स्टेटस सिम्बल, मोनालिसाका आँखा र आह्रिसमानेको खसी

रुद्र बराल पोष्ट-दिलिप घिमिरे · माघ १५, २०८१ ८:५० PM
Cover Image for News

(व्यङ्ग्य)
 स्टेटस सिम्बल, मोनालिसाका आँखा र आह्रिसमानेको खसी
                               रुद्र बराल, असम
      
       जस्तोसुकै राम्रो नहोस् किन खसी कहिल्यै स्टेटस सिम्बल हुन सक्तैन। कुकुर हुन्छ। द्वापर युगमै हेर्नुहोस् त कुकुर युधिष्ठिरको स्वर्ग जाने साथी थियो। तर, यही शास्त्र पढेका हाम्रा मानिसहरू कुकुर स्वर्गै पुगेछ भने पनि गुहु नै खोच्छ भनेर कुकुरलाई होच्याउन  पुग्छन्। बाख्राले शास्त्रदेखि आजको उत्तर आधुनिक युगसम्म कहिल्यै कुकुरको जस्तो मान-मनितो पाएको छैन। बाख्रो त शनिको बाहन हो, वृहस्पतिको होइन। शनिको बाहनलाई परैबाट राम राम, परैबाट सलाम।  तर, शनि लाग्यो भने कुकुरले टोक्छ, बाख्रा-खसीले टोक्तैनन्। खसीले टोकेर नाइटामा चौधवटा सुई रोप्नु परेको खबर कतै सुन्नुभएको छ? तर, कुकुरले ढुकुरमा टोकेर अस्पताल पुर्‍याएका खबरहरू प्रशस्त पाइन्छन्। कसैले घरमा ठुला ठुला लामकाने खसी पालेको रहेछ भने पनि गेटमा Be ware of jhyamle goat लेख्नु पर्दैन, यस्तो त कुकुर पाल्नेहरूले लेख्छन् र आगन्तुकलाई तर्छाउँछन्। 
      तपाईं बिहान बिहान मोर्निङ वाकमा जाँदा अजङको कुकुर लिएर निस्कनुहोस् तपाईँको समाजमा अर्कै स्थान हुन्छ। कुकुरको प्रजाति एलसिसियन, जर्मन  सेफर्ड, इङ्लिस बुल डग, लेब्रडोर,  अफगान हाउन्ड, फ्रेन्च ब्रिट्नी आदि अनुसार तपाईँको नाउँ हुन्छ। तपाईँलाई हेर्ने समाजका आँखा त्यहीअनुसारका  हुन्छन्। समाजले तपाईँलाई जदौ जदौ गर्छ। चाहे तपाईँ बिहानै अर्काको बाटामा कुकुरलाई दिसा गराउन नहिड्नुहोस् किन। तर तपाईँका छातीमा भुत्ला छन् भने मोर्निङ वाकमा जाँदा खसी डोहोर्‍याएर हिँड्नुहोस् त! तपाईँको इज्जत जान्छ। मानिसका आँखामा तपाईँ  गिर्नुहुन्छ। मानिसहरूले "यो रुद्रेमास्टरले अब रिटायर हुने बेलामा केको चर्तिकला देखाएको? केहीले नपुगेर अहिले बाख्रा गोठालो हुन पुगेको'' इत्यादि नानाथरीका कुरा गर्न थाल्छन्। तर, त्यही मान्छेले कुकुर लिएर हिँडोस् त!
      कुकुर पाल्नेहरू आफूलाई प्रकृतिप्रेमी, जीवप्रेमी भन्ने घोषित गर्छन्। यी अगाध जीवप्रेमीहरूका आँखामा बाटाका भुस्साहा कुकुर, लुइरे कुकुर, खुइले कुकुर पर्दैनन्। यस्ता कुकुरलाई छि छि र दुर दुर गर्ने यी महानुभावहरूका  सङ्गमरमर जडेका आलिसन महलमा यी नामी-दामी कुकुरलाई अन्तेहपुरसम्म पुगेर  जता ततै चढने, बस्ने, सुत्ने लाइसेन्स छ। कारण यी कुकुर निचो जातका होइनन्, उच्च जातका हुन् र त प्रेमपूर्वक हेरिन्छ यिनीहरूलाई। हुन पनि हो - प्रेम त राम्रा राम्रा खोजेर गर्ने चिज न हो। जय होस् आधुनिक कुकुरप्रेमीको।
