नाटक - ऐना - टङ्क विकल्प

टङ्क विकल्प · मंसिर ४, २०८३ ९:५१ PM
Cover Image for News

नाटक

                         ऐना

 वर्तमान समयमा गुज्रिरहको एउटा परिस्थिति । बेरोजगार जनशक्ति विदेश पलायन । सामाजिक सञ्जालको दुरुपयोग र त्यसले पार्ने प्रतिकुल असर । घरघरमा जेष्ठनागरिकहरूको अपहेलना र बालबालिकाको बिस्याहार । जताततै विकृति र विसङ्गति ब्याप्त  यिनै विषयलाई छर्लङ्ग देखाउने नाटक ऐना ।

                   प्रथम - दृश्य

स्थान - शहरोन्मुख गाउँको निम्न मध्यम परिवारको घरकोठा । 

 समय - दृश्य सापेक्ष

  पात्र - आलोक, आकृति र आमा

 (आलोक विदेश हिंड्न तयारीमा छ । आमा मुछेको टीका थालीमा लिएर आउँछिन् र टीका लगाइदिंदै आशीर्वाद दिन्छिन् )

  आमा - राम्ररी गएस् बाबु ! बाटामा केही बाधा अड्चन आइनपरोस् । चिताएको काम पूरा होस् । शत्रु नलागुन् । परदेशमा गएर घर नबिर्सेस । (रुन्छिन् ) घरकी बुहारी र यो  बुढी आमालाई नबिर्सेस् । (आँसु चुहाउँछिन् )

आलोक - नरुनुहोस् आमा !  हाम्रो घरको मझेरीमा मडारिएको दुःखलाई धपाउन , आर्थिक भविष्य दर्बिलो बनाउन, साहुको ऋण तिरेर तपाईँको यो  मुहारबाट गुमेको खुसी फर्काउन विदेश जाँदैछु आमा , नरुनुहोस् ।

आकृति - आमा ! आँसु नझार्दिनु होस् साइतको बेलामा  पिर नगर्नुहोस् हजुरको सेवा चाकर गर्ने म छँदैछु  ।उहाँले कमाएर पैसा पठाउनु हुन्छ हामी यहाँ त्यो  पैसाको सदुपयोग गरी ऋण फर्स्याउँला , घर पनि कमजोर छ मजबुत बनाऔंला ।

आलोक - हो त आमा यति बुझ्ने बुहारी छिन् पिर नगरी बस्नोस् है । लौ आशीर्वाद दिनुहोस् । (आमाको खुट्टामा ढोग गर्छ ,आमा छोराको शिरमा हात राख्छिन् ।)

  आमा - मेरो आशीर्वाद नै आशीर्वाद छ हिँड्दा ठेश  नलागोस् न्वाउँदा केश नझरोस् , दुःख लागेर मैले आँसु झार्न नपरोस् ।

आलोक - पर्दैन आमा पर्दैन, आकृति !आमाको राम्रो ख्याल गर है ।

आकृति - म छँदैछु नि , तपाईँ पीर नगरी जानुहोस् । बरु निस्कौं अब ,नत्र अबेर हुन्छ ,  आमा म उहाँलाई एयरपोर्ट सम्म पुर्‍याएर फर्कन्छु  (आलोक र आकृति सामान लिएर निस्कन्छन् , आमा उनीहरू गएको हेरर भित्र पस्छिन् )

                            दृश्य दुई

स्थान - अरबको  मरुभूमिमा

समय  -दृश्य सापेक्ष

पात्र    - आलोक , अमिर , कुविर र मङ्गल  (अरबको तातो घाममा चार नेपाली जवानहरू बेल्चा चलाइरहेछन् । निदारमा खल्खली आएको पसिना पुछ्दै एकहोरो बेल्चा चलाइ रहन्छन् खाल्टो पुरिसकेपछि बेल्चाको बिंडमा अडिएर उभिन्छन् तीनजना , आलोक भने टुक्रुक्क बसेर पानी पिउँछ )

कुबिर - हत् ! घाम पनि कस्तो लागेको हौ ? जमिन नै बल्ला जस्तो छ । (कम्मरमा बाँधेको पानीको बोतल झिकेर पानी पिउँछ ) यस्तै हो भने त मरिन्छ है साथी हो ।

मङ्‌गल - (पानीको बोत्तल उठाउँदै) मरिन्छ भनेर के गर्नु  ? अर्डरको काम नसकी हुँदैन ।  (अमिर  पनि पानी पिउँछ )

अमिर - यो सरदार भनाउँदो पनि कस्तो दलाह परेछ है अलिकति पनि दयामाया नराखी दल्छ यार !

