लोकभाकाको संरक्षणमा राधिका प्रधानको अर्को कोसेली ‘मानिसको जीवन यो’

दिलिप घिमिरे · कार्तिक ३०, २०८३ ७:४८ AM
Cover Image for News

झापा, २९ कात्तिक। दार्जिलिङ क्षेत्रमा मौलिक लोकगीत र लोकभाकाहरू क्रमशः ओझेल पर्दै गइरहेका बेला तिनको संरक्षण र प्रवर्द्धनमा लोकगायिका राधिका प्रधानले आफ्नो सांगीतिक यात्रालाई केन्द्रित गर्दै आएकी छन्। यही क्रममा उनको तेस्रो लोककोसेली मादले ख्याली भाकामा आधारित गीत ‘मानिसको जीवन यो’ को छायाङ्कन सम्पन्न भएको छ।

लोकगीत कुनै समाजको मनोरञ्जनको साधन मात्र नभई इतिहास, संस्कृति, परम्परा र जनजीवनको जीवन्त अभिव्यक्ति हो। आधुनिक सङ्गीतको बढ्दो प्रभावसँगै मौलिक लोकलयको निरन्तरता चुनौतीपूर्ण बन्दै गएको अवस्थामा प्रधानले फरक–फरक लोकभाकालाई आफ्ना सिर्जनामार्फत श्रोतामाझ पुर्‍याउने प्रयास गर्दै आएकी छन्।

‘अशारे बेठी रोपाइँ’ मार्फत श्रोतामाझ परिचित बनेकी प्रधानले दोस्रो लोककोसेलीका रूपमा तामाङ सेलो गीत ‘कोको म्हेन्दो टोटोला’ ल्याएकी थिइन्। त्यसैको निरन्तरतामा मादले ख्याली भाकाको नयाँ गीत ‘मानिसको जीवन यो’ तयार पारिएको हो।

वानिश्री म्युजिक इन्टरटेनमेन्ट (VAANISHRI MUSIC & ENTERTAINMENT) को प्रस्तुतिमा निर्माण भइरहेको उक्त गीतको छायाङ्कन सन् २०२६ नोभेम्बर १३ का दिन मिरिकमा सम्पन्न भएको हो। Future i Mirik का युवा चलचित्र निर्देशक निमेश प्रधानको निर्देशन रहेको गीतको छायाङ्कन नरिवल फुटाएर औपचारिक रूपमा शुभारम्भ गरिएको थियो।

फोटो
विशिष्ट सङ्गीत संयोजक महेश्वर लामाको सङ्गीत संयोजन तथा दुर्गा ओलीको सङ्कलन रहेको गीतमा उपमा प्रधानले नृत्य निर्देशन गरेकी छन्। साधना कला केन्द्र र वैशाखी छन्दम, मिरिकका नृत्य कलाकारहरूको प्रस्तुतिसँगै मिरिक संस्कृति विभागका कलाकार दिनेश राई र बब्लु थापाको मादल वादनले गीतको मौलिक लोकलयलाई थप जीवन्त बनाएको छ।

सिङबुली चियाबारीस्थित श्री आदित्य राईको निवासमा गरिएको छायाङ्कनमा स्थानीय सामाजिक संस्था ‘युवा परिवार’ का सदस्यहरू तथा आदित्य राई र सुजन छेत्रीका परिवारले सहयोग पुर्‍याएका थिए। सहयोगप्रति वानिश्री म्युजिक इन्टरटेनमेन्टका तर्फबाट देवीलाल प्रधानले सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्।

लोकभाकाको संरक्षण भनेको पुराना गीत सम्झनु मात्र होइन, तिनलाई नयाँ सिर्जना र प्रस्तुतिमार्फत निरन्तरता दिनु पनि हो। प्रधानले एकपछि अर्को फरक लोकभाका समेट्दै गीत प्रस्तुत गर्नु यसै दिशाको सकारात्मक पहल हो। यस्ता प्रयासले ओझेल पर्दै गएका मौलिक लोकलयलाई नयाँ पुस्तासम्म पुर्‍याउनुका साथै क्षेत्रको सांस्कृतिक पहिचानलाई जीवन्त राख्न योगदान पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।

छायाङ्कन सम्पन्न कार्यक्रममा युवा परिवारका सदस्यहरू तथा मिरिक संस्कृति विभागका कलाकारहरूको उपस्थिति रहेको थियो।

ट्यागहरू:
विश्व साहित्य कला र लोक संस्कृति#
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।