फेसबुक च्याट

रामकुमार पण्डित पोष्ट - खगिन्द्रा खुसी · साउन २२, २०८१ ४:४६ PM
Cover Image for News

“ल भोलि एक बजे आउनोस् है त !“ प्रकृति फेसबूकमा च्याट गर्दै भन्दछे । 

“कहाँ ?” मोहनले प्रश्न गर्छ । 

“अनामचोकमा ।” प्रकृति जवाफ दिन्छे । 

“अनामचोक भनेको कता हो ?” ऊ अनभिज्ञता जनाउँछ । 

“अनामचोक नि था’ छैन ! सिंहदरबारको पूर्बी गेट, त्यो हनुमान थान भएको ठाउँ क्या त...!” आश्चर्य मिश्रित भावमा उनी जवाफ दिन्छिन् । 

“ए हुन्छ ! ल त बाई !” मोहन वाक्य टुङ्ग्याउँछ । 

“ओ के बाई, सि यू !” प्रकृति पनि वाक्य टुङ्ग्याउँछिन् । 

मोहन मोनिटरबाट आँखा हटाउँछ । उसले एघार बजेदेखि प्रकृतिसँग च्याट गर्न थाल्दा दुई बजिसकेको पनि पत्तो हुदैन । उसको अगाडि हाकिम (साहुजी) देखा परेपछि ऊ झसङ्ग हुन्छ र हतारहतार ‘लगआउट’ गरेर फेसबूक पेज बन्द गर्दछ । अनि ऊ गलैचा विन्डोज निकालेर नक्सा बनाउन लागेकोजस्तो अभिनय गर्दछ । दुई दिनदेखि दस बाइ चौध साइजको बुट्टै बुट्टाले भरिएको कठिन नक्सा बनाउँदै गरेको थियो उसले । 

                कार्यालयबाट घर फर्की खानासाना खाइवरि, यताउति गर्दा रातिको दस बजिसकेको हुन्छ । पलङमा पल्टिएको मोहनलाई निन्द्रा परेको छैन । उसको दिमागमा भोलि प्रकृतिलाई भेट्न जाने कुरा मात्रै खेलिरहेछ । यो उसको पहिलो भेट हुदैँछ । पहिलो पटक फेसबूकमा चिनेको महिला साथीलाई कसरी भेट्ने भनेर ऊ, सोच्दै सुतेको छ । ऊ मनमनै भन्दछः “आहा ! प्रकृतिको तस्बिर त फेसबूकमा कति राम्रो छ । तस्बिर पनि कत्ति राखेकी ती ! केटाले केटीको फोटो राखेर चलाउने हो भने एक दुई वटा मात्रै राख्दछ । त्यो पक्कै प्रकृति नै हो । त्यहाँ तीन चार सय जति फोटा होलान् । सबै एक से एक राम्रा । यदि ऊ त्यत्तिकै राम्री छे भने त त्यसलाई त्यत्तिकै हातबाट फुत्कन दिनु हुँदैन । असाध्यै सेक्सी पनि रहिछे । सायद ऊ आफ्नो पतिसँग असन्टुष्ट हुनुपर्छ । त्यसैले त मसँग अहिल्यै सबथोक दिइहालौ जस्तो गरी कुरा गर्दछे । म पनि पाएँ भने भोलि नै उसको सबै इच्छा पूरा गरी दिन्छु ।” ऊ कोल्टे फेर्दै मनमा कुरा खेलाइरहन्छ । “प्रकृति त मेरो मास्टर लेभलको कक्षा साथी हरिकी स्वास्नी पो रै छे । एकचोटि च्याटमा म हरिको पत्नी हुँ भनेकी थिई । आ, जो सुकैको स्वास्नी होस् । स्वास्नीको इच्छा पूरा गर्योै भने कसले पर पुरुष ताक्छ र ? मुला सरकारी अधिकृत छ । फुर्सत हुदैँन होला । अनि कसरी स्वास्नीलाई सन्टुष्टी देवोस् ? आफू त गलैँचा कारखानामा काम गर्ने मान्छे । बिहे पनि नभएको । भोकालाई खाना ख्वाउने बानी परेको । आखिर उसले मलाई चिन्दा पनि चिन्दैन । गलैँचेलाई कोइ अधिकृतले सम्झेर बस्ला र ? सम्झे नै पनि त्यसले काम पर्यो िभने माखो मार्ने होइन क्यारे । जे पर्ला, सो टर्ला !” 

