हेरीसबर्गको कथा वाचन कार्यक्रम : अवलोकन र विश्लेषण

दिलिप घिमिरे · भदौ ३१, २०८२ १०:१६ PM
Cover Image for News


 हेरीसबर्गको कथा वाचन कार्यक्रम : अवलोकन र विश्लेष

पातलो अन्तरे


 
 हामी जस्ता युवा लेखक र हाम्रो समाज र समाजसेवीहरूले खोजेको जस्तो कार्यक्रम “Reading For Resilience”हेरीस्बर्गमा सम्पन्न भयो। हामीले खोजिरहेको खालको कार्यक्रम कहिलेकाहीं हाम्रो वरिपरिको समाजमा बिरलै मात्र भेटिन्छ। तर, यसपाली हेरीसबर्गमा सम्पन्न भएको कथा वाचन कार्यक्रमले त्यो अभावलाई मात्र पूरा गर्ने, बरु भविष्यमा पनि मार्गदर्शन गर्ने एउटा उदाहरण बनेर देखा पयो। साहित्यमा रुचि राख्ने युवा, समाजसेवी तथा पाठकहरूका लागि यो कार्यक्रम केवल एक भेलामात्र नभई, एउटा साझा यात्रा जस्तै लाग्यो।
 कार्यक्रमलाई देख्दा पहिलो अनुभूति यही आयो—सहभागिता र सहकार्य बिना कुनै पनि अभियान जीवन्त हुँदैन। यस कार्यक्रमलाई सफल बनाउन आयोजक संस्थाको मात्र श्रम नभई, विभिन्न साहित्यिक तथा सामाजिक संस्था, त्यहाँ उपस्थित अभिभावकहरू, बालबालिका र महिला सहभागिताहरूको उपस्थितिले नै ठूलो अर्थ दिएको देखियो। वास्तवमा, साहित्यले समाजलाई कसरी एक ठाउँमा ल्याउन सक्छ भन्ने यसको जीवन्त प्रमाण यही कार्यक्रम थियो।
 बिगतका वर्षझैं यस वर्ष पनि कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पाउनु लेखकिय जीवनको अर्को एउटा चरण हो। यसपटक पनि त्यही अवसर पाउनु सँगसँगै आभार र जिम्मेवारी दुबैलाई महसुस गरियो। तर, यसपटक कथा पठाउनमा केही कमी देखिनु दुःखद पक्ष हो। प्रतिस्पर्धीहरू धेरै भए पनि, कथाहरू पर्याप्त रूपमा संकलन नहुनु, केवल आयोजकको मात्र नभई सबै साहित्यिक अभियन्ताहरूको साझा कमजोरी हो भन्ने कुरा आत्मसात् गर्नुपर्ने देखिन्छ। यसले आगामी दिनमा अझ योजनाबद्ध रूपमा साहित्य संकलन र तयारी गर्नुपर्ने आवश्यकता स्पष्ट पारेको छ।
 कार्यक्रमको अर्को विशेषता भनेको महिला सहभागिता थियो। सामान्यतया, पढ्ने-पढाउने र सुन्ने-सुनाउने खालका गतिविधिहरूमा महिला उपस्थिति कम देखिन्छ भन्ने धारणा यसपटक खण्डन भएको देखियो। महिलाहरूको बाक्लो उपस्थितिले मात्र होइन, उनीहरूको सक्रिय योगदानले पनि यो कार्यक्रमलाई विशेष बनायो। यसलाई हाम्रो समाजमा भैरहेको सकारात्मक परिवर्तनको एउटा झलक मान्न सकिन्छ।
