बालकथ- शत्रु
बालकथा- शत्रु
-नन्दलाल आचार्य
हिउँदको महिनामा हजुरआमा आँगनमा निस्कनुभयो । वरपर स-साना थुप्रै घरहरू भएका कारण सूर्यको किरण आँगनसम्म आइपुगेको थिएन । उहाँलाई घाम ताप्ने मन भैयो ।
उहाँ करेसाबारी पुग्नुभयो ।फूलकोवीका विरुवा शीतले ढाकिएका थिए । तिनलाई चलाउनु उचित लागेन । बारीको अर्को कुनामा बस्नुभयो । घाम ताप्दै वरपरका झारपात उखल्न थाल्नुभयो । बिरुवा नछोइऊन्, नहल्लिऊन् भन्ने कुरामा सतर्क हुँदै सुस्त-सुस्त काम गर्दै हुनुहुन्थ्यो ।
छोराले शत्रुवत् व्यवहार दर्शाएको दृश्य आँखा अगाडि आयो । एक मनले उहाँलाई छोरालाई नै सराप दिने मन भयो । उहाँको मनमा आफ्ना बाउबाजेको थलो पहाडको सम्झना पनि आयो । बुढेसकालमा आफूलाई लत्याएर शहर पसे छोरो आखिरमा उहाँकै थियो । यही सोचेर उहाँ शान्त हुन खोज्नुभयो । फेरि शत्रुलाई मित्रवत् व्यवहार नगरे शत्रुताको पतन कहिल्यै नहुने निष्कर्ष समेत निकाल्नुभयो ।
र, मनमनै छोरालाई भन्नुभयो- “छोरा ! आफ्ना लागि राम्रो गर । सुखी होऊ र बालबच्चालाई सुख देऊ। यस बुढीलाई सम्झयौ भने त्यो पनि सुखी नै होली भनेर चित्त बुझाऊ।सदा मेरो आशीर्वाद तिम्रो माथमा छ ।”
उनका आँखा रसाएका थिए ।त्यत्तिकैमा नाति दौडदै आयो र शरीरमा लेप्पासिंदै भन्न थाल्यो - “हजुरआमा ! श्याम मेरो दुश्मन हो । मलाई गुलेलीले हान्छ ।”
हजुरआमाले फर्केर हेर्नुभयो। श्यामे आफ्नै धुनमा गुलेली ताकेर चरालाई मार्न व्यस्त थियो । उसलाई बोलाउनुभयो। सोधखोज गर्नुभयो।श्यामेले चरालाई मात्र गुलेली हानेको कुरा बतायो।नातिले श्यामे आफ्नो शत्रु नै भएको अडान लियो । दुबैको भनाभैरी केही बेरसम्म चल्यो ।
अन्ततः हजुरआमा उठ्नुभयो । दुवैको हात पक्रेर मिलाई दिनुभयो । र, भन्नुभयो- “हो, मान्छेका शत्रु हुन्छन् । शत्रुलाई मास्नु छ भने मित्रताको हात अघि बढाइहाल्नुपर्छ । मित्रताको अगाडि शत्रुता जहिल्यै पनि पराजय हुन्छ । तिमीहरू अब एकअर्काका मित्र भयौ । शत्रुता त कुलेलम ठोक्यो ।” दुवै साना मित्र मुस्कुराए ।
उहाँले श्यामेलाई चराहरूसंग पनि शत्रुवत् व्यवहार नगर्न सल्लाह दिदै भन्नुभयो- “असल मनुष्यले अरूको ज्यान लिंदै हिंड्दैन । तिमी असल मित्र हौ भने चरा मार्न छाडिदेऊ । चरा प्रकृतिका अनुपम सौन्दर्य हुन्।यिनलाई मासेर कुरूपता ल्याउनु उचित हुन्न ।
हजुरआमाका कुरा श्यामेलाई राम्रा लागे।उसले गुलेली झाडीतिर फ्याकी दियो ।
[email protected]