प्रा.द्रोण उपाध्यायको असमिया सहअनुवाद कृतिः नवमी -डा. इन्दुप्रभादेवी, भाग-१
विषय प्रवेशः
लोकसाहित्य तथा लोकवार्ताका विशेष अध्येता डा. द्रोणकुमार उपाध्याय नेपाली साहित्यकै वलिष्ठ हस्ताक्षर मानिनु हुन्छ । उहाँको साहित्यिक जीवनको प्रारम्भ जन्मभूमि असममा भयो र विकास कर्मभूमि नेपालमा । हुन त प्रारम्भिक स्तरमा असम पनि उहाँको कर्मभूमि थियो । नेपाली मात्र नभएर संस्कृत, हिन्दी, असमिया, राजवंशी, बंगला आदि विभिन्न भाषामा पारंगत, बहुमुखी प्रतिभाका धनी प्राज्ञ पुरुष डा. उपाध्यायका महत्वपूर्ण मौलिक कृतिहरू त छँदैछन्, अप्रकाशितै रहेका अनुवाद कृतिहरू, सहलेखनमा पनि प्रकाशित छन्; अनुवाद र मौलिक कृति । विभिन्न भाषाका पत्रपत्रिका र पुस्तकहरूमा उहाँका विश्लेषणात्मक, शोधपरक निबन्धहरू प्रकाश भएका छन् । डा. उपाध्यायले असमका प्रख्यात साहित्यिक भाषाविद् तारापति उपाध्यायसित सन् २००५ मा आदर्श नेपाली व्याकरणको सहलेखन गर्नुभएको थियो । असम भेकमा त्यो थियो, भाषा विषयको एउटा महत्वपूर्ण काम । तर, त्यसभन्दा धेरै अघि पनि सन् १९७७ मा तारापति उपाध्याय र अरू एक जना वरिष्ठ साहित्यिक टीकाराम उपाध्याय ‘निर्भीक’सित मिलेर उहाँले असमिया भाषामा नेपाली लोककथाको सङ्ग्रह गरी अनुवादको काम गर्नुभएको थियो । असम साहित्य सभाले नवमी शीर्षकमा त्यस सङ्ग्रहलाई दुई पटक प्रकाशित गरेको थियो । लोककथाको त्यो सङ्ग्रह र सहअनुवाद कृतिको दोस्रो संस्करण मेरा हातमा छ र त्यसकै संक्षिप्त चर्चा गर्ने सानो प्रयास गरेकी छु, यस निबन्धमा ।
नवमी कथा कृतिको प्रकाश सन्दर्भः
असमको सबैभन्दा व्यापक, सबैभन्दा जनप्रिय र वलिष्ठ साहित्यिक संस्था हो– असम साहित्य सभा । सन् १९१७ मा जन्मिएको यो संस्थाले असमका सबै जाति जनजातिको उत्तरोत्तर उन्नतिका निम्ति विभिन्न साहित्यिक चिन्तनहरूलाई, प्रस्तावहरूलाई कार्यान्वयन गर्दै आएको छ । त्यस्तै कार्यभित्रको एउटा थियो ‘नवमी’ ।
सन् १९७७ मा प्रकाशित नवमीको पहिलो संस्करणमा असम साहित्य सभाका तदानीन्तन मुख्य सचिव हेमन्तकुमार शर्माले आफ्नो मन्तव्यमा लेखेका कुराले नवमीको प्रकाश पक्षलाई स्पष्ट पारेको छ । असमका विभिन्न जाति–उपजातिहरू एउटा विराट असमिया जातिकै शाखा–प्रशाखा र अविच्छेद्य अङ्ग हुन् । असममा अनेकौं जाति–उपजाति बाहेक पनि विभिन्न धर्मका मानिस छन् । ...असमिया जातिलाई सम्यक रूपमा जान्न खोज्नु हो भने यिनीहरूको सुख दुःखको कुरा पनि बुझ्नु पर्ने हुन्छ । हामी सबै एकजुट भएर असमिया तथा महान भारतीय जातिका रूपमा समृद्धिको बाटामा हिँड्नलाई असम र छिमेकी राज्यका बासिन्दाहरूले परस्पर भ्रातृत्वको भाव अङ्गाल्नु पर्दछ । तर, त्यसभन्दा पहिला हामीले परस्परलाई बुझ्नु पर्दछ; परस्परको साहित्य, कलाकृष्टि तथा जातीय विशेषताहरूप्रति श्रद्धा गर्नु पर्दछ । यस्तै एउटा महान् उद्देश्य अघि राखेर असम साहित्य सभाको कार्यकारिणी समिति (१९७६–७७) ले असम र छिमेकी राज्यमा बसोबास गर्दै आएकाहरूको विभिन्न जनगोष्ठिका बीचमा प्रचलित लोककथाहरू सङ्ग्रह र सरल भाषामा प्रकाश गर्नलाई एउटा योजना लिएको छ । लोककथाको सङ्ग्र्रह गर्ने असम साहित्य सभाको यस योजनानुसार नै कार्वि, राभा, बडो, देउरी, मिसिङ आदिका लोककथा सँगसँगै नेपाली लोककथा नवमीको पनि प्रकाशन भएको हो ।