कुबिर - के सरदार भन्छस् कम्पनी भन्न , कम्पनीले जे अरायो त्यही गर्ने त हो नि त्यो मुला पनि।

मङ्गल - साला यति सारो दुःख गरेको भा त आफ्नै देश बन्थ्यो होला नि !

अमिर - अँ, गर्थिस् होला नि यसरी लाश पुर्ने काम आफ्नो देशमा ? यसरी चिहान खन्दै लाश पुर्दैगर्नु हो भने त च्याने र पोडे भनेर गाउँघरमा बसिसक्नु पनि हुन्थ्यो होला नि ?

मङ्गल - धन्न यहाँ हामीलाई चिहान खन्न  र लाश पुर्न पो दियो भन्न,  तातो बालुवामा लाजिमाको काँडा टेक्दै उँटको लिदी टिप्न पठाको भा, ती खर्राहरूको ट्वाइलेट सोर्ने काम परेको भा ?  (आलोकतिर हेर्दै) हन यो आलोक चूँ बोल्दैन त आज, ओए ! के भो तँलाई र नुन खाको कुखुरा झैं झोक्राएर  बसेको ?

आलोक - तिमेरको कुरा सुन्दैछु ।

कुबिर -   हाम्रो कुरा सुन्दैछस् कि बूढीको यादले डल्लो पर्‍या होस् । (हाँस्छन् )

अमिर - अँ, होला होला, यसो सम्झंदा मन कडक्क खायो होला, यदि त्यस्तो थियो भने नआएको भए हुन्थ्यो नि ।

आलोक - (उठ्दै ) नआएर के गरूँ ? देशमा युवाहरू रोजगार हुने काम छैन । भ्रष्टाचार र आर्थिक मन्दीले देश टाट पल्टिन आँट्या छ । नागरिकलाई शरणार्थी बनाएर , सरकारी  जग्गा निजी बनाएर, सुन तस्करी गरेर पैसा कमाउने र ठूलाठूला  काण्ड घटाउने मुलुकका नाइकेहरू नै छन्  सरकार  नाइकेहरूलाई   छुन सक्तैन, बिरालो मारेर बाघको जुँगा  थुतेको  रवाफ  देखाउँछ मात्र । सर्वसाधारण जनतालाई मात्र  ऐन ठूलाबडालाई चैन भएको  छ अहिले हाम्रो  देश ।अनि कसरी बस्न   सकिन्छ र त्यहाँ ?

अमिर -  त्यति मात्र कहाँ हो र ? एकातिर शक्तिशाली जवानहरूको विदेश पलायनले देश रित्तो हुन लागिसक्यो । देशमा बुढाखाडा रोगी र कमजोर नागरिकहरू मात्र छन् । अर्कोतिर यी हामीले यहाँ यसरी  दुःख गरेर पठाएको रेमिट्यान्सले उनीहरू भत्ता खान्छन् र उनीहरूका नातेदार र झोले   मशलेहरूलाई पाल्छन् । मलाई त वैदेशिक  रोजगारमा आएकाको दुःख र उहाँ  उनीहरूको   मोजमस्ती सम्झेर दिक्क लाग्छ ।