ऊ अझै निदाउँदैन । ऊ सम्झन्छ, कसरी प्रकृतिसँग फेसबूकमा चिनापर्ची गर्दागर्दै उसको प्यारो बन्दै गयो । केही महिना अघि, फेसबूकमा प्रकृतिको तस्बिर राम्रो लागेर उसले साथी बन्न अनुरोध पठाएको थियो । प्रकृतिले स्वीकार गरेपछि ऊ साथी भएको थियो । त्यसपछि उनको प्रशंसा गर्दै दिनको एउटा मेसेज पठाउन थालेको थियो । सुरुसुरुमा त त्यस्तो प्रशंसा नगर्न उनले अनुरोध गरेकी थिइन् तर उसले अटेरी भई प्रशंसा गरिरह्यो । उनले पनि यस विषयलाई अब सामान्य मान्न थालिन् । महिलासँग मोबाइलमा र च्याटमा कुरा गर्दागर्दा उनीहरूका अन्र्तमनका सम्वेदनाहरू बुझ्नलाई ऊ खप्पिस भइसकेको थियो । यस मामलामा ऊ आफूलाई गर्व गर्दथ्यो । उसले विभिन्न वहानामा मेसेज पठाउँदै गयो । बिस्तारै -बिस्तारै प्रकृतिले पनि उसलाई उपयुक्त जवाफ फर्काउन थालिन् । अफिसको कामै छोडेर दुईचार घण्टासम्म उसले च्याटिङ गर्न थाल्यो । लोग्ने नभएको समय पारेर डेराबाट गरेको भन्थिन् प्रकृति । त्यति लामो समयसम्म मोहन प्रकृतिको सौन्दर्यको प्रशंसा गरेर मीठामीठा गफले मक्ख पार्दथ्यो । उनी पनि मोहनको कुरामा सही थापेर रोमान्चित रङ भर्थिन् । मोहनको सुन्दर जिउको वयान र गफाडी भन्न पछि पर्दिनथिन् । मोहन बेलाबेलामा “भेटौँ न” भन्दथ्यो । उनी चाहिँ “लोग्नेले थाह पाउँछ” भन्थिन् । जवाफमा “लोग्ने अफिस गएको बेलामा दिउँसो भेटौ न भन्थ्यो” ऊ । प्रकृति घरायसी काम भएको बाहना बनाउँथिन् । उसले भेट्नलाई भगीरथ अनुरोध गरेपछि बल्ल प्रकृति राजी भएकी थिइन । तैपनि भेट्न राजी हुनुअघि “भेटेपछि के गर्नु हुन्छ?” भन्ने प्रश्न गरेकी थिइन् उनले । जवाफमा “भेटेर कुरा गरी आत्मीयता बढाउने” भनेर भनेको थियो । वास्तवमा भेटघाट गर्दागर्दै आफ्नो स्वार्थ पूरा गर्न उसले जानेको थियो । उनीहरूको यस्तो रमाइलो संवाद भएको बेलामा लामो लोडसेडिङ र कहिलेकाँही इन्टरनेट ह्याङ भएर हैरान पार्थ्यो । कहिलेकाहीँ साहुको झ्वाट्ट प्रवेशले उसको मुटु ढुक्क फुल्थ्यो । यी सबै ब्यवधानको बदला ऊ लिदैँ थियो भोलि प्रकृतिलाई भेटेर । 

                बिहानको कलिलो घाम छिप्पिएर मध्याह्नको बाह्र बज्छ । ऊ गलैँचा अफिसमै छ । उसलाई एक बजे अनामनगर पुग्नु पर्ने भएकोले भित्रभित्र छटपटिएको छ । साहुसँग अनुमति लिनुपर्ने भएकोले बाहना खोज्न थाल्छ । उसले दराजमा आँखा लाउँछ । कागज सकिन लागेको रहेछ । बाहना पाएर साहुको कोठामा गएर नम्र हुदै भन्छः

