‘हरेक दिन जिन्दगीको’ : जीवनका विडम्बनाको विम्बात्मक अभिव्यक्ति
समीक्षा
‘हरेक दिन जिन्दगीको’ : जीवनका विडम्बनाको विम्बात्मक अभिव्यक्ति
✍️ दिलिप घिमिरे
हरेक मान्छेको जीवनमा केही यस्ता अनुभूति हुन्छन्, जसलाई सामान्य शब्दले व्यक्त गर्न सकिँदैन। जब ती अनुभूतिले स्वर र लय पाउँछन्, तब गीत जन्मिन्छ।
जीवनमा मान्छेले चाहेका सबै कुरा सहजै प्राप्त हुँदैनन्। अघि बढ्न खोज्दा बाटोमै अवरोध आइपर्छ, आशा रोप्दा निराशा उम्रिन्छ र भरोसा गरेका आधार नै कमजोर बन्छन्। मानवीय जीवनका यस्तै असङ्गति र विडम्बनालाई गीतकार नानुमैया दाहालले ‘हरेक दिन जिन्दगीको’ गीतमा सरल तर अर्थपूर्ण विम्बमार्फत प्रस्तुत गरेकी छन्। शान्तिराम राईको सङ्गीत र उदय सोताङको स्वरमा आएको यस गीतले व्यक्तिगत पीडालाई साझा मानवीय अनुभूतिका रूपमा अभिव्यक्त गरेको छ।
‘हरेक दिन जिन्दगीको एउटा पाटो दुख्छ, कहिले चर्किन्छ यो छाती, कैले भाग्य फुट्छ’ भन्ने पङ्क्तिबाट गीतले आफ्नो भावभूमि तयार गर्छ। यहाँ दुःख कुनै एक घटनाको परिणाम होइन, जीवनका विभिन्न पाटामा निरन्तर आइरहने अनुभूति हो। ‘एउटा पाटो दुख्नु’ ले जीवनको बहुआयामिक पीडालाई सङ्केत गर्छ। छाती चर्किनु मनभित्रको वेदना हो भने भाग्य फुट्नु परिस्थितिले दिएको चोटको अभिव्यक्ति हो। यसरी गीतको सुरुआतमै भित्री पीडा र बाहिरी जीवनका प्रतिकूलता एकै ठाउँमा जोडिन्छन्।
गीतको एउटा उल्लेखनीय पक्ष प्रकृतिका दृश्यलाई मानवीय नियतिको विम्बका रूपमा प्रयोग गर्नु हो। ‘हिँड्न खोज्दा भीर खस्छ, बाटो रोक्नलाई’ भन्ने पङ्क्तिमा अघि बढ्न खोज्ने मान्छेका सामु प्रकृति नै अवरोध बनेर उभिएको छ। ‘सपना रोप्दा हुस्सु आउँछ, दृश्य छेक्नलाई’ ले आशा र सम्भावनालाई अन्योलले ढाकेको अवस्था देखाउँछ। यहाँ ‘सपना देख्नु’को सट्टा ‘रोप्नु’ शब्दको प्रयोग अर्थपूर्ण छ। रोपिएको सपनाभित्र श्रम, प्रतीक्षा र भविष्यप्रतिको भरोसा पनि हुन्छ। तर त्यो सपना हुर्कन नपाउँदै हुस्सुले दृश्य छेकिदिन्छ।
‘अचम्म छ, बिनाबादल चट्याङ यहाँ खस्छ’ पङ्क्तिले जीवनमा विपत्ति सधैँ पूर्वसङ्केत दिएर आउँदैन भन्ने अनिश्चिततालाई व्यक्त गर्छ। ‘अचम्म छ’ भन्ने उद्गारले त्यसप्रतिको विस्मय र असहजता देखाउँछ। त्यसलगत्तै आउने ‘किन होला धुरीमाथि सधैँ हुचिल बस्छ’ भन्ने प्रश्नले त्यो विस्मयलाई अझ गहिरो बनाउँछ। गाउँघरमा हुचिलको उपस्थितिलाई अनिष्टसँग जोडेर हेर्ने लोकविश्वास छ। घरको धुरीमाथि सधैँ हुचिल बसिरहेको दृश्यले घरपरिवारको जीवनमा पनि अनिष्टको छाया हट्न नसकेको अनुभूति दिन्छ। भीर, हुस्सु, चट्याङ र हुचिलका यी विम्बले प्रकृतिको अनिश्चित र रहस्यमय रूपलाई मानवीय जीवनका प्रतिकूलतासँग गाँसेका छन्। प्रकृति यहाँ दृश्य सजाउने माध्यम मात्र नभई जीवनका विडम्बना व्यक्त गर्ने प्रतीक बनेर आएको छ।