आलोक - कहाँ त्यति मात्र हो र , सताब्दीऔं देखि एकअर्कामा आत्मीयता बाँडेर बसेका जातिजातिको बीचमा , धार्मिक सहिष्णुताले ढिक्को भएर जमेका धर्मधर्मका बीचमा भिडाएर स्वार्थ साँध्ने अखडा भएको छ देश ।  केही मुट्ठीभरहरू तिनीहरूकै पुतली भएर नाचेका छन् र जनताका बिचमा दरार पैदा गरेका छन् , जसको कारणले आज दैनिक हजारौं हजारको सङ्ख्यामा देशका वौद्धिक तथा श्रमिक दक्ष जनशक्तिहरू विदेश पलायन भैरहेछन् । मुलुक आर्थिक मन्दीको भासमा भासिएको त छँदै छ अनि  असफल राष्ट्रमा परिणत हुन्छ र भोकमरीले गाँज्ने सम्भावना देखिइसकेको छ ।

कुबिर - आलोकले भनेको कुरा प्रवल सम्भावना छ त्यही भएर साथी हो , म चैं बेलैमा स्वदेश फर्कि  त्यहीँ कृषि वा पर्यटन सम्बन्धी दिगो व्यवसाय गर्ने सोच बनाएको छु । त्यसैले म त बस्तिन अब जान्छु घर । यति दुःख गर्नु हो भने अझै त धेरै कुरामा सम्भावना छ नेपालमा । सत्ये, रामोराम म यही हप्तामा फर्कन्छु घर ।

आलोक - आफू त फर्किहालौं भने पनि भर्खरभर्खर  आएको छु ।तर कुबिरको सोचमा मेरो समर्थन छ  तर ओए केटा हो , कुबिर साँच्चै घर जान्छ भने  तिमेरले अलि अलि बचाएको पैसा छ भने देओ है सापटी  घरमा केही पैसा र केही  सामान पठाइदिनु   पर्‍यो नत्र त लाजै मर्नु हुने भो यार ! केके न होला विदेशमा पैसा त बोटमै टिप्न पाइन्छ भनेर कडो ब्याजमा साहु काडेर आइयो त्यही एक टुक्रा भएको घरबारी पनि जाने भो यार मेरो त । (रुन खोज्छ )

मङ्गल - दुःख नमान , उठ , कम्मर कस् ।ज्यानको बाजी  लगाएर काम गर्नुपर्छ केही न केही धन आर्जन गर्नुपर्छ अनि समाधान गर्नुपर्छ घरको समस्या । हेर यो परदेश हो यहाँ न हाम्रो समाज छ न  आफन्त नै । जे छौं हामी साथीभाइ नै हौं जे परे  पनि हामी पुरानो भएकोले मैले र  अमिरले केही पैसा जम्मा गरेका छौं  त्यही पैसा पठाइदे  हामीलाई यहीँ काम गरेर तिर्नु । कि कसो अमिर! 

अमिर - ठीकै भन्यो मङ्‌गलले आलोक ! यो दूरदेशमा रोएर हाम्रो आँसु कसैले देख्तैन केवल यो मरुभूमि भिजाउनु मात्र हो । बरु काममा लागौं  अब ।

मङ्गल - आज त ३० वटा पनि पुरेको छैन लाश गफ गरेर बसेको निकाल्छ है भरे साँढेले । लौ उठौं अब पल्लो ब्लक जानु पर्छ (सबैजना उठ्छन् र बेल्चा बोकेर अर्कोतिर लाग्छन् )

            

          तेस्रो दृश्य

    स्थान : आलोकको घर

     समय : दिनको

     पात्र :  आकृति , आमा जेशिला

              (आकृति एकनासले मोबायलमा व्यस्त  देखिन्छे । कहिले च्याट, कहिले सेल्फी त कहिले टिकटकमा ब्यस्त देखिन्छे । आमाको प्रवेश हुन्छ )

आमा - बुहारी ! ए बुहारी ! ( आकृतिको प्रतिक्रिया देखिंदैन ।आमा निरिह उभिइरहन्छिन् ) ए बुहारी   ! किन नबोलेकी ? छोराले पैसा पठाएन ?

आकृति - ( सन्केर ) छैन पठाको । हत्ते गर्दागर्दा अस्ति भर्खर मलाई  आइफोन र केही पैसा पठाइ दिएको थ्यो अब अहिल्यै फेरि खुरुखुरु बोटमा फल्छ र पैसा ? किन चाहियो पैसा भन्छन् ?

