स्रष्टा टङ्क विकल्पको ईश्वरलाई प्रश्न:एक समीक्षा - पुण्यप्रसाद खरेल

पुण्यप्रसाद खरेल · मंसिर १२, २०८३ ६:०५ PM
Cover Image for News

मैले तीन–चार दिन लगाएर टङ्क विकल्पको कविता कृति ‘ईश्वरलाई प्रश्न’ सर्सर्ति पढें । विकल्प झापाका स्थापित कवि हुन्, नाटककार हुन् । उनको प्रथम कृति त नाटक सङ्ग्रह ‘घडीका सुइराहरू’ (२०६९) हो । नाटक लेख्ने, नाटक खेलाउने उहाँको पहिलो परिचय हो । तर अहिले ‘ईश्वरलाई प्रश्न’ (२०८३) नामक गज्जबको कविता सङ्ग्रह लिएर उपस्थित हुनुभयो । 

झर्रा शब्दहरू, नेपाली खेती–किसानीमा बाँचेका जनताका खेती–किसानीकै बिम्ब, प्रतिक उपयोग गर्दै केही लोक छन्दमा, ज्यादाजसो गद्य छन्दमा १०० वटा कविताहरूको भोलुम दिनुभयो साहित्यका पाठकहरूलाई, एक थान गह्रुङ्गो कृति थपिदिनु भयो नेपाली साहित्य भण्डारलाई । 

कवि टङ्क विकल्पका कविताहरू पढ्दा केरा, स्याउ, नास्पाती खानजस्तै सजिलो, मिठो लाग्छ । हाडेओखर खानुजस्तो हुँदैन, कटहर खानुजस्तो झमेला पर्दैन । मिठा पनि, पोसिला पनि कविताहरू । नेपाली किसानका जीवनका, किसानका साधनहरू, औजारहरूका प्रतिक, बिम्बबाट सृजित, टाढा जानुभयो भने रामायण, महाभारतका कथाहरूसम्म अलिअलि थोरै उपनिषदसम्म पुग्नुहोला । नभए किसानको छोरो, किसानका कुराले छपक्कै छन् । उनका कवितामा शहर कम, गाउँ नै ज्यादा बोल्छन् । 

साह्रै छोटा कवितामा बिम्ब र प्रतिक खाँदेर त्यसको सार बुझ्न पाठकले घोत्लिनु पर्ने झन्झटमा पार्ने छैनन् कविताहरु । सामान्य चेतनाका सालाखाला मानिसले बुझ्ने, अझ व्याख्यात्मक पारामै कविता लेख्ने कवि विकल्पको शैली नै राम्रो लाग्छ मलाई । यो कविता सङ्ग्रह झापामा प्रकाशित धेरै कविहरूका कविता सङ्ग्रहसँग श्रेष्ठताको लडाईंमा सिङ जुधाउन नदप्ने किसिमको छ । दार्शनिक रूपले वा वैचारिक रूपमा हेर्दा परम्परागत विश्वदृष्टिकै, हाम्रो हिन्दू मानवतावादी आदर्शकै सेरोफेरोका कविताहरू छन् । शब्द चयन, विषय चयन, शैली जनपक्षीय छ । 

कवि विकल्पका केही कविताहरू साह्रै राम्रा लाग्ने छन् । पाठकको अतितप्रेम (नोस्ट्याल्जिया)लाई बल्झाएर लट्याउने किसिमका छन् । देशभक्ति, मातृभूमिको प्रेमबाट ओतप्रोत भएका कविता छन् । बाबु, आमा, गुरुजन, हाम्रो संस्कृतिप्रति श्रद्धा व्यक्त गर्ने कविता छन् । “संसार दुई दिनको रामछाया हो, क्षणभङ्गुर छ जीवन” भन्ने कविताहरू पनि छन् । समाजमा देखिने विविध विकृति, बिसङ्गति, अपराध आदिका विरुद्ध पनि बोल्छन् कविता । बिग्रँदो पर्यावरणप्रति चिन्ता गरिएका कविता पनि छन् । राजनीतिक दृष्टिबाट प्रभावित, चुनावले जनतालाई हैरान पारेको, सधैं ढाँटेकोबाट प्रभावित कविता पनि छन् । छाँट पारेर अभिव्यक्त गर्ने कविहरूको आ–आफ्नो पारा हुन्छ नै, त्यसैगरी आफ्नै विशिष्टतामा देखापर्छन् कवि विकल्प यस सङ्ग्रहमा । 

कविको कविता लेख्ता व्यक्तिको बितेको सुन्दर अतितलाई  सम्झाउँदै, हाम्रा गाउँले परिवेशका, हाम्रा हराउँदै गएका सरदामहरूको उल्लेख गर्दै पाठकलाई संवेदित पारेर आफ्ना कुरा भन्ने शैली उपयोग भएका कविता ‘आमा’, ‘त्यहीं छ’, ‘जतन’, ‘हाओ सोल्टिनी’, ‘कसी’, ‘समयसँग समय नहुँदो रहेछ’, ‘दुख्यो कि’, ‘हाम्रो आवाज’, ‘बाले थामेको आकाश’ जस्ता कविताहरू पढ्दा भावुक हुँदै पढिन्छ र फेरि कविता दोहो¥याउन मन लाग्छ । 

