अस्तायो नेपाली साहित्यको जाज्वल्यमान नक्षत्र

दिलिप घिमिरे · चैत ५, २०८१ ८:४५ PM
Cover Image for News

अस्तायो नेपाली साहित्यको जाज्वल्यमान नक्षत्र
                                         रुद्र बराल 

सन् १९३३ को १ मार्चका दिन गुवाहाटी टकौबारीको पुलिस रिजर्भमा प्रेमबहादुर छेत्री र पवित्रा देवीका सन्तानका रूपमा जन्मिएका लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा  १३ मार्च २०२५ का दिन रात्री १०.१० बजे गुवाहाटी मरिखालीस्थित  निजको बासस्थानमा निधन भएको समाचारले समग्र नेपाली साहित्य समाज र गोर्खा जातिमा शोकको परिवेश छ। मृत्युको समयमा उहाँले दुई परिवार,दुई छोरा, दुई बुहारी र चारजना नाति-नातिना छोडेर जानुभएको छ।

      असममा जन्मिएका, सिलाङमा बाल्यकाल बिताएका लीलबहादुर क्षेत्रीको पढाइ बङ्गला,नेपाली र अङ्ग्रेजी माध्यममा भएको थियो। उनले गुवाहाटी विश्वविद्यालयबाट अर्थनीतिमा स्नातकोत्तर गरेर गुवाहाटीकै आर्यविद्यापीठ कलेजमा अध्यापन गरे। माध्यमिक विद्यालयमै पढ्दादेखि साहित्य साधनामा लागेका छेत्रीको पहिलो प्रकाशित कविता 'शिवस्तुति' १६ वर्षको उमेरमा प्रकाशित भयो भने पहिलो उपन्यास 'बसाइँ' २४ वर्षको उमेरमा सन् १९५७ मा प्रकाशित भएको थियो । 'बसाइँ' उपन्यास पूर्वोत्तर भारतको पहिलो उपन्यास हो भने यो नेपाली आख्यान साहित्यको सर्वाधिक पढित, चर्चित र प्रकाशित उपन्यास हो।

 उनको दोस्रो उपन्यास 'अतृप्त' (१९६७) पूर्वोत्तर भारतको पहिलो  मनोवैज्ञानिक उपन्यास हो। क्षेत्रीको तेस्रो उपन्यास 'ब्रह्मपुत्रको छेउछाउ' एक आञ्चलिकतावादी उपन्यास हो र यसै उपन्यासका लागि क्षेत्री पुरस्कारले सम्मानित भएका हुन्। उल्लेखनीय के छ भने प्रयात क्षेत्री  पूर्वोत्तर भारतबाट अकादमी प्राप्त गर्ने पहिलो नेपाली साहित्यकार हुन्। 

 क्षेत्रीको चौथो तथा अन्तिम उपन्यास 'प्रतिध्वनिहरू विस्मृतिका' (२००४)उनका बुबा प्रेमबहादुर छेत्रीको जीवनआधारित जीवनीपरक उपन्यास हो। क्षेत्रीका चारैवटा उपन्यासको विषय, प्रवृत्ति, भाषाशैली भिन्नाभिन्नै प्रकारको पाइन्छ।सन् १९८७ मा साहित्य अकादमी नेपाली साहित्य उपन्यासतर्फ मोडियो र नाटकका अतिरिक्त उनको सिर्जनशील प्रतिभा निबन्ध, समालोचना आदि साहित्यका सबै विधा चहार्न पुग्यो। तर पनि आख्यानकारकै रूपमा चर्चित र पुरस्कृत पनि भए। 
     आख्यान विधामा प्राध्यापक लीलबहादुर क्षेत्रीका चारथान अतिरिक्त 'तीन दशक बीस अभिव्यक्ति' (१९८३), 'लीलबहादुर कथाहरू' (१९९३) र 'छरिएको बिस्कुन' (२०१६) शीर्षक तिनथान कया प्रकाशित गरेर नेपाली आख्यान साहित्यमा थप योगदान पुऱ्याएका छन्। "दिल नफुक्ने गाँठो" शीर्षकको उनको अर्को एउटा कथा सङ्कलन सन् २०१३ डा. खगेन शर्मा र एकदेव अधिकारीको सम्पादनमा प्रकाशित भएको पाइन्छ यसमा उनका २९ वटा कथा सङ्कलित रहेको छ।

