कर्माको पहिलो स्कुल
बाल कथा
कर्माको पहिलो स्कुल
मिश्र वैजयन्ती
कर्माको स्कुलमा आज रिजल्ट आयो । पोहोर दोस्रो भएका कर्मा यसपटक प्रथम भए र दुई कक्षमा चढे ।
नेपालको पूर्वी तराईको जिल्ला झापाको सानो गाउँमा कर्माको घर छ । उनको गाउको नाम आनन्दगञ्ज हो । आमाबाबा कृषक हुनुहुन्छ । यहाँ थुप्रै बालबालिका छन् । कर्मा सबैसँग दिनको एक पटक खेल्न भ्याउँथे ।
छरितो जीउ‚ कसिला हात पाखुरा‚ साना तर लामा औँला भएका हात‚ साना साना जिज्ञासु आँखा‚ हाँसिरहेजस्ता देखिने ओठ भएका सात वर्षका कर्मा हेर्दै चलाख लाग्थे । उनी आमासँग खुब रमाउँथे । आमाले कर्मालाई सधैँ खाना पकाउँदा कथा भन्ने गर्नुहुन्थ्यो ।
कर्मालाई आमाले खाना पकाउने समय कतिखेर आउँछ भन्ने लाग्थ्यो ।
मङ्सिर महिनाको तेस्रो शुक्रबार आमाले बारीबाट अगुवा फर्सीका टुप्पा लिएर साँझ पाँचबजे मात्र भान्सामा पस्नुभयो ।
‘कर्मा गृहकार्य गरिसक्यौ ?’
‘सकेँ आमा ।’ आमाले प्रश्न सोधिसक्न नपाउँदै बुरुक्क उफ्रेर आमालाई अँगालो हाले कर्माले । उनले आफूले पाएको पुरस्कार पनि देखाइहाले ।
आमा खुसीले धपक्क हुनुभयो ।
स्कुलमा कथा भनेर पुरस्कार पाएका रहेछन् । उनको फुर्ति हेर्न लायक थियो ।
कर्मा धेरै दिन अघि एकदिन विरामाी भएका थिए । आमाले डाक्टरकामा लिएर जानुभएकेा थियो । साना कर्माले सिलसिला मिलाएर विरामी भएको नालाीबेली सुनाएको देख्ता डाक्टर पनि छक्क पर्नुभएको थियो । उनले आमाले भनेका कथा पनि सिलसिला मिलाएर भन्न सक्ने कुरा आमाले डाक्टरलाई भन्नुभयो । औषधी लेखिदिँदै डाक्टरले भन्नुभयो ‘जसरी घर पहिलो विद्यालय हो त्यसरी नै घर नै पहिलो अस्पताल पनि हो । कर्माले प्लास्टिक प्याकेटभित्रका खानेकुरा खाएकाले अपच भएको हो । अब करेसाबारीको सब्जी‚ दूध‚ दही‚ घिउ‚ माछामासुको सन्तुलित कथा पनि आमाबाट सिक्नुहोस् कर्मा‚ है । आमाले पनि भान्साका कुरा नानीहरूलाई यसरी कथा बनाएर भनिदिनोस् है । आफ्ना नानीबाबुलाई बाठा‚ चलाख र ज्ञानी हुन आमाबाबाले सघाउनु होला ।’
‘आमा के सोचिरहनुभएको ?’ कर्माले आमालाई झकाल्दा पो आमा झल्याँस्स हुनुभयो । आमाको हातबाट किताब फुत्त खोसेर लगेर कर्मा पढ्न थाले । किताबमा चित्रैचित्र थिए । सधैँ त हरेक शुक्रबार कतिखेर बाबाको साइकलको घन्टी किन्द्रिङ किन्द्रिङ बज्छ र बाबाको कोशेली समात्न झम्टिँदै जाऔँ भनेर बाटो हेर्ने कर्मा आज किताबमै मग्न थिए ।
तरकारी बेचेर बाबा पनि आइपुग्नुभयो । कर्माले बाबालाई पुरस्कार पाएको किताब अत्तालिँदै देखाइहाले । बाबाले छोरालाई जुरुक्क उचालेर एक फन्को घुमाइदिनु भयो । बाबालेपनि दुईवटा किताब ल्याइदिनु भएको थियो । बाबाले कर्मालाई कुखुराको भालेको चित्रभएको किताब दिनुभयो ।
अर्को किताबचाहि बालसाहित्यकार आन्विका गिरीको ‘आमाले सक्नुहुन्छ ’ बालउपन्यास कर्माकी सातमा पढ्ने दिदीरिनछेनका लागि थियो । दिदी मामाघर गएकाले कर्माले नै दुईवटै किताब लिए।
बाबाले बजारबाट चकलेट चटपटे ल्याइदिनुहुन्न । बरु किताब नै कोशेली ल्याइदिनुह्न्छ । कर्मा र रिनछेन किताबसँग खेल्दा असाध्यै रमाउँछन् ।
बाबाले खाना बनाउनु भयो । आमाले दिउँसो धोएका लुगा पट्याउनु भयो । कर्माले बत्ती बालेपछि किरा आउँछन् भनेर झ्याल लगाए । कर्मालाई घरमा आमा बाबासँग बस्न असाध्यै रमाइलो लाग्छ । उनी बाबाआमा सँगसँगै सकी नसकी काम पनि गर्न सघाइरहन्छन् ।
बाबाले खाना पस्केर तीनैजनालाई खाना टेबलमा राख्नुभयो । बाबा आमा बात मार्दै खाना खाँदा कर्मा खुब ध्यान दिएर सुन्छन् । आज दिनभरि के के गरिए र भोलि के के गर्ने भनेर बात मार्नुभयो । सब्जीको भाउ घटेको बढेको विषयमा कर्माले सुने । उनको सुन्ने शक्ति बेजोड छ । उनी र उनकी दिदी पढाइमा राम्रो हुनु भनेकै ध्यान दिएर सुन्ने बानी हो ।
खाना खाइसकेपछि बाबाले सब्जी बेचेको पैसा गन्न थाल्नुभयो । कर्माले पैसा गन्ने रहर गरेको देखेर बाबाले नै हिसाब गर्न दिनुभयो । कपीमा लेखी लेखीकन कर्मा हिसाब गर्न थाले ।
कर्माको हिसाब मनग्गे राम्रो थियो । बाबाले भन्नुभयो ‘ कर्मा‚ तिमी भोलि आमासँग साग बेच्न बजार जाने है‚साग बेचेको पैसा हिसाब गर्नु पर्यो नि !’
‘हस् बाबा । ’ कर्माले हर्षभावमा भने ।
कर्मा पैसा हिसाब गर्न पाउँदा असाध्यै रमाउँछन् । अब उनी भोलि पैसा हिसाब गरेर नसकुन्जेल सबै कुरा बिर्सेर यही मात्र सोचिरहने बानी छ ।
आमा बाबा कर्मा र रिनछेनलाई आफ्नै व्यवहारबाटव्यावहारिक ज्ञान सिकाउन पाउँदा असाध्यै सन्तोष मान्नुहुन्छ ।
यति सानै उमेरमा कर्माले पैसा यताउता पार्दै हिसाब गरेको देखेर बाबाआमा मग्न भएको अनुभूति गर्नुहुन्छ ।