‘फेरि ऊ आउँदैछ’, ‘शायद नसोधिएका प्रश्न’ जस्ता कविताले गाउँमा चुनाव लागेको, जनता ठगिएको, ढाँटिएको सम्झन पुगिन्छ । यी दुई कविता मात्रै होलान् सायद यस कृतिमा प्रस्ट राजनीतिक विचारसँग सम्बद्ध भएका कविता । 

कवितामा वडो छरितो पाराले आफ्ना कुरा प्रस्ट्याउन कवि विकल्प शब्दको छनोट गर्न, प्रतिकहरूको उपयोग गर्न अति सिपालु देखिन्छन् । ‘जहाँ नपहुँचे रवि, उहाँ पहुँचे कवि’ भन्ने भनाइलाई पुष्टि गर्ने ‘कवि’ शीर्षको राम्रो कवितामा उनी भन्छन्–

अक्षर अक्षरहरू जोडेर

शब्दहरूको माला पनि

सबैभन्दा पहिले कविले नै उन्यो

कविले नै हिमाल हाँसेको देख्यो

इन्द्रधनुष रङ्गिएको र

गगनमा बिजुली नाचेको देख्यो

स्वर्गमा परीले कटी भाँचेको पनि 

कविले नै देख्यो

आफू मरेर अरु बाँचेको पनि 

कविले नै देख्यो ।

नयाँ वर्षको शुभकामना धेरैले गर्ने गरेकै छन्, गर्छन् । ‘यस्तो होस् नयाँ वर्ष’ शीर्षकको कवितामा कवि विकल्पको शुभकामना गराइको नमुना हेरौ त –

यो नयाँ वर्षदेखि

कोही पनि सुदामा बन्नु नपरोस्

कसैलाई कृष्ण मानेर

कुनै रावणका आँखाहरूले

अब सीता हरण नगरोस्

... ... ...

अब कुरुक्षेत्र बन्न नपरोस्

फेरि पाण्डव र कौरवहरूको

दम्भ बिसाउन

अब कहिल्यै कालो घाम नउदाओस्

बिहानको क्षितिजबाट । 

धेरैले भन्ने गर्छन् पहिला मान्छे सज्जन थिए, विवेकी थिए । बिस्तारै बिस्तारै मानिसको त्यो सज्जन्याइँ, त्यो विवेक गुम्दै गएको छ, मानवताको पारो घट्तै गएको छ । हुन त यो बहसको विषय होला । तर कवि विकल्प यो स्वीकार्दै “ओ मान्छेहरू ! फेरि मान्छे बन !” भन्ने कवितामा भन्छन्–

तिमीचैं मान्छेबाट कैंचीमा बदलियौ र

मान्छेकै इमान काटिरह्यौ

मान्छेबाट पत्थरमा बदलियौ र

मान्छेकै मुटु थिचिरह्यौ

मान्छेबाट अमान्छेमा बदलियौ र

एकोहोरो मानवताकै खिलाफमा दौडिरह्यौ

मानवीय अस्मिताकै क्षतिमा

हिंस्रक अमान्छे बनिरह्यौ

त्यसैले

ओ मान्छेहरू ! 

अब फेरि एकपटक बदलिएर मान्छे बन !

कवि विकल्पका केही कविताहरू जस्तै ‘पाकेटमार केटी’, ‘बाँकी अर्को दृश्यमा’, ‘छुट्टै कविता यसपालीको’ बेग्लै मिठासका लाग्छन् । पर्यावरणको चिन्ता गरेर लेखिएको कविता ‘सिङ्गो ब्रह्माण्ड नै डिप्रेसनमा’ अझै सयमा एक एकलो ठिङ्ग उभिएको छ । 

कविका कविताहरूमा सुक्तिपूर्ण कुराहरू पनि कविले कवितामा धेरै लेखेका छन् । नमुनाको रूपमा एकदुई उदाहरण –

