डा. इन्दुप्रभादेवी-'प्रा.द्रोण उपाध्यायको असमिया सहअनुवाद कृतिः नवमी' भाग-२

डा.इन्दुप्रभा देवी · मंसिर १२, २०८३ ९:३८ AM
Cover Image for News

प्रा.द्रोण उपाध्यायको असमिया सहअनुवाद कृतिः नवमीको बाँकी भाग..

भोलिपल्ट रानीले सिकाएअनुसार राजाले रामबहादुरलाई एकान्तमा बोलाएर भन्छन्– ‘भोलि घाम झुल्किनु अघि नै तैंले तेरी बुढीको टाउको काटेर ल्याइस् भने तँलाई राजकुमारीसित बिहे गराइदिन्छु’ । रामबहादुर घर फर्किएर जान्छ । उसको एउटा मनले पत्नी धनमायाको टाउको काट्न भने पनि अर्को मनले चाहिं विचार गर्छ... धनकुमारीसित गरीबीमा पनि जति सुखी छ, राजकुमारीसित त्यति सुखी हुन सकिन्न होला...। रातभरिको अन्तद्र्वन्द्वपछि ऊ रित्तै हात राजाको सामू जान्छ र पत्नीलाई काट्न नसकेको कुरा निवेदन गर्दछ । त्यसपछि रानीले राजालाई भन्छिन्– ‘देख्नुभो पुरुषको बुद्धि ?’ । अब स्त्रीको साहसको कुरा प्रमाणित गर्न रामबहादुरकी पत्नी धनमायालाई राजाले बोलाउँछन् । धनमायासँग राजाले भन्छन्– ‘तिमीले भोलि बिहान घाम झुल्किनु अघि नै तिम्रा बुढाको टाउको काटेर ल्यायौ भने तिमीलाई म रानी बनाउँछु ।’ त्यो सुनेर धनमाया घर फर्किएर जान्छे र भोलिपल्ट बिहानै बुढाको टाउको काटेर राजाको दरबार पुग्छे । राजा छक्क पर्छन् । रानी भन्छिन्– ‘प्रमाण पाइहाल्नु भयो नि महाराज !’
 नवमी कथासङ्ग्रहका कथाक्रममा भएको अर्को कथा हो, रिमाल र जोगीको कथा । यमुना नदीको किनारको गाउँका निःसन्तान रिमाल दम्पती एक जना जोगीसँग आशीर्वाद लिन्छन् । त्यसपछि पुत्र सन्तान हुन्छ । विस्तारै जोगी र रिमाल परिवारमा सद्भाव बढ्छ । जोगी आफ्नो लोहाको लठ्ठी उनीहरूका जिम्मामा राखेर तीर्थ भ्रमणमा जान्छन् । बाह्र वर्षसम्म उनी नफर्किएको देख्दा रिमालले ‘त्यो लठ्ठी किन जतनले राख्न दिएका थिए’ भन्ने कुतूहलतावश त्यो फोरेर हेर्छन् र त्यसभित्र सुन देखेर लोभिन्छन् । त्यो सुन झिकेर राम्रो ठुलो घर बनाउँछन् । तर, बाह्र वर्षपछि ती जोगी फर्किएर आउँछन् र लठ्ठी माग्छन् । रिमालले धमिराले खायो भनेर ढाँट्न खोज्छन् । जोगी रिसाएर बाहिर खेलिरहेको उनीहरूको छोरालाई लिएर त्यो देशबाटै बाहिरिन्छन् । छोरो हराएपछि ‘जोगीले लगे’ भन्ने जानेर उनलाई खोज्दै जान्छन् । रिमाल र जोगीको एक ठाउँमा भेट हुन्छ । जोगीले पनि छोरालाई चीलले लग्यो भनेर ढाँट्न खोज्छन् । अन्त्यमा, रिमालले आफ्नो भूल स्वीकार गर्छन् र त्यो सुनले किनेको सम्पत्ति जोगीलाई जिम्मा दिएर जोगीबाट आफ्नो छोरो लिन्छन् । जोगीले भन्छन्– ‘तिम्रो यो कप्ट्याइँका निम्ति आजदेखि उप्रान्त हाम्रा वंशका कसैले तिम्रा घरमा फेरी लगाउँदैनन् र सिदा पनि लिंदैनन्’ । कथाको अन्त्यमा लेखिएको छ– त्यतिखेरदेखि रिमाल र जोगीको आपसमा राम्रो सम्बन्ध रहेन । यसरी यस कथाले आज पनि जोगीहरू किन रिमालका घरमा फेरि लगाउँदैनन् वा सिदा लिंदैनन्, त्यसको कारण बताइदिएको छ ।
