देउसी भैलो संस्कार र संस्कृति संरक्षणमा साहित्य चौतारी

कार्तिक ६ झापा /देउसी भैलो हाम्रो संस्कार र संस्कृति हो र यो संस्कारलाई जोगाइ राख्न विभित्र संघ संस्था र कलाकारहरुले देउसी भैलोका गीत निकाल्ने,गाउने गरेका छन् । शहरी संस्कारमा हुर्किएका युवा पुस्तामा भने यसको रस विस्तारै कमजोर बन्दै गएको पाइन्छ ।यो संस्कारलाई विगत २५ वर्षदेखि निरन्तर संरक्षण र प्रवर्द्धन गर्दै आइरहेको संस्था हो -साहित्य चौतारी बिर्तामोड झापा ।
विगत २५ वर्षदेखि निरन्तर हलितिहारका दिन खेल्दै आएको दक्षिणा रहित देउसी भैलो कार्यक्रम यस वर्ष पनि भव्य रूपमा साहित्य चौतारीले सम्पन्न गरेको छ।
यमपञ्चकका पाँच दिन फरक फरक तरिकाले मनाइने भएपनि देउसी भैलो यस पर्वको अभिन्न पक्ष हो ।पछिल्लो समय देउसी भैलोको सँस्कृतिभित्र विकृति मिसिदै जाँदा यो अनुपम सँस्कृतिको मौलिकता नासिने चिन्ता पनि बढ्न थालेको छ ।
“यो परम्परा हाम्रो संस्कृतिको पहिचान हो। जेन्जी पुस्तामा हाम्रा मौलिक संस्कार र संस्कृति पुस्तान्तरण गर्नु पर्ने भएकोले दक्षिणा रहित देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिइरहेको चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठले बताउनुभयो।
भाषा, साहित्य, संगीत, कला, संस्कृति तथा आध्यात्मिक क्षेत्रका विद्वान व्यक्तित्वहरूको सक्रिय सहभागितामा रहेको कार्यक्रम नौमती बाजा सहित बिर्तामोडस्थित हिकोला हेरिटेजको प्राङ्गणबाट सुरु भई नगर परिक्रमा गर्दै पुनः त्यहीँ सम्पन्न भएको हो।
कार्यक्रमका संयोजक तथा साहित्य चौतारीका सल्लाहकार र लोकगायक अनीरुद्र ओलीले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै देउसी परम्पराको सामाजिक र सांस्कृतिक औचित्यमाथि प्रकाश पार्नुभयो।
प्रमुख अतिथि सुरुङ्गा कन्काई प्रज्ञा प्रतिष्ठानका सदस्य सर्जक निर्मल खतिवडा र विशिष्ट अतिथि सर्जक जयनारायण भट्टराई रहेका उक्त कार्यक्रममा झापा ,इलाम,पाँचथर,मोरङ अनि छिमेकी देश भारतबाट समेत प्राज्ञिक व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सप्तक संगीत विद्यालयका विद्यार्थीहरू , कवि र कलाकारहरुले गीत संगीत र नृत्यका माध्यमबाट मौलिक देउसी र भैलो प्रस्तुत गरेका थिए ।
यस वर्षको कार्यक्रम साहित्य चौतारी झापा नेपाल र नेपाल फिल्म सोसाइटी कोशी प्रदेशको संयुक्त आयोजनामा सम्पन्न भएको थियो।
चौतारीका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सचिव तुलसी प्रसाद निरौलाले गर्नु भएको थियो ।