आमा - मलाई चाहिया त होइन तिमेरकै बेबारका लागि  हो । हिजो साहु आइरथ्यो रिनको भाका नाघ्यो भन्दै , तिमी काँ गैरथ्यौ अबेला  आयौ मैले भन्न पाइन ।अनि अहिले सुनाएकी नि ।

आकृति - मलाई रिनसिनको धेरै टेन्सन दिने होइन ।जसले रिन गरेर गाको हो उही जान्दछ । म जान्दिन । 

आमा - अनि अस्ति पठाएको पैसा चैं के गर्‍यौ त ?

आकृति - मैले कहाँ के गरें भनेर हिसाब खोज्ने होइन है  मैले भन्दिया छु ,अनि म कहाँ जान्छु , के गर्छु  धेरै चियो चासो गर्ने पनि होइन , आफ्नो काम  खुरुखुरु गर्ने । भाँडा माझिसकियो ?  घर बडारकुंडार  गर्नु , दिउँसो यसो घुरेन खनखान गर्नु, धेरै सुतेर नबस्नु जिउ बिग्रिन्छ ।

आमा - लौ ( मुन्टो हल्लाएर जान लाग्छिन् )

आकृति - अनि यहाँ सुन्नु , मेरो बाहिर काम छ , म निस्कन्छु अब , बेलुका खाना बनाइराख्नु । (आमा जान लाग्छिन् ) ए आमा ! यहाँ आउनु (आमा फेरि फर्किन्छिन् )  यहाँ मसँग बस्न मन छ भने भनेको कुरा थपक्क मान्नु नत्र वृद्धाश्रम पुर्‍याइदिउँला ।गए हुन्छ अब काममा ।  (आमा जान्छिन् , आकृति केही सेल्फीका पोजहरू खिच्दै गर्दा  जेलिसाको प्रवेश )

जेलिसा - ओए आकृति रेडी ?

 आकृति - रेडी रेडी आइज न दुईचार स्न्याप सेल्फी खिचौं भरे पोस्ट गर्नुपर्छ फेसबुकमा ।

जेलिसा - ए ल ल ( सेल्फी खिच्छन् ) ओए मेरो त  टिकटक फलोअर्स दुई हजार भैसक्यो । म त टिकटक लाइभमा बस्न थालिसकें । 

आकृति - ओए ! तेरो तेत्रो भैसक्यो ? मेरो त बढ्दैन त !के गर्दा बढ्छ हौ हँ ?

जेसिला - अलि मेहनत गर् न , पूरा खट्नु पर्छ क्या, तँ खट्दिनस् कि क्याहो । कि दिन्नन् सासूले ?

 आकृति - यो सबै त के थाह र तिनलाई तर अलि चियो चर्चो गरे झैं गर्दैथिन् , मेरो पालो मार् झाँटिदिएँ  अघि ।

जेलिसा - मेरो जस्तो पूरा काममा पेल्देन । म त बूढोलाई पेल्दिन्छु । म यहाँ तिमेरुको सबै काम गर्ने नोकर आको होइन ,मैले मेरो स्वतन्त्र लाइफ  बिताउन पाउनु पर्छ भन्दिया छु । मैले त बुढोलाई , सासूलाई आफ्नो काम आफैं गर्नुपर्छ  । लुगा धुने , घर सफा गर्ने , खाना पकाउने मेरो  बाटो हेर्ने होइन पनि भन्दिया छु ।

आकृति - अनि त्यसो भन्दा के भन्छन् ?