गीतका पछिल्ला पङ्क्तिमा प्रकृतिका विम्ब घर, आस्था र ग्रामीण जीवनका वस्तुसँग जोडिन्छन्। ‘छातीछेउमा फूल रोप्दा काँडै मात्रै फुल्छ’ मा माया र सद्भावको अपेक्षाविपरीत पीडा प्राप्त हुने विडम्बना छ। फूल र काँडाको विम्ब परिचित भए पनि ‘छातीछेउमा फूल रोप्नु’ भन्ने प्रयोगले आत्मीय सम्बन्धभित्रै चोट उम्रिएको अनुभूति दिन्छ। ‘बर माग्द मन्दिर जाँदा देवता आफैँ रुन्छ’ भन्ने पङ्क्तिले आस्थाको अन्तिम आश्रय मानिएको मन्दिरमै निराशा भेटिने अवस्था देखाउँछ। भक्तले मात्र दुःख भोगेको छैन, देवता स्वयं रुनुपर्ने दृश्य निर्माण गरेर गीतकारले पीडाको व्यापकता देखाएकी छन्।
‘जातो आफैँ विदा माग्छ, दुःख पिस्न जाँदा’ र ‘चौतारी नै ढल्न खोज्छ, पीडा बिसाउँदा’ गीतका विशिष्ट विम्ब हुन्। जातो अन्न पिस्ने घरेलु साधन मात्र होइन, ग्रामीण श्रम र जीवनशैलीसँग जोडिएको परिचित वस्तु पनि हो। दुःख पिस्न जाँदा जातोले नै बिदा माग्नुले दुःख घटाउने साधनसमेत थाकिसकेको अवस्था देखाउँछ। त्यस्तै, पीडा बिसाउने चौतारी नै ढल्न खोज्नुले सहारा खोजिएको ठाउँसमेत असहाय बनेको अनुभूति दिन्छ। निर्जीव वस्तुलाई मानवीय व्यवहार दिएर गीतकारले जीवनको थकान र असहायतालाई दृश्यात्मक बनाएकी छन्।
गीतका विम्बहरू प्रकृति, लोकविश्वास, घरायसी जीवन, आस्था र श्रमका फरक–फरक संसारबाट आएका छन्। तर तिनको भाव एउटै छ—हिँड्न खोज्दा बाटो बन्द हुनु, रोपिएका आशा नफुल्नु र भरोसा गरिएका आधार नै कमजोर बन्नु। प्रकृतिको अनिश्चितता होस् वा घरको धुरीमा बसेको हुचिल, मन्दिरमा रोएको देवता होस् वा बिदा मागेको जातो; सबैले मान्छेको असहाय अवस्थालाई फरक कोणबाट देखाउँछन्। यही विम्बशृङ्खलाले गीतलाई केवल दुःखको बयान हुनबाट जोगाएको छ।
गीतको भाषा सरल र बोलचालको छ। दैनिक जीवनका दृश्यबाट गहिरो भाव व्यक्त गर्नु यसको सबल पक्ष हो। विशेषतः जातो र चौतारीका विम्बमा ग्रामीण जीवनसँगको निकटता र मौलिक अभिव्यक्ति भेटिन्छ। यद्यपि, फूल र काँडाजस्ता केही विम्ब नेपाली काव्यपरम्परामा परिचित छन्। त्यस्तै, अधिकांश दृश्य निराशा, अवरोध र असहायताकै वरिपरि केन्द्रित हुँदा भावगत विविधता केही सीमित भएको अनुभूति हुन्छ। पीडाभित्रैबाट प्रतिरोध, आत्मबल वा आशाको सानो सङ्केतसमेत देखाउन सके गीतको भावयात्रा अझ फराकिलो बन्न सक्थ्यो। यो गीतको मूल संवेदनामाथिको प्रश्न नभई अभिव्यक्तिलाई अझ विस्तार गर्न सकिने सम्भावनातर्फको सङ्केत हो।