 अर्को कथा फूलकुमारीमा सौतेनी आमा र उसकी छोरी धनकुमारीले फूलकुमारीमाथि गरेको अत्याचारको वर्णन सहित कसरी पछि फूलकुमारीलाई बाख्राले दूध खुवाएर पोषण दियो र कसरी उसको  राजकुमारसित विवाह भयो भन्ने घटनाहरूको विस्तृत विवरण छ । छल गरेर फूलकुमारीलाई कुवामा फ्याँकेको अनि धनकुमारीले फूलकुमारीका लुगा लगाएर राजकुमारको घर गई त्यसपछि छोरालाई दूध खुवाउन कुवाबाट निस्किएको वर्णन छ । ती फूलकुमारीको आत्मालाई राजकुमारले देखेर समातेको सबै कुरा थाहा पाएपछि धनकुमारी र उसकी आमालाई नाक काटेर राज्यबाट राजाले बहिष्कार गरेको लामो विषय यस कथाले समेटेको छ ।
 पाखुरामा चन्द्र–सूर्य हुने कुमारको कथा पनि नेपाली समाजमा धेरै प्रचलित कथामध्ये एक हो ।  सुबाहु नामका एक जना पराक्रमी राजाले सन्तानको आशा गरेर धेरैवटी रानी बनाए । त्यति गर्दा पनि उनी निःसन्तानै रहे । त्यसपछि वैराग्य उत्पन्न भएर उनी मन्त्रीसित बनमा तपस्या गर्न गए । त्यो तपस्या गरेका ठाउँमा एउटा पोखरीबाट दुइटी राजकुमारी निस्किई पूजा र बातचीत गर्न लागे । उनीहरूका कुरा मन्त्रीले सुने– एउटीले, ‘मलाई महाकालजस्तो भयङ्कर छोरो पाउने इच्छा छ’ भनी । अर्कीले चाहिं, ‘मलाई दाहिने पाखुरामा सूर्य र देब्रे पाखुरामा चन्द्र भएको तेजस्वी छोरो पाउने मन छ’ भनी । उनीहरू फेरि पानीमा अलप भए । भोलिपल्ट मन्त्रीले राजालाई यी कुरा सुनाउँदा राजाले ती दोस्री राजकुमारीलाई पोखरीबाट निस्किएको बेला झटपट पाखुरामा समाते, त्यसपछि आफ्नो राज्यमा लगी बिहे गरे । पछि उनको गर्भधारणको कुरा दरबारमा फैलियो । त्यो सुनेर अरू रानीलाई इष्र्या भयो । त्यसपछि उनले के–कसरी ती रानीहरूले छल गरे । त्यो सन्तानलाई पोखरीमा फालेर रानीले मुसल पाएको खबर दरबारमा सुनाए । ती कान्छी रानीलाई घोडाको स्याहार गर्ने नोकर्नी बनाए । पछि, त्यो छोरालाई कसरी पहिला माछाले र पछि घोडाले मुखभित्र लुकाएर बचाएछ अनि अर्कै राज्य पु¥याएछ ।  पछि दैवक्रममा पाखुरामा सूर्य–चन्द्र हुने त्यो छोरासित राजाको कसरी भेट भयो । ती सबै कुराहरूको विस्तृत रूपमा असमिया अनुवाद गरिएको यो कथाले पुस्तकमा निकै पृष्ठ ओगटेको छ ।