 बालबालिकाको सहभागिता झन् बढी प्रेरणादायी रह्यो। दिपशिखा, आयुषा, दिव्या, आयुष, ईशान लगायत दुई दर्जनजति नानीहरूको कथावाचनमा सक्रिय उपस्थिति देख्दा भविष्यका पाठक र लेखक पुस्ता क्रमशः तयार हुँदै गएको अनुभूति भयो। अभिभावकहरूले आफ्ना बालबालिकालाई यस्तो कार्यक्रममा ल्याएर सहकार्य गर्नु, समाजमा साहित्यिक चेतना कसरी फैलिन्छ भन्ने कुरा देखाउने एउटा महत्वपूर्ण पक्ष हो। हामीले गरेका प्रायः सबै कार्यक्रमहरूमा माथि उल्लेखित नानीहरूको सहभागिता देख्दा हामी सहि दिशामा रहेछौँ भन्ने अनुभूति हुन्छ र गर्वले छाति फूल्छ। विश्व भूटानी साहित्यिक संगठनले (GBLO) बिगत ६ वर्ष देखि चलाउँदै आएको विश्व शिक्षा कार्यक्रम (GEP) बाट पनि यस कथा वाचन प्रतियोगितामा नानीहरूले सहभागिता गरेको देख्न र सुन्न पाउँदा आँखामा खुशीका आशु भरीए। 
 यसपटक कार्यक्रम सञ्चालनको अर्को विशेषता अनुशासन र समयपालनमा रह्यो। प्रायः हाम्रो समुदायका कार्यक्रम ढिलो सुरु हुने परम्परा रहँदै आएको भए पनि, यस पटक ठीक समयमा कार्यक्रम सुरु भई निर्धारित समयभन्दा अगाडि सकिनु स्वयं ठूलो उपलब्धि थियो। सहभागिहरूले कथा सुन्ने क्रममा सम्पूर्ण ध्यान केन्द्रित गर्नु पनि उत्साहवर्धक पक्ष रह्यो। यसले साहित्यलाई मनोरञ्जनभन्दा बढी गम्भीरतापूर्वक ग्रहण गर्न सकिने सम्भावना देखायो।
 कार्यक्रम स्थललाई व्यवस्थित बनाउन आयोजक मात्र नभई, स्वयं परिवारजनले पनि राति-बिराती श्रम गर्नु, सामूहिकतामा टेकिएको हाम्रो संस्कृति र मूल्यको ज्वलन्त उदाहरण थियो। यस्तो व्यवहारले कार्यक्रमलाई अझ आत्मीय र सहभागितामूलक बनायो।
 समग्रमा हेर्दा, हेरीसबर्गको कथा वाचन कार्यक्रम केवल एकपटकको गतिविधि होइन; यो साहित्य, समाज र भविष्यबीचको त्रिकोणलाई जोड्ने एउटा प्रयास थियो। यसले हामीलाई देखायो कि सहकार्यबिना कुनै पनि प्रयास दीर्घकालीन हुँदैन, आलोचनामार्फत सुधार र सिर्जनात्मक संवादमा जोड दिनुपर्छ, अनि नयाँ पुस्तालाई साहित्यतर्फ आकर्षित गर्न सके मात्र हाम्रो भाषिक र सांस्कृतिक धरोहर जीवित रहन्छ।
 यसैले, यस्तो कार्यक्रम हाम्रो समाजका लागि केवल प्रेरणादायी नभई, आवश्यक र अपरिहार्य जस्तै लाग्छ। भविष्यमा पनि यस्ता गतिविधिहरू निरन्तर आयोजना भइपारोस् भन्ने अपेक्षा गर्न सकिन्छ, किनकि हेरीसबर्गले यसपटक एउटा उदाहरण नै तोकेको छ।
 पातलो अन्तरे 
 अध्यक्ष, जि बि एल् ओ 

ट्यागहरू:
विश्व साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
स्टेटस सिम्बल, मोनालिसाका आँखा र आह्रिसमानेको खसी
स्टेटस सिम्बल, मोनालिसाका आँखा र आह्रिसमानेको खसी
रुद्र बराल पोष्ट-दिलिप घिमिरे - मङ्गलबार २८ जनवरी २०२५
नेपालीको तिहार पर्व: दृष्टि र अनुभूति
नेपालीको तिहार पर्व: दृष्टि र अनुभूति
गोविन्द शाण्डिल्य पोष्ट-दिलिप घिमिरे - शुक्रबार २४ जनवरी २०२५