`उरमाल'लाई हेर्दा - जय भण्डारी

जय भण्डारी · मंसिर १२, २०८३ ७:५४ AM
Cover Image for News

 उरमाल चिया बगानमा काम गर्ने श्रमिकहरूको कारूणिक कथा हो । नेपालीहरू भातसँग जीवन साट्न कहाँ पुगेनन् तर दु:ख साटिएन ओदालको खोटोझै आफ्नै छातीमा टाँसिइरह्यो  कतै खनीखोस्री कतै गोठला कतै मजदुर र चियाबारीका कामदार भएर आफ्नो जीवन तथा उनका पुस्तौंपुस्ताले आफूलाई बेचिरहे । अभावका धनी कमानेहरूको  बेलायतीहरूको  सत्तादेखि गोर्खाल्याण्डको आन्दोलनसम्मको नेपाली तथा स्थानीय आदिवासी जसको जीवन कमानको सीमित ज्यालाभित्र समेटिएको छ । उनीहरुले ओडेको आकाश र बसेको धर्ती आफ्नो होइन । 
उनीहरूका पुर्खाका पसिनाले सिंचित चियाका बुट्टाहरू आफ्ना कहिल्यै भएनन् । उनीहरूलाई बगानका मजदुरभन्दा माथिल्लो पद प्रतिष्ठा  प्राप्त भएन कहिल्यै । आदिवासीको 'आ' र  गोर्खाको 'गो' मिसाएर आन्दोलनको आगो बाल्न चाहेका  नेपाली र आदिवासीको वीच रहेको सम्बन्ध र सहयोगलाई समेत दुई किनारा लगाएर राजनीति गर्नेहरूले फाइदा उठाएको व्यहोरा मार्मिक ढंगले उठाइएको छ उपन्यासमा । श्रमिक र मालिक बीच द्वन्द्व ( वर्ग सङ्‌घर्ष )ले उपन्यासको ठूलै क्षेत्रफल ओगटेको छ । चिया श्रमिकको  धुरामा पसेर एउटा वालक  चितुवाले खाएको हृदय विदारक अवस्थामा  जङ्गलबाट आएको जन्तुले खाएको हुँदा वन विभागले जिम्मेवारी वहन गर्नु पर्ने कमान‌ले दावी गर्दा कमानमा पसेर खाएको हुँदा कमानले जिम्मेवारी लिनु पर्नेमा लामो रस्साकस्सी चलेको देखाइएको छ । आसु वगाउँनेको पीडा घाउमाथि नुनचुक सावित भएको छ ।नेपाली भाषा र नेपालीपनप्रति काविमोले उठाएको खुकुरीको प्रसङ्गले गर्वबोध गराउँछ । आन्दोलनकारीले भानुभक्तको प्रतिमाको टाउको छुट्याएकोमा लालबहादुर(पात्र) ले " भानुको शिर काट्नु भनेको चै हाम्रो शिर ढल्नु हो । तिमी जे सुकै गर म चै भोलि विहानै भानुको टाउको जोड्न जान्छु I " आन्दोलनकारीको  भिडमा आफ्नो ज्यानको पर्वाह नगरी नेपाली भाषा तथा आफ्नो 
पहिचान बचाउन गरेको महान उद्घोष संसारमा छरिएका नेपालीका लागि सन्देश हो भन्ने लाग्छ । एउटा कमाने अभिभावकले आफ्ना सन्तानका सुखसयलका लागि देखेको सपना पुरा गर्न मुस्किल हुन्छ  । सोमारीले छोरी नुरसाङप्रति १ दर्जन वर्षहरूमा मेहनत गरेर पढाएको अवधि र उनका सपनाहरू त्यस दिन पानीमा बगे जुन दिन सोमारी विरामले थलिएकी थिइन् र नुरसाङसँग माध्यमिक परीक्षा दिनका लागि जाने खर्च थिएन । उपन्यास पढ्दा नुरसाङ जसरी भए पनि माध्यमिक परीक्षा लेख्न जावोस्  जस्तो लागिरहन्छ । कविमोले परीक्षा हलमा पुऱ्याउँदैनन्  उनलाई ,वरू हजार सपनाहरूलाई तिलाञ्जली दिँदै नुरसाङले त्यही पुरानो तथा मैलो आमाले दशकौं वर्षसम्म बोकेर घरको भित्तामा झुण्ड्याई राखेको उरमाल ( चिया टिप्ने महिलाहरुको काधमा झुण्ड्‌याउने झोला ) आफ्नो काँधमा झुण्ड्याएर परीक्षा दिनजाने दिन विहान परीक्षा केन्द्रको सट्टा चिया वगानतिर लागिन्  ।

ट्यागहरू:
literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
हिराजस्ता हिराका कविता
हिराजस्ता हिराका कविता
✍️ डा. देवी क्षेत्री दुलाल, पोष्ट-दिलिप घिमिरे - शुक्रबार २० नोभेम्बर २०२६