“साहुजी, यहाँ नक्सा प्रिन्ट गर्न चाहिने ए टु पेपर सकिनै लागेछ । त्यो लिन जानुपर्ने भो‘ ।” साहुले विना प्रतिक्रिया अनुमति जनाउँछन् । ऊ आवश्यक पैसा लिएर गोजीमा हालेपछि आफ्नो पुरानो मोटरसाइकलमा हुइँकिन्छ । काठमाडौँको जाम छिचोलेर पौने एकछिनमै अनामचोक नजिकै पुग्छ । त्यही ठाउँ अनाम चोक हो कि होइन भनी ठम्याउन मोटरसाइकललाई खोलाको पुलनिर साइड लगाएर अलि अगाडि बढ्छ । त्यहाँ हनुमानको मन्दिर देखेपछि ढुक्क हुन्छ । अनि ऊ चोक नजिकैको पान पसलअगाडि उभिन्छ । यताउति हेर्छ; अँ हँ प्रकृतिलाई देख्दैन । अझै पन्ध्र मिनेट बाँकी छ एक बज्न । त्यसैले धैर्य गर्दै उनको व्यग्र प्रतीक्षा गर्दछ । सडकमा धूलो र धुवाँ उडाउँदै बग्रेल्ती गाडीहरू गुडिरहेका छन् । गाडीका आवाज झर्को लाग्दो छ । त्यसवीचमा सडक पेटीको बाटो हिँड्नेहरूमध्ये धेरैले उसको मुखमा हेर्दै हिँड्छन् । ऊ पनि उसको मुखमा हेर्नेलाई हेरिदिन्छ । बेलाबेलामा नआउने हो कि भनेर शङ्का गर्दछ । फेसबूकमा देखेको भन्दा फरक अनुहार पो छ कि भनेर आशङ्का हुन्छ । मोबाइल नम्बर दिनू भनेर कति गर्दा पनि प्रकृतिले छैन भनेर टारी तर उसको नम्बर भने प्रकृतिले लिएकी थिई । त्यहाँ आएर देखिन भने फोन गर्ली भन्ने ऊ आशा गर्दछ । 

                केही क्षणपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालयको दिशाबाट ऊ भएतिर एउटा पुरुष आउँदै हुन्छ । त्यसलाई चिनेजस्तै लागेकोले अझ गहिरिएर उसैलाई हेर्छ । साँच्चै चिनेको मान्छे रहेछ । अनि त ऊ झसङ्ग हुन्छ । ऊ उसको कक्षा साथी अर्थात प्रकृतिको पति हरि हो । ऊ केही सोच्नै सक्दैन र त्यहाँबाट उम्किनु नै उसलाई उपयुक्त लाग्दछ । ऊ फटाफट आफ्नो मोटरसाइकल पार्क गरेको ठाउँतिर लम्कन्छ । हतारहतार हेलमेट लगाएर उसले मोटरसाइकल स्टार्ट गर्न किक हान्छ । पुरानो मोटरसाइकलले उसलाई धोका दिन्छ । स्टार्ट हुँदैन । ऊ जोडजोडले किक स्टार्टरमा लात्ती बजार्छ । घरीघरी सेल्फ स्टार्टरमा औँला दबाउँछ । स्टार्ट हुन खोज्छ, तर पटक्कै हुँदैन । क्षणभरमै उसको जिउभरि खलखल्ती पसिना आउँछ । त्यति नै खेर उसको कानमा हरिको आवाज थर्कन्छः

“हेल्लो, मोहन जी ! प्रकृतिलाई भेट्ने होइन ?” 

उसको हतास मनस्थितिले काम गर्न सक्दैन र सोझो उत्तर दिन्छः“हेलो ! भेट्ने हो । खोइ र प्रकृति ?” 

“अरे, मै त हो नि प्रकृति !” 