     समाजमा यस्ता सम्भ्रान्त कुकुर पालकहरूको १८० डिग्री विपरीतमा छ बाख्रा-खसी पालकहरूको स्थान। झन् केटी मानिसले बाख्रा हेरे भने त तिनीहरूलाई 'बाख्रेकेटी'को उपनाम दिइन्छ। कुकुर पाल्नेलाई 'कुकुरे' भनुन् त!
    यी कुराहरूले मेरा मनमा हलचल मच्चाउनुको कारण पनि मेरो प्रिय मित्र(कहिलेकाहीँ  अप्रिय मित्र) आह्रिसमान पाँडे नै हो। आह्रिसमानेको एउटा बैगुन छ ( नराम्रो सोच मनमा नल्याउनु होला)। ऊ भक्कु तास खेल्छ अनि सधैँजसो हारेर डुङ्गो भएर बुढो ढेडुको जस्तो अनुहार लाएर घर-फर्किन्छ। स्वास्नी-केटाकेटीसँग झर्किन्छ। जुन दिन आह्रिसमाने मदेखि तर्किन्छ, जुन दिन उसको घर थर्किन्छ त्यसदिन जान्नुपर्‍यो आज आह्रिसमानेले भक्कु हार्‍यो। 
     कुम्भमेला चलिरहेको थियो। गाउँका तासे दौँतरीहरूले पाँडेलाई उल्काएछन्। महाकुम्भ जाने। फुर्के पाँडे पनि चम्किएछ। केहीदिनदेखि उसको दाहिने आँखो फुरफुराइरहेको रहेछ। र ऊ पैसा कमाउन दामी रामीमा बसेछ। पैसा सबै कुर्मुर्‍याएर कुम्भमेलामा कुनै मोनालिसासँग सेल्फी खिचेर भाइरल हुने सपना देखेछ। तर केको हुन्थ्यो! चोक्टा खान गको बुढो झोलमा डुबेर मर्‍यो भनेझैँ झिटिझामटी भएर घर फर्केछ। घरअघाडी उसको झ्याम्ले खसी बाँधेको रहेछ। भोकले टाठ भएको खसीसँग उसका आँखा जुधेछन्। टक्कै लिओनाडो भिन्सीकी मोनालिसाका जस्ता कुइरे आँखा। दुरुस्तै महाकुम्भकी महानायिका मोनालिसा घोसलेका जस्ता लाम्चा, कुइरा, मोहनी आँखा। यी आँखाले आज भारतका आँखाको निद्राहरण गरेको छ। यसपालि आध्यामिकताले  भौतिकतामा पुर्पुरो ठोकेकै हो त! यी आँखालाई आँखा नगाड्ने कुनै आँखा छैनन्। एउटी आँखामा हाल्दा पनि नबिझाउने केटीलाई मानिसले आँखाको नानीझैँ माया गरेको देख्ता उसका आँखा उघ्रिए।  मानिसहरूले यस्ता आँखाधिकारीहरूलाई किन मृगनयनी भनेका? किन बाख्रानयनी या खसीनयना नभनेका? बाख्रालाई यहाँ पनि अन्डर एस्टिमेटै गरिएको हो त? उसको पारा चढ्यो।उसका मनमा हरेक प्रकारका कुरा खेलाए, सेलाए। कताकता ऊ रोमाञ्चित भयो। सोच्यो - किट्सले त्यसै A thing of beauty is joy for ever भनेका रहेनछन्। कला-सौन्दर्यप्रति ब्राउनिङको सोच अझ गजबको छ। उनी भन्छन् -
