनीहरूका प्रश्नको उत्तर दिन सहज हुनेछ। त्यसैले यो पहल कुनै एक व्यक्ति वा संस्थाको पहुँचभन्दा बाहिरको कुरा हो भन्ने सोच्नु आवश्यक छैन; उचित तयारी, विशेषज्ञहरूको सहभागिता र सामूहिक प्रतिबद्धताबाट यसलाई अघि बढाउन सकिन्छ। अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली भाषी, विशेषतः भुटानी शरणार्थी पृष्ठभूमिका समुदायका लागि समेत यस्तो विश्वविद्यालयीय कार्यक्रमले नयाँ शैक्षिक अवसर, व्यावसायिक सम्भावना र संस्थागत चिनारी निर्माण गर्ने अवसर प्रदान गर्न सक्छ। यद्यपि, डिप्लोमा प्रमाणपत्रले मात्र कुनै विशेष पदका लागि स्वतः योग्यता वा नियुक्तिको सुनिश्चितता गर्दैन; त्यसको उपयोगिता सम्बन्धित संस्थाको मापदण्ड, अन्य शैक्षिक योग्यता र अनुभवमा निर्भर रहनेछ। यसका प्रत्यक्ष उपलब्धिसँगै अनुसन्धान, सांस्कृतिक अभिलेखन, स्थानीय जनशक्ति विकास, पुस्तान्तरण र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यजस्ता अनेक सकारात्मक प्रभाव उत्पन्न हुन सक्छन्। त्यसैले यस प्रस्तावलाई केवल एउटा डिप्लोमा कोर्स सञ्चालन गर्ने योजनाका रूपमा मात्र नहेरी नेपाली भाषा, संस्कृति, रोजगारीसम्बन्धी सम्भावना र सामुदायिक भविष्यका लागि दीर्घकालीन शैक्षिक आधार निर्माण गर्ने अवसरका रूपमा लिनुपर्छ। 

गुवाहाटी विश्वविद्यालय, असम, भारत

[email protected]


ट्यागहरू:
literature samachar puraskar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू