दृष्टिविहीन गायक जेठा मुर्मु रहेनन्
झापा १४ कार्तिक / सन्थाल समुदायका प्रतिभाशाली दृष्टिविहीन गायक तथा संगीतकर्मी ३९ वर्षको उमेर जेठा मुर्मुको कार्तिक १३ गते शुक्रबार निधन भएको छ।
सुगर तथा रक्तचाप बढेपछि उपचारका लागि इटहरीस्थित अस्पताल लगिएका मुर्मुको उपचारकै क्रममा निधन भएको परिवारजनले जनाएको छ।
झापाको कचनकवल गाउँपालिका–२ निवासी मुर्मु दृष्टिविहीन भए पनि गायन तथा संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुहुन्थ्यो। उहाँले कक्षा १२ सम्मको अध्ययन पूरा गर्नुका साथै संगीत विषयमा डिप्लोमा कोर्ससमेत गर्नुभएको थियो।
जीवनका अनेकौँ कठिनाइ र अभावसँग संघर्ष गर्दै आउनुभएका मुर्मु रोजगारीको खोजीमा काठमाडौं पुग्नुभएको थियो। जीविकोपार्जनका लागि उहाँ सडक तथा सार्वजनिक स्थानमा गीत गाउने गर्नुहुन्थ्यो। गीत–संगीतप्रतिको गहिरो लगाव, निरन्तर मेहनत र संघर्षशील जीवन नै उहाँको विशेष पहिचान बनेको थियो।
दृष्टिविहीन अवस्थाका बाबजुद आफ्नो प्रतिभा, लगनशीलता र मेहनतका माध्यमबाट संगीत क्षेत्रमा अघि बढ्नुभएका मुर्मु सन्थाल समुदायका लागि प्रेरणाका पात्र हुनुहुन्थ्यो। उहाँको संघर्ष र संगीतप्रतिको समर्पणले धेरैलाई प्रेरित गरेको थियो।
दिवंगत जेठा मुर्मुको अन्त्येष्टि २०८३ साल कार्तिक १५ गते कचनकवल गाउँपालिका–२ मा गरिने परिवारजनले जनाएको छ।