 And you great sculptor - so, you gave 
 A score of years to Art, her slave, 
 And that's your Venus, whence we turn 
 To youndese girl that foods the burn! प्रेम र सौन्दर्यकी देवी भेनसको मूर्तिलेसम्म एक जीवन्त युवतीकै याद दिलाउँछ। भन्नाले के मानिसले प्रकृत छालामासुका देवीलाई देखेपछि ढुङ्गा-माटाका देवीलाई बिर्सिन्छन्! हो होला प्रभु, नभए यी कुम्भेहरू किन देव-देवी, साधु-सन्त, योगी-महात्मा, स्नान-दर्शन सबैका कुरा छोडेर यी माला बेच्ने माले युवतीका पुच्छरपछि घाउमा औँसाहा परे झैँ खन्निएका?
    अस्कर ब्राउन थिए भने भन्ने थिए होला, ''देखेऊ! मैले त्यसै भनेको हो, Life is more specious than art.'' तर भिन्सीले यसको काउन्टर गर्दै No, no, man is mortal, but art is immotal भन्ने थिए कि!
    उसले फेरि सोच्यो - फ्रायडले मानिसका सबै कर्मलाई ठ्याक्क लगेर यौनतासँग जोड्नु, ओसोले मानिसको सोचहरूमा कसरी यौनताको बोसो लागेको देखाएका छन् ती कुरा पक्का साँचा हुन्। तर, यी भडकिएका सबै यौन अतृप्त आत्माहरूलाई डर्विनको एउटै वाक्यले ठन्डा पार्ने थिए,''यी माला बेच्ने केटीहरूका पूर्वपुरुष पनि हाम्रै जस्ता बाँदर थिए।''
     मानिसहरूले मोनालिसाका माला किने कि गाला हेरे? यो उनीप्रतिको सहानुभूति, प्रेम हो कि आसक्ति? छक्कै पर्नु छ गाँठे!
     जे होस्, मोनालिसा अहिले भाइरल भइन्। आँखाले।  तर आफ्ना यी ढाडे आँखामा कसले आँखा गाड्ला? कुन आँखा फुटेकाले आँखा लाउला! अँ, एउटा उपाय छ, अब म पनि यी खसीका आँखा हाल्छु फेसबुकमा, इन्स्ट्राग्राममा, रिल बनाउँछु र फ्याउरी लार सब पैसा सोहोर्छु। 
     यस्तो सोच्तासोच्तै उसका मनमा एउटा संस्कृतको श्लोक फुर्‍यो - 
 "साधु आगच्छन्ति, सन्त आगच्छन्ति, आगच्छन्ति योगी महात्मा ।
 तादृशां स्त्रिय दर्शन मात्रेण शुद्ध भवत्ति आत्मा ।।
 पाप-पुण्य, मुक्ति मोक्ष सर्वाणि काल्पनिक कथाः ।
 साक्षात् सौन्दर्य दृष्ट्‌वा कलियां अपहृता भवन्ति व्यथा ।।"

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
मोहन सुवेदी
एक दिन अगाडि

गहकिलो व्यङ्ग्यात्मक रचना। यस रचनाको नेपथ्यमा धेरै कुराहरू लुकेको पाइन्छन्। बरालज्युको व्यङ्ग्यात्मक अभिव्यक्ति साह्रै आकर्षणीय भएको छ। धेरै धेरै बधाई छ।

सम्बन्धित पोस्टहरू
नेपालीको तिहार पर्व: दृष्टि र अनुभूति
नेपालीको तिहार पर्व: दृष्टि र अनुभूति
गोविन्द शाण्डिल्य पोष्ट-दिलिप घिमिरे - शुक्रबार २४ जनवरी २०२५