‘राइडर्स मेहफिल’को नवौँ शृङ्खलामा स्रष्टा पुष्प अधिकारी सम्मानित, गजल सिर्जनाले गुञ्जियो बिराटचोक
झापा १४कार्तिक / ‘राइडर्स मेहफिल-२०८३’ को नवौँ शृङ्खलामा स्रष्टा पुष्प अधिकारी अन्जलिलाई सम्मानित गरिएको छ।मेहफिलमा अतिथि गजलकारका रूपमा अस्मिता भट्टराई , प्रकाश किरण ,केशव भट्टराई,अनन्त अनुरागको सहभागिता रहेको थियो।
सुन्दरहरैँचा साइकल राइडर्सको आयोजनामा द राइजिङ बोर्डिङ स्कुल, विराटचोकमा सम्पन्न उक्त साहित्यिक समारोहमा प्रसिद्ध कवि मनु मञ्जिलको प्रमुख आतिथ्य रहेको थियो।
सोही अवसरमा श्रद्धेय स्रष्टा पुष्प अधिकारी अञ्जलिलाई नगदसहित सम्मान गरिएको थियो। सम्मानपत्रको वाचन लोकप्रिय गीत तथा गजलकार एवम् सङ्गीतकार जेबी थुलुङले गरेका थिए।
कार्यक्रमको मुख्य आकर्षण अतिथि गजलकारहरूका गजल वाचन र गायन बनेको थियो।चार जना अतिथि गजलकारको सिर्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई थप साहित्यिक र रसिलो बनाएको थियो।उनीहरूले आ–आफ्ना छ–छवटा सशक्त गजल प्रस्तुत गरेका थिए। शब्दमा अनुभूति, भावमा गहिराइ र अभिव्यक्तिमा मिठास बोकेका उनीहरूका गजलले सभाहललाई भावनात्मक रूपमा जोड्न सफल भएका थिए। गजलका प्रत्येक शेरसँगै श्रोताहरूको ध्यान तानिँदै गएको थियो भने कतिपय प्रस्तुतिले उपस्थित दर्शक तथा श्रोताहरूलाई भावविभोर बनाएका थिए।
यस मेहफिलको अर्को उल्लेखनीय पक्ष गजल गायन थियो। गजलकार केशव भट्टराई झापा ,अनन्त अनुराग धनकुटा र अस्मिता भट्टराई मोरङले आफ्ना सिर्जनालाई केवल वाचनमा सीमित नराखी सुमधुर स्वर र लयात्मक प्रस्तुतिमार्फत गजल गायनका रूपमा समेत प्रस्तुत गरेका थिए। गजलका भाव, लय र स्वरको सम्मिश्रणले उपस्थित दर्शक तथा श्रोताहरूलाई मन्त्रमुग्ध बनाएको थियो। गजल सुन्ने, अनुभूत गर्ने र स्वरमा आत्मसात् गर्ने दुर्लभ साहित्यिक वातावरणले मेहफिललाई अझ विशेष बनाएको थियो।गजल वाचनपछि उनीहरूलाई नगदसहित कदर पत्र प्रदान गरिएको थियो ।
साइकल यात्राको सामूहिक चेतना र साहित्यिक अनुरागलाई एउटै सूत्रमा गाँस्दै आएको राइडर्स मेहफिलले आफ्नो नवौँ शृङ्खलासम्म आइपुग्दा साहित्यिक भेटघाट, सिर्जना वाचन, गजल गायन, स्रष्टा सम्मान र विचार आदानप्रदानको आत्मीय मञ्चका रूपमा पहिचान स्थापित गरेको छ।
सडकमा यात्रारत साइकलका पाङ्ग्राहरूले बोकेको गतिलाई शब्द, भावना र सिर्जनाको यात्रासँग जोड्नु यस मेहफिलको विशिष्ट पक्ष हो।
कार्यक्रममा शिक्षासेवी, साहित्यसेवी, बौद्धिक व्यक्तित्व एवम् समाजसेवी सुरेन्द्रबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
साहित्यसेवी पूर्णप्रसाद दाहालले कार्यक्रमको सभाध्यक्षता गरेका थिए भने गजलकार यादव भट्टराईले संयोजन गरेका थिए। गीतकार तथा गजलकार स्रष्टा विवश बलिभद्र कोइरालाले कार्यक्रमको सहजीकरण गरेका थिए।