खुशीको कुरा, सन् १९९० मा ‘नवमी’को दोस्रो संस्करण पनि निस्कियो । त्यस समयमा मुख्य सचिव सतीशचन्द्र चौधुरीले नवमीसहित अरू धेरै पुस्तकहरू हतार–हतार प्रकाशन गर्नु परेको कुराको उल्लेख गर्नुभएको छ । यस पुस्तकमा सङ्ग्रहको भनाई अन्तर्भुक्त गरिएको छैन । सङ्ग्र्रहकको नाम क्रम अनुसार यसरी छन्– श्री द्रोण उपाध्याय, श्री तारापति उपाध्याय, श्री टीकाराम उपाध्याय ‘निर्भीक’ । नेपाली समाजमा बहुप्रचलित यी लोककथा वा दन्तेकथाको सङ्ग्रह गरी असमिया अनुवाद गर्ने व्यक्तिका रूपमा पुस्तकमा तीन जनाको नाम यसरी उल्लेख गरे तापनि कुन कथा कसले सङ्ग्रह गरी अनुवाद गर्नुभएको हो, त्यसको उल्लेख भने छैन । पुस्तकको प्रकाशकका रूपमा मुख्य सचिवको नाम छ । असम साहित्य सभाको नामोल्लेख बाहिरी पृष्ठमै छ । दोस्रो प्रकाशमा सर्वमोठ आठ हजार छापेको कुरा उल्लेख छ । यसको बाहिरी पृष्ठको अलंकरण धनञ्जय शर्माले गरेका छन् । गुवाहाटीको शिलपुखुरीको अरुणोदय प्रेसबाट निस्किएको यस पुस्तकको मूल्य छ– पाँच रुपिया ।
साधारण दृष्टिमा लोककथा र दन्तेकथा
पृथ्वीका जुनसुकै भाषाले लिखित रूप पाउनु अघि अलिखित मौखिक साहित्यको परम्परा बोकेकै हुन्छ । एक पुस्तादेखि अर्को पुस्ता हुँदै लोकसमाजमा मौखिक रूपमा प्रचलित हुँदै आएका यस्ता साहित्यमा न रचनाकारको नाम हुन्छ, न ठोस समयको उल्लेख । लोकसाहित्यका अनेक विधामध्ये लोककथालाई एउटा मुख्य विधा मानिन्छ । कल्पनाको स्वच्छन्द उडान भरेर मानव समाजका नीति, कुनीति, न्याय अन्याय, विश्वास अविश्वास, स्नेह द्वेष, प्रेम इष्र्या, सरलता कपटता आदि पक्षहरूलाई धरोहर बनाएर कथा बुन्ने प्रवृत्ति मानिसको आदिम प्रवृत्ति हो । प्रकृति, जीवजन्तु र मानिसले आत्मिक सहावस्थान गरेर बस्नाले पनि होला, लोककथाहरूमा प्रकृतिले पनि जीवन्त चरित्रको जस्तो र जीवजन्तुले पनि मानिसको जस्तो व्यवहार गरेको देखिन्छ । बालमनोजगतलाई आकृष्ट गर्न पनि यस्ता सबै किसिमका चरित्र समावेश गरिएको हुन सक्छ । अरू त के, कुनै–कुनै कथामा ईश्वर पनि साधारण पात्रका रूपमा चित्रित भएका हुन्छन् । यसरी पुस्ता–पुस्ता चल्दै आएका धेरैजसो कथाहरूमै वास्तविक जगतको लौकिक र धारणाको परिधि नाघेर अलौकिक, असम्भव विचित्र जगत्को निर्माण गरिएको हुन्छ । लोककथाहरूको अध्ययनमाथि पश्चिमेली पण्डितहरूले बडो महत्व दिएका छन् । उनीहरूले लोककथाहरूको कथानक प्रवृत्ति हेरेर विभिन्न विभागमा कथाहरूलाई विभाजन पनि गरेका छन् । हुन सक्छ, आधुनिक साहित्य प्रसंगमा यी लोककथाहरूको त्यतिबिघ्न महत्व नहोला, तर समाज तत्वको अध्ययनका लागि यी कथाहरूको मूल्य असीम छ ।