“तपाइँ प्रकृति ? फोटो त तपाइँको श्रीमतीको छ त ! फोटो त महिलाको छ भन्न खोज्दैथ्यो, उसको जिब्रो चिप्लियो।

“फोटो र नाम उनको, प्रकृति बनेर च्याट गर्ने काम मेरो ।” हरिले जवाफ फर्काउँछ ।

“हँ !” ऊ झस्कन्छ र भित्रभित्रै सर्माउँछ । भित्रभित्रै भड्किएको उसको हालतले हेलमेट फुकालेको छैन र मोटरसाइकलबाट ऊ ओर्लन पनि सकेको छैन । 

“के हो ? च्याट त दामी गनुहुँदो रहेछ यार ! म त पट्टिएँ । तपाईँको शब्दजालमा नपट्टिने कुन चाँहि आइमाई होला त ?” हरि दाँत निकालेर हाँस्दै भन्छ । 

“त्यही त ! मैले पट्टाएको हो र ? तपाइँ आफ्नो साथीसँग आफै पट्टिएको ।” ऊ पनि लुकेको जोशलाई निकाल्दै भन्न थाल्छ । 

“मेरो श्रीमतीमाथि तपाइँको कू नजर पर्योर जस्तो छ । त्यो चैँ सुधार्नुस् न है !” 

“म त सुधार्छु, तपाइँ पनि श्रीमतीलाई भनिदिनुस् न कि मलाई देबर जस्तै गर्नु भनेर ।” 

“होइन त्यो त मेरी श्रीमतीले कहाँ गरेको हो त ? मैले पो गरेको त !” 

“मैले नि तपाइँकी श्रीमतीलाई कहाँ भनेको हो त, तपाइँलाई पो भनेको ।” 

“हो त्यो त । श्रीमतीको नामबाट तपाईँसँग लाडिएर मजाक गरेको छु, तपाईँको नजरमा उसलाई केही न केही गिराएकै छु । भैगो छाडी दिऊँ । साथीभाइमा यस्तो मजाक चली हाल्छ नि, होइन ?” अघिभन्दा केही लुत्रुक्क परेर खिसिक्क हाँस्दै ऊ बोल्छ । जवाफमा मोहन टाउको हल्लाएर सहमति जनाउँछ । 

“आजकाल काम कत्तिको चलेको छ, तपाइँको जोरपाटीको गलैँचा अफिसमा ?” हरिकै प्रश्न हुन्छ । 

“काम भएको भए, तपाईँलाई पट्टयाउन कसरी भ्याउनु ? तपाईँ त सरकारी जागिरे ! ब्यस्त हुनुहुन्छ होला !” 

“हाम्रो नि उही त हो नि । दिन कटायो, तलब पकायो । फेसबूक चलायो, तपाइँजस्तो साथी याद गरायो । ल अब जाउँ है ? कि चिया खाने त ?” जान हतार गर्दै ऊ चिया खाने प्रश्न सोधी टोपल्छ ।

 “नखाउँ । म पनि प्रिन्ट गर्नलाई कागज किन्न निस्केको । पछि खाउँला । ल बाई !” मोहन हरिसँग हात मिलाउँछ । हरि बाटो लाग्छ । ऊ पनि झोक्किएर एक लात किक स्टार्टरमा हान्छ । अहिलेचाँहि मोटरसाइकल घ्वार्र्र स्टार्ट हुन्छ । साथीसँग अपमानित भएको महसुस गरी मोटरसाइकलको गेर र एक्सीलेटर धेरै दबाउँछ । तीब्र गतिमा अलिपर पुगेपछि मनमनै भन्छ “अन्धाधुन्ध फेसबुक चलाउँदा त अपमानित पनि हुनु पर्ने रहेछ यार । हरिको पनि मनोबल गिर्यो, मेरो पनि । अब यस्तो बेइज्जत कहिल्यै नहुने गरी फेसबूकको सदुपयोग गर्नु पर्योत । आफ्नो नियत पनि सफा राख्नु पर्ने भयो ।” 


रामकुमार पण्डित  

का.म.पा. सिमलटार

ट्यागहरू:
सहित्य literature sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
पार्वतीको व्रतकथा–शंकरको व्यथा
पार्वतीको व्रतकथा–शंकरको व्यथा
कृष्ण सुवेदी 'निराकार' पोष्ट - खगिन्द्रा खुसी - बुधबार ४ सेप्टेम्बर २०२४
कर्माको पहिलो स्कुल
कर्माको पहिलो स्कुल
मिश्र वैजयन्ती पोष्ट-दिलिप घिमिरे - बिहिबार २२ अगष्ट २०२४
बालकथ- शत्रु
बालकथ- शत्रु
नन्दलाल आचार्य पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १३ अगष्ट २०२४