 अन्तिम कथा परालको आगो दुई बुढा–बुढीको झगडा लागेपछि बुढी माइत गएर उतै बसिदिंदा लथालिङ्ग भएको घर सम्भाल्न फेरि  बुढाले घर फर्काएर ल्याएको कुरालाई लिएर बनिएको कथा हो । यसमा गाउँका केही अन्य पात्रहरू पनि कथालाई अघि बढाउने क्रममा देखाइएको छ ।
 नवमीका कथाहरूमा प्रतिपादित सारतत्वः लोककथाहरूले परोक्ष वा प्रत्यक्ष रूपमा केही सत्य उगेलेका हुन्छन् । केही नीति उपदेश दिएका हुन्छन् भन्ने देखिन्छ । नवमीका कथाहरू पढ्दा त्यस्ता केही सत्यताका वा नीतिका कुरा सामू आउँछन् । डल्ला र टपराको मितेरी सामूहिक जीवनको द्योतक हो, उज्यालो पाटो हो; तर सत्य के हो भने मृत्युले सधैं जीवनलाई जितेरै छाड्छ । मृत्युजस्तै समस्या पनि जीवनका छोडिनसक्नु पक्ष हुन् । यस सङ्ग्रहका कथाहरूमा विविध किसिमका समस्याहरू छन् र ती समस्यासँगै समाधान पनि छन् । नबोल्नेको बोली कथाको समस्या सानो हो । कथाले यो सानो समस्याको सजिलै समाधान गराएको छ ः सांसारिक जीवनमा परस्पर कुराहरू साटेर हाँसिखुशी बिताउनु पर्ने यथार्थ इंगित गरेको छ । छट्टु स्यालको कथाले छट्टुको अन्त्य कस्तो हुन्छ भन्ने देखाएको छ भने सुनकेशरी मैयाको कथाले ‘विचार नगरी राजाले वाचा दिनु कति घातक पर्छ र दाजु–बैनीको  सम्बन्ध कति पवित्र हो’ भन्ने कुराको पुष्टि गरेको छ । नारी इष्र्याले कसरी धेरैको जीवन ध्वस्त पार्न सक्छ र ती इष्र्यालुले पनि अन्तिममा कसरी नराम्रो परिणाम भोग्नुपर्ने हुन्छ – त्यो सत्य पनि कतिपय कथामा घामझैं स्पष्ट छ । रिमाल र जोगी, फूलकुमारी पाखुरामा सूर्य चन्द्र भएका कुमारको कथाका अन्त्यमा सत्यको जीत, नैतिकताको जीत भएको देखाउनु र असत्य अनि कुनीतिको बाटो नहिंड्नु भन्ने हो । परालको आगो कथा संसारिक जीवनका ‘सानातिना झगडा परालको आगोसरि हो’ भन्ने सत्यकै प्रतिपादक बनेको छ । यसरी नवमीका लोककथाहरूमा जीवन जगतका अँध्यारा, उज्याला दुबै पक्ष  प्रतिविम्बित छन् र कथाहरूले केही न केही सारतत्व बोकेकै छन् ।
नवमीमा मनस्तत्व र समाजचित्रः नवमी कथा सङ्ग्रहमा अन्तर्भुक्त नौ थान कथाहरूका विषयलाई हेर्दा सरल र जटिल दुबै किसिमका मनस्तत्वलाई लिएर रचिएका कथाहरू देखिन्छन् । डल्ला र टपरा, नबोल्नेको बोलीर  परालको आगो कथा साधारण मनस्तत्वका हुन् भने अरू कथाहरूमा जटिल मनस्तत्व प्रकट भएको छ । अलौकिक र अवास्तविक कुरा र घटनाले सधैं मानिसको मन आकर्षित गर्छ । आकर्षण बढाउने इच्छा मानिसका मनमा लुकेकै हुन्छ । लोककथाका रचनाकारले पनि आफ्नो कल्पनाको उडानमा असम्भव भन्ने शब्दलाई राखेका । लोककथाका