नेपाली समाजमा लोककथालाई दन्तेकथा भनेर पनि जानिन्छ । उल्लेख गर्नुपर्ने कुरा के हो भने, एउटा भाषाका लोककथाले विभिन्न अञ्चलमा आञ्चलिक विशेषता बोकेर केही फरक रूप पाउन पनि सक्छ । नेपालमा प्रचलित कथाहरू असममा अथवा अन्तै कतैको समाजमा सय प्रतिशत यथावत नहुन सक्छन् । किनकि लिखित रूप पाउनुअघि जनजिब्रो मार्फत बगेर आएका यी कथामा कतै–कतै केही थपघट हुनु स्वाभाविक कुरा हो । वर्णनमा केही भिन्नता भए पनि मूल कथानक प्रायः एकै रहेको देखिन्छ । यस्ता कथा भन्ने छुट्टै नियम पनि सँगसँगै चलिआएका छन् । अन्य समाजमा यस्ता नियम नभएका होइनन् । ‘दन्तेकथा राति मात्र सुनाउन सकिन्छ, दिउँसो यी कथा सुन्नु वा सुनाउनु हुँदैन’ भन्ने विश्वास नेपाली लोकसमाजमा प्रचलित छ । कथा एक्कासी शुरु नगरेर एकादेशमा वा एकादेशका टुप्पाका÷टाकुरीमा भनेर शुरु गर्ने र अन्त्यमा ‘सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, मेरो कथा बैकुण्ठ जाला, भन्नेबेला तात्तातै आइजाला’ भनेर समाप्त गर्ने चलन पनि देखिन्छ । असमियामा ‘हाम्रा पनि लुगाफाटा मैला भए, अनि हामी पनि फर्किएर आयौं’ भनेर कथाको समाप्ति गरिन्छ । हिजोआजका दिनमा चाहिं यी विश्वास वा चलनहरू पनि कथा जसरी नै प्रायः हराइसकेका छन् ।
नवमीका कथाहरूको विषयः
नवमी नौ वटा अनुदित लोककथाको सङ्ग्रह हो । नौ वटा कथा हुनाले नै नवमी नाम राखिएको हुनुपर्छ । यसमा भएका कथाहरू असमिया शीर्षकमा क्रम अनुसार यसरी छन् – डल्ला आरु टपरा (डल्ला र टपरा), निमातीर मात (नबोल्नेको बोली), धूर्त शियालर कथा (छट्टु स्यालको कथा), सोणकेशी कुँवरी (सुनकेशरी मैया), पुरुषर बुद्धि आरु स्त्री र साहस (पुरुषको बुद्धि र स्त्रीको साहस), रिमाल आरु योगी (रिमाल र जोगी), फुलकुमारी, बाहुत चन्द्र सूर्य थका कोँवर र कथा (पाखुरामा चन्द्र सूर्य भएका कुमारको कथा) र (खेरर जुइ) परालको आगो । परालको आगो नाम चाहिं असमियामै लेखेर असमिया अर्थ खेरर जुइ चाहिं कोष्ठकभित्र दिइएको छ ।
डल्ला र टपरा शीर्षक कथा नेपाली लोकसमाजमा बहुप्रचलित कथा हो, जसमा डल्ला र टपराको बन्धुत्व र एक्कासी आएको विपद्मा दुबैको सर्वनाश भएको कुरा छ । डल्ला र टपराले मित लगाएर दुबै एकसाथ खुशीले बसेका हुन्छन् । एक दिन डल्लाले भन्छ– बर्खा आउँदैछ, पानी परÞ्यो भने म भिजेर गलेर जान्छु, साथी ! तिमी छोपिदिनू ल ।’ टपराले भन्छ– ‘हुन्छ साथी ! तर, पानी नपरेर हावाहुण्डरी आयो भने मलाई उडाएर लान्छ, तिमीले थिचिदिनू ल’ भन्यो । त्यसदिन राति दुबै निदाएपछि अचानक ठुलो पानी पनि पर्छ, हावाहुण्डरी पनि आउँछ । के गरौं, कसो गरौं हुँदाहुँदै हावाले टपरालाई उडाएर लान्छ भने माटाको डल्लो माटामै बिलाउँछ । कथा यतिमै टुङ्गिन्छ । असमियामा दुबैको मितेरीको कुरा र विपत्तिको कुरा छोटकरीमै लेखिएको छ ।
