दमकमा साहित्य, कला र सङ्गीतको उत्सव सम्पन्न
झापा १५ कार्तिक /पूर्वी नेपालको व्यावसायिक सहर दमक पछिल्लो समय साहित्य, कला र सङ्गीतको उर्वर थलोका रूपमा पनि आफ्नो पहिचान विस्तार गर्दैछ। यही सांस्कृतिक चेतनालाई थप उचाइ दिने उद्देश्यले झापाको दमकमा आयोजित चारदिने सांस्कृतिक उत्सवले सहरलाई सिर्जना, संवाद र कलाको साझा मञ्च बनाएको छ।
नाता फाउन्डेसनको आयोजनामा बिहीबारदेखि आइतबारसम्म सञ्चालित उत्सवमा स्थानीयदेखि राष्ट्रियस्तरसम्मका स्रष्टा, कलाकार र सङ्गीतकर्मी एकै थलोमा जुटेका थिए। कला प्रदर्शनी, साहित्यिक विमर्श, कार्यशाला, कविता तथा गजल वाचन, सङ्गीत प्रस्तुति र सम्मान समारोह उत्सवका मुख्य आकर्षण बने।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कुमार नगरकोटीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उत्सवमा ‘सिर्जनामा युवा’ शीर्षकको पहिलो प्यानल छलफल सुमन लिङ्देनको सहजीकरणमा सम्पन्न भएको थियो। दिव्या दाहाल, मानाङ लावती र जितेन साम्पाङले नयाँ पुस्ताको सिर्जनशीलता, साहित्यिक यात्रा, चुनौती र सम्भावनाबारे धारणा राखेका थिए।
दोस्रो दिन ‘आख्यानमा के छ र ?’ शीर्षकमा आख्यानकार श्याम सिंघक, दीपा दाहाल र घनश्याम पथिकबीच कथा, पात्र, समाज र बदलिँदो समयसँग आख्यानको सम्बन्धबारे विमर्श भयो। त्यस्तै, युवा उद्यमी केन्द्रित सत्रमा एजाज शेख, प्रकाश तामाङ, पुजन चौधरी, रोनाहाङ राई र सिजन दाहालले सिर्जनात्मक सोच र उद्यमशीलताको सम्बन्धबारे अनुभव सुनाएका थिए।
स्थानीय माटो र पहिचानको सुगन्ध बोकेको ‘माटोको सुगन्ध’ शीर्षकको संवादमा मुनाराज शेर्मा, सुमिक्रा चेली र धर्मेन्द्र विक्रम नेम्वाङसँग साङ्सेन पान्धाकले संवाद गरेका थिए। त्यसैगरी, ‘दमकले सिर्जना मार्यो कि मर्यो ?’ शीर्षकको बहसमा राम थापा, प्रकाश बुढाथोकी, गोपाल भण्डारी र शिव रेग्मीले दमकको साहित्यिक वातावरण, स्थानीय सिर्जनाको अवस्था र सम्भावनामाथि विमर्श गरेका थिए।
शब्दसँगै स्वर र वाद्यवादनको लय मिसिँदा उत्सवले सङ्गीतमय रूप लिएको थियो। सारङ्गीमा श्याम गन्धर्व र बाँसुरीमा गणेश लाम्साङले धुन भरेका थिए। कृष्ण काश्यप, टीका खड्का, आचार्य प्रभा, पवन गौतम, भुपेन्द्रराज तिम्सिना, दिलिप घिमिरे, विवश बलिभद्र कोइराला, याम थुलुङ, राज भट्टराई र महेन्द्र विरहीलगायतले गजल प्रस्तुत गरेका थिए। कविता र गजलका शब्दमा सारङ्गी तथा बाँसुरीका धुन मिसिँदा उत्सवले साहित्य र सङ्गीतको सुन्दर सम्मिश्रण प्रस्तुत गरेको थियो।
आयोजक प्रकाश बुढाथोकीले उत्सवको उद्देश्य दमकमा कला, साहित्य र सङ्गीतको साझा मञ्च निर्माण गर्नुका साथै स्थानीय सिर्जनालाई राष्ट्रियस्तरका स्रष्टासँग जोड्नु रहेको बताए। ‘यस्ता उत्सवले सहरको सांस्कृतिक पहिचान निर्माण गर्न सहयोग पुग्छ,’ उनले भने, ‘दमकलाई सिर्जना, संवाद र कलाको जीवन्त केन्द्रका रूपमा विकास गर्ने हाम्रो प्रयास हो।’
व्यापारिक चहलपहलले चिनिएको दमकमा शब्दका स्वर, कलाका रङ र सङ्गीतका धुन एकैसाथ गुञ्जिनु सहरको बदलिँदो सांस्कृतिक परिचयको संकेत हो। चारदिने उत्सवले दमक बजारको मात्र होइन, सिर्जनाको पनि सहर बन्न सक्छ भन्ने सम्भावनालाई उजागर गरेको छ।