अख्याता वा रचनाकारका वास्तविक अभिज्ञतासित अवास्तविक कल्पना पनि मिसिएर अनन्य बनेको हुन्छ । यी कथाहरूले निर्माण गरेको संसार बालमनोजगतका लागि अत्यन्त रमाइलो संसार हो । छट्टु स्यालको कथामा मान्छे, स्याल, भालुसहित शिव–पार्वती पनि समावेश गरी कथालाई रोचक पार्नुका साथै छट्टुले सास्ती पाउँदा पाठकलाई आनन्द पनि दिएको छ । सुनकेशरी मैयाको कथामा चामल र तिल झरेर गाई–भैंसी हुनु र बुढो गाईले सुनकेसरीको भाइलाई सघाउनुजस्ता अलौकिक कुराहरू आएका छन् भने फूलकुमारी र पाखुरामा चन्द्र–सूर्य भएका कुमारको कथामा पनि बाख्राले बुद्धि दिनु, कुवाभित्रको भूतले फूलकुमारीलाई बचाइराख्नु, फूलकुमारीको आत्मा राति–राति निस्कनु, पाखुरामा सूर्य–चन्द्र हुने बालकलाई माछाले र घोडाले बचाउनु जस्ता अवास्तविक कुराहरू छन् । धेरजसो कथामा मानिसका मनको सरलता र जटिलता दुबै झल्कन्छ । कथानकलाई अघि बढाउने क्रममा आएका साधारण गाउँलेहरूको साधारण मनस्थिति पनि कतिपय कथामा देखिन्छ ।
लोककथाले केही मात्रामा समाजको प्रतिविम्ब उतारेको हुन्छ । ‘नवमी’ सङ्ग्रहमा भएका कथाहरूले पुरानो समयमा हुने बालविवाहको प्रचलनलाई पुष्टि गरेको छ भने कतै बहुविवाहको प्रचलनलाई । नेपाली समाजमा टपराको चलन, जोगीहरूले फेरी लाउने प्रथा, रिमालसितको जोगीको सम्बन्ध विच्छेदको कुरा, दरिद्र नेपाली समाज र त्यस समाजमा पति–पत्नीमा हुने रिस एवम् झगडालाई र परालको आगोलाई सदृश मानेको छ । झगडालाई जित्ने प्रेम उत्तम हो भन्ने स्पष्ट पारेको छ । कतिपय कथामा गाई, बाख्रा, कुखुरा पालेर जीवन धान्ने समाजको छवि छ । धर्ममा आस्था राख्ने नेपाली समाज रिमाल र जोगी कथामा स्पष्ट छ भने मित लाउने चलनको कुरा डल्ला र टपरामा छ । एकपछि एक सन्तान मरेका खण्डमा बाँचेको सन्तानको नराम्रो नाम राख्ने चलनले वा त्यसो गर्दा त्यो सन्तान बाँच्छ भन्ने लोकविश्वासले गर्दा नबोल्नेको बोली कथामा छोराको नाम गुहे राखेको देखिन्छ । राजा–रानी भएका कथाहरूले राजतन्त्रको कुरा गरेका छन् । साधारण प्रजा केवल प्रमाणका निम्ति मर्नु पर्ने सत्यताको कुरा पुरुषको बुद्धि र स्त्रीको साहसले संकेत गरेको छ ।