 उनले 'बसाइँ' उपन्यास लेख्नुभन्दा ८ साल अघि नै कथालेखन गरेका हुन् भन्ने कुराको पुष्टि यस वाक्यले गर्दछ, "प्रस्तुत कथाहरू सन् १९ बाट १९७५ को अवधिभित्र (एउटा कथाबाहेक) बेला बेलामा समय, स्थान, पवित परिस्थितिअनुरूप मेरो हृदयमा उब्जेका भावनाहरूका अभिव्यक्ति हुन्" (कालिन नफुक्ने गाँठोको आमुख) ।

     प्रवृत्तिगत तरिकाले उनका कथाहरू सामाजिक यथार्थवादको सेरोफेरोधित रचिएका छन् भने केही कथाहरू स्वच्छन्दतावाद र आदर्शवादका बाछिटाले भिजेका छन्। 'छरिएको बिस्कुन' लोककथाको आधारमा रचिएको' कथाकृति हो।

       क्षेत्रीलाई आख्यान साहित्यको मुकुट पहिराएर आख्यानकारकै साँध-सीमाभित्र राख्न खोजे तापनि उनको निबन्ध प्रतिभालाई कसै छोप्न मिल्दैन। प्रकाशित निबन्धलाई सङ्ख्याकै हिसाबले हेरौं अथवा गुणवत्ता नै हेरौं आख्यानभन्दा निबन्धमा उनले कम आत्मनियोग गरे भन्न मिल्दैन। उनका प्रकाशित निबन्धहरूको सूची यसप्रकार छ -
 १. असममा नेपाली भाषाको साहो-गाह्रो (१९६१)
 २. पूर्वाञ्चल भारतीय नेपाली कथा-साहित्य र पत्रकारिताको इतिवृत (१९९७)
 ३. झ्याउरे पार्टीमा लाग्दा (१९९९)
 ४. पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन (२०००)
 ५. सिमलको भुवा (२०११)
 ६. अतीतका ऐनामा  विविध झाँकीहरू (२०२५, सम्पादक : डा. खगेन शर्मा
     यस उप्रान्त पनि उनले विभिन्न समयमा विभिन्न पुस्तकका लागि लेखेका भूमिकाहरूको सँगालो 'लीलबहादुर क्षेत्रीका ऐतिहासिक भूमिका' शीर्षकमा डी. आर. पोखेलद्वारा सम्पादित पुस्तक सन् २०१९ मा प्रकाशित भएको छ भने रुद्र बरालद्वारा सम्पादित उनका अन्तर्वार्ताहरूको सँगालो 'लीलबहादुर क्षेत्रीको कायाकैरन' (सन् २०२३) पनि प्रकाशनमा आइसकेका छन् ।

      निबन्धकार क्षेत्रीलाई समालोचक डा. गोपाल भण्डारी 'कथात्मक शैलीका निबन्धकार' भन्दै भन्छन्, "जीवनका तिता मिठा अनुभवहरूलाई समेटेर निबन्ध लेख्ने असमेली निबन्धकार लीलबहादुर क्षेत्री उपन्यासकारका रूपमा सुपरिचित भइसकेका भए पनि निबन्धकारका रूपमा सघन चर्चामा छैनन् ।निबन्धकार लीलबहादुर क्षेत्री तथ्यका प्रस्तोता बन्न पुगेका छन्। उनले धेरैजसो निबन्धमा आफैले देखेको, भोगेको र अनुभव गरेको विषयवस्तुलाई इ‌मान्दारीपूर्वक प्रस्तुत गरेको देखिन्छ।" (साहित्यकार लीलबहादुर क्षेत्री : व्यक्तित्व र कृतित्व, सम्पादक : डा. खगेन शर्मा, पृ.७०-७१)
     प्रवृत्तिगत तरिकाले हेर्दा क्षेत्रीका निबन्धहरू खोज-अनुसन्धानमूलक, ऐतिहासिक तथ्यपरक, जातीय समस्यामूलक,भाषा-साहित्य-संस्कृतिविषयक र नियात्रापरक छन्।