पानीलाई पखाल्नु पर्दैन

आगोलाई तताउनु पर्दैन

जीवन भोगाइ नै एउटा सिद्धान्त हो

कसैले बताउनु पर्दैन । 

                पृष्ठ–१६

रूपको उज्यालो त

कर्कलोमा खसेको शीतको थोपा जस्तै हो

बैंसका ओठको मुस्कान पनि

फूल डालीबाट नझरुञ्जेल सम्मको हो     

                पृष्ठ–१०४

सरगमको तालमा नाच्न नजान्नेहरू

आँगन टेढो देख्छन्

गुलाबको सौन्दर्य र चमेलीको सुवास नबुझ्नेहरू

बुकीमा सुन्दरता र पलाँसमा वासना खोज्छन् ।

                पृष्ठ–१४३

खोइ त 

तातो भएर पनि 

घामले पसिना कहिल्यै काड्दैन

चिसो भएर पनि 

हिमालले आगो कहिल्यै ताप्तैन 

                  पृष्ठ – ४३

कविता सङ्ग्रहमा शीर्षक कविताको रूपमा उभिएको छ “ईश्वरलाई अन्तिम प्रश्न” भनेर कविता क्रमको ३ नम्बरमा । यहाँ कवि प्रकृतिका विशिष्ट देनहरूउपर प्रश्न गर्छन् । यी प्रश्नहरूको उत्तर त ईश्वरले के देलान् र ! किनभने प्रश्नहरूको अन्तिम प्रश्न छ –

आज एउटा अन्तिम प्रश्न गर्दैछु

कि 

स्वयम् ईश्वरलाई लाटो बनाउने को हो ?

                पृष्ठ–५

तर विश्वभर मानव जगत्मा यी प्रश्नहरूको उत्तर नभएको होइन । धेरै दार्शनिकहरूले आ–आफ्ना पाराले उत्तर गर्ने गरेका छन् । ती उत्तरको कोणलाई म यहाँ प्रस्तुत गर्न कोसिस गर्छु । ती दुई उत्तरको सङ्केत गर्ने दुई श्लोक र तिनको सङ्केत यहाँ –

पहिलो–

येन शुक्ला कृता हंसा शुकाश्च हरिताकृता

मयुराश्चित्रिता येन स ते वृत्तिम् विधास्यसि । 

(अर्थात् ः जसले हाँसलाई सेतो बनायो, सुगालाई हरियो बनायो, मयुरलाई रङ्गीविरङ्गी चित्रित ग¥यो उसले नै सबै चराचरको निर्वाहको वृत्तिको व्यवस्था गर्दछ । अर्थात् “यो गर्ने परमेश्वरै हो” भन्ने उत्तर हो ।) 

अर्को छ –

न कण्टकाणां प्रकरोति तैक्ष्णं विचत्रभावं मृगपक्षिणाञ्च

माधुर्यमिक्षो कटुताञ्च निम्बे स्वभावतः सर्वमिदम् प्रवृत्तम् । 

(अर्थात् ः न त काँडालाई कसैले तिखार्नु पर्छ, मृग पक्षीहरूलाई न कसैले चित्रविचित्र रङ भर्नुपर्छ, न त कसैले उखुमा गुलियो, निममा तितो हाल्नु नै पर्छ ! यो सब स्वभाविक र आफसेआफ हुने हुन् ।)

कविले ईश्वरसँग गर्नुभएका धेरैजसो प्रश्नका तार्किक उत्तरहरू त विज्ञानले दिई नै पनि सकेको छ । जस्तै– “सूर्यको आङमा तातो सल्काउने को हो ? ताराहरू बाल्ने निभाउने स्वीच कसको हातमा छ ? इन्द्रेणीलाई सिँगार्ने सर्जक को हुन् ?” जस्ता प्रश्नहरूको सटिक उत्तर प्राप्त छन् । तैपनि यहाँ सोधिएका केही प्रश्नहरू छन्, जसको उत्तर बारेमा दुनियाँमा दुई दृष्टिकोणका, दुई दर्शनमा आधारित उत्तर प्राप्त हुने गर्छन् । 

कवि विकल्पको पुस्तकको नामचाहिँ वडा सटिक लाग्छ, तर मलाई त भित्र कविताहरू पढ्दा योभन्दा अरु निकै कविता विचारका दृष्टिले पनि, कलाका दृष्टिले पनि राम्रा लाग्दा थिए । शीर्षक कविता प्रायः सबैभन्दा अग्लो मान्ने गरिने हुँदा यो नाममा प्रश्न गर्न मन लाग्यो । तर अब नाम पाएर सबैमा परिचित भइसकेपछि यो प्रश्न ईश्वरलाई प्रश्न जस्तै भए होस् !

मिति ः २०८३ मङ्सिर ११

ट्यागहरू:
literature sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
कोइलाखानीले बोकेको मानव सभ्यताको कथा
कोइलाखानीले बोकेको मानव सभ्यताको कथा
मुनाराज शेर्मा पोष्ट-दिलिप घिमिरे - शुक्रबार २७ नोभेम्बर २०२६
`उरमाल'लाई हेर्दा - जय भण्डारी
`उरमाल'लाई हेर्दा - जय भण्डारी
जय भण्डारी - शुक्रबार २७ नोभेम्बर २०२६
हिराजस्ता हिराका कविता
हिराजस्ता हिराका कविता
✍️ डा. देवी क्षेत्री दुलाल, पोष्ट-दिलिप घिमिरे - शुक्रबार २० नोभेम्बर २०२६