जेसिला - बोल्न त चुँ पनि गर्दैनन् तर बूढो चैं कहिले कहिले निकै टेन्सनमा देखिन्छन् । बेलाबेला त  डिप्रेसनमा जान्छन् कि जस्तो लाग्छ हाहाहा ( हाँस्छन् दुबै ) लौ जौं अब आज नयाँठाउँ जानुपर्छ । (दुबै निस्कन्छन् )                                  

                       दृश्य - चौथो

       स्थान - आलोकको  घरकोठा

        समय - दृश्य सापेक्ष

        पात्रहरू- आमा , आकृति , विदुषी  र आलोक

(आकृति मोबाइलमा नै व्यस्त देखिन्छे , आमा चामल केलाउन नाङ्लोमा चामल लिएर आउँछिन् र आँखा मिच्दै सकिनसकी चामल हेर्न थाल्छिन् )

आकृति - अझसम्म खाना पाकेको छैन ? मलाई बाहिर  निस्कनु छ ।

आमा - भर्खर त चामल हेर्दैछु ।

आकृति - यत्रोबेर चैं  के गरेर ढिला भएको नि ?

आमा - मेरो घरको सुसेधन्दा कति छ कति नि ? घर बडार कुँडार भनो , लुगा धुनु भनो , घरको रख्खे  गर्ने भगवान् लाई पनि सम्झनै परो ।कति छ कति नि मेरो काम ,सघाउने कोही छैन । हिजाेआज त्यति सञ्चो पनि छैन त्यसै हातगोडा गलेर फतक्कै हुन्छन् ।

आकृति - त्यही भएर अलि काम गर्नु , शरीरलाई कसरत चाहिन्छ, नत्र शरीर बिग्रन्छ भनेको ।

आमा - (चामल केलाउन छोडेर उठ्दै ) तिम्रो चैं शरीर बिग्रिंदैन बुहारी , तिमीलाई चैं कसरत चाहिँदैन ? बिहान चिया खाएर मोबाइल कि सोबाइल चलाउँन थालेकी उठेकी छैनौ त ? तिमीले पनि त  केही केही त गरे हुन्छ नि ।

आकृति - (आवेशमा ) के रे , मैले काम गर्ने रे ? मैले केका लागि काम गर्ने ? तिमीले केही गर्नु पर्दैन म महिनै पिच्छे पैसा पठाइहाल्छु भनेर विदेश गएको मान्छे त्यही एकपल्ट पठाएदेखि फेरि सुको पठाको होइन । अनि मैले केका लागि काम गर्ने ?

आमा - मैले चैं तिम्रा लागि किन काम गर्ने त ? छोरो विदेश जाने बेलामा चेब्र्याइँ पार्दै आमा नरुनुहोस् म छु , म रेखदेख गर्छु ,सेवा गर्छु भनेको यही हो ? तिमी मेरो सेवा गर्दैछौ कि म बूढीले तिम्रो सेवा गर्दैछु ? यी सारा दुनियाँले देखेको छ । सेवा पाउने उमेर तिम्रो भाको छ कि मेरो ?

आकृति - (जङ्गिंदै ) धेर थुतुनु चलाउने होइन है बुढी ! अब तिम्रो बास यहाँ होइन वृद्धाश्रममा हुने पक्का भो  । अहिल्यै घिसारेर पुर्‍याउँछु ( सासूलाई पाखुरामा समातेर घिसार्छे । (त्यसै समय विदुषीको प्रवेश )

विदुषी - आकृति ! आमाको बास वृद्धाश्रममा हुने भो भनेको ?

आकृति - अरू कसको हुनु  त , यिनै कचकचे बूढीको त हो नि ।

विदुषी - हाय , हाय हाय ! हे भगवान् के सुन्न पर्‍यो यो कानले ? जसले उमेरका आफ्ना इच्छा ,चाहना , खुसी र रहरहरूलाई तिलाञ्जली दिएर एउटा बाल टुहुरोलाई हुर्काएर बढाएर आजसम्म यो घर थामेर ल्यायो आज उसैलाई वृद्धाश्रममा लखेट्ने ? धिक्कार छ तिमी जस्ता शिक्षित मान्छेहरूलाई ।

आकृति - किन धिक्कार किन ? मलाई मोवायल खेलाएर बस्छे भन्नुहुन्छ उहाँले । मान्छेले समय अनुसार चल्न जान्नु पर्छ । यो विश्वसंसार देखिने आधुनिक यन्त्र हो अनि नचलाउनु ?