शब्दले निर्माण गरेको भावभूमिलाई शान्तिराम राईको सङ्गीतले श्रवणीय बनाएको छ। गीतको सङ्गीत मिठासपूर्ण र मन छुने खालको छ। यसको मधुरताले शब्दमा व्यक्त पीडालाई बोझिलो हुन नदिई आत्मीय अनुभूतिमा रूपान्तरण गर्छ। राईको सङ्गीत सिर्जनामा रहेको मेलोडीप्रतिको पकड यस गीतमा पनि अनुभव गर्न सकिन्छ। बीचबीचमा आउने कोरसले मुख्य गायनलाई साथ दिँदै गीतमा सामूहिक स्वरको आयाम थपेको छ। यसले गीतको भाव र श्रवणीयता दुवैलाई थप प्रभावकारी बनाएको छ।
उदय सोताङको स्वरले गीतका शब्दलाई न्याय गरेको छ। उनका स्वरमा रहेको आत्मीयता र भाव सम्प्रेषण गर्ने क्षमताले गीतमा व्यक्त पीडा र विस्मयलाई श्रोतासम्म पुर्याउँछ। नेपाली सङ्गीतमा आफ्नो छुट्टै पहिचान बनाएका सोताङको गायकी यस गीतको भावअनुकूल छ। शान्तिराम राईको सङ्गीत र उदय सोताङको गायनबीचको तालमेल यस गीतको महत्त्वपूर्ण आकर्षण बनेको छ।

गीतको सङ्गीत संयोजन राजु कार्कीले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ योगेन मुकारुङले गरेका छन्। सेवा स्टुडियोमा तयार भएको गीतको भिडियो छायाङ्कन, सम्पादन र रङ संयोजन जीवन मुकारुङले गरेका छन्। गीत रुद्र सुवेदीको प्रस्तुतिमा सार्वजनिक भएको हो।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा जन्मिएकी गीतकार दाहाल हाल विराटनगरमा बसोबास गर्छिन्। पोखरिया माध्यमिक विद्यालयमा अध्यापनरत उनी करिब डेढ दशकदेखि साहित्य सिर्जनामा सक्रिय छिन्। कविता, मुक्तक, यात्रानिबन्ध र समसामयिक विषयमा लेख्दै आएकी उनको ‘खुल्ला आकाशमुनि’ शीर्षकको मुक्तक कृति प्रकाशित छ। विभिन्न साहित्यिक पुरस्कार तथा सम्मान प्राप्त गरेकी उनको कविता सङ्ग्रह प्रकाशनको तयारीमा रहेको छ।
समग्रमा, ‘हरेक दिन जिन्दगीको’ जीवनका असफलता र निराशालाई सामान्य शब्दमा मात्र व्यक्त गर्ने गीत होइन। प्रकृति, लोकविश्वास र ग्रामीण जीवनका परिचित दृश्यलाई मानवीय पीडासँग जोडेर गीतकारले जीवनका विडम्बनाको सघन चित्र प्रस्तुत गरेकी छन्। केही विम्ब परिचित हुनु र भावको दायरा निराशामै बढी केन्द्रित रहनु यसका सीमित पक्ष हुन्। तर ‘बिनाबादल चट्याङ’, ‘धुरीमाथि हुचिल’, ‘जातो आफैँ विदा माग्नु’ र ‘चौतारी ढल्न खोज्नु’ जस्ता दृश्यले गीतलाई आफ्नै परिवेश र अनुभूतिसँग जोड्छन्। सरल शब्द, जीवन्त विम्ब, मधुर सङ्गीत र भावपूर्ण गायनको संयोजनले गीतलाई श्रोताको मनमा बसिरहन सक्ने सम्भावना दिएको छ।
(भिडियो लिङ्क हेर्नुहोस्
phttps://youtu.be/HYiQtkU7M8I?si=9T8x_zn477KBiz5as://youtu.be/HYiQtkU7M8I?si=KTeBS_9mNNPjrSCu