´साथीसङ्गी मिली आयौँ ´तिहार गीतको भिडियो सार्वजनिक
झापा १५ कार्तिक /तिहार पर्वको सांस्कृतिक उल्लास र सामूहिक भावनालाई समेटेर तयार पारिएको नयाँ तिहार गीत ‘साथीसङ्गी मिली आयौँ’ सार्वजनिक भएको छ। लभकुश गौतमको प्रस्तुति तथा शब्द रहेको छ भने स्वर,सङ्गीत केशव पौडेल र पवित्रा ओलीको रहेको छ।
भिडियोमार्फत वैदेशिक रोजगारीका कारण परिवारबाट टाढिनुपर्दाको पीडा र चाडपर्वमा समेत प्रियजनसँग भेट हुन नसक्ने नेपालीहरूको अवस्थालाई मार्मिक रूपमा देखाइएको छ। आर्थिक लाभभन्दा आफ्नै देश, परिवार र मातृभूमिसँग जोडिएर बाँच्नुको महत्त्व दर्शाउँदै गीतले स्वदेशमै श्रम र रोजगारीको सम्भावना खोज्न प्रेरित गरेको छ।
गीतको सङ्गीत संयोजन चन्द सिंहले गरेका हुन्। यसमा कुमार महाराजले तबला, ढोलक, मादल र ट्याम्को, विकास सुनारले गिटार, गोपाल घतानीले बाँसुरी तथा हेमन्त कान्छाले सारङ्गी बजाएका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन्। म्युजिक एन्ड भ्वाइस तथा एकुस्टिक नेपाल, नक्सालमा गीतको रेकर्डिङ गरिएको हो।
बिनोद जङ्ग क्षेत्री र सबिन पौडेलले छायाङ्कन गरेको गीतको सम्पादन बिनोद जङ्ग फिल्म्सले गरेको छ। गीतमा रिदम सङ्ग्रौला, माही शर्मा, पूजा राई, अभिषेक आचार्य, अस्मिता विश्वकर्मा, सञ्जय शिवाकोटी, समीक्षा लिम्बू, सञ्जय बागदास, अनिसा राई, अनिश राजवंशी, इशिका लिम्बू, अङ्कित उराव, प्रकृति राई, शिक्षा क्षेत्री, रेश्मा तामाङ र मनीषा राईलगायत कलाकारले नृत्य प्रस्तुत गरेका छन्।
गीतमा टङ्क काफ्ले विकल्प, कौशिला देवी कोइराला,सत्यनारायण तायल,शान्तमाया बागदास, लभकुश गौतम, पवित्रा ओली, होमप्रसाद तिवारी, देवीमाया विश्वकर्मा,रामकरण रानामगर र बुद्धमाया गुडेलगायत कलाकारको सहभागिता रहेको छ।
तिहारमा देउसी–भैलो, भेटघाट र आपसी सद्भावको आफ्नै सांस्कृतिक महत्त्व छ। ‘साथीसङ्गी मिली आयौँ’ गीतको शीर्षकले पनि यही सामूहिकता र आत्मीयताको भाव बोकेको छ। गायक,गायिका ,सङ्गीतकर्मी, नृत्य कलाकार, प्राविधिक, सञ्चारमाध्यम तथा विभिन्न क्षेत्रका सहयोगीहरूको सामूहिक सहभागितामा तयार भएको यस गीतले तिहारको सांस्कृतिक रौनकलाई सङ्गीतमार्फत प्रस्तुत गरेको छ।
लिङ्क- https://youtu.be/mDrhVVLxfhY?si=AzoUlLMPpJ57EoZd