आमा - घरको सबैथोक बिताएर , घरको काममा सिन्को नभाँचेर त्यही मात्रै हेर्ने  हो त ? म पनि सासू हुँ नि , घरमा राखेकी नोकर्नी त होइन होला नि ।

विदुषी - हो त , सासूससुरा लगायत आफूभन्दा ठूलालाई  मानमर्यादा राख्ने ,सानालाई मायास्नेह दिएर ज्ञान दिने त हाम्रो सभ्य संस्कार छ । तिम्रो यो संस्कार भएन आकृति !

आकृति - (आवेशले ) चुप लाग्नोस् तपाईं ! बड संस्कार  सिकाउने . !!

 विदुषी - चुप म होइन तिमी हुनुपर्छ अब । यो घरमा सिन्को नभाँचेर आफू मोजमस्तीमा हिँड्दै सासूमाथि तिमीले ज्याजती गरेको बुझेर नै आएकी म यहाँ आज ।

आकृति - अर्काको निजी मामलामा हस्तक्षेप गर्ने को हौ तिमी ? चुप लाग ।

विदुषी - (झन जोडले) चुप ! चुप ! चुप ! तिमी चुप लाग अब । ज्यादा बोलिसक्यौ तिमीले । जब कुनै घर घरजस्तो चल्दैन भने त्यहाँ समाजले हस्तक्षेप गर्छ ।म समाजको प्रतिनिधि हुँ बुझ्यौ ? (केहीछिन सन्नाटा छाउँछ , विदुषी भाव बदल्छिन् ) हेर आकृति म पनि एउटी बुहारी नै हुँ , सासूससुरासँगै बसेकी छु । उमेरले पनि डाँडापारिका घाम झैं भैसक्नु भएको छ । त्यस्ता सासूससुरालाई सेवा गरे वापत  असल  बुहारी भनेर तीनतीनवटा संस्थाले सम्मान गरेको             छ मलाई । बूढाबूढीलाई कतिखेर भोक लाग्छ कतिखेर तिर्खा लाग्छ ,कतिखेर औषधी दिनुपर्छ , सरसफाइ कसरी गर्नुपर्छ भन्ने थाह पाउनु पर्छ हामीले । छोराबुहारीले थाह पाउनु पर्ने अर्को महत्त्वपूर्ण कुरा के हो भने मीठो खाने कुराभन्दा मीठो बोलीवचन र राम्रो लाउने भन्दा पनि राम्रो व्यवहार गर्नुपर्छ । तिमी उल्टै ठाँट पल्टिएर  सासूलाई काममा दल्छ्‌यौ , आफू चैं बेपर्वाह उड्छ्यौ अनि अझ समय अनुसार चल्नुपर्छ भन्छयौ ? उतिखेर देखि दुःख गरेर जोगाएर राख्नुभो आमाले आज तिमी यो घरकी बुहारी हुन पायौ । उहाँको देनलाई शिरमा दाख्नु पर्छ तिमीले  र रिसलाई पैतालामुनि राख्नु पर्छ । हामीले हाम्रो कर्तव्यलाई भुल्नु हुन्न बहिनी ! आफूभन्दा मान्यजनलाई सम्मान गर्‍यो भने मात्र आफू पनि सम्मानित होइन्छ । (आकृति र आमा मौन रहन्छन्  त्यसै समय आमालाई सम्बोधन गर्दै प्रवेश गर्छ आलोक । सामान राखेर आमालाई ढोग गर्छ । विदुषीतर्फ फर्किएर नमस्कार गर्छ ।आकृति आश्चर्य चकित भएर हेर्छे)

आमा - (खुसीले गदगद हुँदै ) छोरा ! तँ आइपुगिस् बाबु खबरै नगरिकन ?

आलोक - हो आमा ! म खबर नगरिकनै आएको , घरको के हाल रहेछ भनेर अप्रत्यासित रूपमा बुझ्न ।

विदुषी - सरासर आउनु भएको हो बाबु !