नवमी कथा संग्रहका कथाः  नवमी कथा सङ्ग्रहका कथाहरू सहज सरल असमिया भाषामा लेखिएका छन् । भाषामा दुरुहता छैन । बालजगतकै लागि रचिएको हुनाले कथाको भाषा त्यसै पनि सरल छ । त्यसमाथि यस सङ्ग्रहका प्रकाशकले सहज भाषामा प्रकाशित गर्नु पर्दछ भनी आफ्नो भनाइमा उल्लेख गरेका छन् । सङ्ग्रहका अनुवादक द्रोण उपाध्याय, तारापति उपाध्याय र टीकाराम उपाध्याय ‘निर्भीक’ तीनै जना असमिया भाषाका पोख्त हुनाले कथाहरू नेपालीबाट असमियामा उल्था गर्दा कतै अल्झिएको देखिएन । केवल कथा शब्दलाई दुई ठाउँमा यथावत राखिएको देखियो, तीन र आठ नम्बरको कथामा । असमियामा कथालाई साधु वा साधुकथा भनिन्छ । कथा नलेखेर धूर्त शियालर साधुर बाहुत चन्द्र सूर्य थका कोँवरर साधु लेखिन्थ्यो भने अझ सही हुने थियो । कथाले असमियामा कुरा बुझिन्छ । हुन त त्यसरी पनि अर्थको प्रकाश नभएको त होइन ।
रचना रीति हेर्ने हो भने यी कथाहरूमा नेपाली कथामा पाइने भनाइको पारम्परिक ढाँचा छैन । कतिपय कथाहरूमा मात्र ‘एकादेशमा’ भन्ने प्रारम्भिक भूमिका छ, सबैमा छैन । अन्त्यमा ‘सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला’ भनेर लेखिएको छैन । त्यो हुन्थ्यो भने असमियाहरूले कथा भन्ने चलनबारे पनि जान्न पाउने थिए । कथाहरू वर्णनात्मक र सम्वादात्मक छन् । कतिपय शब्दका असमिया अर्थ लेखिएको छ भने कतिपयमा तल विशेष शब्दबारे राम्रोगरी असमियामा जानकारी दिइएको छ । जस्तैः डल्ला र टपरा भनेको के हो, असमियामा अर्थ दिइएको छ । जोगी र रिमालको बारेमा विस्तृत जानकारी कथाको तल लेखिएको छ । यसो गर्नाले नेपाली समाजका केही चित्र असमिया जातिका सामू अझ उज्ज्वल भएका छन् । अनुवाद समग्रमा सरल र मीठो छ । मौलिक सरह छन्, कथाहरू ।
निष्कर्षः डा. द्रोणकुमार उपाध्यायले विद्यावारिधि गरेर डक्टरेट डिग्री लिनुअघि नै श्री द्रोण उपाध्याय नाममा गरेको सहलेखन भनौं अथवा सहअनुवाद कृति ‘नवमी’ कथा सङ्ग्रहले असमिया भाषामा पनि उहाँको उपस्थितिलाई दर्ता गरेको छ । हुन त उहाँले लेखेका अन्य असमिया लेख निबन्ध आदि अनेक छन्, सम्पादित पत्रिका छन् र पनि आजभन्दा कयौं वर्षअघि लेखेको लोककथाको यो सङ्ग्रहको आफ्नै मूल्य छ । नवमी कथा सङ्ग्रह पुस्तकले सघाउ पुर्याएका वा पुर्याउने कतिपय पक्षहरू यस किसिमका देखिन्छन् ।
१. असमिया र नेपाली भाषाको सेतु–बन्धनमा यसले केही मात्रामा भए पनि सघाएको छ । मूल सचिवले प्रकाशकीयमा ‘पारस्परिक सद्भाव बढाउने प्रयास हो’ भनेर लेखेकै छन् । नवमी असमका नेपाली भाषीको असमिया भाषाप्रतिको प्रेमको एउटा सानो निदर्शन हो । यो एक असमियाहरूको नेपाली भाषाप्रतिको माया हो, सद्भाव हो ।
२. नेपाली साहित्यको परिधिलाई असमियासम्म पुर्याउने जमर्को हो यो । अनुवाद मार्फत यसरी पनि भाषाको श्रीवृद्धि हुने गर्छ, साहित्यको विस्तृति हुन्छ ।
३. असमिया साहित्यको पनि ढुकुटी भरिनमा अन्य भाषाका यस्ता अनुवाद कृतिहरूको योगदान छ ।