      लीलबहादुर क्षेत्रीले असमको नेपाली नाटक र एका‌ङ्कीको विकासका लागि पनि धेरै काम गरेका छन्। उनी आफू पनि एक कलाकार तथा नाटक निर्देशक हुन् । अल इन्डिया रेडियोको गुवाहाटी केन्द्रमा कार्यरत रहँदा उनले रेडियो रूपकहरू पनि लेख्नु र प्रसारण गर्नुपरेको थियो।

 उनले रेडियो रूपक, एका‌ङ्कीदेखि पूर्णाङ्क नाटकसम्म रचना गरेर हरिनारायण विद्याभूषणहरूले थालेको र प्रेमसिंह सुवेदीहरूले मलजल गरेको असमेली नेपाली नाट्य साहित्यमा तिनथान नाटक थपेर यसलाई समृद्ध पारेका छन्। उनका प्रकाशित नाटकहरू यसप्रकार छन् - 
 १. दोबाटो (१९६७)
 २. माग (एका‌ङ्की, १९७८) र
 ३. शुरुको शुरु (१९८७)
      उनका अरू केही स‌ङ्कलित र असङ्कलित नाटकहरू एकत्रित पारेर डा.गोविन्दराज भट्टराईको सम्पादनमा ' लीलबहादुर क्षेत्री चर्चित नाटकहरू' शीर्षकमा सन् २०२१ मा काठमाडौँबाट प्रकाशित भइसकेको छ। यस स‌ङ्कलनमा उनका 'लक्ष्य' र 'दोबाटो' दुई पूर्णाङ्क नाटक, 'शुरुको शुरु', 'माग' र' भाइटिकाभित' तिन एकाङ्‌की तथा 'प्रतीक्षा', 'अर्द्ध शताब्दीभित्र एक जोर परेवा', 'कन्याथों' 'मिलन' र 'महिषासुर वध' यी पाँचवटा रेडियो रूपक समावेशित छन्।

     उनले आफ्ना कथा र उपन्यासको परम्परा र प्रवृत्तिलाई अक्षुण्ण राख्तै नाटकहरूमा पनि जातीय समस्या उजागर पारेका छन्, रुढीवादको विरोधमा मोर्चा कसेका छन्, निम्नवर्गको दुखेसो बुझेर त्यसको निदानको गोरेटो खोजेका छन्।

     यति हुँदाहुँदै पनि पूर्वोत्तरको आख्यान विधालाई अँगालोमा हालेर उनले जुन स्थानसम्म पुऱ्याए निबन्ध, कविता वा नाटककाक्षेत्रमा सायद त्यसो हुन सकेन। सायद पूर्वोत्तरको नेपाली निबन्धलाई प्रतिष्ठित गराउने श्रेय मणिसिंह गुरुङबाट र कवितालाई प्रतिष्ठित गराउने श्रेय हरिभक्त कटुवालबाट उनले खोस्न खोजेनन्। फरक यति छ, उनी साहित्यका सबै विधामा आफ्नो सशक्त योगदान पुऱ्याउने पूर्वोत्तरका अग्रणी प्रतिभा हुन्। असमेलो नेपाली साहित्यका देवकोटा हुन्, इन्द्रबहादुर राई हुन्। 
      
      सात दशक लामो साहित्ययात्रामा उनी धेरै सम्मान र पुरस्कार पाउन सफल भए।पद्मश्री पुरस्कार प्राप्तिको आनन्ददायक क्षणमा आइपुग्ने यात्रापथमा उनी धेरै राष्ट्रिय र अन्तराष्ट्रिय सम्मान र पुरस्कारले सम्मानित भइसकेका थिए। 