दोस्रो कथा नबोल्नेको बोली पनि एउटा छोटो र सरल मनको कथा हो । बाटुले बिलका रामचन्द्र पुरेतका धेरै सन्तानहरू एक–एक गरी मरेर गएपछि बाँचेको एउटै सन्तानको नाम उनले गुहे राखे । गुहे दश वर्षको भएपछि गाउँकै सात वर्षकी चेली नेप्टीसित बिहे गरिदिए । केही वर्ष माइतमा बसेर नेप्टी घर त आई, तर ऊ गुहेसित बोल्दै बोलिन । घरको सबै काम राम्रोसित गरे पनि त्यो नबोल्ने बानीले गर्दा गुहेको मन खिन्न भयो । एक दिन त ‘आज चाहिं म बोलाएरै छाड्छु’ भन्ने ठानी धोतीको लामो फुर्कोमा आगो लाग्न सक्ने गरी अँगेनाको डिलमा बस्यो । ठिक त्यसैबेला नेप्टी खानेकुरा लिएर आई । उसले खानेकुरा राख्दै गर्दा धोतीको फुर्कोमा आगो लागेको देखी अनि कसैको धोतीको फुर्कामा आगो लाग्यो है भन्दै कराई । नबोल्नेले बोली भन्दै गुहे मुसुक्क हाँस्यो । त्यस दिनदेखि दुबैको बोलिचाली हुन थाल्यो र हाँसिखुशी घरसंसार चलाउन थाले ।
छट्टु स्यालको कथा एउटा लामो कथा हो । स्यालको चतुराइँ र धेर चतुराइँले निम्त्याएको विपद्को वर्णन कथामा छ । यो कथा डल्ला र टपराजस्तै धेरै प्रचलित कथा हो । एउटा गाउँको एउटा ठुलो जङ्गलमा बस्ने छट्टु स्यालले चील आयो, चील आयो भनी कराई मान्छेलाई माथि हेराउँदै तल कुखुरा च्यापेर भाग्ने गरेको वर्णन छ । त्यसरी नै एक दिन मान्छेले समातेर घिसार्दा जता कष्ट पाउँछ, त्यता अहा कस्तो सन्चो भयो भनेर चतुराइँ गरेको र मान्छेले लगेर एउटा रूखमा बाँधेपछि बाटामा हिंड्नेहरूबाट मुक्की खाएर झन् मोटाएको, भालुलाई फँसाएर त्यहाँबाट भागेको, पछि मरेका हात्तीको मलद्वारबाट पसेको बेला महादेवलाई पनि ठगेको, महादेवले एउटा लिसोको बालक बनाई त्यसका हातमा लड्डु राखिदिएर स्याललाई फँसाएको र अन्तिममा पार्वतीले माफ गरिदिएपछि महादेवकै गणमा भर्ना भएको लामो वर्णन यसमा छ ।
नेपाली समाजमा सुनकेशरी मैयाको कथा (कतै सुनकेशरी रानीको कथा भनिन्छ) नसुनेका शायदै कोही होलान् । असमिया अनुवाद सोणकेशी कुँवरीमा मूल कथानक एकै छ । एकपछि एक सुनकेशरीका तिनै घटनाक्रम यसमा छन् । सुनकेशरीको केश हराउँछ अनि राजाले जसले भेट्छ, त्योसित उसको विवाह गरिदिने भनी घोषणा गरेपछि दुर्भाग्यवश आफ्नै माइला दाजुले त्यो केश प्राप्त गर्छ, सुनकेशरी दुःखले रूखमाथि चढ्छे, सुनकेशरीलाई विवाहको बेला भयो भन्दै बाउ–आमा–दाजु प्रत्येकले बोलाउँछन्, प्रत्येकलाई ऊ करूण उत्तर दिन्छे, उसको उत्तर सुनेबित्तिकै एकएक गरी प्रत्येक जनाको मृत्यु हुन्छ । सबैको मृत्युपश्चात् दिदी र सानो भाइ गाई–भैंसी पालेर बस्न थाल्छन् । कालक्रममा अर्कै राज्यको राजकुमारले सुनकेशरीलाई लगेपछि भाइलाई पनि एउटा बुढो गाईले त्यहाँ पुरÞ्याइदिन्छ । नेपाली भाषाको यो लामो कथामा भएका सम्वादहरू नवमीको यस कथामा पनि प्रायः एकै किसिमले राखिएको छ ।
अर्को कथापुरुषको बुद्धि र स्त्रीको साहसको विषय यस किसिमको छ– वीरभद्र नामका राजाका बगैंचामा काम गर्ने रामबहादुरलाई विजया दशमीमा रानीले टीको लगाएर ‘पुरुषको जस्तो बुद्धि र स्त्रीको जस्तो साहस होस्’ भन्छिन् । राजा छक्क परेर ‘त्यो के भनेकी’ भनेर रानीलाई प्रश्न गर्छन् । रानीले त्यसको सत्यताको प्रमाण दिन्छु भन्छिन् । बाँकी भाग २ मा छ ..