४. तुलनात्मक अध्ययनलाई हिजोआज अत्यन्त महत्वपूर्ण तरिका मानिन्छ । नवमीले नेपाली लोकसाहित्यसित असमका अरू भाषाका लोकसाहित्यलाई तुलना गर्ने सुविधा गरिदिएको छ । असमका प्रख्यात र बहुप्रचलित लोककथा तेजीमलाको कथा, तुला र तेजाको कथा, पानेशैको कथालाई नवमी कथा संग्रहका कतिपय कथासित दाँज्न सकिन्छ ।
५. हराउन लागेका नेपाली लोककथाको संरक्षणमा असमिया भाषामा अनुवाद गरेर भए पनि सघाउ पुर्याएको छ, नवमी कथा संग्रहले । टीभी, मोबाइल, ल्यापटपमा व्यस्त अहिलेको हाम्रा पुस्ताले नेपाली कथाबारे कुनै दिन जान्न खोज्दा नवमी कथा संग्रहले सघाउ पुर्याउला ।
डा. द्रोणकुमार उपाध्याय असमकै हावा–पानीमा हुर्किएर, बढेर असमलाई मुटुभित्रै बोकेर हिंड्नु हुन्थ्यो र पनि समयक्रममा नेपालको नागरिक हुन पुग्नुभयो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत मेची बहुमुखी क्याम्पस–भद्रपुरमा लामो समयको प्राध्यापनपछि सेवानिवृत्त भई समाज र साहित्य सेवामा झन् दत्तचित्तले लागेको बेला उहाँको मृत्यु हुनु केवल हामी आत्मीयहरूका निम्ति मात्र पीडा र वेदनाको कुरा होइन, नेपाली भाषा–साहित्य समाजका निम्ति नै अत्यन्त दुखद् कुरा हो । सन्देह छैन, समाजका अत्यन्त जनप्रिय मिलनसार व्यक्तित्व प्रा.डा. उपाध्यायले आफ्नो जीवन अवधिमा गरेका कामहरूले उहाँलाई अमर राख्नेछ । मृत्यु सर्वमान्य अखण्डनीय सत्य हो, तर मृत्युसित जीवनले हार माने पनि कतिपय कर्मले मृत्युलाई जित्ने गर्छ । डा. उपाध्यायले जितेर जानुभएको छ मृत्युलाई अनि जितेर जानु भएको छ, भाषा–साहित्य समाजलाई । भाषा–साहित्यको निःस्वार्थ सेवा गर्ने आदर्श हामी सबैका हृदयलाई देखाएर जानुभएको छ । नवमी कथा संग्रह त एउटा सानो उदाहरण मात्र हो, उहाँको कर्मको । साँचो भन्नु हो भने, उपाध्यायको विराट व्यक्तित्वको एउटा सानो झिल्को मात्र हो यो सहअनुवाद कृति । तर, सानोभन्दा सानो झिल्काको पनि आफ्नै महत्व त हुन्छ नै !                   -गुवाहाटी, असम

ट्यागहरू:
literature sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
अनुभूतिका आँखामा 'भाले धनेस'___
अनुभूतिका आँखामा 'भाले धनेस'___
✍️ निलिमा आचार्य ,पोष्ट-दिलिप घिमिरे - मङ्गलबार ६ अक्टोबर २०२६
कविवर राजेश ‘ढुङ्गानालाई मैले खोजेको देश’ कविता सङ्ग्रहमा नियाल्दाः–
कविवर राजेश ‘ढुङ्गानालाई मैले खोजेको देश’ कविता सङ्ग्रहमा नियाल्दाः–
तारा विविध पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार २७ डिसेम्बर २०२४