सन् १९८३ मा नेपाली साहित्य सम्मेलन दार्जिलिङले 'दियालो पुरस्कार' प्रदान गरेपछि उनले सम्मान र पुरस्कारका लागि पर्खिबस्न परेन। सन् १९८५ मा पश्चिम बङ्गाल राज्य सरकारले प्रदान गर्ने 'भानु' पुरस्कार प्राप्त गरे र एउटै कृति  'ब्रह्मपुत्रका छेउछाउ' उपन्यास सन् १९८७ मा साहित्य अकादमी पुरस्कार प्राप्त  गर्न  सफल बन्यो। यसका अतिरिक्त उनले प्राप्त गरेको पुरस्कारहरूको तालिका यसप्रकार छ -
  'मदन स्मारक व्याख्यानमाला सम्मान', वाराणसी, - २००१ 
  वेदनिधि पुरस्कार (काठमाडौं)- २००३ , 
  अगम स्मृति पुरस्कार (सिक्किम)- २००५
  असम नेपाली साहित्य सभा पुरस्कार, २००६,
 अभिजमान ट्रस्ट पुरस्कार, कुवैत, २००८
 सिक्किम सम्मान सम्मेलन गान्तोकद्वारा सम्मानित, २००४
 नई देरुनिख अन्तराष्ट्रिय पुरस्कार, २०१२
 पूर्वाञ्चल साहित्य शिरोमणि पुरस्कार (अभि-जामान ट्रस्ट्रद्वारा), २०१२
 हरिभक्त कटुवाल स्मृति पुरस्कार(असम नेपाली साहित्य सभा, २०१३)
 जगदम्बाश्री अन्तराष्ट्रिय पुरस्कार, काठमाडौ, २०१६
 बसुन्धराश्री पुरस्कार, काठमाडौ, २०१६
      सन् २०२० मा पद्मश्री पुरस्कारले सम्मानित भएर क्षत्रीले समग्र पूर्वोत्तरका गोर्खाहरूको शिर उँचा पारे। कारण यो पुरस्कार थाप्ने उनी पूर्वोत्तरका पहिला गोर्खा सपूत हुन। पूर्वोत्तर भारतका साहित्य शिरोमणि, आर्य विद्यापीठ कलेज, गुवाहाटीका अर्थशास्त्रका सेवानिवृत्त अध्यापक लीलबहादुर क्षेत्रीलाई सोमवार(नोभेम्बर ८,२०२१) राजधानी नयाँ दिल्लीको राष्ट्रपति भवनमा आयोजित एक गरिमामय समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दको बाहुलीबाट देशको चौथो सर्वोच्च असामरिक सम्मान "पद्मश्री पुरस्कार"ले सम्मानित गरियो। 

नेपाली भाषा-साहित्यमा उनको आजीवन लगनशीलता र शिक्षा क्षेत्रमा रहेको योगदानका निम्ति उनलाई यस सम्मानले सम्मानित गरिएको हो। राष्ट्रपति भवनमा सम्पन्न एक भव्य कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीलगायत थुप्रै गण्यमान्य व्यक्तिहरूको उपस्थितिमा राष्ट्रपति रामनाथ कोविन्दका बाहुलीबाट क्षेत्रीले यो सम्मान थापे। यस प्रतिष्ठित सम्मानले सम्मानित हुने क्षेत्री पूर्वोत्तर भारतका प्रथम गोर्खा सन्तान हुन्।

ट्यागहरू:
विश्व साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
स्टेटस सिम्बल, मोनालिसाका आँखा र आह्रिसमानेको खसी
स्टेटस सिम्बल, मोनालिसाका आँखा र आह्रिसमानेको खसी
रुद्र बराल पोष्ट-दिलिप घिमिरे - मङ्गलबार २८ जनवरी २०२५
नेपालीको तिहार पर्व: दृष्टि र अनुभूति
नेपालीको तिहार पर्व: दृष्टि र अनुभूति
गोविन्द शाण्डिल्य पोष्ट-दिलिप घिमिरे - शुक्रबार २४ जनवरी २०२५