आलोक - होइन भाउजू ,अघि तपाईँको पछिपछि आएको

  (आकृतिको अनुहारको रङ र भाव बद्लिन्छ ) तपाईँहरूका सबै कुरा मैले सुनेको छु भाउजू ! तपाईँलाई धेरैधेरै धन्यवाद छ । मेरी आमाप्रति यति सद्भाव राखिदिनु भएकोमा । (आकृति तर्फ फर्किएर ) आकृति ! सामाजिक सञ्जालहरूमा तिम्रा हर्कतहरू सब हेरेको छु मैले । तिम्रा टिकटकहरूले नै तिमीले आमाको  सेवा र घरको काम कति गरेकीछ्यौ भन्ने  देखायो । अनि मैले तिम्रो नाममा पैसा पठाउन बन्द गरेको हुँ ।

आकृति - मेरो पनि त इच्छा आकांक्षा र स्वतन्त्रताको कुरा हुन्छ नि ।

आलोक - त्यसैले त तिमी जस्तो आवश्यक्ता भन्दा बढी स्वतन्त्रता चाहने मान्छेबाट घरव्यवहार हुँदैन भन्ने निष्कर्ष निकाली (गोजीबाट कागज झिक्तै ) यी यो छोड पत्रको कागज बनाएर आएको छु, लौ सही गर अनि स्वतन्त्र हौ (केहीछिन् सन्नाटा छाउँछ , सबै स्तब्ध हुन्छन् । आलोक अलि आवेशमा आउँछ ) लेऊ , यो डिभोर्स पेपरमा सही गर , लेऊ भनेको !

आमा - (आलोकको हातको पेपर खोस्दै ) आलोक ! के गरेको छोरा तैले यो ?

आलोक - मैले ठीक गर्दैछु आमा । म विदेश हिँडेको दिन म आमाको सेवा गर्छु , घरको पुरै जिम्मा लिन्छु भनेको हो कि होइन आकृतिले ?

आमा - भए पनि त्यसो गर्नु हुन्न बाबु ! श्रीमती भनेको वस्तुभाउ किन्दै बेच्दै गरे झैं होइन छोरा । यो हाम्रो संस्कार होइन । जे भा पनि जग्गेमा अग्नि साक्षी राखेर बिहे गरेर भित्र्याएकी बुहारी हो ,  उसको बुद्धि पुगेन , जानिन र केही गल्ती गरिहोला, अब सुधार्नु पर्छ ।

विदुषी - हो बाबु ! आमाको कुरा सही हो , यसरी आवेशमा आएर गलत निर्णय गर्नु हुन्न ।

आलोक - होइन यो जमाना जस्तालाई तस्तै गर्ने जमाना हो ।कसैलाई इच्छा छैन भने किन कर लाउने  ?होइन भने मान्छेले आफ्नो अनुहार बाहिरी ऐनामा होइन , आफैंभित्रको दिलको ऐनामा हेर्नुपर्छ ।

आमा - ( कागज च्यातिदिदै ) लौ यो कागज मैले च्यातिदिएँ बुहारी ! 

आकृति - (आमाको खुट्टा छोएर ) आमा ! तपाईँको त्यो महान हृदयलाई बुझ्न नसकेर गल्ती गरेछु । मलाई क्षमा गर्नुहोस् आमा ! हुन त क्षमा गर्न लायक पनि छैंन होला तर पनि क्षमा गर्दिनोस् (आमाले उठाएर आकृतिलाई छातीमा लगाउँछिन् । आकृति आलोक तर्फ गएर ) मैले त्यो दिलमा ठूलो चोट लगाएछु ।  मिल्छ भने एकपटक माफ गर्दिनोस् र यही      घरमा रहेर  देवीजस्ती आमा र हजुरको सेवा    गर्ने मौका दिनुहोस् ।(दर्शकतर्फ फर्किए )  मैले आज आफूभित्रको मलाई आफ्नै दिलको ऐनामा हेरेकी छु।

आलोक - अब आफ्नो मात्र होइन दिगो व्यवसाय गरेर देशको मुहार उन्नतिको ऐनामा हेर्नुपर्छ ।

                           ऐना

      (सबै आआफ्ना ठाउँमा स्थिर रहन्छन् )

                          समाप्त

ट्यागहरू:
literature samachar sahitya nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू