कवि प्रज्वल अधिकारीको 'अस्तित्वको ब्रह्माण्ड' कविता कृति विमोचन
झापा १८ असोज /कवि प्रज्वल अधिकारीको पहिलो कवितासङ्ग्रह 'अस्तित्वको ब्रह्माण्ड’ शनिबार विमोचन गरिएको छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानको डवलीमा आयोजित भव्य समारोहका बिचमा उनको कविता सङ्ग्रह विमोचन गरिएको हो ।
बुकहिल पब्लिकेशन प्रालिले प्रकाशन गरेको सङ्ग्रहको विमाेचन कार्यक्रममा उपस्थित वक्ताहरू कवि दिनेस अधिकारी, कवि श्रवण मुकारुङ र कवि प्रतिसरा सायमिले कृतिले नेपाली कवितामा एउटा गहिरो छाप छोड्ने र नेपाली कविताका विविध आयामहरू समेटिएको बताए ।
तीन कवि वक्ताका साथमा, काका मुक्तिनाथ अधिकारी, हजुरबुवा माधव सुबेदी र प्रज्वल अधिकारीले संयुक्त रुपमा कृतिको बिमोचन गरेका थिए ।
कवि श्रवण मुकारुङले ‘अस्तित्वको ब्रह्माण्ड'का कविता पढ्दै जाँदा विशिष्ट कवि मोहन कोइरालाको झझल्को आउने र यसरी झझल्को आउनु एउटा कविको सफलता भएको व्याख्या गरे।
उनका अनुसार सङ्ग्रहका कवितामा कविताका विविध आयामलाई समेटिएको र त्यो ज्ञान र ध्यानले मात्र सम्भव हुने बताए। स्वच्छन्द कविता र परिस्कार कविता दुबै अधिकारीका कवितामा प्रस्तुत भएको उनको भनाइ थियो।
कवि प्रतिसरा सायमीले अधिकारीका कविताका मन परेका पंक्तिहरू वाचन गरिन्।
कवि दिनेश अधिकारीले प्रज्वल अधिकारी प्रतिभाशाली कवि भएको उल्लेख गर्दै वर्तमान समयका समालोचकहरूले यो कविता पढेर समालोचना गर्नुपर्ने बताए।